शुक्रबार, वैशाख ७, २०८१

‘नाम काट्दैमा विप्लव सँगको पहिलो वार्ताकारमा मेरो भूमिका कसरी भुल्न मिल्छ ?’ पूर्व वार्ता संयोजक सोम प्रसाद पाण्डे

नेपाल प्लस२०७७ फागुन २१ गते १८:१३

राष्टिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली र भूमिगत जीवन परित्याग गरेर खुला राजनीतिमा उत्रिएका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले के भन्लान् भनेर देश,विदेश सबैतिरका नेपालीहरुले असाध्यै चासोका साथ दिनभर खबर हेरिरहे । लामो समयदेखि भइरहेको वार्ताका प्रयासका कारण तीन बूँदे सहमति बनेको ओलीले बताए भने विप्लवले पनि ओलीको पहल कदमीको निम्ति खुलेरै धन्यवाद दिए । विप्लव खुला हुने सो समारोहमा वार्ताको पृष्ठभूमीको बारेमा भने यौटा महत्वपूर्ण सूचना लुकाइयो । वास्तवमा सरकार र विप्लवबीच वार्ताको सहजीकरणको निम्ति औपचारिक रुपमै ०७५ साल भदौ ८ गते पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा राज्यले नै वार्ता टोली बनाएको थियो । वरिष्ठ नेता माधव नेपालसँग निकै नजिकमा रहेका विप्लव र उनका सहयोगीहरुसँग कुराकानीको बन्दोबस्त मिलाउन माधव नेपालले पनि महत्वपूर्ण भूमिका खेले । सरकारले औपचारिक रुपमै घोषणा गरेको पाण्डे संयोजकत्वको भूमिकाको उल्लेख नभएका बेला नेता नेपालको भूमिकाको झन् कुरो उठ्ने नै भएन । अहिले वार्ताको श्रेय लिन अग्रसर ओलीले विरोधी कित्ताका माधव नेपाल, सोम प्रसाद पाण्डेको नाम नलिनुलाई उनी स्वयंले आश्चर्यको विषय मानेका छैनन् ।

राष्ट्रिय सभागृहको मन्चमा ओली र विप्लवले आसन ग्रहण गर्दा भवन बाहिर कार्यकर्तासँग पूर्व वार्ता संयोजक सोमप्रसाद पाण्डे पनि पुगेका थिए । आसन ग्रहणमा कहीं कतै नसम्झिएपछि उनी कार्यकर्तासँगै पार्टी कार्यालय फर्किए । उनै पाण्डेसँग नेपालप्लसले गरेको संक्षिप्त कुराकानी :

तपाईंले शुरु गर्नुभएको वार्ताको सफल परिणाम निस्कियो, कस्तो लागिरहेको छ ?

खुशी लागिरहेको छ । जे उद्देश्यका साथ हामी लागेका थियौं, आज साथीहरु सशस्त्र संघर्ष त्यागेर राजनीतिको मूल धारमा आउनुभएको छ । यो सबैको लागि खुशीको कुरा हो ।

त्यत्रो कार्यक्रममा कहीं कतै तपाईको नाम सुनिएन । तपाईं त झन् वार्तालाई शुरु गरेर उचाइमा पुर्याएको मान्छे । दुःख लागेन ?

कहाँ ल्याउँछन् मेरो नाम ? म उनीहरुको गूटमा छैन । त्यही भएरै हो । केपी कमरेडले मेरो सन्दर्भ ल्याउने कुरा गरेको तर विष्णु रिमाल र प्रेम राईले मेरो सन्दर्भ नउठाउने सल्लाह दिएकोले कुरा नउठेको रहेछ । मेरो भूमिका विप्लव र केपी दुवैलाई थाहा छ । विष्णु रिमाल र प्रेम राईले नाम काट्दैमा मेरो भूमिका कहाँ यत्तिकै भुल्न मिल्छ ?

किन यस्तो पक्षपात गरियो होला ?

सबै जस आफूले लिन । वास्तवमा मेरो संयोजकत्वमा बनेको वार्ता टोलीमा कमरेड माधव नेपालले धेरै सहयोग गर्नुभएको छ । उहाँसँग विप्लव लगायत सबैको राम्रो थियो र छ पनि । मेरो पनि पटक पटक वार्ता भएकै हो । नेपालगंज, दाङ, कपिलवस्तु, काठमाडौं, बनेपामा भूमिगत नेताहरुसँग वार्ता मैले नै गरेको थिएँ । नसम्झिएकोमा केही दुखेसो छैन । हामीले मुलुकको शान्तिको निम्ति भूमिका खेलका थियौं ।

विप्लवहरुसँग तपाईले गरिरहनुभएको वार्ता किन भाँडिएको होला ?

विप्लवजीहरुले आफ्नो शक्ति संचय बढि नै भयो भन्ने ठान्नुभयो । अहिले सम्झँदा वार्तालाई उपयोगको रणनीतिको रुपमा उहाँहरुले लिनु भएको थियो कि जस्तो लाग्छ ।

ओलीको नेतृत्वमा सशस्त्र आन्दोलन गरिरहेको अर्को कित्ताको शक्ति वार्ता सफल भएर राजनीतिको मूलधारमा आउँदा प्रचण्ड नेपाल पक्षको धारणा चाहिं के छ ?

प्रतिकृया केही छैन । खुशी नै छौं । हामीहरु पनि शान्तिपूर्ण प्रकृयामा छौं । हतियार छोडेर उहाँहरु पनि शान्तिपूर्ण राजनीतिक रुपमा आन्दोलनमा आउनु राम्रै कुरो हो ।

प्रचण्डको निम्ति विप्लव चुनौति होलान् ?

संसदीय अभ्यासमा आइसकेपछि सोही अनुसार सबैले भूमिका खेल्ने हो । उहाँहरुले पनि देशको उन्नतिको लागि शान्तिपूर्ण राजनीतिक बाटो लियौं भनिसकेपछि चुनौति त कसरी भन्न सकियो र ?

तपाइँको प्रतिक्रिया

फेसबुक