बिहीबार, चैत १५, २०८०

राजनितिबाट माथि उठेर पत्रकारिता गर्न आग्रह

मेडिया२०७७ फागुन १९ गते ०:३६

नेपाल पत्रकार महासंघ पोर्चुगल शाखाको पहिलो अधिवेशन मंगलबार बेलुका सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न भएको उक्त सम्मेलनमा केन्द्रिय प्रतिनिधिका रुपमा युके शाखाका अध्यक्ष नरेश खपांगीको उपस्थित थियो ।

पोर्चुगल शाखाका तदर्थ समिति संयोजक योगेन्द्र मिलन छन्त्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई संबोधन गर्दै फ्रान्स र पोर्चुगलका लागि नेपाली राजदूत दीपक अधिकारीले समाजलाई आँखो देखाउने र सुसुचित गर्ने काम पत्रकारहरु भएकोले समाचार संप्रेषण गर्दा नियतवस त्रुटी नगर्न अनुरोध गर्नुभयो । देश हितमा नरहेका समाचारहरुलाई ब्रेकिंगका रुपमा प्रचार नगर्न र अफ द रेकर्डमा भनिएका कुराहरुलाई छानेर मात्र सूचना दिन पनि उहाँले अनुरोध गर्नुभयो ।

पुनम गौतम द्वारा स्वागत मनतव्य व्यक्त गरिएको उक्त कार्यक्रममा शेर्पा किदुक पोर्चुगलकी अध्यक्ष निम युमा शेर्पाले पत्रकारहरु निष्पक्ष हुनुभन्दा गुटबन्दीमा भुलेको देखिएको बताउनुभयो ।

जनप्रगतिशिल मोर्चाका पोर्चुगलका अध्यक्ष पूर्ण विकले सरकार र माओवादी विप्लव समुहसँग वार्ता शुरु हुन गईरहेको प्रसंगले आंफू खुसी भएको र वार्तामा बसेर समस्या समाधान होस् भनि कामना गर्दै पत्रकारहरुले आफ्नो कलम निर्भयका साथ चलाउन् भनि कामना गर्नुभयो ।

यसैगरी नेपाली समाज पोर्चुगलका धनराज शेर्पाले समाजलाई एक बनाएर लग्न र बिबाद रहित समिति बनाउन अनुरोध गर्नुभयो ।

महिला समाज पोर्चुगलका अध्यक्ष निर्मला ढकाल कलम चलाउन नसक्नेलाई नसमेटिएको, अधिवेशन बारे जानकारी नदिईएको भनि बाहिर बाहिर गुनासो सुनिएपनि अब बन्ने अधिवेशन पछिको समितिले सवैलाई समेटोस् भन्ने चाहना व्यक्त गर्नुभयो ।

नेपाली नारी समाज पोर्चुगलका कार्यवहाक अध्यक्ष मिना माया खरेलले राजनीति भन्दा माथि उठेर पत्रकारिता गर्न पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।

नेपाली प्रवाशी मन्च पोर्चुगल ओली पक्षका अध्यक्ष मदन लिम्बुले सम्पूर्ण पत्रकार बन्धुहरुलाई एकैठाउँमा ल्याएर कुशल टीम निर्माणको गर्न अनुरोध गर्दै सत्य तथ्य नलुकाईकन सही समाचार प्रकाशित गर्न जोड दिनुभयो ।

प्रेस युनियन बेलायतका अध्यक्ष विपिन निरौलाले पत्रकारहरुले स्रोत भेरिफाई नगरी समाचार लेख्दा गलत कुराहरु जानसक्ने भएकोले पत्रकारहरुले समाचार लेखनमा बिशेष ध्यान दिन आग्रह गर्नुभयो । तदर्थ समितिले यस अघि नै राम्रो काम गरिसकेकोले आउने दिनमा पनि राम्रो काम गर्न पोर्चुगल शाखा सक्षम रहने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी नेपाल पत्रकार महासंघका बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले नेपाली समाजमा कसैले कसैमाथि हस्तक्षेप नगरोस् भन्ने कुरामा आफूहरु सचेत रहेको र भेदभाव भएका बखत पत्रकारहरुले लेख्न नछोडेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ यूरोप शाखाका पूर्व उपाध्यक्ष अनुराधा पौडेलले आफु अहिले नेपालीहरुको अन्तर्राष्ट्रिय सन्जाल ईन्जामा रहेको र ईन्जा युरोपका महासंघका शाखाहरु सँग मिलेर काम गर्न चाहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष लक्ष्मण देवकोटाले गलत समाचार लेख्दा पोर्चुगलमा आफू र गणेश पान्डेहरु लखेटिएको स्मरण गर्दै सहिको आवरणमा गलत कुरा नलेख्न आग्रह गर्नुभयो ।

गैह्र आवासिय नेपाली संघका उपाध्यक्ष सीता श्रेष्ठ र आईसिसी सदस्य नारायण काजीले पत्रकारहरु एकआपसमा नमिलेको देख्दा नराम्रो लागेको बताउँदै पोर्चुगलमा पत्रकारहरुकै कारण केहि सुधारहरु संभव भएको उल्लेख गर्नुभयो ।

पत्रकार महासंघ यूरोपका कार्यवहाक अध्यक्ष डिल्ली अमगाईंले भूईं मान्छे खोज्दै हिड्ने भएकोले पत्रकारहरु कहिलेकाही वायस देखिएको जस्तो लागेको बताउनुभयो । पत्रकारहरुले सहयोग रकम जुटाउँदा कोसँग लिने कोसँग नलिने भन्ने कुरामा ख्याल पुर्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रमका मूख्य अतिथि बेलायत शाखाका अध्यक्ष नरेस खपांगीले पत्रकार महासंघको जहाँ जहाँ शाखा छ त्यहाँ केन्द्रले क्षमता अभिबृ्दि काम गर्ने भएकोले भविष्यमा पोर्चुल शाखा नमुना शाखा बनोस् भनि शुभकामना दिनुभयो ।

नेपाल पत्रकार महासंघ पोर्चुगल शाखाका प्रबक्ता पेम्बा गुलु शेर्पा द्वारा सन्चालित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ पोर्चुगल शाखाका संयोजक योगेन्द्र मिलन छन्त्यालले अपारदर्शी, मनपरि तन्त्र र स्वेच्छाचारिताले शाखालाई धरासायी बनाउने भएकोले आफूहरुले बिधानसम्मत तरिकाले पोर्चुगल शाखा चलाउन चाहेको बताउनुभयो ।

तपाइँको प्रतिक्रिया

फेसबुक