शनिबार, वैशाख ८, २०८१

चिलाउने चौरमा पलाएको मृगतृष्णा

डा. गोबिन्दराज भट्टराई२०७७ फागुन २४ गते १०:१९

हाम्रो गाउँदेखि तल खोल्साको छेउमा एउटा ठूलो चौर थियो । त्यसका सिरानमा चिलाउनेको ठूलो जङ्गल थियो । त्यसैले त्यसको नाउँ चिलौने चौर अथवा चिलाउने चउर थियो । पारि पाखामा पहेँला घाम टिल्पिलाउँछन् । गिठ्ठे, म, चाउरे, ढोडे, खप्परे— पाँचजना मिल्ने साथी उत्तिसेनी घारीघारी बत्तिन्छौँ । एक कदम, एक चाल, एक सास, एक स्पिड, एक लक्ष्य हामी उत्तिसेनी घारी काटेर चिलाउने चौरमा पुग्न चाहन्छौँ । हामी घाम डुब्नुभन्दा पहिल्यै करिब एक घण्टा रमाउन चाहन्छौँ । समयका पोल्टामा हराउन चाहन्छौँ, चिलाउने चौरमा ।

चिलाउने चौरको बयान गरिसाध्य छैन । दम्स्याइलो पाखो, मान्छे हिँडेर बी–बीचमा चौर खुइलेको । झारपातहरू गोडाले कुल्चिएर मरेका । लामालामा गोरेटाहरू तल कुवापानीतिर झर्ने एउटा, सिधै पारी ओख्खरे पुग्ने अर्को, यता सुवेडी गाउँ छिर्ने अर्को । ती सेता सेता धर्का ठूला भुँडीमा बाँधेका पटुकाजस्ता लाग्दथे । ती पटुका बी–बीचमा एक दुई सय कदमको फरकमा धेरै नाङ्गिएर परपरको झार खुइलिएर सेता नाङ्लाजस्ता देखिन्थे । ती मध्ये कतिपय हाम्रो खोप्पी खेल्ने ठाउँहरू, कति पाङ्ग्रा मार्ने, कति घाङ्लात्ती खेल्ने, कति नङछुरी हान्ने, कति भेडीगाँठो घुमाउने, कति पौँठेजोरीमा पयेठ लगाउने डीलहरू …..यस्तै उद्देश्यले खुइलेका टाटाहरू ।

आज आफ्नै नाङ्गो खप्परसँग तिनको तुलना गर्दछु । आफ्ना गिठ्ठे, ढोडे, चाउरे र खप्परेका नाङ्गा तालुहरूसँग तिनको तुलना गर्दछु । ती नाङ्गा टाटामा हिउँदभरि धुलो टल्किरहन्थ्यो, वर्षाभरि आकाशको पानी । त्यहाँ झार कहिल्यै पलाउन सकेन । उमेर नपुगी खुइलेको यो तालुमा हिउँदभरि ढेडुटोपी भिर्छु, बर्खाभरि सर्स्युँको तेल दल्छु— यो कि त गुम्सिन्छ टोपीभित्र कि त टल्किन्छ घाममा । तर यहाँ केस कपाल उम्रन सकेन फेरि ।

गिठ्ठे, चाउरे, ढोडे, खप्परे मेरा जीवनका अभिन्न मित्र हुन् । एकदम सस्यानो कदको, ग्याँचे परेको, छोटो घाँटी गरेको गिठ्ठेलाई सम्झन्छु । कुपोषणले सिद्धिएको गिठ्ठे नेपाली बोली र जनजिब्रोको भित्री मर्मअनुसार साँच्चै गिठ्ठोजस्तो जिन्निएको थियो । सबै भन्थे— गिठ्ठे योभन्दा अग्लो हुनै सक्दैन । पारिघरको चाउरे अर्को हाम्रो दौतरी । चाउरेका गाला झुम्राजस्तै नरम थिए । ऊ दाँत खोलेर हाँस्दा दुवै गालाहरू मुजा परेर झुम्रो बटारिएजस्ता देखिन्थे । पिरिक्कै च्यातिन्छन् कि जस्तो लाग्थ्यो । निधारमा पनि उसको छाला तीन पत्र फोल्डिङ्ग हुन्थ्यो । हिजोआज कसैले बसको ‘फोल्डिङ्ग सिट’ भन्नासाथ म चाउरेको निधार सम्झन्छु । उसको स–सानो लामो घाँटी, लिखुरे हातखुट्टा बिराली परेर पत्रैपत्र झुम्रिएको नलीहाड…. तर चाउरे कतै कुध्नुपर्दा बिजुली चम्केर उडेझैँ लाग्थ्यो । उसको दौराको फेर फिलिलि … बत्तासिन्थ्यो, युद्धमैदानमा झण्डा उडेझैँ । यसरी ऊ कुधेको बेला कुरी–कुरी चाउरे, कुरी–कुरी …. चिलाउने घारीमा तुरी–तरी…… भन्दै हामी लयात्मक चालमा एक स्वरले गीत गाउँथ्यौँ । हातमा सिर्कनो चेपेर बत्तिएको चाउरे गैरी खेतको ब्याडसम्म पुग्थ्यो । चोर गाईगोरुलाई सिर्कना मारेर फर्काउँथ्यो ।

मित्रमण्डलीको तेस्रो सदस्य थियो ढोडे । ढोडेको व्यक्तित्व पनि विचित्रको थियो । ऊ हेर्दामा हामी चारै जनामध्ये ठूलो तर लुलो थियो । उसका गालाको फोक्से मासु आज सम्झिन्छु, अलिक जण्डिसले भेटेजस्तो । तर उसबेला जण्डिस थाहा थिएन । हामी नास परेको भन्थ्यौै, आँखा लागेको भन्थ्यौँ । उसका टाउकामा टोपीको घेरो मात्रै हुन्थ्यो, उसका बाबुको । दौराको फेरदेखि पलाएका भुषतिघे्र खुट्टाहरू ऊ दौडिँदा लिरिबिरी लिरिबिरी गर्थे— भुकम्पमा घरका खाँवा हल्लिएजस्तो । दौडिँदा ऊ भुक्लुक भुक्लुक लड्ने फेरि उठ्ने हुनाले उसलाई ढोडको प्रतीक ठानेर ढोडे भन्थ्यौँ हामी । उसका घुँडाका पाङ्ग्रामा कहिल्यै पानी पर्दैनथ्यो । काला पाप्राहरू आफै उक्किन्थे, झर्थे त्यहाँ सेतो छाला, देखिन्थ्यो छिर्केमिर्के भएर । बिस्तारै फेरि पाप्रा भरिन्थे, फेरि झर्थे ।

खप्परेको टाउको जिउको तुलनामा अत्यन्तै भारी थियो । ठूलो फर्सी जत्रै । शरीर निकै खिनाउटे तर खप्परे शब्द नेपाली बोलीको अन्तरतहबाट निस्केको लाग्थ्यो । त्यो मौलिक जातीय वाणीको झन्कार यो मनमा आज पनि गुञ्जिन्छ । खप्परे आज बूढो हजुरबा भइसक्यो । तर पनि म उसलाई त्यही खप्परे नै देख्छु ।

हरेक दिन चिलाउने चौरीमा हामी पुग्थ्यौँ । हाम्रो मन आनन्दले उम्लिन्थ्यो । चौरीको पुछारमा उत्तिसेनी घारी, पल्ला छेउमा चिलाउने र ढाल्नेका आफैँ उमे्रका रूखहरू, रूखका बाजेहरू । ओल्ला छेउमा मौवा, काफल, काँडे ऐँसेलु यस्तै । दिनभरि चौरमा चरेका गाईवस्तु घरतिर लागेपछि भेडाबाख्रा घर–घर पुगिसकेपछि हामीलाई भने के खेल्नु, के खेल्नु हुन्थ्यो । हाम्रो मन एकैचोटि आत्तालिन्थ्यो, त्यो निर्जन, स्वच्छ, सिरिरि बतास चल्ने फागुन–चैतको चौरीमा । दिनभरिको भोकले आन्द्राभुँडी लठारिएका हुन्थे । खप्परेको मुखतिर हेर्दा ओठ ओरिपरि जुँगारेखीसम्म कालो कट्कटाउने माटोजस्तो, चोपजस्तो दलिएको हुन्थ्यो । दिउँसोतिर बारीका सखर्खन्डा चोरेर काँच्चै कोपर्दा त्यस्तो हुन्थ्यो । अझ उखुका लाँक्रा चोरेर चिथोर्दा त्यस्तो हुन्थ्यो । अब एकछिन उफ्री खेल्ने कि, घाङलात्ती खेल्ने कि, दौडि खेल्ने कि, सखर्खण्डा, पिँडालु चोरेर पोली खाने कि, खोप्पी कि, घुँएत्रो हानी खेल्ने कि, ज्यानमारा ढुकुमुकु ?

एकछिन् उफ्री खेल्ने जोश आउँथ्यो । भोकापेटमा खुट्टै लुलिन्थे । पौँठेजोरी खेलौँ हुन्थ्यो । त्यसले नारी खुइल्याउने र शत्रुता बढाउने डर हुन्थ्यो । त्यतिकैमा बरडाँडादेखि राता, पहेँला रङ्गका बूढा पातहरू हुरुरु … गर्दै हावासँगै आउँथे चौरीतिर । एकएक छेस्का खोजेर रानी पातको दुई टुप्पा अलिअलि च्यातेर बीचमा छेस्का घुसाउँथ्यौं, अनि फिरिरि … गर्दै एक माइल लामो चौंरीको पल्लो छेउ पुग्थ्यौँ । हावाको झोँक्काका विरुद्ध पातहरू फिरिरि … हावामिलको पंखाजस्तै घुम्थे, अलि पातलाहरू दोब्रिन्थे पनि । चोरी र बूढी औँलाले छेस्को समाएको ठाउँमा पातले स्पर्श गर्य्ह्यो । आँखा घुमेको पातमा, नाङ्गा खुट्टा कपासभन्दा हलुका उडेझैँ लाग्थ्यो धर्तीमा । दौराले कम्मर र तिघ्रासम्म स्पर्श । त्यहाँदेखि तलैसम्म चिसो स्याँठले हिर्काएर गोडा मरेजस्ता हुन्थे, कान र नाक चिरिन्थे ।

त्यसपछि झमक्कै साँझ पर्थ्यो । खानेकुरा सम्झेर कोदो मकैका भुक्के रोटीहरू, उसिनेको फर्सी, पिँडालु, इस्कुस मकै भट्मासको काल्पनिक वासनाले मन उत्तेजित हुन्थ्यो । भुँडी सम्पूर्ण हप्केजस्तो लाग्थ्यो । समयको चालले बशीभूत भएर झमक्क साँझ परेपछि पारी डाँडाको देउरालीमा उम्रेका वरपीपलको आकार नचिनिने कालो थुम्कीजस्तो भएपछि मनभरि ग्लानी बोकेर, सम्भावित गालीको लागि, मुड्कीको लागि, सिर्कनाको लागि त्यो कलिलो मन दह्रो पार्दै हामी घरतिर लाग्थ्यौँ गिठ्ठे, म, चाउरे, ढोडे र खप्परे ।

आज चालीस वर्षपछि ती दिन उधारेर पल्टाउँछु, मनको आँगनमा । आज पनि म गिठ्ठे, ढोडे र खप्परेसँग कुधिरहेकै छु । प्रत्येक बिहान आजको दिन यो मन स्वतन्त्रतामा उडाउँ भनी चौरीमा निस्कन्छु । यो भुँडी त्यतिकै भोको छ । हावा त्यस्तै चिसो । शरीरमा वस्त्र त्यति नै कम्ती । संसार त्यो चौरीझैँ आनन्दकर र उदात्त लाग्छ । एउटा खेल खेल्न नपाई झमक्कै साँझ पर्छ । प्रत्येक दिनको साँझ, महिनाको साँझ, वर्ष–वर्षका साँझ अनि वरपीपलका डरलाग्दा आकृतिहरू पारिपट्टि । भोक छ, तिर्खा छ, थकान छ, म ती दिनभन्दा अझ फिरिरि दौडिँदो छु तर केही ढाक्न नसकी ।

दौरादेखि तलको नाङ्गो शरीरलाई सिरेटोले आज पनि लट्याउँछ । मकै भट्मासको वासनाले मन आज पनि हुरुक्क हुन्छु । रानीपातले जस्तै अलिकति तलबले मनलाई अनेक तृष्णाले स्पर्श गरेजस्तो लाग्छ । अभाव, महँगी र आवश्यकताका कडा हावाले त्यो पातलाई दोबारिदिन्छ । प्रत्येक साँझ झमक्क भई घर फिर्दा आज पनि त्यस्तै ग्लानी हुन्छ । कुनै खेलको धोको पुगेको छैन । जीवनको चिलाउने चौरी रहस्यमय बन्न थालेपछि साँझ झमक्क पर्छ । प्रत्येक साँझ भोक प्यास, थकान र अकर्मण्यताको ग्लानीले यो मन भुतुक्क हुन्छ । यसरी जीवनप्रतिको अज्ञात आनन्द र अज्ञात भयबीच दोब्रिदै उठ्तै म चलिरहेछु आज पनि । चिलाउने चौरीमा सुरु भएको मृगतृष्णाको दौड आज झन् बेगवान् भएको छ ।

तपाइँको प्रतिक्रिया