शुक्रबार, साउन १५, २०७८

त्यो तोङ्वा दोकान !

अम्बर गुरुङ२०७७ फागुन १४ गते १२:४२

युरोपमा सोहैं शताव्दीसम्म प्रचलनमा रहेको रेनेसा कालको धङधङी दार्जीलिङमा सन् ६० को दशकतिर छाउन सुरु भयो । त्यो पनि एक तिब्बेतियन शरणार्थीले भर्खरै खोलेको तोङवा दोकनालाई मिलन–केन्द्र बनाएर । त्यहाँ आउनेमा ज्यादाजसो कलाकारहरु नै थिए । केही महिना नबित्दै त्यहाँ अथवा त्यो ठाउँ चित्रकार, संगीतकार र कवि–लेखकहरुको भेला हुने एउटा गन्तव्य थलो बनिसकेको थियो । योभन्दा अगाडी दार्जीलिङमा सम्भवत कुनै पनि थातथलोमा सबै थरिका कलाकारहरु यसरी एकत्रित भएर भेला हुन सम्भव भएको थिएन ।

त्यसैले हामीलाई जानेर होस् वा अन्जानमा यो एउटा शुभ संकेतको थलो नै बनेको थियो । त्यहाँ को चाहीं आएन ? सर्वश्री अगमसिंह गिरी, ईश्वरबल्लभ, राजनारायण प्रधान, इन्द्र थपलिया जस्ता हस्तीहरु त्यो तोङवा पसलका रेगुलरहरु नै थिए ।

त्यसबेलाको मोटरस्ट्याण्डको माथि पट्टि राई बिल्डिङको भुई तलामा हाम्रो अड्डा थियो, तोङबा दोकान । हामी कलाकार भनाउँदाहरुको बाहुल्य भएर होला, दोकानमा आउने अरु आगन्तुकहरु धेरै कम बोल्थे । अथवा बोल्दै बोल्दैनथे । हामी भने आ–आफ्ना साहित्य, संगीत, सृजनालाई लिएर त्यो बिल्डिङै हल्लाउने गरी यत्ति जोड–जोडले तर्क–बितर्क गरिरहेका हुन्थ्यौं, मानौं हामीहरु आफैं नै बिथोवेन, माइकल एन्जेलो, सेक्सपियर र अरुहरु मात्रै होइन, हामी आफैं रेनेंसा र अरु कालका प्रवर्तक हौं । तोङवाको रसले झनझन सरस बन्दै जाँदा यस्तो भान हुन्थ्यो, त्यहाँ सबै वक्ताहरु मात्र थिए, स्रोता कोही पनि थिएन ।

यहाँ सम्झँदा अठारौं शताव्दीको सुरुवात र मध्यको झण्डै अन्तिम कालमा त्यहाँका कलाकारहरुको हालत दुर्दशित र कारुणिक नभएपनि ह्दयबिर्दिण हुने खालको थियो । अपेराका महान रचनाकार रिचार्ड वेग्नर राजनीतिमा मुछिएका आरोपमा भूमिगत थिए । संगीतका त्यत्तिकै प्रसिद्ध प्रतिभा फेलिक्स मेन्डेल्सन आफू यहुदी भएका कारण सेबेस्टीयन बाकको महान कृति प्रदर्शन गर्नबाट वञ्चित भएका थिए । उता पियानोका महान रचनाकार फ्रेडरिक सोपेन टीवी रोग लागेर मृत्युशैयामा पुगिसकेका थिए । अर्का उत्तिकै प्रखर संगीतकार रोवर्ट सुम्यान बहुलाएर पागलखानामा राखिएका थिए । ओह कति ह्दय बिदारक घटनाहरु।।।!

तर सन् ६० को दशक अगाडी र पछाडीसम्म पनि हामी दार्जीलिङका कलाकारहरुले यस्तो कारुणिक स्थितीको सामना गरिहाल्नु परेको थिएन ।

एक साल दशैं टीकाको भोलीपल्ट बिहानै श्रीमती बच्चालाई साथ लिएर टिका थाप्न माइती गएकी थिइन् । दिनको पट्ट्यारलाग्दो २-३ घण्टा एक्लै बिताएपछि म एक बजेतिरै तोङबा दोकानमा पुगिसकेको थिएँ । त्यसबेला दोकानमा अरु कोही साथीभाइ आएकै थिएनन् । तोङ्बा दोकाने जसलाई कसैले ‘लामा’ भनेर सम्बोधन गर्थे त कसैले ‘आचु’(दाजु) भन्थे । ती एक्लै धुम्धुम्ती दोकानमा बसिरहेका थिए । त्यो दिन हामीबीच निकै लामो कुराकानी भयो । दलाई लामा निर्वासित भएको केही वर्ष पछाडी ऊ पनि भागेर धर्मशाला पुगेको रहेछ । र, पछि एउटा संयोगमा कुनै कारणले दार्जीलिङ आइपुग्दा उसलाई दार्जीलिङ राम्रो लागेर त्यहीं बस्ने निधो गरेको रहेछ । र, जीवनयापन गर्नलाई तोङबा दोकान खोलेको रहेछ । पुगनपुग झण्डै छ फिट अग्लो उसको बिशेषता के थियो भने उसको माथिल्लो र तल्लो टम्म मिलेका दातलाई दुबै ओठेले मुस्किलले मात्रै छोप्न सक्थ्यो । त्यसैले ऊ जहिल्यै पनि हाँसीरहेको भान हुन्थ्यो । जे होस, ऊ मान्छे भलाद्मी र मन्द–मिलनसार स्वभावको नै थियो ।

त्यो दिन कुनै कुराको सन्दर्भमा उसले मलाई झ्वाट्ट भनेको थियो—‘यहाँ आउनेहरु मध्ये तपाई सबैभन्दा राम्रो र भलाद्मी हुनुहुन्छ ।’

तोङ्बाको रापले मलाई अलिक बिरस बनाइसकेको थियो र, त्यो अवस्थामा उसको अभ्यर्थनालाई मैंले ब्यङ्गय ठान्नु मेरा लागि असान्दर्भिक थिएन । मैंले अलिक रुखो स्वरमा सोधिहालेछु । भनौं न, अड्को थापेरै सोधें— ‘म राम्रो र भलाद्मी भन्ने के प्रमाण छ ?’

यस्तो अप्रत्याशित प्रश्नले एकछिन त ऊ जिल्लियो । र, केहीबेर पछि बिस्तारै धिमा स्वरमा बोल्न थाल्यो—‘तपाई राम्रो मान्छे, भलाद्मी मान्छे भन्ने प्रमाण त मसँग छैन । तर मेरो मनले त्यसै भन्छ । तपाईहरु जस्तो म धेरै पढालेखा मान्छे होइन । तर मलाई मेरो मनले भनेको कुरै ठीक लाग्छ । र, यो मन भन्ने कुरा मैंले बुझेको छैन । मन लागेर होइन, मन नलागेरै मैंले तिव्वत छाड्नुपरेको हो ।’

उसको कुरा सुन्नुअघि नै मलाई कताकता ‘गल्तीबोध’ भैसकेको थियो । मलाई मेरो गल्तीमा पछुतो लागीसकेको थियो । तर ऊ अझै बोलिरहेको थियो—‘मन लागेर नै म धर्मशाला छाडेर म दार्जीलिङ बसेको हुँ । जुन दिन मलाई यहाँ बस्न मन लाग्दैन, म यो ठाउँ पनि छाड्नेछु ।’ त्यतिबेला पनि उसको अनुहारमा कुनै आवेग र क्रोधको छनक थिएन । बरु जीवनमैं प्रथमचोटी त्यहाँ मैंले यस्तो करुणा प्रतिविम्वित भैरहेको देखें कि उसलाई माफी माग्ने अवस्थामा म पुगिसकेको थिएँ । मैंले कहींकतै पढेको थिएँ, कोहीकोही बेला एउटा अप्रत्याशित परिस्थितीले बेहोसीलाई पनि होसमा ल्याउँछ । कुरा ठीक त्यस्तै भयो र, उसको हात समाएर मैंले हत्तारिंदै भनें—‘आइ एम सरी आचु’।।।!

त्यतिबेला मैंले व्यक्त गर्नै नसक्ने हर्ष र बिषाद उसका मुखमण्डलमा छाएको थियो, पानी पर्दापर्दै घाम लागेजस्तो । तर मैंले ठम्याउनै सकिंन, ऊ रोएको थियो कि हाँसेको थियो । उसको टम्म मिलेको दाँतले उसलाई पनि धोका दिएको थियो र, मलाई पनि ।

यतिका वर्षपछि बेलाबेला दार्जीलिङ पुग्दा र त्यही बाटो भएर उक्लन पर्दा त्यो तोङ्बा दोकानलाई हेरी पठाउँछु । र, केहीबेर तोङ्बाको गन्ध मेरो नाकमा रुमल्लिन्छ । गन्धमा पनि सम्झना हुन्छ र ? किन हुँदैन ? आज सम्झन्छु—त्यो राईबिल्डिङमा भेला हुने हामीहरुमध्ये एकदुई जना मात्रै पनि सम्झनयोग्य भएका छौं भने यसको केही न केही श्रेय त्यो तोङ्बा दोकानलाई जान्छ ।

मलाई अझै पनि केमा दुःख लागेको छ भने एकदिन त्यो तोङ्बा दोकान बन्द भयो । कारण हामीले बाँकी खाएको पैसा तिर्न सकेनौं अथवा तिरेनौं ।

(संगीतज्ञ अम्बर गुरुङको ८३ औं जन्मजयन्तीको अवसरमा हार्दिक श्रद्धान्जलीसहित ‘कहाँ गए ती दिनहरु’ कृतिबाट लिइएको आलेख ।)

तपाइँको प्रतिक्रिया

फेसबुक