शुक्रबार, वैशाख १४, २०८१

निगम महाप्रवन्धकको गैरकानूनी कार्यशैलीको चर्को बिरोध गर्दै कर्मचारी आन्दोलित

नेपालप्लस संवाददाता / काठमाडौं२०७७ फागुन १२ गते २१:०६

सत्ता र शक्तिको पहुँचमा पुग्नकै लागि कार्यबिधी तथा नियमावलीलाई कुल्चिएर कर्मचारी पदस्थापन तथा वृत्ति विकासमा मनपर्दी गरेको भन्दै नेपाल वायुसेवा निगमका कर्मचारीले चरणबद्ध आन्दोलन सुरु गरेका छन् ।

नेपाल वायुसेवाको मलेशिया स्टेशन म्यानेजरका रुपमा कुनै बरियतामा नपर्ने छैटौं तहका फरशुराम ज्ञवालीलाई नियुक्त गरिएको, भारतमा रहेका स्टेशन म्यानेजर नारायण पौडेलले गम्भीर त्रुटी गर्दा पनि कारवाही नगरिएकोमा कर्मचारी संघले आन्दोलनको कार्यक्रम अघि सारेको हो ।

संघका अध्यक्ष मानबहादुर कुँवरका अनुसार, गत असोज ४ मा तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईले विदेशी लगानीको हिमालयन एयरलाइन्सलाई भूमिस्थ सेवा (सेल्फ ग्राउन्ड हेन्डलिङ्) गर्न दिने भनी गरेको निर्णयलाई तत्काल सच्याउन माग राखिएको छ । अरु व्यवासयिक उडान नभैरहेको र घाटामा चलिरहेको नेपाल वायुसेवाका लागि भूमिस्थ सेवा मात्रै आम्दानीको बाटो बन्दै आएको छ ।

आन्तरिक वा बाह्य सबै तिरका उडानमा निरन्तरको घाटा बेहोर्दै आएको नेपाल वायुसेवाको एउटै देखाउने र गरिखाने बाटो यही ‘ग्राउण्ड हेन्डलिङ’ (भूमीस्थ प्रबन्ध) नै थियो । यसैका भरमा नेपाल वायुसेवाले वार्षिक झण्डै ४ अर्व रुपैयाँ आम्दानी गर्दै आएको थियो । यसबाट झण्डै १५ प्रतिशत उड्डयन प्राधिकरणले पनि कमाइ गरिरहेकै थियो । तर आफ्नो ठूलै सेयर रहेको हिमालय एयरलाइन्सका लागि एयरपोर्टमा ‘ग्राउण्ड हेन्डलिङ’को जिम्मेवारी फुत्काउन यति सफल भएको छ ।

‘नेपाल वायुसेवा निगमको विदेशस्थित कार्यालयमा कर्मचारी सरुवा गर्दा अनुचित लाभको प्रलोभनमा परी योग्यता, बरिष्ठता तथा कर्मचारी सरुवाको कार्यबिधीलाई समेत मिची सम्पूर्ण कर्मचारीको मनोबल गिराउने कार्य गरेकाले पनि कर्मचारी आन्दोलनमा उत्रिएका हुन्,’संघले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

यसैगरी, चिनियाँ जहाजको हालसम्म कुनै व्यवस्थापन गर्न नसक्दा र एयरबस ३२०, ३३० बिमानका को–पाइलटहरु ‘कमान्डर’ तालिममा जान योग्य भैसकेको अवस्थामा मनपर्दी रुपमा अयोग्य व्यक्तिलाई तालिममा पठाउने गरिएकोमा पनि बिरोध गरिएको छ । यस्तै, कार्यालय नै नरहेको र हवाइ उडान समेत नरहेको बिराटनगर बिमानस्थलमा कार्यरत रहने गरी निगमले दूई जना आठौं तहका प्रमुखलाई खटाएकोमा पनि कर्मचारी संघले आपत्ती जनाएको छ । निगम महाप्रबन्धक डीमप्रसाद पौडेलले आफ्नै स्वेच्छामा आठौं तहका कर्मचारी सन्तोष पाण्डेलाई हालै बिराटनगर कार्यालयमा खटाएका छन् । जबकि बिराटनगर कार्यालयमा यसअघि नै आठौं तहकै कृष्णप्रसाद अधिकारी ‘अन–ड्युटी’मैं छन् ।

यस्तै, निगमको बिनियमावलीको धज्जी उडाउने गरी अपरेसन बिभागमा पनि २ जना उच्च अधिकृतलाई एउटै पदको निर्देशकमा खटाइएकोमा महाप्रबन्धक पौडेलको चर्को बिरोध कर्मचारीले गरेका छन् । अपरेसन बिभागमा यसअघि दिपू जुहारचन कार्यरत रहेकै बेला फेरि अर्का अधिकृत राजेन्द्रकुमार शेरचनलाई पनि अपरसेनमैं खटाइएको छ । ‘महाप्रबन्धक डीमप्रसादको मनपरी र बिमियमपर्तिरको कार्यशैलीबाट आजित भएर हामी आन्दोलनमा उत्रिएका हौं,’संघका एक बरिष्ठ सदस्यले भने ।

विशेषत कुनै योग्यताभन्दा पनि एमालेमा माधवकुमार नेपाल र पुर्व पर्यटन मन्त्री योगेश भट्टराईका निकटस्थ भएर साढे ५ महिनाअघि महाप्रबन्धकमा नियुक्त भएका डीमप्रसाद अहिले सत्ता समिकरण फेरिने स्थितीमा सत्ता–शक्तिको निकटस्थ बन्न बिभिन्न मन्त्री तथा नेताले चाहेअनुसारका कर्मचारी सरुवा तथा पदस्थापनमा लागेका देखिन्छन् । आफ्नो बिभागीय नभएर पनि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका भान्जा र भतिजका लागि समेत निगम बिनियम पर्तिर गएर महाप्रबन्धक डीमप्रसादले ‘सहज पदस्थापन’को निर्णय गराइसकेका छन् ।

चार वर्षे अवधीका लागि महाप्रबन्धक पदमा आसिन भएपनि कार्यसम्पादन मूल्यांकन आधारमा सामान्यतया ६–६ महिनामा यस्ता राजनीतिक नियुक्तीको ‘कन्ट्राक्ट’ थपिने गरेको छ । आफ्नो ‘कन्ट्राक्ट’ थपिने बेलामा जिउज्यान दिएर महाप्रबन्धक डीमप्रसाद सत्ताशक्तिको पहुँचमा पुग्नमा लागिपरेको आरोप कर्मचारीले लगाएका छन् ।

संघ अध्यक्ष मानबहादुर कुँवरका अनुसार, पोष्टिङ कमिटि सदस्यहरुको कार्यकक्ष घेराउ, महाप्रबन्धक कार्यालय तथा निगम कार्यालय मूलद्धारमा कालो ब्यानर राखेर बिरोध जनाउने र फागुन १६ मा महाप्रबन्धकको कार्यालय घेराउ गर्ने कार्यक्रम पहिलो चरणमा सार्वजनिक भएको छ ।

तपाइँको प्रतिक्रिया