बिहीबार, चैत १५, २०८०

च्याङ्थापुमा मेरो मन

डा. गोविन्दराज भट्टराई२०७७ फागुन २९ गते १२:२७

आफ्ना आरम्भिक शिक्षाका दिन सम्झिदा मलाई अचम्म लाग्दछ । भदौका दिनमा खेतिपाती सकिएपछि एकदिन आमाले मेरा लुगा धोइदिनुभयो । मेरा लुगामा एउटा दौरा, बुच्चे सुरुवाल र टोपी थिए । खरानी पानीमा पकाएर तलको धारामा आमाले धोइदिएका लुगा अघिल्लै दिन सुकिसकेका थिए । बिहानको भान्सा सकेपछि पिताजी अघि लाग्नु भयो, म पछिपछि । हाम्रा घरमा जुत्ता लगाउने पिताजी मात्र हुनुहुन्थ्यो । हामी सँग जुता चप्पल हुँदैनथे ।

बिस्तारै बाको पछिपछि ओरालैओरालो झर्यो । नाम्रेकको पुछारमा पात्लेघारी काट्दै पानी बग्ने बाटैबाट । तल्लाघर पुग्यौ— रुद्र खरेल दाइको घरमा । त्यहाँबाट अलिकति तेर्सिएर फेरि ओरालो झर्‍यौं । अनि इवा र मिवाको दोभान पुगियो । दोभानेको पुल अग्लो न अग्लो, तल धमिलो खोलो पैरासाग उम्लिँदै थियो । एकरातेको पैरो बोकेर हिँड्ने यो ठाडे खोलाले कत्रा तमासा गरेको ! बीचमा पुग्दाको झोलुङ्गे पुल निकै पिङ खेल्थ्यो । त्यहाँबाट दोभाने खेत कटेर उकालो चढेपछि गढी बजार आउँथ्यो । सानो उपत्यका जस्तो गढी बजार कति सुन्दर, सम्म टारमा थियो ।

गढी बजारको पल्लो छेउमा भएको स्कूल पुगियो । म तलै बसेँ, काठको भर्‍याङ्ग माथि चढेर बाले मास्टरसँग केही बोल्नु भो क्यारे, म कक्षामा पस्न पाएँ । सल्ला र चाप वासना आउने राम्रा बेन्ची, कुर्सी थिए । भुइँमा राम्रा फलेकको पटाई थियो । म बुझ्दै गएँ हामी शिशु, एक र दुई कक्षा एकै कोठामा थियौ । त्यसो त तीन चार पनि सँगै जस्तो थिएँ । तर पल्ला छेउमा । कोठा नबारेका हवाङ्गै एउटै हलमा । भुईमा ठुलाठुला फलेक गाँसेर ओछ्याइएका थिए । शिशु, एक, दुई तिनै फलेकका पटाइमा बस्थे । भित्ताभित्तामा ठूला कालापाटी थिए— मैले कहिल्यै नदेखेका । ढुङ्गामाटाको गारो र त्यसमा कमेरोले लिपेको थियो ।

शिशुकक्षा पढ्नु परेन । मास्टरले केही सोधे— म त्यसै दिनदेखि कक्षा एकमा बसें । यो कुरा २०१८ साल भदौको थियो । दिनभरि कसरी बित्यो भन्न सक्तिन । तर मलाई अत्यन्तै सङ्कोच र अप्ठयारो भएको थियो । मैले चिनेको कोही थिएन । बिस्तारै टाढैबाट तर्सेजसरी अरूलाई चिन्न बल गरें । तर धेरैजसो स्कुलमा बानी परेका, शिशुकक्षा पढेका, एकमा पनि मङ्सिरदेखि पढेकाहरू थिए । म भदौ निगल्दो पुगेको थिएँ । म एकैचोटि नौलो स्कुलबारे केही दन्त्यकथा सुनेको पारि नाम्रेकका पाखाको बाहुन केटो थिएँ । त्यसो त मलाई भट्टराई पण्डितको छोरो भनेर बाउन्नानीका रूपमा चिन्ने परिवार थिए होलान । तर म सानो थिएँ, जङ्गली थिएँ हुँला । आठ वर्षको बालक कत्रो हुन्छ र ? मलाई विद्यालयको कुनै नियम थाहा थिएन । बस्दा कता फर्कनु पर्ने, गुरु आउँदा कसो गर्नुपर्ने, बाहिर कसरी निस्कने, घण्टि बज्दा के गर्नु पर्ने, पानी कहाँ पिउने, दिशापिसाब कता जाने, नौला साथीहरू सँग भिज्न खोज्दा कसरी बोलाउनुपर्ने केही थाहा थिएन । स्कुलको बारेमा केही दत्यकथा सुनेको मात्रै, मास्टरले कुट्छन भन्ने सुनेको मात्रै ।

मैले एउटा पातलो कापी र पेन्सिल बोकेको थिएँ । । एकपल्ट घण्टी बजेपछि अर्को गुरुजी आउनुभयो र मलाई नेपाली पढ्न लगाउनु भयो । मैले फरर पढेर सुनाएँ । हामीलाई पिताजीले घरैमा गीता, चण्डी र अनेक स्तोत्रहरू पढ्न सिकाउनु हुन्थ्यो । अझ मैले अघिल्लो हिउँदभरि चल्ने एउटा धूले स्कूलमा पढेको थिएँ । त्यो एक प्रकारले प्रारम्भिक संस्कृत पाठशाला थियो । त्यो धूले स्कूल सेरेजा गाउँको बीचतिर थियो । ताप्लेजुङको फावाखोला ओसेबाट बसाईँ सरेर हामी सेरेजा आएका थियौं । त्यहाँ जेठा फुपाजू (दाहाल) को आश्रयमा हिउँद बिताएर बर्खा लागेपछि नाम्रेकमा रुद्र खरेल दाजुहरूको घरबारी किनेर सरेका थियौं ।

त्यो दिन गुरुले त्यसरी मलाई सोधे पनि गीताका अप्ठयारा शब्द मोरिएका अक्षर र श्लोक उच्चारण गर्न सक्ने मेरा लागि कक्षा एकको नेपाली किताब खेलाँची मात्र थियो । मैले त्यसरी उच्चारण गरेपछि गुरुजी अत्यन्तै प्रशन्न भए । एक दुइजना अकमकाउने साथीलाई मुक्याएर गुरुले थला पारे । तिनीहरूले ँध्यारो मुख लगाएको बेला मैले मनमनै सम्झिएँ, अब यस्तै हो भने म थामिन सक्छु कि ! अलिकति मनोबल जागेर आयो । म अलिकति चनाखो भएँ । तर मलाई लेख्न, पुस्तकको सार्न पनि आउँदैनथ्यो । जोड, घटाऊ केही आउँदैनथ्यो । केही गन्ती र गुणा र तालिका भने मौखिक थिए ।

त्यसरी आठ वर्षे उमेरमा कक्षा एकमा बसें । अहिले हेर्दा उमेर नाघेको हो । तर ऊ समयमा त्यो पनि धन्य थियो । पिताजीको एकमनमा मलाई संस्कृत शिक्षा दिने नै थियो दाजुलाई जस्तै । त्यसैले घरमा कहाँ कहाँदेखिका बालबोधिनी पुस्तक ल्याएर माल्दाजु र मलाई अनुवाद सिकाउनु हुन्थ्यो । ती छोटा सरल वाक्यका अर्थ आफ्नो जीवनभन्दा टाढाटाढाका कुरा लाग्थे । तर बर्खाको बेला थियो । संस्कृत पाठशाला पाँचथर जिल्लाभरि नै थिएन जस्तो लाग्छ । म फुर्सदले गर्दा धेरै नै उफ्रिन थाले हुँला । सायद त्यसैले मलाई बुबाले लगेर श्री हरि मिडिल स्कुल च्याङ्थापू, गढीमा नाम लेखाइदिनुभयो । पाँचथर जिल्लाको अन्तिम पूर्वी भित्तो, सिक्किम दार्जेलिङसित जोडिएको च्याङथापू गढीमा यस सरस्वती मन्दिरको स्थापनाले त्यस भोगलाई उज्यालो पार्न थालेको रहेछ क्यार ।

मलाई धेरै दिन लागेन । माथ्लाघर छिमेकीका छोराहरू थिए । ठूले (देवी उप्रेती) त्यसबेला कक्षा दुईमा पढथे । तर मभन्दा धेरै ठुलो हुर्केको, त्यसैबेला बिहे गरिसकेको । तल्लाघर मच्छेबुङदेखि पढेर आएको तुलसी सिवाकोटी हामी सँगै स्कूल जान्थ्यौं । अब मैले स्कुल गिराउन चिनें, खोपी र घाङ्लात्ती जस्ता खेल खेल्ने ठाउँ देखें, खेतैखेत झरेर मूलपानीको धारामा पुग्ने बाटो देखें, अलि माथि चढेर फलौचा बजार पुग्ने बाटो देखें । मलाई स्कुलको परिवेश दिनदिनै नयाँ आविष्कार जस्तो हुन थाल्यो । पाङ्ग्रा, खोपी र घाङलात्ती, फालहानी र पौरी देखिए ।

गढी बजारैबजार घर फर्कन्थ्यौं । बजारमा जगतप्रसाद सिवाकोटी, काइला दाहाल, पौडेल, खरेल उप्रेतीका गरी सातआठ दोकान थिए । एक ठाउँ त चिया दोकान पनि थियो । कति ढाक्रेहरू त सिल्भरे थालमा चिया पिउँथे । त्यसमा नून र मरिच मात्र हुन्थ्यो । सबै सामान डाँडावारिबाटै आउँथ्यो । बजारमा हिंड्दा सिसीभित्र राखेका राता मिठाई अघाइन्जेल खान पाए कस्तो हुन्थ्यो भन्ने लाग्दथ्यो । बजारमा अरू पनि लोभ्याउने कुरा थिए । आफ्नो पेन्सिल छैन, त्यहाँ दर्जनौ दर्जन छन्, कापी छैन त्यहाँ हारहार छन् । सित्तली मिठाई छन्, मिश्री, नरिवल छन्, लाबरका चाराने गोल छन्, लाबरकै फुक्ने बेलुन छन् । पैसा नभएर कत्रो बिजोग । वर्षमा एकदुईपल्ट आउने औसीपूर्नेमा, दशैंका टीकामा कति कमाइ हुन्छ र ? आमाको थैली वा बाको ज्वारीकोट कहाँ सधैं भेटिने ठाउँमा हुन्छ र ?

खाजा खाने चलन थिएन । पानी पिउन निकै तलको धारामा अथवा टिफिन छुट्टी पारेर ईवााखोला झर्नुपर्थ्यो । धेरैजसो भोकले मूर्छा पर्ने बेला नभै हामी घर फर्किसकेका हुन्थ्यौं । कहिलेकाहीँ मौसममा फलफूल चोर्ने तालीम गर्थ्यौं । त्यस्तै काँक्रा, नास्पति, ज्यामिर, सुन्तला, केराउ, भट्मास, मस्याम आदिका कोसा । साह्रै भोकले आपत पर्दा मकैका घोडा भााँचेर दार्दै पनि हिँड्थ्यौं । त्यसो त ठाडे खोला छेउको जामुनाको बोटमा कति झुण्डिन्थ्यौं, खोकतिरको जङ्गलमा कति कटुस खोज्थ्यौस दोभानतिर कति अम्बाका बोटमा पिङ खेल्थ्यौं, मल्लिडो टिप्थ्यौं, यस्ता कति जङ्गली खाद्य पनि थिए । शुरुमा दोभानेको पुल तर्ने देवी उप्रेती, जयप्रकाश उप्रेती र म थियौं । पछिपछि दोभानको पुल तर्नेहरू थपिंदै गए ।

स्कूलमा एउटा क्यारेमबोर्ड थियो । त्यसमा ढयाके पैसा राखेर सिर्काउन सिकेका थियौं । गुरुहरूले खेल्दा त पाउडर छर्केर काठका गोटीलाई हान्ने गर्थे । हामी अलिक चोरेर, लुकेर ढयाके पैसाले खेल्थ्यौं । बाटामा घर फर्किँदा कहिले दोभाने खेतमा झुम्राका गोल हान्ने, कहिले गट्टी खेल्ने विद्या पनि सिक्तै गयौं । तर ती दिनको अविस्मरणीय व्यथा भने भोक नै थियो । घरमा पुगेपछि मकै भटमास अथवा रोटी पाइन्थ्यो । अनि गाई ल्याउने, बाख्रा भेला पार्ने, अलिकति दाउरा ओसार्ने यस्तै काम हुन्थ्यो । भाइ बहिनी हेर्नु अथवा एक गाग्री पानी ओसार्नु हुन्थ्यो ।

त्यो मंसीरमा ‘ईअर्लि’ जाँच भयो । म पहिला भएर कक्षा दुईमा पुगें । आमाले कसैसँग घिउमा साटेर दुईका पुस्तक ल्याइदिनुभयो । ती त पारसमणी प्रधानहरूद्वारा दार्जीलिङमा रचिएका, म्याकमिलन कम्पनिले कलकत्तामा छापेका हुन्थे । हिउँदभरी विद्यालय छुट्टी हुन्थ्यो । वनपाखा सारा उजाड हुन्थे । सबै पात झरेका झिक्राहरू मात्रै । पारीको भीरमा पनि खर सुकेर डढेलो सल्किन थालेको हुन्थ्यो । भुतेनी छाँगामा पानी सुकेर हरियो लेउमाथि मसिनो धारो बाँकी रहन्थ्यो । कुवामा पानी पीँधमा हुन्थ्यो, पात बेगरका लप्सीका झुत्ता आकाशमा हल्लिन्थे । हिउँदभरि पिताजी पुराण भन्न कताकता टाढा परदेश जानुहुन्थ्यो । गाउालेहरू खुर्सानी, घिउ र चिराइताका ढाकर बोकेर डाँडापारी लाग्थे । माथि लेकबाट भेडीगोठ औलतिर झरेका हुन्थे । हामी बारीका ढोड टिप्थ्यौं, सुठुनी पिंडालु खोस्रेर पोली खान्थ्यौं । सबैतिर फुस्रो छारो उड्थ्यो । गाईवस्तु जाडाले र भोकले जिङ्ग्रिङ्ग हुन्थे । हाम्रा हातखुट्टा जाडाले पटपटी फुटेका हुन्थे । हातखुट्टा काँडाले कोरेका, चिसाले फुटेका, छर्छरी रगत आउने, खुट्टामा काँडा भिरेर भएपनि खोच्याङ्खोच्याङ् गर्दै उफ्रिन्थ्यौं । बेलुका भएपछि ढोड बालेर खरानी उडाउँदै निकैबेर आगेना वरिपरि बस्थ्यौं । त्यसबेला आमाको सामुन्ने गीता कण्ठ गर्ने प्रयत्न गर्थे । दाजुका पनि संस्कृतका किताब थिए । सेरेजादेखि कहिले बाहुन्दाजुहरू आउँथे । उङ्दै पढ्दै गर्थ्यौं ।

त्यो फुस्रो हिउँद निख्रने बेलामा स्कुल खुल्यो । एकदुई झर पानी पनि पर्‍यो । रुखपात पलाउन थाले । खेतबारी जोतिन थाले । ती दिनमा हिउँदे बाली कहीँ कतै भएको सम्झना छैन । करेसाबारीमा पनि कसैकसैको मात्रै रायको साग, मुला हुन्थ्यो । काउली, गाजर, भण्टा, बन्दा, लसुन, प्याज केही पुगेको थिएन । हामीले यस्ता सागसब्जी सुनेकै थिएनौं । फर्सी काँक्रा थिए, सिजनमा लाग्ने घिरौंला, करेला हुने गर्थे । हिउँदभरी कसैले गुन्द्रुक, सिन्की, सुकाएर राखेका कुभिन्डो, मुला, चुच्चे करेला मस्यौरा, दाल आदि खान्थे । बजारमा कुनै सागसब्जी किनबेच थिएन । काँक्रा फर्सी, लौका, घिरौला आदि वर्षको एक सिजन हुन्थ्यो, बस यत्ति । तर हामीलाई त्यो सहज र स्वाभाविक लाग्दथ्यो । दही, मोही हुन्थ्यो, दुध, ध्यू र कालो दाल । अरू दाल देखेको थिएन ।

कक्षा दुईको ‘रिजल’ मा ‘होलफस’ भएँ । गुरुहरूले कहाँ कहाँदेखि पुस्तक ल्याइदिन्थे । कुनै इलामका कुनै दार्जेलिङका । पढिसकेका कुनै त हाप दामका पनि पाइन्थे । त्यसबेला कतै कुनै पुस्तक पसल थिएन । पछि कक्षा सात पुगेपछि हामी तीन जना (मोहन सिवाकोटी, नरनाथ अघिकारी र म) मात्र इलाम पुग्यौं । अनि पुस्तक पसल देख्यौं । ती सबै पुस्तक पल्टाउन, छुन, पढ्न पाए कस्तो हुन्थ्यो होला जस्तो भयो । पुस्तक पसल देख्न तीन दिनको बाटो हिंडेको सम्झना अर्कै छ । हामी हात्तीखिम्बा हुँदै भुसपातेको लेक र चारखोल कटेर कसरी गयौं, कसरी आयौं त्यसको संस्मरण अन्यत्रै लेखेको छु ।

स्कुल खुलेपछि एउटा नौलो घटना भयो । यसपालि स्कुलको ड्रेस लगाउनुपर्ने भयो । गाउँका गुरुहरू त कमेज सुरुवालमै हुन्थे । सायद दार्जेलिङका गुरुको प्रस्तावमा ड्रेस सिलाउनुपर्ने भयो । मैले पनि बाआमालाई पुकारें, ड्रेस नलाउनेलाई, घाँटीमा मैला हुनेलाई र नङ नकाटनेलाई विद्यालयमा प्रवेश नदिने अरे । यत्रो डरलाग्दो सूचना थियो । अझै जाडो निख्रेको थिएन । पानी तताएर मैले हातका औंला र काला कुर्कुच्चा राता हुनेगरी घोटें, अँगारले दाँत सेता हुनेगरी माझें र ड्रेसको लागि पनि तयार भएँ ।

एकदिन बाले जगात बजार पुगेर मेरो निम्ति कपडा ल्याइदिनु भयो । म आफैं सिलाउन नेवार गाउँसम्म पुगें । ज्ञानेन्द्र हिङमाङका बाबुले ती सिलाइदिए । ज्ञानेन्द्र दाइ मभन्दा एक कक्षा सिनियर थिएँ । धेरै वर्षपछि गएको दशैंमा उनलाई फिदिम बजारमा भेटे कम्ती खुसी लागेन ।

कालो हाप्पिन र सेतो सर्ट सबैको युनिफर्म थियो । बिस्तारै गर्दागर्दै त्यो ड्रेस लगाउनुपर्ने दिन आयो । लगाएँ । बडो अप्ठेरो । आइतवारको दिन कालो हाप्पिन र सेतो सर्ट लगाएँ । हाप्पिनभित्र सर्ट सिउरेर म भर्तिवाल जस्तो भएँ । ससानो लिखुरे भर्तिवाल । सर्ट हाप्पिन दुबैमा टाँक थिए । तल बस्दा सर्ट नमिलेर भूँडि देखिने र हाप्पिन कम्मरमा नअडिने भएकाले मेरो भर्तिवाल हुने सपना मकाउँदै गयो । तरपनि ससानो इजारले हाप्पिनलाई कम्मरमा कसेर जान थालें र पनि कट्टू गन्जी बेगरका ती बस्त्रले मलाई सधौ अत्यन्तै असुरक्षित बनाइरहयो । धेरैजसो साथीका हालत मेरा जस्तै थिए । ती सिलाउन जान्नेहरू पनि थिएनन् । दौरा सुरुवाल लगाएर टिमिक्क हुने बानी परेको मलाई ती भर्तिवाल बस्त्रमा भएको अप्ठेरो, असहज र शरम बिर्सिनसक्नु छ ।

तर सबैले ती बस्त्र किन्न सकेनन् । स्कुलमा अनिवार्य हुन पनि सकेनन् । बिस्तारै दार्जेलिङे गुरु हटेपछि मैले पनि ड्रेस फ्यााकिदिएँ । धेरैपछि मात्रै म पुरा भर्तिवाल हुन पाएँ । झापाको आदर्श विद्या मन्दिरमा कक्षा आठमा नाम लेखाएपछि चुडामणि मामाले नयाँ हाप्पिन सर्ट सिलाइदिनु भयो र बनिएर हिँडें । त्यसपछिका कुरा अर्कै छन् ।

एकदिन ड्रेस लगाएका विद्यार्थीहरू स्कूल गिराउनमा फालिनमा लाग्यौं । ससाना अघि, ठूलाखाले पछि । तीनचार पङ्क्ति भयौं । ड्रेस नलगाउनेहरूलाई गुरुले पर बाटामै उभ्याए । गढीका पानी भर्न जानेहरू त्यहीं उभिएर मास्टरले सजाय दिएका विद्यार्थीको बिजोक रमाएर हेर्ने गर्थे । लाउनेहरू फालिनमा बस्यौं । त्यसपछि चर्को स्वरले ‘गाउँछ गीत नेपाली’ गायौं । अनि गुरुहरूले हाम्रा घाँटी चेक गरे, हातखुट्टा, नारी, नङ, भूँडी सबै चेक गरे । परीक्षा भइसकेको थियो । सफा नहुनेको नम्बर काटिन्छ भनेर हामी डराएका थियौं । तर फेर्ने लुगा नभएका, एकजोरे मैला साथी थुप्रै थिए । पारिको गंगा सार्की मात्रै सधैं सफा हुन्थे । आज ती कहाँ पुगे होलान्, म सम्झिरहन्छु ।

प्राय: कसैको घरमा साबुन हुन्थेन । कपाल काट्ने कोर्ने चलन थिएन । नङ काट्ने साधन थिएन । शिक्षाले अलिकति प्रकाश ल्याउन खोजेता पनि व्यापक गरीबी, अशिक्षा, अज्ञानता र अन्धकारले ढाकेको समयमा दार्जिलिङे गुरुको प्रयत्न अँध्यारामा जुनकिरी मात्र थियो । स्कूलमा छुवाछुतको कुरो नगर्नु भन्थे । सार्की, कामी, दमाई परिवारका विद्यार्थी पनि निकैजना थिए । शायद तिनै गुरुजनका प्रेरणाले आउँथे । तर हामीबीच एउटा अप्ठेरो सधैं सल्किरहन्थ्यो । घरबाट हामी त्यस्तै शिक्षा बोकेर जान्थ्यौं । गाउँमा मेलापातमा त्यस्तै थियो । बजारमा बाटामा त्यस्तै । धरतीआकाशमा, वायुमण्डलमै त्यस्तै । हामी यो कसरी किन भयो भन्ने प्रश्न गर्न सक्दैनथ्यौं । यो पूर्वनिर्धारित नियम परम्परालाई स्वीकारेर सहज चल्दथ्यौं । यद्यपि शिक्षाले गुरुहरूको प्रयत्नले केही फरक आउन थालेको थियो । आज म बुझ्दैछु— हाम्रा पाठ्यक्रम नै फरक रहेछन् ।

ती दिनमा म दुईवटा पाठयक्रमको बीचमा चेपिएको रहेछु । मेरो विद्यालयमा औपचारिक पाठयक्रम थियो भने घरमा अनौपचारिक । घरको पाठयक्रम बुबाआमाको हृदयमा थियो । अन्य परिवारजनको मनमा थियो । समाजको अपेक्षामा थियो । समाज विकासको सापेक्षतामा त्यसको अर्थ लाग्थ्यो । त्यो अव्यक्त, अप्रकट मनमनमा थियो ।

मनमस्तिष्कमा यस्तो अनौपचारिक पाठयक्रम बोकेर विद्यालय पुग्थ्यौं । त्यहाँ अर्कै हुन्थ्यो । धेरै पछिसम्म, एसएलसी पास नगरिन्जेलसम्मै म दुईवटा पाठयक्रमको बीचमा चेपिएको ठान्थें । आज ती अलगअलग पाठययक्रम एउटै भएका छन् । प्रत्येक बाबुआमा आफ्ना सन्तानलाई स्कुल पढाउन चाहन्छन् । सके अङ्ग्रेजी स्कुल पढाउन चाहन्छन् । देशभरिल नै ‘अनेक’ पाठ्यक्रमहरू मेटिंदैछन्, एउटैले सबैलाई निल्दैछ ।

यसरी पाठयक्रम नमिल्ने अनेक पक्ष हुँदारहेछन् । धर्म फरक हुँदा, जाति फरक हुँदा, संस्कृति, भाषा र जीवनस्तर फरक हुँदा, भूगोल, इतिहास र वर्तमान फरक हुँदा वालवालिकाको मन दुईतिर बाँडिएको हुनेरहेछ । विद्यालयले पढाउँदै लान्छ, घरले मेट्तै जान्छ, समाजले भत्काउँदै जान्छ । घरले पढाउँदै लान्छ उता विद्यालयले मेटाउँदै लान्छ । अहिले परिस्थिति भिन्न छ । तर हाम्रो पुस्ता त्यसरी द्वैध साशनमा पर्‍यो । यी अन्तरहरू न्यूनतम विन्दुमा नझरेसम्म बालकको शिक्षा अर्थहीन प्रयत्न मात्र हुन्छ । उसले घरमा विद्यालयको पाठयक्रम खोजी हेर्छ, विद्यालयमा घरको, तर कसरी त्यो मिल्थ्यो ?

हाम्रो घरमा काका र बुवाहरू, अरू आफन्तहरू टाढाटाढा गई शिक्षा आर्जन गर्नेहरू भएकाले सानैदेखि शिक्षार्थीको लागि वातावरण अनुकुल थियो । तर समाजले त्यसलाई असहज बनाइदिन खोज्थ्यो । स्कूलमा पढेपछि जात धर्म छोड्छन् वा पोइला जान्छन्, गाईखाने विद्या बाहुनले पढनु हुँदैन भन्थे । बुबासँग पूजाआजा वा धार्मिक कार्यहरूमा गएको बेला मनमनै म आफूलाई एक वहिस्कृत (आउटकास्ट) जस्तो पनि ठान्थें । पढनेहरूले काशी मथुरा वृन्दावन, पिण्डेश्वर जनकपुर आदिको कुरा गरेका सुन्दा अलिक दोधारमा परेको थिए ।

एकदिन एकजना गुरुले नयाँ बस्त्र लगाएर आए । उनको शिरमा कालो टोपी थियो । तर नयाँ सेतो सर्ट र खैरो प्यान्टमा उनी देखिए । गाउँले गुरुले प्यान्ट लगाएको यो पहिलो अवसर थियो । उनको प्यान्ट अत्यन्तै ठूलो थियो । बेलाबेला उनी भ्याङ्ले प्यान्टका गोजीमा हात छिराउँथे र ससानो सिर्कनो लिएर भर्तिवाले जसरी हिंडथे । मैले पहिलोपल्ट तिनै गुरुका हातमा रेडियो पनि देखें ।

एकदिन गाउँमा हल्ला चल्यो— तिनै मास्टरले लिम्बू गाउँमा रक्सी खाए । त्यसपछि गाउँमा अरू नराम्रा हल्ला चल्न थाले । अङ्ग्रेजी स्कुलको कारण धर्मकर्म छाड्ने, जातपात फाल्ने मान्छे बढ्नेछन् । त्यस्ता कर्मका उदाहरण थपिएका थपिएकै थिए— गुरुजीहरूले तिहारभरि केटाकेटी मिलाएर स्कुले नाच हिडाउँथे । हिउँदमा पिकनिक लान्थे । पौडी खेलाउन लान्थे । अरू फूलबारी बनाउने जस्ता अनेक सामूहिक काम लगाउँथे । त्यसैले बिस्तारै समाजको प्राचीन सङ्गती भत्किन लागेको थियो । हाम्रो स्कुल एउटा नयाँ बाटोमा थियो । भिन्न उज्यालो बस्तु थियो । तर त्यसमा समाजले ठुल्ठुला धब्वा टाँसेर हेर्न थाल्यो । आफूलाई कहिलेकाहीँ ग्लानी र भय हुन्थ्यो । टुप्पी काटेको थिइन मैले । जुल्फी कोर्ने सपना देखेको थिइन । जाँडरक्सी, सुँगुर छोएको थिइन । तर अङ्ग्रेजी स्कुलमा पण्डितको छोरो यस कुराले गर्दा म भ्रष्टपथतिर लाग्दैछु कि ?

पिताजीको मन कुन द्वन्द्वमा थियो, भन्न सक्तिन । किनकि एकातिर उहाँ हामीलाई संस्कृत सरल शिक्षा सिकाउनुहुन्थ्यो भने अर्कातिर यसै विद्यालयको पठनपाठन अटूट रहोस् भन्ने कामना पनि गर्नुहुन्थ्यो । कहिलेकाहीं संस्कृत पढाउन हाम्रा पिताजी पनि गढी स्कुल पुग्नुहुन्थ्यो । वृन्दावन पढेर आएका सिरुडाँडाका पण्डित हरिप्रसाद दाहाल र हाम्रा पिताजी हप्तामा एकएक पल्ट निशुल्क पढाउनुपर्ने अथवा २० पाथी कोदो चन्दा दिनुपर्ने शर्तमा हुनुहुन्थ्यो । मैले कक्षामा सबैलाई उछिने भन्ने खबर ल्याउँदा आमालाई पनि त्यसको अर्थ लाग्थ्यो होला भन्ने ठान्दछु ।

कक्षा दुईबाट डबल हानेर म चारमा पुगें । यो बीस सालको कुरा थियो । हामी पन्ध्र सोह्र जना मात्र थियौं । ती दिनमा मेरो बिहान कसरी बित्थ्यो । दिउँसो कसरी, बेलुका कसरी, राती कसरी, विद्यालयमा कसरी यो मनमा कस्ता भावना र बिचार उत्पन्न हुन्थे ती सारा बाँचेका सम्झना लेख्न मन छ ।

त्यो बर्खा गाउँमा एउटा दुर्घटना भयो । दार्जलिङका राई मास्टरले खरेलकी छोरी भगाएर डाँडा कटाए । त्यो डढेलो रातभरिमै सात गाउँ पुग्यो । चन्दा उठाएर जग्गा दान दिएर दार्जेलिङदेखि मास्टर ल्याएर घरमा पाल्ने खरेल महाजनको परिवारमा कत्रो बज्रपात भयो होला । उनीहरूका नातागोता, गाउँमा कस्तो सन्देश गयो होला । त्यो भय र पीडाको म कल्पना गर्न सक्दिन । त्यसपछि स्कुल पढ्ने पढाउनेको स्थिति गाउँमा कस्तो भयो, त्यसको कल्पना गरीसाध्य छैन । त्यसपछि दार्जेलिङका दुबै गुरुजीले च्याङ्थापू छाडे । उनीहरूले कति वर्ष गढीमा पढाए म भन्न सक्तिन । त्यसपछि गाउँ रित्तो भयो । समितिले आफ्नै देशका उत्पादनले विद्यालय चलाउने निधो गरे । एकदुई जना एसएलसी पास थिए । अरू पाँचसात कक्षासम्म पढेकाहरू । तर पनि ती गुरुहरूले ठूलो साहस गरे । पढाइरहे । कहिले तलव नपुग्दा गाउँमा अन्न उठाउन पुग्थे, कहिले चन्दा गर्थे । तर एउटा बत्ती निभ्न नदिई बालिरहे । आज सुन्छु, चार दशकपछि त्यो बढेर उच्च माध्यमिकको स्थापना भएको छ । एक पुस्तकालयको पनि स्थापना हुँदैछ । तर त्यहाँ पाइला नटेकेको ४७ वर्ष पुगेछन् ।

हामी २०१७ सालको राजनीतिक परिवर्तनको अलेलि हल्ला सुन्थ्यौं । २०१८ सालमा म आठ वर्षको छँदादेखि समय डरसरी भएको थाहा पाउँछु । गाउँलेहरू कुरा गर्थे— गढी बजारमा काला झण्डा गाडिए अरे । अब सरकारले ककसलाई पक्रिने हो भन्ने सुन्दा खूब डर लाग्दथ्यो । मान्छे साउतीमा बोल्थे । त्यस वर्ष जगताका आर्मिसित काङ्ग्रेसले हातहतियार बोकेर लडाईँ गर्‍यो, रातभरि गोलि चले भन्ने सुनिन्थ्यो । माथि सादेवाका काइँला दाहाल सुराकीको आरोपमा घरैमा मारिए । तल गडीका पाठक कान्छालाई खोलापारिको ओडारमा लुकेको अवस्थाबाट ल्याई इवाापुलको जिपैमा गोली ठोकेर आर्मीले मार्‍यो । खाडल खनेर गोली ठोके भन्ने हल्ला थियो । कति भयावह स्थिति हामीले सुन्यौं । दुवैको काजकृया पिताजीले गराउनुभयो । गढीका माघव पौडेल र जगतप्रसाद सिवाकोटीलाई जगात ब्यारेकमा लगेर आर्मीले पाता फर्कायो भन्थे । बुबाले बिस्तारी साउतीमा सुनाउनु भयो— दुवैजनाका जुँघा जति उखेलेर नाङ्गो पारेका छन् । जगतप्रसाद तीन वर्ष जेल परेका थिए । काङ्ग्रेसमा लागेको आरोप थियो । अर्का पाठक थिए, पारि नेखेवाका । उनी पनि काङ्ग्रेसमा लागेर पिटिएका थिए । अरू टाढाटाढाका डरलाग्दा खबर आउँथे ।

हाम्रा तल्लाघर दाजु रुद्र खरेल त्यस भेगमा पञ्चायती व्यवस्थाका समर्थक प्रधानपञ्च थिए । त्यसबेला पञ्चायतको विरोध गर्नेलाई अराष्ट्रिय तत्त्व भनिन्थ्यो । रुद्र दाइले उताका खबर ल्याउँथे । सरकारी आदेशका, कारवाहीका, लडाईंका सबै आउँथे । २०१९ सालतिर पहिलोपल्ट उनका हातमा रेडियो देखियो । हामीलाई कत्रो आश्चर्य लाग्यो भनी साध्य छैन । उहाँहरू हाम्रा अभिभावक पनि हुनुहुन्थ्यो ।

यसरी हामीले सानैमा द्वन्द्व देख्यौं, भोग्यौं । दुई वर्षसम्म गाउँ त्रस्त रह्यो । २०१८ सालका दशैंभरि तौलीधान पाक्ने बेलामा हाम्रा खेतका गरामा धान माडिएको ठूलाठूला ढुङ्गा पल्टिएका भेटिन्थे । त्यहाँ आर्मीले बन्दुक तेछर्याएर बैरी ढुकेका भन्थे । हाम्रो घर भने एउटा शेल्टर जस्तो थियो । एकपल्ट माथ्लो तलामा दुई दिनसम्म पाठक लुकेका थिए । कोही परालको माचमा घुस्रेर राति मात्र पाखा आउँथे । २०२० सालदेखि उनीहरू निर्मूल भए । कति मारिए, जेलमा परे, डाँडा काटे, आत्महत्या वा समर्पण गरे ।

उसबेला यो देशमा स्वतन्त्रता चाहिन्छ र प्रजातन्त्र ल्याउनुपर्छ भनी कुन चेतनाले, कुन प्रेरणाले ती शहीदहरू लडे होलान् । उनीहरूको सपना पूरा हुन पचास वर्ष लाग्यो, अझै भएको छैन । यो च्याङ्थापु एउटा भयानक नाका थियो । यस क्षेत्रले गरेको बलीदानी कथाको इतिहास लेखियो कि लेखिएन होला । म केवल केही झल्का सम्झिन्छु । डरले भिजेका ती दिनमा गाउँलेले बोलेका, मेलापातमा घरमा सुनेका, भोगेका साउतीका कुरा मात्र हुन् ।

२०२३ को वार्षिक परीक्षामा पनि म प्रथम भएको थिएँ । तर गढीमा पढ्ने ठाउँ सिद्धियो । फिदिमसम्म पनि कक्षा आठ पढ्ने ठाउँ थिएन जस्तो लाग्छ । २०२३ सालको माघमा मलाई मात्रै लिएर पिताजी मधेश झर्नुभयो । ठूलादाजु वनारस गइसक्नुभएको थियो । पिताजीले मधेशमै उसबेला मोरङको मधुमल्ला गाविसमा पर्ने लखनपुरमा जमिन किन्नुभयो । मलाई गौरादह निवासी मामा चूडामणि मिश्रको जिम्मा छोडी पिताजी पहाडै फर्किनुभयो ।

मामाले मलाई लगेर झापाको आदर्श विद्यामन्दिर घैलाडुबामा कक्षा आठमा भर्ना गराउनुभयो । पहिलोपल्ट म छात्राबासमा पुगें । त्यहाँ नेत्र मामा हुनुहुन्थ्यो । त्यही विद्यालयबाट मैले २०२६ सालको एसएलसी परीक्षा उत्तिर्ण गरें । त्यही घैलाडुबाबाट मैले अलिक परसम्मको उज्यालो देखें हुँला । त्यसको ४० वर्षपछि उक्त आदर्श विद्यामन्दिरले २०६६ सालमा स्वर्णजयन्ती मनायो । मलाई आफ्नो विद्यालयले “विद्यालय रत्न” उपाधी प्रदान गरेको क्षण म कहिल्यै भूल्ने छैन ।

पछि पहाड च्याङ्थापूबाट माल्दाजु साथ लिएर पिताजी मधेश बसाईं सर्नुभयो । आमाहरू पहाडमा म घैलाडुब्बा, ठूल्दाजु वनारस, हाम्रो एक वर्ष यस्तै भयो । आमा र ससाना भाइबैनी त्यो वर्षभरि सिम्लेको एउटा ओढारमा एक्लै बस्नुभयो । त्यसपछि म कहिल्यै यता फर्किन पाइन । आफ्ना सन्तानको शिक्षा खातिर नै पिताजीले हामीलाई मधेशतिर सार्नुभयो । यतिखेर पिताजी हुनुहुन्न तर उहाँकै तपस्याले, प्रेरणाले आदर्शले आज ५० वर्ष पछि हामी एकै परिवारमा चारजना विद्यावारिधि गर्ने भयौं । अरू पनि गरिरहेका छन् । ती कष्ट र सङ्घर्षका प्रत्येक पाइलामा आमा झन् अगाडि हुनुहुन्थ्यो ।

हाम्रा लागि गढी स्कूल भनेको एउटा शहरको प्रतीक थियो । अघिका संस्थापनकालका शिक्षक–विद्यार्थी को थिए, भवनको स्थिति कस्तो थियो । मलाई सम्झना छैन । तर तिम्तिम्बूदेखि झर्ने लिम्बू सर हुनुहुन्थ्यो— कुमारहाङ बेगा । म पस्ता उहाँले छोडिसक्नुभएको रहेछ । तर भेट्नेहरू उहाँलाई कुमारहाङ सर भन्थे ।

म कक्षा एकमा भर्ना हुँदाखरि गढीका दुई जना गुरु हुनुहुन्थ्यो । सुवास उप्रेती र देवीप्रसाद । मैले थर बिर्सें चिमरिया हो कि ? सुवास उप्रेती पछि मेरा मित मामा हुनुभो । उहाँ नाच्न, गाउन ज्यादै दक्ष । तर उहाँले पढेको गढीमा कक्षा सात मात्र थियो । दुवै सरले कक्षा सात पढेका हामीलाई पाँचसम्म पढाउनु भयो । सुवास मामा मदेशमै हुनुहुन्छ भन्ने सुन्छु । तर कहिल्यै भेट भएन । अर्को देवीसरबारे कहिल्यै केही सुनिन ।

दुई जना दार्जेलिङका सर थिए । दार्जेलिङका दुवै गुरु हिँडेपछि एउटा सुनसान छायो तथा स्थानीय अभिभावकमा चिन्ता पनि बढेको थिया होला । परिणामस्वरूप आठराईमा आइए पढेका अरू दुईजना गुरुहरू आए गंगा खरेल र यज्ञराज खरेल । यस भेकमा उच्च शिक्षा प्राप्त गरेका ती गुरुलाई हामी कत्रो सम्मानले हेथ्यौं । त्यो आइए पढ्नु भनेको कत्रो कुरा हो ।

विद्यायलमा ती स्थानीय गुरुहरू आएपछि मौलिकपन बढ्यो । गंगासर अलिक कल्साउँदो अनुहारका अग्ला, त्यसबेला अविवाहित हुनुहुन्थ्यो । हामी टयुशन पढ्न भन्दै नाम्रेकदेखि फलौचासम्म पुग्थ्यौं र मतानमा सुत्थ्यौं । धनीको घर भएकाले जति बत्ति बाले पनि मट्टितेल सिद्धिँदैनथ्यो । यद्यपि मट्टितेल, चिनी, साबुन, सलाई, कपडा सारा सामान लिन वा यताको बेच्न डाँडापारि नै जाने चलन थियो । त्यही देखेर मैले आफ्नो उपन्यास मुगलानको पहिलो वाक्य नै च्याङथापूको कालीडाँडादेखि……. भनेर शुरु गरेको छु । गंगासर हितौषी, प्रेमी, स्नेहालू हुनुहुन्थ्यो र मलाई आफ्नै ओछयानमा सुताउनुहुन्थ्यो । राति ओछयान भिजाइने हो कि भन्ने डरले म पानी नखाई सुत्ने गर्थें । धन्य कुनै दिन त्यो दुर्घटना भएन ।

पछि धेरै पछि भेट भयो । तर उहाँको मानसिक स्थिति असन्तुलित भइसकेको थियो । गंगा सरलाई अङ्ग्रेजी पढाउन खूब मनपर्थ्यो । उहाँलाई हामी धेरै जान्ने ठान्थ्यौं । कति कण्ठ गर्थ्यौं । तर आज सम्झिन्छु, कति त त्रुटिपूर्ण थिए— द डिजिज टु हुम बिटन बाइ अ म्याड डग इज हाइड्रोफोबिया (कसैलाई बौलाहा कुकुरले टोक्यो भने त्यस रोगको नाम हाइड्रोफोबिया हो) । उहाँ यसरी कण्ठ पार्न लाउनु हुन्थ्यो ।
अर्का यज्ञसर अझै अग्ला, गहिरा आँखा गरेका अनुहारमा दादुराका केही दाग भएका उस्तै उज्याला हुनुहुन्थ्यो । हामी उहाँलाई गंगासरभन्दा अझै माथि अझै जान्ने र गम्भीर ठान्दथ्यौं । हामीलाई जुनसुकै विषय पनि पढाउन तत्पर उहाँ प्रशासनमा पनि हुनुहुन्थ्यो ।

२०२६ सालमा मैले एसएलसी दिएपछि गंगासर मधेश झर्नुभयो । हाम्रो दमक घरमा बस्यौं । गनथन गर्‍यौं । उहाँले नै मलाई ताना शर्माका विश्वका महान् साहित्यकार, बेलाईततिर बरालिँदा जस्ता केही उत्कृष्ट कृति तिमीले पढ्नू गोविन्द भन्नुभयो । तिनै दिनमा मैले महत्त्व नबुझे पनि कृष्णचन्द्र सिंह द्वारा सम्पादित साझा समालोचना पनि किनेर पढेको थिएँ । मैले उल्लेख गरेको छु— मेरो साहित्यिक जीवनतिर उत्प्रेरित गर्ने प्रथम गुरु उहाँ नै हुनुहुँदोरहेछ । त्यसो त विद्यालयमा अति प्रेमले पढाउने निष्ठाले पढाउने, मलाई आँखैमा राख्ने दुवै गुरुलाई म बिर्सन्न । यज्ञराज सर त्यति नजिक नआउने तर टाढैबाट माया र नियन्त्रण गर्ने हुनुहुन्थ्यो । मैले उहाँहरूसित दुई वर्षको सङ्गत गर्न पाएँ ।

दुवै गुरुको घर फलौचामा थियो । यज्ञराज सरको घर बरडाँडा पर्तिर ठूलो खेतको बीचमा थियो— ठूलो भव्य महाजनको, आँगन त्यस्तै, नस्पातिका बोटसम्म खेत, पर्तिर डीलको बाँसघारी । उहाँका दाजु पुण्य सरलाई पनि सम्झिन्छु । तर म उहाँको घरमा गुरुचेला भएर गइन । पिताजी कहिलेकाहीं एकादशी महात्म्य, कार्तिक पुराण आदिमा जानुहुन्थ्यो । म पनि बाहुन्नानी भएर एक दुईपल्ट गएँ बस त्यत्ति ।

यज्ञ सरको गहिरो भित्रबाट आएको कस्तो तौलेर बोल्ने बोली थियो । उहाँले पढाएको कति कुरा अझै सम्झनामा छन् । साह्रै प्रेमले गर्ने, नपिट्ने, सम्झाउने देशका कुरा ल्याउने हुनुहुन्थ्यो ।

शिक्षण सेवामा सम्पूर्ण जीवन अर्पित गर्न आफ्ना गुरुको एकदिन गम्भीर रूपले स्वास्थ्य बिग्रेको सुनें । परन्तु समयले दिएन, म कहाँ पुगेको थिएँ र भेट हुन पाएन । दशकौंपछि एकदिन काठमाडौंमा उहाँसित अकस्मात भेट भयो । तर उहाँ निकै कुप्रो र आँखा अझै गहिरा डुबेका अलिक अस्वस्थ हुनुहुन्थ्यो । तथापि मैले चिनें, बोलाएँ । मैले उहाँलाई लेख्ने गरेका एकदुई चिठीबाट प्रशङ्ग निकाल्नुभयो । तर धेरै समय थिएन उहाँ अन्यत्रै लाग्नुभयो ।

गंगासरसँग भने पन्ध्रबीस वर्ष पछिसम्म पनि पत्राचार भए । उहाँ सधौ अङ्ग्रेजीमा लेख्न रुचाउने उहाँले शुरु गर्ने सम्बोधन वाक्य अझै बिर्सेको छैन ।

ती दिनमा तलब पैसा थिएन । हिउँदभरि गाउँबाट कोदो मकै, घिउ उठाएर दामासाहीले तलब खान्थे । आज जस्तो शिक्षा सेवा सुनिश्चित थिएन । तथापि ती अन्धकार दिनमा मेरा गुरुहरूले जत्रो ऋण लगाउनु भयो त्यसलाई यस जन्ममा म चुक्ता गर्न सक्ने छैन । अर्को जुनी हामी फेरि गुरुचेला भई त्यही च्याङथापूमै जन्मन लेखेको रहेछ भने म केही गर्न सकौंला । त्यसबेलाका धेरै साथी सम्झिन्न । कारण कति मेरा सहपाठी तीन कक्षामा छुटे । कति कक्षा छ मा छुटे । म छोड्दै गएँ र पाँच वर्षपछि नफर्किने गरी मधेश झरें । तर बाल्यकालका ती दिनहरू अमर सम्झना भएर रातोदिन आइनै रहन्छन् । यी कुरा मैले यसै वर्ष लेखेका दिल्ली यात्रा र पछिको ताप्लेजुङ यात्रा शीर्षक यात्रा निबन्धमा उल्लेख गरको छु । म यहाँ पुनरावृत्तिबाट जोगिन चाहन्छु ।

जम्मा चार वर्ष पढ्दा मैले सम्झेकाहरू विदुर सिवाकोटवी, मोहन सिवाकोटी, ओमनाथ दाहाल, डम्मर बेगा, डिल्लीराम सुब्बा, देवकी पौडेल, पार्वती खरेल, गंगा सार्की, पदम खरेल, रघुनाथ खरेल, उनका दाजु नेत्र, राम, तिम्तिम्बुका लक्ष्मी सिवाकोटी…… धेरै जना ता विस्मृतिमा छोपिएका छन् । तर को कहाँ छन् भेट पनि छैन । यता खतिवडा, द्यौराली, दाहाल, भट्टराई, उप्रेती, लिम्बू, पाठक, पौडेल, विश्वकर्मा, हिङमाङ, गुरुङ, नेवार, विश्वकर्मा अरू धेरै थरिका धेरै जना थिए— बिर्सि पनि सकेकोछु ।

च्याङ्थापू छोडेदेखि हरेक दिन म यस भूमिलाई सम्झन्छु, हरेक वर्ष यसैको भ्रमण गर्ने प्रतिज्ञा गर्दछु । तर कहिले नजुर्दै, प्रतीक्षामै समय बितेर गएछ । आज मेरा जीवनका सारा इच्छा तृप्त भएका छन् । आधा शताब्दीपछि यस पुण्यभूमिमा आउने जोग परेको छ यस भूमिमा आफ्नो शीर राख्न पाउँदा म धन्य भएको छु ।

२०२३ साल माघदेखि हरेक दिन च्याङ्थापू सम्झिन्थें । त्यसैले मेरा सबै उपन्यासमा प्रत्यक्ष होस् या परोक्ष रूपले यही च्याङ्थापूकै चित्र छन् । यतैका पात्र छन् । द्वन्द्व यहीं छ । सौन्दर्य यहीं छ ।

म कति उद्यममा लागे । परिश्रममा लागे । बीसबाइस वर्षजति अध्ययनमा लागे । मैले आज अङ्ग्रेजी विषयको मेची अञ्चलमै प्राध्यापक पदमा पुग्ने पहिलो व्यक्ति हुने सौभाग्य पाएँ । तर यो विरुवालाई त्यही च्याङथापूले रोपेको थियो ।

पछि फर्केर जब एक अँध्यारो, निष्पट्ट कालो औासीलाई हेर्छु, आफैंदेखि आश्चर्य लाग्छ । कसरी बाँचेर म यहाँसम्म पुग्न सके होला । त्यो सानो पिलपिले जुनकीरिले मलाई त्यति कालोनिलो रात काटेर यति टाढा पुग्न कसरी सघायो होला । त्यो सानो बाहुन केटो आज दशकौंपछि कसरी मेची अञ्चलभरिमा अङ्ग्रेजी विषयको पहिलो प्राध्यापक हुन पुग्यो होला । जानीनजानी नेपाली भाषा साहित्यको सेवक बन्न पुग्यो होला । आज त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्राध्यापन गरिरहेको छु । केही अक्षर लेख्ने रहर पनि पुरा गरिरहेको छु । कसरी मलाई आश्चार्य लाग्छ र आफै एउटा निष्कर्षमा पुग्छु ।

शिक्षा जस्तो उज्यालो कुनै प्रकाश छैन ।
शिक्षाभन्दा ठूलो अर्को कुनै स्वतन्त्रता छैन ।
शिक्षाभन्दा ठूलो अर्को कुनै सुख छैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक