बिहीबार, वैशाख १३, २०८१

थप नभाँच्चीनुस प्रधानमन्त्रीज्यु

सन्जय घिमिरे२०७७ फागुन १५ गते १८:४६

“……..यदि मबाट अहिले केही कमजोरीको काम हुनगयो भने म त बिग्रें बिग्रें, मैले छोडेर जाने उत्तराधिकारको सम्पत्ती, इज्जत र मर्यादालाइ पनि नष्ट गरेर जानेछु । तसर्थ, जे भएपनि, मृत्युलाइ अँगालेर पनि मैले नैतीकतालाइ छाडनुहुन्न, मैले आफुलाइ भाँचीन दिनुहुन्न ।”
(जेल जर्नल पृष्ठ १८६, बिश्वेश्वरप्रसाद कोइराला )

आज म बीपीका यी पंक्तिहरु पढिरहेको छु । र दिमागमा छन्– नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, जो भाँचीदै गैरहेका छन् नैतीक रुपले ।

मृत्युलाइ अँगालेर पनि मैले नैतीकतालाइ छोडनुहुन्न भन्ने कहाँ ती बीपी, नैतीकतालाइ आवरण मात्र ठान्ने कहाँ नेपालका अहिलेका प्रधानमन्त्री ओली र तीनका सहयोगीहरु ! राजनीतीमा लाज र नैतीकता कती हुन्छ, कती हुन्न म जान्दिन ।

राजनीतीको लाज, जिद्धीले ढाकिन्छ कि नैतीकताले ढाकिन्छ ? यो पनि म जान्दिन । राजनीतीमा नाङ्गीनु वा नाङ्गीएको थाह नपाउनु, स्वाभावीक हो वा के हो, यो पनि म भन्न सक्दिन ।

कस्तो बिडम्बना, न नाङ्गीएकोलाइ आफु नाङ्गीएको बोध हुन्छ, न उसलाइ उसका नजीककाले तपाँइ नाङ्गो हुनुहुन्छ भन्ने आँट गर्छन । नाङ्गोले कतैबाट पनि आफुलाइ नाङ्गो पाउँदैन । यही हो आजको नेपाली राजनीतीको ठुलो दूर्भाग्य ।

म आज नेपाली राजनीतीमा मात्र देखिरहेको छु– नाङ्गा रुपहरु । कतीसम्म नाङ्गा भने जसले जसको हत्या गर्‍यो, उही आज उसले मारेको चीजको बिश्वास जित्छु भन्ने जिद्धी गरिरहेको छ । यो कस्तो जिद्धी हो ?

प्रधानमन्त्री ओली जसले यो संसद काम छैन, नयाँ चाहियो भने, भैरहेको संसदलाइ मारे । अदालतले मारिएको संसदलाइ व्युँत्याइदियो । प्रधानमन्त्री ओली र उनका सहयोगीहरु अहिले भनीरहेका छन – हामी संसद ‘फेस’ गर्छौ । कसरी फेस गर्ने ? कुन नैतीकताले फेस गर्ने ? के राजनीतीमा लाज भन्ने हुँदैन ? के राजनीतीमा नैतीकता भन्ने हुँदैन ?

आफुले हत्या गरेकै व्यक्तिको मलामी कोही गएको मलाइ थाह छैन । मलामी जाने मात्र होइन, काजक्रिया पनि हत्याराले नै गर्न खोज्ने यो कस्तो बिडम्बना हो ? के राजनीती भनेकै यही हो ? के राजनीतीमा लाज हुँदैन ? के राजनीतीमा ग्लानीभाव रत्तिभर हुँदैन ?

म आज नेपाली राजनीतीका गणेशमान र कृष्णप्रसाद भटटराइलाइ सम्झिरहेको छु, जसले बरु आफूलाइ पृथक राखे, बरु आफू बाहिरीए, राजनीतीक हिसावले बरु मृत्यु वरण गरे, तर आफू र आफ्नो दललाइ भाँचीन दिएनन । आज ओलीबाट अपेक्षा गरीने यही चीज हो ।

तर कहाँ बि पी, कहाँ गणेशमान, कहाँ कृष्णप्रसाद भटटराइ र कहाँ के पी ओली । ओली अरु भाँचीन खोज्दैछन ।

नेपालका प्रधानमन्त्री ओलीलाइ मेरो आग्रह छ– तपाइ अब थप नभाँच्चिनुस ।  बीपीले भनेजस्तो बरु मृत्युवरण गर्नुस । तर यसरी नभाँचीनुस । तपाँइ भाँचीदा, तपाँइका उत्तराधिकारको सम्पत्ती– इज्जत र मर्यादा पनि नष्ट हुनेछ । कृपया यसो नगर्नुस । तपाइ र तपाइका सल्लाहकारहरु वा हामी सबैको बुझाइको सिमितता छ । यी सिमततालाइ स्विकार्नुस । र, सरक्क बाहिरिनुहोस । बरु, पहल गर्नुस प्रदीप गिरी, गगन थापा, घनश्याम भुसाल वा यी जस्तै कोहीलाइ बाँकी दुइ वर्षका लागी प्रधानमन्त्री बनाउन । कसरी यो सभ्भव हुन्छ, म जान्दीन । अबका दुइ वर्ष आफुलाइ सच्चयाउन र अरुलाइ सच्चिन दिन प्रयोग गर्नुस ।

के बिग्रन्छ प्रदीप गिरीलाइ प्रधानमन्त्री बनाउन पहल गरे ? के बिग्रिन्छ गगन थापालाइ प्रधानमन्त्री बनाउन पहल गरे ? तर कृपया गल्ती गरेर पनि शेरबहादरु देउवालाइ फेरि प्रधानमन्त्री बन्ने बाटो नखोल्नुस । तपाइ आफैं प्रधानमन्त्री रहिरहने कुरा न लाजले दिन्छ, न नैतीकताले । प्रचण्ड र माधब नेपालहरुसँग पनि यस्तै आग्रह छ । तपाइहरु फेरिपनि देउवालाइ प्रधानमन्त्री बन्ने आग्रह लिएर बुढानीलकण्ठ नधाउनुस । बरु गगन कहाँ जानुस, बरु गिरी वा उनीहरु जस्तै तपाँइकै दलका अरु कसैकोमा जानुस ।

के को आशले तपाइहरु अझै पनि बुढानीलकण्ठको चक्कर लगाउनु हुन्छ ? नेपाली राजनीतीले अब नयाँ बाटो, नयाँ मान्छे र नयाँ चरित्र खोजीरहेको छ । जिद्धी गर्ने नै हो भने यसैतर्फ जिद्धी गर्नुस । अबका दुइ वर्ष पानीको मुल सङ्लीन दिनुहोस । त्यसपछि राजनीतीको नदी त यसै स्वच्छ बहन्छ नै । कृपया, राजनीतीलाइ लाजबाट बचाउनुहोस ।

तपाइँको प्रतिक्रिया