मंगलबार, वैशाख ७, २०७८

जन्मेका आधा सन्तान गुमाउने आमा

ददि सापकोटा२०७७ फागुन २६ गते २२:१२

Photo Credit- Rituraj Jaiswal / Tigers of India

सोच्नुस, कुनै आमाले सात वच्चा जन्माइन् । तर तिन वटा वच्चा मुस्किलले बाँचे । वच्चाका आँखापनि खुलेका छैनन् । पतीले छोडेर हिँडे । साथ दिने परिवारमा कोहि छैन । आँखा नदेख्नेको स्याहार एक्लै गर्नुपर्छ । तिनलाई खान्कि पुर्‍याउनुपनि छ । वच्चाको खान्कि कतै भकारीमा छैन । बोराबाट झिकेर पकाउँला भन्नेपनि छैन । बाहिर निस्केर जिवित कुनै जन्तु खोज्नुपर्छ । निस्किनासाथ भेटिएला भन्नेपनि हुन्न । शिकार खोज्दाखोज्दै नभेटिएर पटक पटक रित्तो हातपनि फर्किनुपर्ने हुन्छ । वच्चाले के ल्याइ, केहि त खुवाउली, लिएर आउली भनेर कुरेर बसेका हुन्छन् । आफ्नो कोखबाट जन्मिएका आधा भन्दा बढि वच्चा खेर गएको सहनुपर्ने आमाको पीडा त झन छँदै छ । यस्ती आमाको मन कस्तो हुन्छ होला ? यस्ति आमालाई कसैले दखल पुर्‍यायो भने त्यो माउ कति आक्रामक होली ?

मानिसहरु भन्छन्, बाघ आक्रामक हुन्छ । तर बाघ खासमा आक्रामक होइन । प्रक्रितिका अनकन्टार जंगलमा केहि घण्टा मात्रै हरायो भनेपनि मान्छे आत्तिन्छ । अँध्यारा झाडी र हात्ती भन्दा अग्ला घाँसको बिचमा केहिबेर बस्नुपरे मान्छेको सातो उड्छ । दिनको उज्यालोमा रमाउने मान्छे केहिबेर रातको अँधेरीमा सुस्ताउनु पर्दापनि विरामी पर्छ । बाघसित दिनमा रमाउने बिकल्प छ । रातका अँधेरीमा सुत्ने छनौटपनि छ । तर उसको अधिकांश समय दिनको उज्यालोमा कतै चुपचाप आराम गरेर बित्छ । साँझ नपर्दै ऊ जुरुक्क उठ्छ । अँध्यारा चकमन्न रातमा ऊसले आफ्नो दैनिकी शुरु गर्छ ।

पूर्ण चन्द्रका रातले मान्छेलाई उमंग बोकेर ल्याउँछन् । अँधेरी रात शुरु हुन थालेपछि मान्छे सम्साँझै आफ्नो कटरी फर्किन हतारिन्छ । तर बाघ यस्तो जिव हो उसले यि दुबै अवस्थालाई खुला ह्रिदयले स्विकार्छ । पूर्णिमाका झलमल्ल रात र चुक घोप्टिएजस्ता औंशीका काला रात । उसलाई केहि फरक पर्दैन । फरक परेपनि उसले खुला ह्रिदयले यि दुबै रातलाई आफू अनुकूल ढालिदिन्छ । प्रक्रितिको यो चक्रलाई बाघले खुला ह्रिदयले स्विकार गरिदिन्छ ।

सबैभन्दा दुखद पक्ष के हो भने बाघका डमरु अन्धा हुन्छन् । जन्मिँदै अन्धा । जन्मिएका सबै बाँच्दैनन् । थोरै मात्र बाँच्दछन् । शाब्दिक रूपमा भन्नुपर्दा नवजात शिशुले केहि देख्न सक्दैनन् । जन्मिँदा यो धरती तिनकालागि निस्पट्ट अँध्यारो हुन्छ । निर्जन जंगलको कुनै भागमा ति असहाय हुन्छन् । तिनलाई आफ्नी आमाको गन्ध थाह हुन्छ । आमा वरपर लाग्दा गन्धलेनै पछ्याउँछन् । ति अन्धा जन्मिने हुनाले आफैं खाने कुरो भेट्टाउने, खोज्ने त झन अकल्पनिय कुरा । फेरि मांशहारी जिव भएकाले सजिलै त दक्ष शिकारीलेपनि शिकार भेट्टाउन्न । साना, शिकार गर्न, खोज्नै नजान्नेले कसरि भेट्टाउनु ? त्यसैले जन्मेका मध्ये अधिकांश कि त चिसोले मर्छन् । कि खानै नपाएर भोकले तिनको प्राण जान्छ । आफ्नै अगाडि चिसो वा भोकले बच्चा मरेको माउ बाघले अनेक पीडा निलेर सहनुपर्छ । भक्कानु परिपरि सहनु पर्छ । यो नियती आमा बन्ने हरेक बघिनीले सहनै पर्छ । यो पीडाको सागरमा पौडेर उत्रिनै पर्छ ।

शत्रुहरुबाट त जोगाउनुनै पर्छ । त्यो भन्दा बढि आफ्नै पती, प्रेमी वा सन्तानको आफ्नै बाउबाट डमरु जोगाउनु पोथीको अझ ठूलो चुनौति हो । किनभने भाले बाघहरु यौनावस्थामा पुगेपछि वैंशले मैमत्ता बन्छन् । यौनको भोकले पागल जस्तै भएका हुन्छन् । तिनको काम पोथी भएका संभावित क्षेत्र चहार्दै डुलिरहने हुन्छ । एक्ली पोथी पाउने सबै भाग्गेमानी हुँदैनन् । तिनले बच्चा सहितका माउ ताक्छन् । डमरुलाई मारिदिने, खाइदिने भालेको पागल स्वभाव पोथीलाई थाह नहुने कुरै हुन्न । त्यसैले जसको गर्भ बोकेको हो उसैबाट आफ्ना बच्चा जोगाउन पोथीले बच्चा अन्यत्र सारिरहनुपर्छ । भालेले थाह नपाउने क्षेत्रतिर लगेर लुकाइरहनुपर्छ । हिंस्रक भालेबाट जोगाउन सक्नुपर्छ ।

यौनको त्रिप्ती मेट्न नपाएका भालेले पोथीका बच्चा मारिदिए पोथी छिट्टै यौनाकांक्षी बन्छे भन्ने जान्दछन् । किनभने पोथीको सबै शक्ति, ध्यान, पोषण तत्व, चाख र हर्मोनहरु बच्चाको हेरचाहमै खर्च गर्दा पोथी यौनाकांक्षी बन्दिन । डमरुनै मारिदिएपछि पोथी केहि महिना, हप्तामै भालेलाई यौनको संकेत दिने अवस्थामा पुग्छे । यहि बुझेर एक्ला पोथी नपाउने भाले बच्चा सहितका पोथीभएपनि खोज्न हिँड्छन् । सके पोथीसित लडेर, नसके पोथीलाई झुक्याएर, छक्याएर बच्चा मारिदिने ध्याउन्नमा लाग्छन् ।

ठूला बिरालाहरूको कुरा गर्दा बाघहरूको उग्र गर्जन र तिनको शक्तिशाली उपस्थिति अरु कसैसित मिल्दैन । अन्य ठूला बिरालाहरू पनि प्रक्रितिका आँखामा उत्तिकै सुन्दर, विशाल र मनमोहकनै हुन्छन् । खासमा बाघ टाढाबाट हेर्न मात्रै सुन्दर लाग्ने हुन् मानिसलाई । निकट भएपछि मन पर्दैन । किनकि ति हिंस्रक हुन्छन् । साना बाघ त रूख पनि चढ्छन् !

मान्छेका बच्चा भन्दा अझ धेरै चन्चले हुन्छन् बाघका बच्चा (डमरु) । तिपनि मान्छेका बच्चा जस्तै वाल्य जिवनभर उत्सुक हुन्छन् । बिठिंग्याई गरिरहन्छन् । जंगलका हरेक कुरामा चासो हुन्छ । हरेक पल पलमा नयाँ कुरा जान्न खोज्ने उत्सुक प्रकृतिका हुन्छन् ति । आमाले पलपलमा घाइते होला, हराउला, कसैले अपहरण गर्ला कि भनेर नियालीरहनुपर्छ । आमाले आँखा फ्याँकिरहनुपर्छ । मायालु भावले थर्काईरहनुपर्छ, ‘यसो नगर त्यसो नगर’ भन्दै । स्नेहले सिकाइरहनुपर्छ, ‘यो ठिक र त्यो बेठिक’ भनेर ।
दिदी बहिनी, दाजुभाई झगडा गरिरहन्छन् । खाने कुरो दिँदा ‘मलाई कम भो, उसलाई बढि किन दिएको’ । ‘मलाई भोक लाग्यो । चिसोले आत्तिएँ’ बाघका डमरुले अरालिरहन्छन् । ‘मलाई दाईले पेल्यो, कुट्यो । बहिनीले धकलेर पर पुर्‍याइ, अँचेटी, खेल्न दिईन’ भनेर आमालाई अर्घेलीरहन्छन् । आमालाई हम्मे हम्मे पर्छ कुनै बेला, कुन बच्चो सहि हो र कुन गलत हो छुट्ट्याउन ।

बच्चा जन्मेदेखि एक वर्षसम्म बाघका बच्चा पूरै आफ्नो आमाको पोषणमा निर्भर हुन्छन् । एक वर्षको उमेरमा ति साना सिकार मार्न सक्षम हुन्छन् । आमाले शिकार गर्न सिकाउनु पहिले आफैंले मारेर ल्याएको शिकार खोल्स्याएर, टोकेर, पत्रपत्र निकालेर, ठूला हड्डी एकातिर पन्छाएर देखाउनुपर्छ । आमाले ल्याएको शिकारको मासुबाट हेर्दै, खेल्दै, सिक्दै जान्छन् । साना जिव समातेर जिवितै ल्याउने र तिनलाई मार्न सिक्ने कला सिकाउनुपर्छ माउले । कताबाट आक्रमण गर्ने । शरिरको कुन अंग खोल्सिने । अगाडिबाट वा पछाडिबाट आक्रमण गर्दा के हेर्नुपर्छ । कुन खतरा र भिन्नता रहन्छ । त्यो आमाले सविस्तार ब्याख्या गरिगरि सिकाउनुपर्छ । पत्रपत्र खोल्स्याएर देखाउनुपर्छ । कुनै बच्चाले छिटो सिक्छन् । कुनैलाई धेरै पटक देखाउनुपर्छ ।

जिउँदै ल्याएको शिकार भाग्ला भन्ने अर्को त्रासपनि हुन्छ । त्यसलाई घेरा हालेर आफ्नो कब्जामा राख्न सक्नुपर्छ । डमरुले एक वर्ष सिक्दापनि ठूला शिकारहरु समात्न जोखिम हुन्छ । किनकि जंगली कुकुर, हुँडार, गैंडाका बच्चा, दाह्रा भएको बँदेल समात्नु जोखिमपूर्ण हुन्छ । उल्टै तिनले घाइते पारिदिन सक्छन् । त्यसकोलागि अझ उच्चकोटीको तालिम चाहिन्छ । यो सबै सिकाउन आमालाई फेरि अर्को वर्ष लाग्छ ।

आमाको यो अथक प्रयासले दुई वर्षको उमेरमा बच्चा पूर्णरूपमा स्वतन्त्र हुन्छन् । भाले डमरुले आफ्नो जन्मस्थान छोड्छन् । त्यसभन्दा पहिलेनै आफू बस्ने उपयुक्त क्षेत्रको खोजि गर्ने, यस्सो आँखा लगाउने, आमासित सल्लाह लिन शुरुवात गर्नुपर्छ । विस्तारै तिनीहरूले आफ्नै क्षेत्र फेला पार्न सुरू गर्छन् । महिला डमरु सामान्यतया आमाको ठाउँमै बस्छन् । आमाले आफ्नो ठाउँ छोरीलाई छोडिदिएर आफूले अर्कै ठाउँ खोज्नुपर्छ ।

प्रक्रितिको लिला, अक्किल र दूरद्रिष्टीपन गज्जबकै छ । एउटा डमरुमा वयस्क बाघमा भन्दा धेरै पाटा(स्ट्राईप) हुन्छन् । यसले बच्चाहरूलाई वरिपरिको वातावरण र वासस्थानको रङ जस्तै देखिएर, अरुलाई आफ्नो उपस्थिति लुकाएर वा झुक्याएर (क्यामोफ्लेज) बस्न मद्दत गर्छ । अन्यथा तिनीहरूलाई अरु मांशहारी जिवले देख्छन् र अर्को जनावरहरूको भोजनको रूपमा समाप्त हुन सक्छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक