बिहीबार, वैशाख १३, २०८१

लेखकको मृत्यू

डा. गोबिन्दराज भट्टराई२०७७ फागुन १५ गते ७:२३

सबै कुरा इतिहासले बनाउने, भत्काउने र विनिर्माण गर्ने हो । सभ्यताको राजमार्ग नै यस्तै छ । सभ्यता माथि पनि सधैँ राजनीतिले घोडा चढ्दो रहेछ । उसैले आफ्ना इच्छा लेखाउँछ, मेटाउँछ । त्यसो त हामीले यतिखेर बीच बाटामा सुतिरहेको फोहरका डंगुर उठाएर सफा पार्नु छ । फिनेल छर्किनु छ । इतिहासका डरलाग्दा कालखण्ड नाघेर आयौँ । तर बहुसंख्यक जनता इतिहासभरि बलिदान भए । फ्रान्सेली, अमेरिकी, बेलायती क्रान्तिहरुले ती सर्वसत्तावादी निरङ्कुशता ढाल्दै ल्यायो र अन्तिम संस्करण रुस चीन आदिमा प्रयोग भयो । तर ती पुराना एकखालका थिए । यताका अर्कै । उता मानिसलाई युगौँको कारागारबाट पाखा निकालेर तिमीहरु अब ‘स्वतन्त्र’ भयौ भनिदिए । यता सारा मानिसलाई सिङ्गो कारागृहमा हालेर अब तिमीहरु ‘मुक्त’ भयौ भनिदिए । यता चाहिँ सर्वसत्तावादको स्थापना थियो । जसको औचित्यको तर्क वर्गसंघर्षले प्रस्तुत गर्यो । हो जस्तो पनि लाग्यो । मान्छे त्यही हतियारले लडे । तर यति चाँडै हेर्दा त्यो पनि होइन रहेछ भन्ने भएको छ । मानिसलाई सुरुङमा थुनेर ल्याएको शान्तिमात्र रहेछ ।

मानिसको अन्तिम लक्षता अनेक विचारको खोजी र स्थापना रहेछ । स्थापना र परिवर्तन रहेछ । एकै विचार ओढ्न ओछ्याउन बाध्य पार्दा मानिसले तबसम्म मान्दछ जबसम्म उनीहरुको नजिकमा बन्दुकले रक्षा गर्दछ । नेपालमै पनि विश्वको एकमात्र प्रजातन्त्र (पञ्चायत) भोग्यौँ हामीले । तर ती काल बिताउन कत्रो सकस पर्यो । त्यस्तै हो । बन्दुकदेखि डराउने, यातनागृहदेखि डराउने मानिस पर्याप्त हुँदासम्म वर्गसंघर्षका सिद्धान्तहरु सफल रहन्छन् । त्यसपछि मानिस मर्छन् । तर एकलतन्त्रले थाम्दैन । अधिनायकवादले थाम्दैन । त्यसभित्र लेखक, चिन्तक, स्रष्टा कलाकार कि मरिसकेका हुन्छन् कि मरेरझैँ बाँचिरहेका । फेरि पनि मर्न चाहन्छन् । तर अधिनायकवादले किचिएर होइन । मानिसको मूल स्वभाव नै स्वतन्त्रता हो । मूल स्वभाव नै प्रजातन्त्र हो । मूल स्वभाव नै अत्याचारको विरोध हो । अभिव्यक्तिको स्वतनत्रता हो । तर हाम्रामा यस्ता पनि लेखक छन् अधिनायकवादकै गीत रचिरहेका छन् ।

अर्कातिर जहाँको पनि जहिलेको पनि साशनसत्ताको लक्ष निरङ्कुशताको स्थापना नै हुन्छ । अघि सिधै हुन्थ्यो अहिले परोक्ष हुन्छ । मानिस तर्छाउने, ढाँट्ने र थर्काउने यसका साधन हुन्छन् । अधिकांश कलाकार चिन्तक त्यसैको वशमा परेर समाप्त हुन्छन् । थोरै भ्रान्ति र यथार्थ छुट्याउन नसक्ने हुन्छन । मात्रै मोह त्याग्न नसक्ने हुन्छन्— हरेक समाजमा हरेक राष्ट्रमा । महमा परेर झीँगा उसै लटपटिन्छन् ।

नेपाली समाज त्रासमा जन्मियो, सयौँ वर्ष त्रासमा हुर्कियो । आज पनि सत्य असत्य छुट्याउन नसकिने स्थितिमा त्रासमा र आशमा विभाजित छन् । आज पनि लोभिने टाँसिने सानो प्राप्तिमा ठूलो जिन्दगी बिक्री गर्नेहरु थुप्रै छन । समाज चेतनाले धेरै नउठेसम्म सत्ताधारी तिनैसँग लेखिइरहन्छन्, नेपालमा त्यस्तै छ । अधिकांशहरु जीवनको युद्धमा परेर भित्र कि बाहिर बहुलाएजसरी भड्किएका छन् । समाज अस्थिरताले नित्य नै कम्पायमान छ । ठिक यस्तो बेलामा सत्ताधारीहरु ‘ऊन कतर्दैछन्’ ।

अंग्रेजीमा एउटा शब्द हो ‘फ्लीस’, त्यसैको अनुवाद गर्दैछन् । वामपन्थी सत्ताले जहाँ पनि त्यही कर्तव्य पूरा गर्छ अनि जहिले पनि एक अपारदर्शी रङ्गमञ्चमा चढेर एउटा प्रहशन (फार्स) नामको नाटक खेलिरहेको हुन्छ । जर्ज अर्वेलको एनिमल फार्म उपन्यासमा एउटा सुँगुर पात्रले भन्छ “सबै पशुप्राणी बराबर छौँ । तर कुनै चाहिँ अरुभन्दा विशेष समान हुन्छौँ” । नेपालमा त्यसको पनि पालना हुन्छ । त्यस्तो पाखण्डको रुसमा एकदिन अन्त्य भयो । पर्खिनुपर्छ नेपालमा पनि हुन्छ । यतिबेला बोल्नु हुँदैन उनीहरु तातेको बेला छ । स्वतन्त्र पत्रकार कामेको देखेर अर्थ बुझ्नुपर्छ । स्वतन्त्र समाजका शत्रु सत्ताधारी नै हुन् ।

पाश्चात्य मुलुकतिर जाने आउने दैलो बन्द भएको देशमा पनि अंग्रेजी शिक्षा प्रणाली, अंग्रेजी चिकित्सा प्रणाली, वस्त्र आभूषण फेशनादि, जीवन शैली र विकासका जति पनि नमूना हुन्छन् । ती खालि अन्यत्रैबाट ओसारिए, आँखा चिम्लेर हामीले पनि सभ्य बन्न त्यसैको अनुशरण गर्न थाल्यौँ । वास्तवमा भारतवर्षमा फिरंगी पसेपछि हामी पूर्वेली सबैको कान्ति खुइलिन थाल्यो । उता विज्ञान छ भनेर गमक्क गर्यौँ । तर त्यो मात्र सर्वस्व त होइन जीवन चलाउने अनेक पक्ष छन् । सबै खालि अन्यत्रैबाट ओसारेपछि देशको शिल्प, कला, विचार, दर्शन के हुन्छ ? हाम्रो झैँ धराशायी हुन्छ । पूर्वी जगत्मै अंग्रेजी पसेर तीन सय वर्षसम्म यसलाई चाल्नो पारेपछि हाम्रो मनोबल नै चाल्नो झैँ छ्यान्द्रो भयो, त्यो डगमगायो, लड्यो अथवा लड्दै उठ्तै गर्दैछ ।

सम्वत् १९९५ मा प्रकाशित नरेन्द्रमणि आदिको युरोपीय साहित्यको नमूना हेरौँ । अथवा यदुनाथ खनालको समालोचना सिद्धान्त (सम्वत् २००३) रामकृष्ण शर्माको अथवा त्यसपछिका अभि सुवेदीहरुले गरेको आइ ए रिचार्डसको काव्य सिद्धान्त, वासुदेव त्रिपाठीको पाश्चात्य समालोचना सिद्धान्त हेरौँ; मेरै भन्नोस् काव्यिक आन्दोलनको परिचय अथवा उत्तरआधुनिक विमर्श… सबै पाश्चात्य । प्लेटो अरस्तुदेखि यताका समालोचक सिद्धान्तकारका व्याख्या विस्तारणमा लेखिएको ग्रन्थको संख्या नेपालीमा एक सय भन्दा बढी छ । तिनै हुन् बीउ छर्ने कुरा ।

संस्कृत काव्य-समालोचनाका ग्रन्थ चिन्तन संसारलाई जित्ने छन् । तर संस्कृतमाथि नै यो देशले प्रहार गर्यो र डढेलो लगायो । त्यसकारण हाम्रो पूर्वीय चिन्तनको बोटै शुष्क र जर्जर छ । अब कसले मल पानी गर्ने ? त्यसैबाट पलाएको नेपालीले पनि संस्कृतलाई भूल्यो, भूल्न बाध्य पारियो । र आफ्नो मौलिक वा देशज प्रजातिको विरुवा लगाउने उमार्ने कुनै प्रयत्न भएन ।

समालोचना सिद्धान्त भनेको एउटा ‘लाइट हाउस’ हो; समुद्री किनारको टापूमा उभिएको प्रकाशगृह । आँधीमा तैरिरहेको जहाजलाई त्यसैले बाटो देखाउँछ । त्यो बेगर साहित्य कता जान्छ ? दिशाहीन बन्दै त्यो भुमरीमा पर्छ । तर त्यस्तो समालोचना सिद्धान्त नेपाली साहित्यको पनि हुन्छ भन्ने धारणा नै कसैमा छैन । त्यसैले आदर्शवादका दृष्टान्त उताबाटै ल्यायौँ । यथार्थवादका उतैबाट । त्यसपछि आएको मनोविश्लेषणवादका, अस्तित्ववादका अनि आएका उत्तरआधनिकवाद भित्र पर्ने विविधवादका समालोचनाहरु एउटा रिठ्ठो नबिराई उतैबाट । अरु कहाँका ल्याउनु ? कुन भाषावाट ? सन् १८५४ मा दरबार हाइस्कूल खुलेपछि पश्चिमी जगत्को प्रवेशद्वार खुल्यो । आज नेपाली चेतना वैकल्पिक उमेदवार भयो, आफ्नै धनु र धडकन बेगरको ।

अहिले आएर ता समालोचनाका आफ्नै सिद्धान्त पनि समाप्त भएका छन् । समाजमा आएका असन्तुष्टि आक्रोस र संकटहरु सर्वप्रथम साहित्यमा लेखिन्छन् । तिमीले खटाएर दिएको सिद्धान्तमा मेरा पाइताला अटाएनन् भनी वैरागी काइँलालेझैँ बोल्छौँ हामी पनि । त्यसबाट बिस्तारै एक सिद्धान्तको जन्म हुन्छ । जस्तो कि वैरागीको आह्वान भनेको एउटा फराक विचारहरु खोल्ने समयमा अत्यन्तै अर्थपूर्ण थियो । सन। १९६० मा पश्चिमी जगत्ले संरचनावादलाई टक्टक्याएर फ्याँकेपछि जति नयाँ सिद्धान्त आए ती सबैका बीचमा छ साहित्य । मानिसले सिर्जना गर्ने कला चेतना ता एक आदिम तिर्खा हो त्यो थोरैमा हुन्छ । त्यसलाई समालोचना सिद्धान्तले लेखाउने होइन । त्यसले यस्तो समय आयो, यस्तो कुरा लेख यस्तो नलेख भनिदिन्छ ।

यतिखेर समालोचना गौण छ, अनेक सिद्धान्त जागेर उठेका छन् । समालोचकले होइन अब एक नयाँ कृति आएपछि यी सिद्धान्तहरुले कसरी झम्टिन्छन् भने सबैलाई एक एक गाँस पनि पुग्दैन । केही हप्ता अघि पोखराले गणेश पौडेलको पैताला (उपन्यास) माथि उत्तरआधुनिक दृष्टिकोणले छलफल गर्ने कार्यक्रम राखे; हालै पोखराले महारानी (उपन्यास) माथि नारीवादी दृष्टिकोणले छलफल गर्ने कार्यक्रम राख्यो ।

फ्रान्सेली चिन्तक रोलाँ बार्ट (सन् १९१५–१९८०) ले एक वैचारिक लेख प्रकाशित गरेका थिए । लेखकको मृत्यु (सन् १९६७) । उनले यस्तो घोषणा गरेका त्यसै होइन रहेछ । एउटा आख्यान आएपछि सर्वप्रथम माक्र्सवादी खनिन्छन् । यो जनताको लागि हो कि बुर्जुआको पक्षपोषणमा छ त्यसको टुङ्गो लाउँछन् । भानुभक्तलाई समेत बोक्र्याउन सक्ने उनीहरुबाट कोही बच्ने छैन । अरु पक्ष र प्राप्तिको कुरा गर्दैनन् । माक्र्सवादी आलोचनात्मक दृष्टिले हेर्दा यस्तो भयो भन्ने ठहर गर्दछन् र यसले पार्टीलाई सघाउँछ भने साहित्य हुन्छ । नत्र यो खोसेलाको भारी हो भन्ने ठहरमा पुग्छन् ।

त्यसपछि आउँछन् नारीवादीहरु, महिलावादी, स्त्रीवादी, लिङ्गवादी, विभिन्न प्रकारका शरीरी संरचनात्मक पक्षबाट कृति–समालोचना कर्ममा अभ्यस्तहरु अनि त्यसको टुङ्गो लाउँछन् । यसले एकल महिलालाई कसो भन्यो, विवाहको फोहोर खोतल्यो कि चुप लाग्यो । शारीरिक यौनिक स्वतन्त्रतालाई कहाँ लगेर डोरीले कस्यो । लैङ्गिक हिंसालाई कतिको महत्व दियो । समलिङ्गी, बिसमलिङ्गी संन्दिग्ध, सबै जाँचेर मात्रै त्यसलाई जाँचपास गर्दछन् । यी दुवै सिद्धान्तमा लेखन शैली, भाषा, शिल्प सिर्जनात्मकताका यस्ता कुरा गौण रहन्छन् । सिर्जनामा आत्मा जति बन्धकी छन् । प्रायशः विद्यार्थीहरु भन्नेछन्— सर मैले ता डायास्पोरा सिद्धान्त लगाइदिएँ अथवा यसमा ‘इको’ लगाइदिएँ… आदि । तिनको आद्य परिभाषा अरस्तु प्लेटोदेखि यता आउँदा कही भेटिएला ।

त्यसपछि आउँछन् पर्यावरणवादी, प्राणीवादी, पृथ्वीवादी कसरी हेरियो मानवेतर जगत्लाई विकाशलाई, त्यो छुट्याउने सूक्ष्मदर्शक भिर्दछन् । त्यसपछि आउँछन् जातीय जनजातीय भेदका, फरकका, विशेषताका तिनको संस्कृति बुझेर लेख्यो कि त्यस्तै उर्लियो तिनको मनोविज्ञानमा कस्तो प्रभाव पार्यो । विविध जनगोष्ठीको अस्तित्व रक्षार्थ बोल्यो कि ‘ग्राण्ड न्यारेटिव’ को भारी घिसार्दै दौडिरहेको छ ? … गर्दै गर्दै दलितसम्म पुगेर लेखकको नाडी छाम्दा ऊ साँच्चै नै कोमामा जाने हो कि फर्केर आउँछ थाहा हुन्छ ।

अर्का छन् मन दुईतिर भाँचिएका, शरीर, एकातिर बाँधिाएका डायास्पोराहरु । तिनको विषयमा लेख्न खोज्दा मर्म बुझेर गर्यो कि बोक्रामाथि टेकेर कुद्दै छ यस्तो कुराको निर्क्यौल नगरी हुन्न । त्यो पनि निर्क्यौल गर्नेहरु छन् । सिद्धान्त नजाने पनि आफैँ अजमाएर कति कुराले ठोक्न सक्नेहरु जन्मेका छन् । राम्ररी ज्ञानशास्त्र नभिजेको भूमिमा, यस्तै छिपछिपेको राज चल्छ । त्यसबेला म कवि शिरोमणि लेखनाथलाई सम्झिन्छु— “टपर्टुइयाँ पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।”

यस्ता धेरै फड्के छन्, धेरै धराप छन् । तिनमा तरेर पारि पुग्न एक वनीन लेखकलाई मुश्किल छ । स्थापितलाई पनि कहिले पछारेर बगाइदिन्छ नपत्याउने खोलाले ! त्यसैले हिजोआज साहित्य सिर्जिनु एकदम खतर्नाक खेल भएको छ । साहित्यका अनादिकालदेखिका तत्व र विशेषता हटाएर अर्थाेकै नयाँ केही भिर्नुपर्ला जस्तो पारेका छन् । तर यसको मूल आत्मा त कल्पनाशीलता र भाषिक नवीनता अनि शैलिगत परिष्कार हुन् । ती कुरा आज थला परेका छन् । कुन लेखक बोल्ड छन्, कसले यौनांग र तिनका कृयाकलाप प्रस्तुत गर्न सक्छन्, कसले संस्कृति–बर्जित, धर्म–बर्जित कुरा पत्ता लगाएर ती भत्काउँछन्, ती नै दामी ठहरिन्छन् ।

आत्माबेगरका पुतला नाचेका नच्यै छन् । किनभने साहित्यको उत्तम घर ताकेर हिँड्ने लेखकलाई आजका समालोचकले बाटैमा लडाएर मूर्छा पार्छन् । फेरि ऊ ब्यूँझेर हिँड्न सक्तैन । यसैलाई शायद रोलाँ बार्टले “लेखकको मृत्यु” भनेका हुन् कि एक अनर्थको झोँकमा ।

नेपाली साहित्य नवीन छ, कलिलो छ । वर्तमान विश्वका बूढा पुराना वृक्षहरु हेरौँ— जर्मन, फ्रेन्च, अंग्रेजी जस्ता । एक हजार वर्षदेखि फल लाग्न थालेका । पूर्वका नेपाली हिन्दी मैथिली, बंगाली, नेवारी जस्ता भाषाका पनि जरा त्यत्तिकै पुराना थिए । तर देवकोटाले सुलोचना महाकाव्यमा भन्नुभएझैँ एसिया महादेशका भाषाहरुमा महाकाव्य आइस्ल्याण्डमा सर्पझैँ भएर सुतेका थिए ।

हामीले नेपाली उपन्यासको प्रथम शताब्दी मनाएको २०६१ सालमा हो । नाटक, निबन्ध, समालोचना सबै त्यसकै वरिपरि छन् । कविता अलिक प्रौढ छ । तर सबैको उही परिवेश हो एकै दामले हुन् ती सन्तान । ठीक त्यसैबेला (सन् १९१३ मा) बङ्गाली भाषाका कविगुरु रवीन्द्रलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । हाम्रौ साँध जोडिएका छिमेकी । हाम्रो वीरसिक्का आइपुग्दा उनीहरुका ताराशङ्कर, बङ्किमचन्द्र, शरच्चन्द्र जस्ताको उदय भइसकेको थियो । आदिकाल काटेर त्यहाँ आइपुगेका थिए । हामी आदिकालमै थियौँ ।

भाषासाहित्यको पनि जीवन, उमेर अनि यात्रा हुन्छ । जो झिसमिसेमै ब्यूँझेको थियो । उसले नौ डाँडा काटिसक्यो । हामीलाई अशिक्षाले, अचेतनाले, अधिनायकताले अचेत पारेर शताब्दीयौँ सुताइराख्यो । भर्खर ब्यूँझेका हौँ । त्यसो त सम्पूर्ण एसिया नै भर्खर छ जापानबाहेक । पुराना भाषा वृक्षहरु उखेलेर नयाँ भाषाका दल राखेर उमारेर रोप्ने देशहरु छन् सबै पूर्वका । यहाँका अनेक शताब्दी राजनीतिक अस्थिरताले खाइदियो । त्यसैले अति नयाँ नयाँ छ नेपाली भर्खर फुल्न फल्न थालेको मात्रै छ । हामी आफैँलाई फुर्किन त पुग्नेछ । जब विश्वलाई देखाउने कोसेली खोज्छौँ, केही छैन; त्यतिबेला मुख छोप्नु पर्छ । जब विश्वले चिन्ने माध्यम केही छैन भन्ने बोध हुन्छ, तब मुख छोप्छौँ । पचास वर्षे युद्ध र द्वन्द्वले निलेको अफ्गानिस्तानले पनि खालिद हुसेनी जन्मायो । उनको द काइट रनर, स्प्लेण्डिडसन् जस्ता उपन्यासमा विश्वले अफगानिस्तान पढ्दैछ, नेपाली पाठ्यक्रममा पनि ती कृति छन् ।

अरुका स्तरमा दाँजिन ता आफ्नै भाषामा लेख्नु पर्छ, आफ्नो साहित्य उठ्नु उठाउनु पर्छ । अन्यको भाषा टिपेर सिकेर त्यसलाई कुनै चोके बल्छीमा अल्झाएर आफ्नो देशलाई चिनाउनु एउटा कुरा हो । बैसाकीमा हिँडेजस्तो तर सर्वप्रथम ता आफ्नै भाषा–जननीलाई भिटामिन खुवाएर बल्ली बनाउनु पर्दछ । दह्री र राम्री बनाउनु पर्छ । त्यसो भए मात्रै उनले जन्माएका सन्तानहरु पनि आफ्नै माताको स्तनपानले दह्रा भएर संसारसँग भिड्न सक्ने छन् । त्यस्ता छोराछोरीको खाँचो छ । विमाताको पौष्टिक स्तनपानले हुर्केपछि धेरै समय उतैको ऋण चुकाउनुपर्ने हुन्छ । स्वभावैले आफ्नो देशको लागि खर्च गर्न आधि मात्र शक्त बाँकी रहन्छ ।

सर्वप्रथम त आफ्नै भाषालाई छुनुपर्छ । यसैलाई सुमसुम्याउनु पर्छ । अन्य भाषामा मात्रै बोल्नु भनेको अरुको लाउड स्पीकरमा आफ्नो मुख जोडेर कराउनु जस्तो हो । यता आफ्नो भाषामा बोलेको कसैले नसुन्दो रहेछ भन्ने प्रभाव दिनु जस्तै हो । नेपाली भाषासाहित्य उठाउन सकीनसकी गाउँठाउँदेखि हजार हण्डर खाँदै दुःख भोग्दै यसैमा लेखिरहेका, बोलिरहेका, छापिरहेका लाखौँ स्रष्टा नै यो देशका भनौँ यो जातिका प्राण हुन् । यहाँदेखि उठेर संसारको दशै दिशा पुगेका नेपालीहरु पनि नेपाली भाषामै प्राण भर्न दत्तचित्त भएको देख्ता हामीलाई साहसभरिने कारण त्यही हो ।

म छक्क पर्छु— सिर्जनाका शाश्वत मूल्यहरु एकपल्ट सिकेपछि सदालाई होला भनेको, नहुँदो रहेछ । अनुपस्थितिमा रहेछन् कति कुरा समयले उघार्दै लाँदो रहेछ । नारीका, लैंगिक विभेदका कष्ट हिजो कहाँ थिए ? मानवेतर जगत्का अनेक दुख भरिएर पृथ्वी घाइते झैँ भएकी छन् आजै । अनेकौँ दुखहरु मिली ठूलो मुख बाएर रुँदै कराउँदै खबरदारी गर्दै सडकमा आएका छन् आजै । हिजो ती कहाँ थिए ?

तपाइँको प्रतिक्रिया