बिहीबार, कार्तिक ११, २०७८

मधेशलाई काठमाडौंमा देख्न नचाहने एउटा बडेमानको समुह अहिले पनि सकृय छ- जेपी गुप्ता

नेपालप्लस विशेष संवाददाता२०७७ फागुन १९ गते २३:३१

कुनै जमानामा जयप्रकाश प्रसाद गुप्ता (जेपी आनन्द) को नेपाली कांग्रेस भित्र छुट्टै ठाँट थियो । गिरिजा प्रसाद कोइरालाका प्रिय थिए । युवा अवस्थामै नेपाली कांग्रेसको केन्द्रिय सदस्य समेत बने । सप्तरीको सुदुर गाँउबाट राजधानी आएर काठमाडौंलाई आफ्नो मुट्ठिमा कस्न सक्ने पहिलो मधिसे नेबीसंघ । उतिबेला यिनको उर्लँदो ब्यक्तित्वमा नेपाली कांग्रेसको सभापती बन्न सक्ने योग्यता फेलापारेका थिए धेरैले । तर कथाको माग अर्कै थियो सायद । सबै एकै पटक ढल्यो । अनुशासनको कारवाहिमा परे यिनी । हिम्मत हारेनन् । अर्को एउटा पार्टीको अध्यक्ष सम्म भए । पटक पटक सांसद र मन्त्री समेत बनेका गुप्ता भ्रष्टाचारको मुद्दामा १८ महिना जेल परे । धेरैले गुप्तालाई जेल पठाउने अदालतको निर्णयलाई ताली पिटेर स्वागत गरे भने कतिले यसलाई एउटा ‘डिजाइन’ अन्तर्गत चालिएको कदम पनि भने । सत्य जे सुकै होस्, अख्तियार र अन्य अनुसन्धानहरुले भ्रष्टाचारी भनेर किटान गरेका अरु दर्जनौ राजनीतिज्ञहरु इज्जतसँग अलिशान जिन्दगी बाँचिरहँदा गुप्ताले त्यही आरोपमा जेल सजायँ पाउनु अनौठो भने पक्कै लाग्न सक्छ । ठुलो संघर्षले तराईबाट काठमाडौ पुगेका उनलाई छोटो समय मै काठमाडौंले किनारा लगायो । नेपालप्लस सँगको कुराकानीमा उनले भने- मधेशलाई काठमाडौंमा देख्न नचाहने एउटा बडेमानको समुह अहिले पनि सकृय छन ।

आजभोलि के गर्दै हुनुहुन्छ ?

सबैलाई थाहा नै छ म राजानितिमा सकृया छैन । केही समय पहिले हामीले नितराइ मधेश राष्ट्रिय अभियान भन्ने एउटा संस्था बनाएका थियौं । निर्माणाधिन संबिधानमा तराइका मुद्दाले स्थान पाउन् र संघियता बलियो होस् भन्ने आवश्यकता महशुस भएर त्यो संस्था बनाएका थियौं । संबिधान निर्माण भइसकेपछी त्यस प्रकारका संस्थाको औचित्य परिवर्तन भयो । त्यसैले मुलधारको राजनीतिमा नभएको हुनाले चिन्तन र स्वअध्ययनमा नै समय बिताएको छु ।

मधेशका मुद्दा स्थापित गर्न भनेर संस्था समेत निर्माण गर्नु भयो । परे त मधेशका मुद्दा संविधानमा ?

निष्चित रुपमा परेका छन् । हामीले संविधान निर्माणको क्रममा धेरै मुद्दाहारुलाई अगाडि राखेका थियौं । त्यसको मुल अभिप्राय के थियो भने मधेसी जनताले मुलुकका अन्य नागरिक सरह अधिकार उपयोग गर्न पाउन् र संघियता बलियो बनोस भन्ने थियो । अब संविधान निर्माण भइसकेपछि ति मागहरु पूर्ण रुपामा पुरा नभए पनि सविधानको बिकासका क्रममा अन्य मागहरु पुरा होलान भन्ने विश्वास लिएका छौं । किनभने मागहरु पुरा गराउनका लागि सधैंभरी आन्दोलन मात्र माध्यम हुन्छ भन्ने कुरामा मैले विश्वास गर्दिन । जनप्रिय संविधान निर्माण हुनुपर्दछ र त्यो संविधानले मुलुकको उपेक्षित वर्गलाई कुनै न कुनै रुपमा संबोधन गर्नु पर्दछ । संघियताको माध्यमबाट देशको शासन ब्यवस्था चल्नु पर्दछ भन्ने हाम्रो माग थियो । संविधानमा कुनै न कुनै रुपमा यि कुरा आएका छन् र तार्किक कुराहरु संवैधानिक प्रकृयाबाट पुरा हुने कुरामा हामी विस्वश्त छौं । कती कुरा पुरा नभएका छन् । ति कुराहरुलाई आगामी दिनमा राष्ट्रिय राजनीतिले पक्कै पनि आत्मसात गर्ने छ ।

अन्य मधेशी दलहरुले उठाएका मुद्दामा तपाईं सहमत हुनुहुन्छ त्यसो भने ?

आधारभुत रुपमा सबै मधेशी दल र नेताहरुले उठाउनु भएका मुद्दाहरुमा समानता नै देखिन्छ । तर कस्तो भएको छ भने अन्य मधेशी पार्टीहरुले यहाँँका मागहरुका बारेमा निरन्तरता छैन । खास गरी जनता समाजवादी दलको कुरा गरौं न । यदी उहाँहरुको अडान र निरन्तरता भएको भए यहाँँका मागहरु पुरा भइसक्दथे । तर जतिबेला मधेशका मागका बारेमा अडान राख्नुपर्ने थियो, त्यतिबेला उहाँहरु सत्ताको ‘बार्गेन’ गर्न जानु भयो । शक्तिमा कसरी पुग्ने भन्ने कुरा नै मुख्य मुद्दा बन्यो । त्यसैले पटक पटक मधेशका सवाललाई स्विकृत गर्ने कुरामा चरित्रगत कमजोरिहरु देखिएका छन् जसपाका नेताहरुको । यस्ता कुरामा उनिहरुसँग हाम्रो असहमती छ । तथापी हाम्रा आधारअभुत मुद्दाहरुमा सहमती नै छ ।

तपाईं नेपाली कांग्रेस पार्टी र देशकै त्यती माथिल्लो तहसम्म पुगेको ब्यक्ती यस्तो तिब्र गतिको ओरालो, कल्पना भन्दा बाहिरको जिन्दगीमा झर्नुभयो ?

त्यो कथा धेरै लामो छ । पहिलो कुरा त म नेपाली कांग्रेसको राजनीतिबाट आफ्नो इच्छाले बाहिरिएको होइन । तत्कालिन अवस्थामा म नेपाली कांग्रेसमा बस्नै नसक्ने अवस्था भयो । ति घटनाहरु केलाउने हो भने धेरै समय लाग्छ । तथापी हाम्रा कतिपय कुराहरुमा जस्तो कि नेपाली कांग्रेसले संघियताको मुद्दा उठाउनुपर्छ भन्ने कुरा जुन अलिकती अग्रगामी थियो । अन्ततोगत्वा यो कुरालाई आत्मसात गर्नुपर्छ नै भन्ने मेरो कुरा थियो । उपेक्षित, उत्पीडित र वहिष्कृत समाजका चाहनाहरुलाई नेपाली कांग्रेसले नेतृत्व दिन सक्नुपर्दछ भन्ने कुराहरु हाम्रा थिए । शायद यि कुराहरुका लागि नेपाली कांग्रेस परिपक्व भइसकेको थिएन । त्यसले पनि हो कि नेपाली कांग्रेसका केही नेताहरुले यि कुराहरुलाई बिद्रोहका रुपमा लिए र मलाई अनेक प्रकारका स्पष्टिकरण सोध्ने गरियो । पार्टी बाटै निस्काशित गरियो । म राजनीति गर्ने मान्छे के गर्ने अन्योल भयो । मेरा जुँगाका रेखी नबस्दै देखी ज्यान जोखिममा राखेर हिंडेको पार्टीले मलाई स्वाट्ट थुतेर फालिदियो । कतै पुनरावेदन गर्ने ठाँउ भएन । अनी म मधेशको राजनीतिमा लागें । यहिँबाट परिवर्तन गर्न सकिन्छ भन्ने सोचले अघी बढें । तर म माथि एक पछी अर्को षडयन्त्र हुँदै गयो । भ्रष्टाचारको मुद्दा लगाइयो । मैले विशेष अदालतबाट सफाइ पाएँ । पछी त्यो मुद्दा सर्वोच्चमा पुग्यो । हाम्रो पुर्व राजनीतिक संगतको कारण र सुशिला कार्कीको पूर्व राजनितिक धारणाको कारणले मलाई राजनीतिबाट समाप्त गर्नेगरी मेरो विरुद्धमा फैसला गरिदिनु भयो । त्यसपछी केही कानुनहरु यस्ता बने कि म निर्वाचनमा लड्न नपाउने भएँ । पार्टी खोल्न नपाउने भएँ ।

नेपाली कांग्रेस भित्र तपाईंलाई समाप्त पार्ने षडयन्त्र कसले गर्‍यो ? अलिकती स्पष्ठ गर्नु न ?

तपाईंलाई रोचक लाग्न सक्छ । महन्थ ठाकुर जो मधेशको बडो सुपरिचित नेता हुनुहुन्छ । त्यो बेला उहाँ नेपाली कांग्रेसको अनुशासन समितिको अध्यक्ष हुनुहुन्थ्यो । उहाँले नै ममाथि अनुशासनको कारवाही गर्नु भएको हो । रामवरण यादव जो पछी राष्ट्रपती हुनुभो यादवजीले नै मेरो विरुद्दमा पार्टीभित्र ठुलो क्याम्पेन चलाऊनु भयो । मैले आर्मीको बारेमा बोलेका कुराहरुलाई लिएर गुप्तालाई पार्टीबाट निस्काशित गर्नु पर्दछ भनेर उहाँले उठाउनु भयो । यि सबै कुराको नेतृत्व, कुनै ब्यक्तिलाई भन्नुपर्दा हाल उहाँ अहिले जिवीत हुनुहुन्न, मृतात्मासँग माफि माग्दै भन्छु, त्यतिखेर सुशिल कोइरालाले यो परिस्थितिलाई बुझ्न सक्नु भएन । सुशिल कोइरालाहरुको दवावका कारणले गर्दा, गिरिजा बाबु जसले मलाई वाल्यकाल देखिनै चिन्नुहुन्थ्यो उहाँले पनि अडान लिन सक्नु भएन । यस्ता धेरै गन्यमान्य ब्यक्तिहरु हुनुभयो पार्टीमा जसलाई मेरा कुराहरु मन परेन । अहिले हेर्, गणतन्त्र, संघियताका, धर्म निरपेक्षता र मधेसी-जनजातिका बारेमा सबभन्दा ठुला कुरा उहाँहरु नै गर्नु हुन्छ ।

पार्टीबाट निस्काशित भए पनि तपाईंले रामवरण यादव र महन्थ ठाकुर सँग प्रतिवाद गर्न सक्नु पर्दथ्यो । किन चुपचाप मधेशी राजनीतिमा जानु भो ?

हेर्नुस् म नेपाली कांग्रेस प्रती सधैं अनुग्रहित छु । नेपाली कांग्रेसका ठुला नेता प्रती नतमस्तक छु । मलाई पार्टीले स्थान दियो । नेताहरुले मुल्यांकन गर्नु भो । तपाईंलाई एउटा कुरा भनौं, महन्थ ठाकुर, रामवरण यादव, बिमलेन्द्र निधिहरु नेपाली कांग्रेसको केन्द्रिय सदस्य हुनुभन्दा धेरैअघी म केन्द्रिय समितिको सदस्य भएको थिएँ । म प्रचार विभागको संयोजक पनि भएको थिएँ । नेपाली कांग्रेसले मलाई अनेक जिम्मेवारि दियो । त्यसका लागि म जीवनभर आभारी छु । तर पछील्लो समयमा नेपाली कांग्रेसका नेताहरुले म प्रती न्याय गर्नु भएन । तपाईंले भने जस्तै मैले आफ्ना कुराहरु राखें । नेपाली कांग्रेसमा एकल नेतृत्व थियो । मैले गिरिजा बाबुलाई मेरा कुरा राखें । उहाँले मेरा कुराहरु बुझिदिनु भएन । मैले शेरबहादुर अथवा रामचन्द्रजीबाट न्याय पाउने अवस्था पनि थिएन । त्यस्तो बेला म मात्रै होइन जो सुकै पनि असाहय हुन जान्छ ।

तपाईं कुनै जमानामा गिरिजा प्रसाद कोइरालाको अती नै निकट हुनुहुन्थ्यो, अचानक तपाईं प्रती के को पुर्वाग्रह त ? के थियो कारण ?

ब्यक्तिगत त त्यस्तो कुनै कारण म देख्दिन । मैले अनादर गरेको अवस्था पनि थिएन । अहं सवालहरुमा हाम्रा सोचाइ एक थिए । तर मैले भने नि सुशिल कोइराला लगायतका नेताहरुको म प्रती बढी द्वेष देखियो । गिरिजाबाबुले उहाँहरुलाई न्युट्रलाइज गर्न सक्नु भएन । गिरिजा बाबुसँग मेरो पछीसम्म पनि राम्रो सम्बन्ध रह्यो । उहाँले पछी पनि भन्नुहुन्थ्यो ‘म तिमीलाई मुलधारमा ल्याउँछु । तर सबै हुनुभन्दा पहिले नै उहाँको देहावशान भयो ।’ कहिलेकाहीँ हुन्छ यस्तो । के गर्न सकिन्छ र !

अहिलेको परिस्थितीलाई कसरी हेर्नु भएको छ ? कांग्रेसले अख्तियार गरेको बाटो सहि छ ?

मलाई लाग्छ कांग्रेस ठीक बाटोमा छ । पहिलो कुरा के हो भने नेपाली कांग्रेसलाई सत्ता राजनीतिबाट बाहिर राख्न अन्तरराष्ट्रिय प्रभावलाई मलजल गरियो र जसरी हुन्छ प्रतिपक्षमा पुर्याउने खेल भयो । दोस्रो कुरा एमालेले कहिल्यै पनि माओवादीको राजनीतिलाई स्विकार गरेको थिएन । तर संविधान निर्माण भइसकेपछिको निर्वाचनमा अप्रत्याशित रुपमा दुबै पार्टीले मोर्चाबन्दी गरे जुन नेपाली कांग्रेसको खिलाफमा थियो । संसदिय राजनीतिमा नेपाली कांग्रेसलाई सिध्याउने प्लानिङ अन्तर्गत एमाले माओवादी मोर्चाबनेको थियो । र, त्यो मोर्चालाई अप्राकृतिक रुपले विलय गरियो । यसमा धेरै प्रकारको विदेशी चलखेल रहेको स्पष्ट देखिन्छ । त्यो बेला दुई कम्युनिष्ट पार्टीलाई मिलाउन चीनको भूमिका असामान्य रुपमा प्रकट भयो । नेपाली कांग्रेस जस्तो पुरानो मित्र पार्टीलाई कमजोर बनाउने खेलमा चाइनिजहरु किन लागे निकै रहस्यमय छ । पछी खुल्दै जाला । दुई पार्टीको विलय पछी धेरैलाई लागिसकेको थियो, यो एसोशियसन दिर्घकालसम्म चल्दैन भनेर । चलेन । अहिले नेपाली कांग्रेसले जुन सोच बनाएको छ त्यो ठीक छ । अहिले नेकपाको भावनात्मक चिरा कहाँँ पुग्छ त्यो पर्खिन जरुरी छ । त्यसपछीको कदम कांग्रेस र सबैका लागि उपयोगी हुन सक्छ ।

नेपाली कांग्रेस पार्टीले त्यसरी गलहत्याएको भए पनि मायाँ त लाग्दो रहेछ हगी ?

मेरो जुँगाको रेखी नदेखिँदै म नेबीसंघ र नेपाली कांग्रेसमा लागें । ९ कक्षामा पढ्दा जेल परें । २०४६ सम्म म १६ पटक थुना र जेल परेको थिएँ । त्यो सबै मैले नेपाली कांग्रेसको झन्डा बोकेरै भएको थियो । मलाई अझ पनि के विश्वास छ भने यो मुलुकको रुपान्तरण कसैले गर्न सक्छ भने त्यो नेपाली कांग्रेस मात्र हो । म त्यो पार्टीमा आवद्ध नभए पनि मलाई कांग्रेसको मायाँ मात्र होइन भरोसा पनि छ ।

अन्तमा, महन्थ ठाकुरले तपाईंलाई नेपाली कांग्रेसबाट सिध्याउन जुन निर्णय गराउनु भयो आखिर उहाँ पनि कांग्रेसमा रहन सक्नु भएन । आज भोली तपाईं सँग केही कुराकानी हुन्छ ?

हुन्छ, किन नहुने । बडो सद्भावपूर्ण कुराकानी हुन्छ । ब्यक्तिगत कारणले मलाई सिध्याउन लाग्नु भो भनेर त म भन्दिन । तर उहाँ अनुशासन समितीको सभापति हुनुहुन्थ्यो । उहाँलाई पार्टीका त्यतिखेरका बलिया नेताहरुले दिएको दवाव थेग्न सक्नु भएन । तर आज भोली उहाँसँग मेरो कुराकानी भइरहन्छ । म प्रती सद्भाव राख्नुहुन्छ । पहिलेको जस्तो परिस्थिती छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक