बिहीबार, वैशाख १३, २०८१

यस कारण अब महाअभियोग ल्याउनै पर्छ

ऋषी पल्लव२०७७ फागुन १८ गते २१:४९

नेपालको एउटा ईतिहासमा पूर्णविराम लागेर अर्को ईतिहास लेखिँदै थियो । रामवरण यादव सेतो कुर्ता सुरुवाल र ठुटे ज्वारीकोटमा संविधान सभाको कम्पाउण्डमा नेपाली कांग्रेसका सांसद सहकर्मी सँग गफिँदै थिए । तिनका आँखा निकै उदास थिए । र बेला बेलामा पर क्षितिजमा डुलिरहेका हुन्थे । तिनले त्यो दिन सम्भवत: अन्तिम पटक भगवानसँग विजयको याचना गरिरहेका हुँदाहुन् । गिरिजा प्रसाद कोइराला ढुक्क थिए, सेटिङ मिलिसकेको थियो ।

तर यादवको मुटुको रफ्तार नापी नसक्नु थियो । आफ्नो पछील्लो जिन्दगीमा सयौं बिरामीको मुटुको धड्कन छामेका यादवले आफ्नो मुटुको गतिलाई धेरै पटक दबाएर राखे । त्यो यस्तो समय थियो जुन कुनै क्षेत्रमा हुने संसदिय चुनावको जित र हार जस्तो सरल थिएन । ईतिहासमा छापिने र ईतिहासबाट उछिट्टिने विल्कुलै अलग ध्रुवका कुराहरु थिए । ईतिहासमा छापिने रहर कसलाई हुँदैन ? यादवलाई पनि थियो ।

ईतिहासका पानामा लेखिनु र नलेखिनु विचको द्वन्द्व कस्तो हुन्छ भन्ने अर्धचेतन परिभाषा यदवलाई भन्दा अरु कसलाई थाहा होला । जब उनी संविधान सभा भवनबाट बाहिर निस्किए । तिनको सेतो कुर्ता सुरुवाल अविरले रंगिएको थियो । तिनको चेप्टो अनुहार रंगोलिमा रंगिएको लालुपाते फूल जस्तो भएको थियो । संविधान सभाको गेटबाट बाहिँरिदा होलीमा चुर्लुम्म डुबेका रामवरण यादव नेपालको पहिलो राष्ट्रटपती बनेर बाहिरिएका थिए । २ सय ४० वर्षको राजातन्त्रलाई विस्थापित गर्दै डा। रामवरण यादव नेपालको प्रथम राष्ट्रपती मात्र बनेनन् उनी सिमान्तकृत समुदायबाट काठमाडौंको टुप्पोमा पुग्ने पहिलो ब्यक्ती बने ।

काठमाडौंमा चनाचट्पट बेच्ने हुन वा पोखरामा कपडाका गोदाम राख्ने मधेसका नेपाली जो धोती कहलिएका थिए ति सबैले छाती खोलेर नेपाली भन्न पाए । रामवरण यादवको उदयसँगै देशलाई फाईदा भएको त्यही एउटा कुरा थियो- ईतिहासमै पहिलो पटक मधेशले काठमाडौंलाई अँगालो मार्यो । काठमाडौंले सिर झुकाएर आत्मसात गर्‍यो ।

तर भर्खर शुरु हुन लागेको नेपालको गणतान्त्रिक यात्रामा गिरिजा प्रसाद कोइरालाले गरेको पहिलो गल्ती यहि थियो । यादव नेपाली कांग्रेस भित्र तेस्रो अथवा चौथो तहका नेता थिए । स्वभाविक रुपमा राष्ट्रपती बनेपछी उनको उचाइ बढ्यो । धेरै मुद्दामा उनले सुझबुझ देखाए पनि । प्रधान सेनापती रुक्माङ्गद कटुवाल बर्खास्ति केसमा राष्ट्रपतिले लिएको अडान धेरैलाई ‘इन्डियन स्टेप’ लागे पनि भर्खरको हिंसात्मक राजनीतिबाट खुला माहौलमा ओर्लदै गरेको एउटा अविकशित देशका लागि भने उनको निर्णयले साकारात्मक सन्देश दियो । तथापी गिरिजा प्रसाद कोइरालाको रामवरण छनौटले नेपालको गणतान्त्रिक भविष्यमा धेरै पटक प्रश्न उठाउने छ । त्यो यस्तो समय थियो, गिरिजा प्रसाद कोइराला उचाइमा थिए । र उनले जे गर्दथे देशका लागि त्यही नजिर बन्ने समय थियो । नजीर बन्यो पनि ।

बिद्यादेवी भण्डारी राष्ट्रपतिको कुर्सीमा पुग्नु गिरिजा प्रसाद कोइरालाले स्थापित गरेको त्यहि नजिरको निरन्तरता थियो । यसले राष्ट्रपतिको गरिमालाई निकै तल्लो तहमा पुर्याइदियो । एउटा सामान्य सांसदको पद भन्दा पनि राष्ट्रपतिको कुर्सी सस्तो भयो ।

नेपाली कांग्रेस र एमाले भित्रै राजनीतिक उचाइमा पुगेका दर्जन भन्दा बढी राष्ट्रपतीका उम्मेद्वार खोज्न सकिने थियो । तर बिद्यादेवी भण्डारीको तहसम्म ओर्लिनुपर्ने बाध्यता गणतन्त्रको उदेक लाग्दो पक्ष हो । कतिपय पूर्व एमालेहरु बिद्यादेवी भण्डारीलाई राष्ट्रपती बनाएकोमा पछुतो मानिरहेका छन् । जायज छ । राष्ट्रपतीले खेलेको राजनीतिक खेलले तिनको पश्चतापलाई जायज नै बनाउँछ ।

वर्तमान प्रधानमन्त्री केपी ओलीले राजनीतिक संस्कार देखाएको भए सम्भवत अहिलेको अवस्था आउने थिएन । जिन्दगीका हरेक मोडमा संस्कार भन्ने कुरो निकै महत्वपूर्ण हुन्छ । राजनीतिमा त झनै हुन्छ । २०७२ को कात्तिकमा नेपाल कम्युनिष्ट पार्टी एमालेले ओलीको हठलाई वेवास्ता गरेर राष्ट्रपती संस्थालाई पार्टीगत राजनीतिबाट माथि उठाउने पहल गरेको भए अहिलेको संकट भन्दा माहौल अल्ली फरक हुने थियो । त्यो बेला एमालेका नेताहरु ओली सँग डराए । अहिले त्यो डर चोक चोकमा पुगेको छ । ओली भण्डारीको जोडीले अझै पनि गणतन्त्रका जरा खोतल्ने सम्भावना ज्युँका त्युँ छन् । ट्रेलर अझ सकिएको छैन । त्यसैले अब के त ?

ओली इतरका पार्टीहरुले हिम्मत गरेर राष्ट्रपती बिद्यादेवी भण्डारी बिरुद्द महाअभियोगको प्रस्ताव संसदमा दर्ता गराउने हो भने अझै पनि देशको राजनीति शुद्धिकरण तर्फ बढ्ने छ । यो कुरो आमसभामा भाषाण गरे जस्तो सजिलो पक्कै छैन । तर प्रचण्ड-नेपालहरुले हिम्मत गर्ने हो भने असम्भव पनि हुने छैन । किन भने बिद्यादेवी भण्डारीका बिरुद्दमा महाअभियोग प्रस्ताव दर्ता गराउनु राष्ट्रपतीय संस्थाका बिरुद्दमा होइन, ब्यक्तिका विरुद्दमा हो । उनले एक वर्ष यता पटक पटक संविधान माथी गरेको ज्यादातिका विरुद्दमा हो । किनभने राष्ट्रपतीको कुर्सीमा विराजमान भएर गुटगत राजनीतिमा लाग्नुको विरुद्दमा हो । एमालेले जुन तहमा पुगेर राष्ट्रपतिको खोज गरेको थियो त्यो खोजको परिणाम वास्तवमा यही नै हो ।

देशमा गणतन्त्र आवश्यक छ कि छैन यो अर्को कुरा होला । अब कुनै पनि तन्त्रका बिरुद्दमा पुन: जनतालाई बोलाउनु अन्याय हुनेछ । जनमतलाई सम्मान नगर्ने कदममा सहिछाप ठोक्ने राष्ट्रपती न देशले खोजेको हो न जनताले कल्पना गरेका हुन् । त्यसैले गणतन्त्रका असजिला भेट्नाहरु निकाल्ने बेला भएको छ । राष्ट्रपतीका गलत कामका विरुद्दमा महाअभियोग आउनै पर्छ । अब एउटा नजिर बस्नै पर्छ । देशले सधैं आन्दोलन गर्ने केटाकेटी जन्माएर सुत्केरी बसिरहनु हुँदैन । अब महाअभियोग जरुरी छ । आन्दोलनकारी जन्माइरहने देशलाई ‘नसवन्दी’ गर्न जरुरी छ ।

तपाइँको प्रतिक्रिया