बिहीबार, कार्तिक ११, २०७८

शहादत कहिलेसम्म कमरेडहरु ?

लक्ष्मण देवकोटा२०७७ फागुन २१ गते २३:५५

अक्टोबर क्रान्तिको पूर्व सन्ध्यामा रुसमा ‘अबको कम्युनिष्ट पार्टीको बाटो के हुने ?’ भन्ने विषयमा नेतृत्व तहमा रन्कारन्की परेको थियो । धेरैजना संसदीय अभ्यासबाटै जाने मतोमा मिलिरहेको बेला होंचा कदका लेनिनले संसदीय अभ्यासलाई नै अन्तिम अभिष्ट ठान्नेहरुसँग प्रतिवाद गर्दै भनेका थिए, ‘जारशाहीको किल्लामा लाल झण्डा गाड्ने समूहको नेतृत्व आवश्यक परे म गर्छु । यो संसदीय अभ्यासमा सामन्त र सर्वहारा एकै भएर बस्न सक्दैनन् ।’

प्रचण्डले शक्ति संचयको निम्ति संसदीय अभ्यासमा आएको कारण जनाएर माओवादी विद्रोहको बेडा बिसाए । प्रचण्डको कदमप्रति असहमत जोधाहाहरुको नेतृत्व गरे विप्लवले । आज उनै विप्लव संविधानको हत्या गरेर सर्वोच्च अदालतले नैतिक दण्ड दिइरहँदा पनि लोकतन्त्रको गीता गाउन नछाड्ने खड्ग प्रसाद शर्मा ओलीसँगै कागतपत्र गरेर शान्तिपूर्ण राजनीतिक यात्रामा आएका छन् । टिप्पणी गर्न हतारो होला, विप्लवका पनि योजनाहरु होलान । कार्यदिशा होला र भोलिको सपना होला । उनले भने झैं शहीदकी आमा जसले टीको लगाएर काठमाडौं पठाइन्, ती आमाहरुका सपना पूरा गर्ने अठोट होला ।

तर यहाँनेर मेरो मनमा भने यौटै प्रश्न खेलिरहेको छ, कसरी ? कसरी भन्ने प्रश्न जब मेरो मनमा उठ्छ, अर्को प्रश्नले फेरि बास गर्छ, क्रान्तिको अभिष्टमा निम्न वर्गीय ग्रामीण युवाहरुको शहादत कहिलेसम्म कमरेडहरु ?

फागुन २१ झापाको पवित्र भूमीमा शहीद रामनाथहरुले शहादत गरेको दिन । रामनाथहरुबाट शुरु भएको शहादतको श्रृँखला दिल बहादुर रम्तेल हुँदै लामो भयो । देश युद्धमा गयो । सेना, प्रहरी, लडाकु सबैतिर धेरै मानिसहरु हताहत भए । माओवादी जनयुद्धकै बलमा लामो इतिहास बोकेको राजतन्त्रको समाप्ति भयो । राजा नागार्जुन पठाइए । नारायणहिटी संग्रहालय भयो । राजा धपाइएका यतिका वर्षसम्म पनि जनताहरु रैति भन्दा माथि उठ्न सकेका छैनन् । समाज झन् विकृत भएर छोटे राजाहरुबाट शासित हुन अभिषप्त छ ।

संक्रमणकालीन समयको नाममा हामीले धेरै वर्ष झुत्ति खेलेर बितायौं । त्यो झुत्ति अग्रगमन र प्रतिगमनको थियो । हिजकै संसदवादी शक्तिहरुको खिचातानीमा बनाइएको संविधानमा समेत खड्ग प्रसाद ओलीले दाइँ गरेर झण्डै देशलाई अर्को रसातलमा पुर्याएका थिए । राजनीति गरुडको छायाँमा निरिह संवैधानिक निकायहरुको भुत्ते अनुहार हेरेरै भन्न सकिन्छ, समस्या यो व्यवस्थामा पनि छ । नत्र खड्ग प्रसाद जन्मने थिएनन् । यौटा मामूली निर्वाचन आयोगमा चिन्ह र दलको आधिकारिता आफ्नो पक्षमा पार्न प्रधानमन्त्रीले खेलेको नग्न खेल, अख्तियारमा आफ्नो प्रभावमा पार्न गरिएको भर्ती, यी सबै कुराले देशको मूल कार्यकारी क्षेत्रमै बदमासीको जरो गडेको छ भन्ने प्रष्ट बुझ्न सकिन्छ ।

निर्वाचित जनप्रतिनिधिहरु हेर्नोस्, चुनावमा करोडौंको खोलो बग्छ । विहार र उत्तर प्रदेशको नक्कलले वडामा चुनाव जित्न समेत करोड भन्दा कम नभए उम्मेदवारी नदिए हुने स्थिति भैसक्यो । नियम कानून बनाउन जाने सांसदहरु खसी बोका झैं बिक्री हुने वस्तुमा रुपान्तरित भैरहेका छन् । संसदलाई खसीको मासु देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा विकास गर्दा गर्दा यो फोहोरी खेल देखेर जनता समेत वाक्क हुने अवस्था भैसक्यो ।

सत्ता र कुर्चीका लागि नेताहरु जोसँग पनि, जस्तोसुकै पनि सम्झौता गर्न तयार हुने प्रवृत्ति देखिन थाल्यो । दुई तिहाईको कम्युनिष्ट सरकार भ्रष्टाचारले दुर्गन्धित भयो । उद्घाटन र शिलान्यासका समाचार हेरेर के गर्नु ? जमीनको वास्तविक समस्या नबुझी औद्योगिक ग्रामको सपना देखाएर शिलान्यास गर्दा जनताहरु नै ढुंगा हान्ने अवस्थामा आइपुगेका छन् ।

संसदीय भासको यो दुर्गन्धले कोही कम्युनिष्ट सग्लो बचेन । अहिलेसम्म परिक्षण नभएका विप्लव पनि अब यो मैदानमा आउने कुराले केही प्रश्नहरु अवश्यम्भावी जन्माएको छ । यतिबेला ओलीको डिफेन्सिभ अवस्थाबाट फाइदा लिएर आफ्ना कार्यकर्ताको रिहाइ गर्दै आफ्नो शक्ति संचय गर्ने रणनीति हो या, स्वयम् कमजोर भएर सुरक्षित अवतरण खोजिएको हो ? यो भने भोलिका दिनमा नै प्रष्ट होला । प्रचण्डलाई काउन्टर दिन हतार हतार बालुवाटारले विप्लवलाई सार्वजानिक गराएको कुरा पनि सत्य हो कि होइन ? यो पनि भोलिका दिनमा प्रष्ट हुँदै जाला । स्वयम् विप्लव अब सोभियत क्रान्तिपूर्वका लेनिन बन्दै अग्रगमनकारीहरुलाई एकीकृत पार्दै एकीकृत क्रान्तिको बाटोमा अघि बढ्लान् नबढ्लान् त्यो त भोलिका दिनमा देखिने नै छ ।

तर, उनी शान्ति प्रकृयामा आएकै हुन् भने जनताका छोराहरुको मृत्युको सिलसिला रोकिएकोमा सबैले खुशी मनाउनैपर्छ । आखिर शहादत के का लागि भन्ने प्रश्न ? जनयुद्धको विसर्जनपछि देखिएकै छ । शान्तिपूर्ण रुपमानै बहुदलीय व्यवस्थाको यही रुपलाई स्वीकार्नु छ भने क्रान्तिकारी सुधारका योजनाहरु अगाडि सारेर न्यूनतम रुपमा युरोपेली समाजवादी दलहरु जस्तै गतिविधि गर्दा हुन्छ । त्यो गर्ने छुट त सबैलाई छ । सर्वहारा अधिनायकत्वको मूल ध्येयलाई छोडेर बहुदलीय जनवादी अभ्यासलाई स्वीकारिन्छ भने भेटिने थलो त त्यही संसद नै हो ।

सिंगो संसदकै वध गरेर अवैधानिक राज्य चलाउने हिम्मत गर्ने खड्ग प्रसाद ओलीको राज चलिरहेको यो निरंकुश शासनमा सिंगो कम्युनिष्ट आन्दोलन नै धर्मराहटमा पुगिसकेको छ । कम्युनिष्ट प्रतिको आस्था र विश्वासलाई ओली कम्पनीले पुरै खुइल्याएर शाख रित्याइसकेको छ । शक्ति संचय गर्न संसद पसेका प्रचण्ड पनि जंगलमा हराएको मानिस झैं संसदीय भासको गन्जागोलभित्रै छन् । सबै नेताहरुको इतिहास संघर्षमय छ विप्लवले भने झैं । तर कुनै पनि नेता सग्लो र इमान्दार छैन । बदमासहरुको भीडमा कम बदमासहरुले शासन गरिदिए हुन्थ्यो भन्ने असल जनताको भनाइ छ ।

ओलीसँगको सार्वजानिकीकरण कार्यक्रममा यौटा अपेक्षा थियो, कम्तिमा विप्लवले अबको नयाँ नेपालको रोडम्याप दिनेछन् । दलाल पुँजिवादी व्यवस्था विरुद्ध लड्न शिक्षा र स्वास्थ्यमा सरकारीकरण गर्ने अभियानबारे केही बोल्नेछन् । सिमानाको बारेमा बोल्नेछन् । दलाल नेताहरुलाई चुनौति दिनेछन् । कतै विप्लव थाकेका त होइनन् झैं गरी पो देखिए । शंका नगरौं, यो उनको युद्धकलाको तकनिकी पनि होला ।

माओका युद्धकलाका गुरु सुन्जुले भनेकै थिए, शत्रु बलियो छ भने मैदान छोड । शत्रु कमजोर छ भने शत्रुको गौंडामै गएर हमला गर । तर प्रश्न दोहोरिइरहन्छ, कसरी ? एकातिर एमसीसीको टकराव, अर्कोतिर सोझै र प्रष्टै बुझिने भारतीय हस्तक्षेप । नेताहरु सत्तामा टिक्नको निम्ति यो वा त्यो शक्तिसँग नजिकिनुपर्ने अन्तर्राष्टिय परिवेशमा विप्लव स्वयंले भने जस्तै स्वाभिमानको निम्ति माटोमा मिल्न तयार हुने इमान्दार नेता जन्मिन्छ र सुरक्षित हुन्छ कसरी ?

समृद्ध नेपालको सपना देखाएर ठग्ने खड्ग प्रसाद शैलीका नटवरलालहरुले जनतालाई आजित बनाइसकेका छन् । त्यही लाइनमा उभिएर विप्लव कसरी अर्को लेनिन बन्लान् ? प्रश्न यहींनेर हो ।

सभागृहमा विप्लवको भनाइलाई दोहोर्याएर सुन्दा पनि मैले छनक पाइन । भोलिका दिनमा पाइन्छ कि ? यदि त्यो कुनै रोडम्याप छैन र यही संसदीय अभ्यास, यही शैलीमा जाने हो भने ग्रामीण युवाहरुको शहादत रोकिनुपर्छ । सपनाहरुको संसार भेटाउन झण्डा बोकाएर बीचैमा संसद छिर्दा बाँच्नेहरु त जसोतसो बाँच्लान् नै, शहीदहरुको सपनाले हामीलाई पक्कै छोड्ने छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक