बुधबार, साउन २०, २०७८

ओली उन्मादको पराजय र अबको बाटो

लक्ष्मण देवकोटा२०७७ फागुन १३ गते ११:०७

सत्तरी वर्षदेखि नेपाली समाजमा बन्द रहस्यमयी कम्युनिष्ट शासनको बाकस खुलेर ह्वाँगै भएको छ । खड्ग प्रसाद ओलीले कम्युनिष्टहरुमाथि जनतामा रहेको आशा, भरोसा र भ्रमको पूर्ण रुपमा यथार्थ तस्वीर देखाइदिएर भनेका छन् ‘बाहुनले किताबका माछा पो खान्नन् खोलाको माछा खान क्यै हुन्न ।’ ब्रम्हलुटको अनन्त श्रृँखलाको चांगमाथि उभिएर भ्रष्टाचारमाथिको शून्य सहनशीलताको बाँसुरी बजाइरहेका ओलीको चुलिएको अहम् र उन्मादलाई अदालतले विराम लगाइदिएको छ ।

उखान टुक्काका खानी र अरुको तेजोबध गर्न सिपालु कलाकार ओली नूर गिरेको सक्कली अनुहार लुकाएर भन्दैछन्, भाइहरुले लड्डु खाएछन् । यस्तो लाग्छ कि उनी फेरि पदमा बहाल हुँदाको अन्तिम सेकेण्डसम्म हरेक छिद्रबाट केही न केही वितण्डा गरिरहने छन् ।

ओलीले त्यसै प्रचण्ड र माधव नेपालको लड्डुलाई गिज्याएका होइनन् । अदालतले टाउकामा बजारेको घनले रन्थनिएका ओली टुक्का सुनाएरै भएपनि आफ्ना कार्यकर्तालाई नूर गिरेको देखाउन चाहन्नन् । आफ्ना अन्धभक्तहरुलाई पकडमा राखिरहेर प्रचण्ड माधव नेपाल विरुद्ध मोर्चावन्दी गर्ने उनको सपना यथावतै छ । लोकतान्त्रिक संस्कार र सभ्यता भएको मानिस यतिविधि भैसकेपछि लाजले एकछिन पनि कुर्चीमा बसिरहने थिएन । ओलीसँग त्यो नैतिकता र इमान सकिएको अहिले होइन, उहिल्यै हो । होमा हो मिलाउने राष्टपति भण्डारी, ख्वामितका चरणदासहरुको लर्को, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ जस्ता अन्तरआत्माको लिलाम गरेर फगत गूटमा अलमलिएका मानिसहरु हुँदासम्म ओलीले षडयन्त्रका अनेक पासा फ्याँक्नेनै छन् ।

पुष ५ को ओलीको उन्माद मात्रै रोकेन अदालतले, गणतान्त्रिक संविधानको जग मजबुत बनाउने काम गर्यो । भोलिका दिनमा कुनै प्रधानमन्त्रीले संसद विघटन गर्नुपूर्व हजार पटक सोंच्नुपर्ने भयो । प्रष्टै रुपमा लेखिएका संविधानका बूँदाहरुलाई नाघेर कोही पनि प्रतिनिधि सभाको वध गर्न खुँडा उद्याउने छैन भनेर प्रष्ट भनिदियो । बहुलठ्ठी शासकहरुको सनकका भरमा जनताको सम्मानित संसदको वध हुनेछैन भन्ने ग्यारेन्टी गरेर अदालतले आफ्नो शाख र इमान बँचायो । कार्यपालिकाले संविधानमाथि बन्चरो चलाउँदा पनि घाइते संविधानलाई जतनका साथ अदालतले सुरक्षित गरिदियो ।

फेरि पनि संविधानको रक्षा गर्ने दायित्व अदालतबाट राजनीतिक दलहरुकै हातमा आइपुगेको छ । प्रधानमन्त्री ओलीका भारदारहरुले भने झैं, अदालतले गरेको निर्णयले झन् अस्थिरतातर्फ देशलाई धकेल्यो । तर हामी राजनीतिक निर्णय मान्छौं भन्नू पराजित काइते प्रतिकृया भएपनि हरेक समस्याहरुबाट समाधानको बाटो खोज्नसक्नु आजको पहिलो काम हुन आउँछ । संसदीय गणितको यो खेलमा हाल्ने पात्र अरु कोही होइनन्, खड्ग प्रसाद ओली नै हुन् ।

संसदसँग कहालिएर भागेका ओली, आफ्नै दलसँग कहालिएर भागेका ओली फेरि पराजित अनुहारमा प्रधानमन्त्रीको कूर्ची त्याग नगरी लाज पचाएर विश्वासको मत माग्न जाने पो तयारी गर्दैछन् । आफैले त्यत्रो मिहिनेत गरेर तयार गरेको, हरेक बूँदा र मर्मका शब्द शब्द केलाउन सक्ने संविधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्वांगले आफ्नो गद्दार भूमिकालाई बिर्सेर बोली फेरिसकेको पनि नेपाली जनताले सुन्न देख्न परेको छ । यसको सांगोपांगो अर्थ के हो भने, नेपाल देशमा हुने पनि हुन्छ । नहुने र असम्भव भनिएका धेरै कुरा झन् बढि हुन्छन् ।

काटाकाट र मारामार अवस्थामा रहेका ओली र प्रचण्ड एकै जेटका दुई पाइलट भन्दै देखापरे । फेरि दुश्मन बनेर निस्किए । कुनै गृहकार्य विना आफू आफै अध्यक्ष घोषित गरेर निस्किएका यी दुई नेताहरुले भोलि के गर्छन्, यसको पनि कुनै ग्यारेन्टी छैन । कांग्रेसको त कुरै भएन । लोकतन्त्रमाथि यत्रो प्रहार हुँदा देउवाले अदालतले जे भन्छ
त्यही मान्छौं भनेर मूल मुद्दामा बोल्नै चाहेनन् । सत्ताप्रति महाआशक्त भीडका नायक देउवाले गरेको यो राजनीतिक गद्दारीको पनि इतिहासमा मूल्यांकन होला । बरु रामचन्द्र पौडेल र उनको समूहको भने निष्ठा देखियो । सारमा अहिले प्रतिनिधि सभा भित्रका शक्ति र तिनका नेताहरु हेर्दा ठूलो परिवर्तनको अपेक्षा गरिहाल्ने, नेपाली राजनीतिको मूलढलो संग्लिएर अगाडि बढ्ने जादूगरी उपाय देखिंदैन ।

तर, खड्ग प्रसादको अभिमानको घडा भने फूटेको छ । देशलाई रक्तपातको अँध्यारो सुरुँगभित्र लगेर आफू, आफ्नो गूट र आफ्नाहरुको ढलिमलि हुने उनको योजना तुहिएको छ । उनको उन्मादले खडा गरेको विग्रह रोकिएकोछ । तर जुट्दै गरेको कम्युनिष्ट आन्दोलनलाई फेरि वार कि पार बनाएर जाने दृष्टता रोकिनु पनि सकारात्मक नै हो । गणतान्त्रिक संविधानको मूल मर्मको रक्षा हुने सुनिश्चितताका साथ नेपाली राजनीतिले नयाँ कोर्स लिने आशा गर्न सकिन्छ ।

दूर्भाग्य के छ भने, नेपाली राजनीतिमा रहेका यी बूढाहरुको पलायन आजको पहिलो शर्त हुनुपर्ने हो । तर त्यस्तो संकेत देखिंदैन । युरोपतिर भएको भए योगेश भट्टराईको पुस्ताले पनि सहजै देश हाँकेको देख्न सकिन्थ्यो । संविधानलाई नै मजाकमा उडाउने र आफ्नै सहकर्मीको तेजोबध गर्दा ताली खाने र हौसिने राजनीतिक स्कूलिंग भएका कम्युनिष्ट भनिएका नेपालका यी राजनीतिकर्मीबाट त्यत्रो अपेक्षा गर्नु मूर्खता नै होला । कांग्रेसमा पनि गगन थापाको पुस्ताले हस्तक्षेपकारी भूमिका निभाउन आउने अवसरको प्राप्त नहुनुका अन्तर्यहरु खोतल्दै जाँदा अबको बाटो उतिसारो सहज हुने देखिंदैन ।

नेपालमा राजनीति पेशा भएको छ । राजनीति कमाइखाने भाँडो भएको छ । प्राध्यापक, स्कूलका शिक्षकहरु, कवि, लेखकहरु दलका भाटका रुपमा फेरिएका छन् । पत्रकारहरु स्वतन्त्र छैनन् । कुनै न कुनै रुपमा ती पार्टीका मुखपत्र बनेकाछन् । कांग्रेस पत्रकार, कम्युनिष्ट पत्रकार, मधेश पत्रकार जस्ता दल र क्षेत्रका पत्रकारका रुपमा तिनको परिचय हुन थालेको छ । माथि संवैधानिक परिषदमा ओली र देउवाको सेटिंगमा दासहरुको बोलवाला छ । जिल्लामा अरु चरणदासहरुको हालिमुहाली छ ।

हरिया डाँडाहरुमा डोजर चलेका छन् । प्राकृतिक साधन श्रोतको सक्दो दोहन भएको छ । जसले जतिसक्यो देशको दोहनमा बहादुर ठान्ने कूसंस्कृतिको विकास भएको छ ।
ठेकेदारले पैसा खान्छ, बाटो बनाउँदैन । अड्डा अदालतमा विना पैसा काम हुँदैन । पुलिस भ्रष्ट निस्किएको छ । प्रशासन भ्रष्ट निस्किएको छ । कसैको कसैप्रति भरोसा र विश्वास छैन । यही समाजको विकृतिलाई सफा गर्न जाने राजनीतिक दलका नेताहरु यस्तै प्रवृत्तिलाई बचाउन तल्लीन छन् ।

जस्तोसुकै विकृत अभ्यासहरु भए पनि फेरि पनि यसलाई ठिक बाटोमा ल्याउने भनेको संसदले नै हो । संसदीय अभ्यासले नै हो । ओली प्रवृत्तिलाई दण्डित गरेर अन्य दलसँग सहकार्य गरेरै भएपनि उन्मादीहरुलाई ठेगान लगाउनु पहिलो कर्तव्य हुनजान्छ । र, आफू दोश्रो ओली नबन्ने वाचा, अभ्यास अर्को पक्षले गर्नुपर्ने हुन्छ ।

अहिले सबैका आँखा कांग्रेसतिर छन् । कांग्रेसले गर्ने निर्णयले सिंगै देशको राजनीतिमा अहम् भूमिका राख्दछ । गोपालमान श्रेष्ठले भने झैं दुवै हातमा लड्डु देखेर होइन, आफूलाई वीपी कोइरालाको कांग्रेस सम्झेर सत्ताको निम्ति र्याल मात्रै काढिरहने झूण्डको रुपमा विकास गर्ने कि जनताप्रति इमान्दार दलको रुपमा विकास गर्ने भनी फैसला गर्नुपर्ने हुन्छ । आजको दिन आउनुमा कांग्रेस पनि कम जिम्मेवार छैन । सशक्त प्रतिपक्षको रुपमा कांग्रेस उभिएको भए उन्मादीहरु यति साह्रै अराजक भएर संविधानको पवित्र पुस्तकमा पिसाब फेर्ने हिम्मत गर्दैनथे ।

ठाकुर गैरेहरुले अहिले कम्युनिष्टहरुको एकीकृत अभियानको निम्ति पहल गरिरहेको सुनिन्छ । पहिला त को कम्युनिष्ट हो र को कम्युनिष्ट होइन भन्ने कुराको छिनोफानो हुनुपर्दछ । आफ्नालाई सात खुन माफ, असहमतलाई चरम दण्ड दिने ओलीवाद कुन अर्थमा कम्युनिष्ट हो ? दलको स्थायी समिति, केन्द्रिय कमिटी, संसदीय दल सबैलाई अपमानित गर्दै पंच र्यालीको निम्ति देश दौडाहामा निस्किने ओली कम्युनिष्ट हुन् कि होइनन् ? यसको छिनोफानो पहिला हुनुपर्दछ । उनले ध्वंश गरेको नेपाली वाम आन्दोलनको क्षतविक्षत अवस्थालाई पुननिर्माण कसरी हुनसक्दछ ? ओली प्रवृत्तिको जन्म हुनुमा माधव नेपाल, प्रचण्ड लगायतको सबैको जिम्मेवारी कति छ ? भनी त्यसको समीक्षा नभई गरिने यस्ता बहसहरु अर्थहीन हुन्छन् ।

यसरी गैर जिम्मेवार काम गर्ने खड्ग प्रसादहरुको बहिर्गमन विना कम्युनिष्ट पार्टीको पुनर्संगठन असम्भव नै छ । तत्कालको निम्ति लडे पनि कालान्तरमा एकैदलका दुई भान्सा नमिल्लान् भन्न पनि सकिन्न । तर के यी कम्युनिष्टहरु मिल्दैमा मुलुकले कायापलट फेर्छ त ? अहँ, राजनीतिका यिनै पात्रहरुबाट समाज परिवर्तनको ठूलो परिणामको अपेक्षा गर्न सकिंदैन । पार्टीका युवाहरु, पार्टी बाहिरका बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरुले निरन्तर खबरदारी नगरेसम्म अबको बाटो सहज हुनेछैन । कम्युनिष्ट नामका यी छद्महरुबाटै सिंगो कम्युनिष्ट आन्दोलन र युवा पँक्तिलाई जोगाएर सत्य बोल्न सक्ने स्वाभिमानी नागरिक बनाउन नसक्दासम्म समाजका अरु खड्ग प्रसादहरुको उदय भैरहने खतरा जीवीतै रहन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक