मंगलबार, वैशाख ७, २०७८

आईएलओ – एनआरएन प्रोजेक्ट : बस्ने खाने सहयोग भन्दा मानसिक परामर्श लिने बढि (रिपोर्टको प्रमाण सहित )

नेपालप्लस विशेष संवाददाता२०७७ चैत ६ गते २३:४२

एन आर एन एलाई मध्यपूर्वका आप्रवाशी कामदारको उद्दार र सहयोगका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले दिएको लाखौंको सहयोगमा अनियमितता भयो कि भएन ? नभएको भए आइएलओको नेपालस्थित कार्यालयकै प्रमुखले किन शंका गर्दै त्यो फाईल उच्च निकायमा पठाए ? यसले नेपाल, प्रवाशी नेपाली र एनआरएनको इज्जतमाथि गम्भिर प्रश्न उठाएको छ । यो प्रोजेक्टमा खास भएको के हो ? कति रकम के कस्ता विषयमा खर्च भए भन्ने ब्यापक, आशंका, बिरोध, टिकाटिप्पणी र आरोपहरु छताछुल्ल हुँदापनि एनआरएनए केन्द्रले अझै यसको पूर्ण रिपोर्ट वा अवस्था बाहिर ल्याएको छैन । तर नेपालप्लसले एनआरएनएले तयार पारेको यो परियोजनाको आन्तरिक रिपोर्ट वा हालसम्म प्रकाशित नगरेको रिपोर्ट हात पारेको छ ।

रिपोर्ट हेर्दा केहि विषयहरुमा गम्भिर आशंका उत्पन्न हुन्छ । जस्तो-मलेशियामा सहयोग पाउने दुई हजार चार सय ५८ जना मध्ये नौ सय २२ जना, साउदी अरेबियामा सहयोग पाउने दुई हजार पाँच सय ८४ मध्ये एक हजार नौ सय १८ जना र युनाईटेड अरब इमिरेट्समा दुई हजार चार सय चार जना सहयोग पाउने मध्ये एक हजार नौ सय ७५ जनालाई तनावबाट मुक्ति पाउने परामर्श दिएको उल्लेख छ । ति देशमा रहेका हजारौं नेपालीलाई आवाश, खाना, स्थानिय यातायात, घर जाने ब्यवस्था, पिसिआर टेस्ट लगायतका यावत सहयोग गर्दा गर्दै त्यति धेरै नेपालीलाई तनाव मुक्तिको परामर्श दिएको भन्ने रिपोर्ट विश्वासयोग्य देखिन्न । रिपोर्टमा उल्लेख गरिएको परामर्श कहाँ कुन संस्थाले दिएको हो भन्नेपनि खुल्दैन ।

आइेएलओ प्रोजेक्टमा नेपालीलाई गरेको सहयोगको एनआरएनए केन्द्रद्वारा तयार पारिएको रिपोर्टमा गम्भिर आशंकाको पक्ष के हो भने खाना र आवाश लगायतको सहयोग पाउनेको संख्या जम्मा २,१०७ छ । मलेशिया, सउदी अरेबिया र युनाईटेड अरब ईमिरेट्स गरेर । तर तनाबबाट मुक्त गराउन भने ४,८१५ जना छन् । यि तिन देशका नेपालीलाई के खाना, बस्न, विमान खर्च, पिसिआर भन्दा मानसिक तनावको उपचार वा परामर्श बढि खाँचो परेको थियो ? त्यसबाहेक काठमाडौंमा परामर्श लिनेको संख्या अलग्गै छ, १७७५ जना ।

त्यति मात्रै होइन, कोरोना भाईरसको महामारी शुरु भएपछि ति मुलुकमा एनआरएन केन्द्रलेसमेत हजारौं डलर रकम सहयोग पठाएको थियो । आइएलओको सहयोग धेरै पछि मात्रै आएको हो । त्यसबाहेकपनि ति देशका नेपालीलाई सहयोग गर्न संवन्धित देशका एनआरएनए राष्ट्रिय समन्वय समितिलेपनि आर्थिक र अन्य सहयोग गरेका थिए ।

एनआरएनए एक सामाजिक संस्था भएकाले यसमा सामाजिक योगदान र स्वयंसेवकबाट काम लिईन्छ भन्ने गरिन्छ । एनआरएनएले सहयोग माग्दा नेपालीहरुले स्वयंसेवा गर्दैपनि आएका छन् । तर एनआरएनए केन्द्रद्वारा तयार पारिएको आइएलओ प्रोजेक्टको रिपोर्टमा “मोबिलाईजेसन अफ पेड भोलेन्टियर्स” अर्थात् रकम तिरेर स्वयंसेवक खटाएको भन्ने हाकाहाकी उल्लेख गरिएको छ । ति पेड भोलेन्टियर्स को हुन् ? केका आधारमा तिरिएको हो ? स्वयंसेवकको आवस्यकता पर्दा सहयोग सार्वजनिक रुपमा नमागि किन पेड भोलेन्टियर्स खटाइयो भन्ने गम्भिर प्रश्न उठेको छ ।

एन आर एन ए केन्द्रिय रिपोर्ट अनुसार हालसम्म, १३ हजार तिन सय बाहिर पुगेका नेपाली आप्रवासी कामदारहरू मध्ये १२ हजार ७ सय तिन आप्रवासी कामदारहरूलाई बिभिन्न प्रकारका सहयोग गरिएको छ । सहयोग मध्ये खाना र आश्रय, परामर्श, सहज प्रस्थान, पिसिआर परीक्षण, आंशिक हवाई टिकट र कागजात तयार पार्न सहयोग गरिएको उल्लेख छ । आंशिक हवाई टिकट सहयोग गरेको भए बाँकि हवाई टिकट कसले उपलब्ध गराएको हो भन्ने खुलेको छैन ।

ति १२ हजार सात सय तिन मध्येपनि केहिलाई रोजगार खोज्न सहयोग गरेको, आवाश, खाना, सहज प्रस्थान, पिसि आर परिक्षण, संवन्धित दूतावाससित नेटवर्किङ, यातायातमा सहयोग आदि छन् । ति मध्ये दुई हजार सात सय १३ जनालाई खाने र बस्ने ठाउँ दिएको उल्लेख छ ।

एनआरएनको सहयोग परियोजना अन्तर्गत कतारमा रहेका दुई हजार पाँच सय ९९ जनालाई सहयोग गरिएको छ । ति मध्ये पाँच सय ७३ जनालाई खाना र आवाशको ब्यवस्था गरिएको थियो । १०१ जनालाई नयाँ रोजगार खोजिएको भनिएको छ ।

त्यस्तै, यो प्रोजेक्टद्वारा सन् २०२१ को जनवरी २० सम्ममा मलेशियामा रहेका दुई हजार चार सय ५८ जनालाई सहयोग गरिएको सूचिक्रित छ । ति मध्ये सात सय ९७ जनालाई खाना र वासको ब्यवस्था गरियो । ४२ जनालाई रोजगार खोजियो । त्यस्तै, नौ सय २२ जनालाई आफ्नो तनाव र तिनको भविष्यको योजनाका लागि परामर्श दिईएको छ ।

यो तनाव कम गर्न दिईएको भनेको कुन खाले परामर्श हो ? कसले दिएको हो ? ति को हुन्, कुन संस्थाले दिएको हो परामर्श भन्ने खुल्नुपर्छ । यि प्रमाणहरु बिना ९,२२ जनालाई दिएको भनिएको परामर्शमा सत्यता छ कि छैन भन्ने शंका छ । त्यो परामर्श मलेशियाको कुन स्वास्थ्य निकाय, कुन मनोबिज्ञले दिएका हुन् ? त्यसको खर्च कति हो ? निशुल्क पो हो कि ? खुल्नुपर्छ ।

२० जनवरी २०२१ को प्रगति रिपोर्ट अनुसार साउदी अरेबियामा दुई हजार पाँच सय ८४ प्रवासी कामदारहरूलाई सहयोग गरिएको छ । तिनीहरू मध्ये तिन सय ४३ जनालाई खान र आवाशको ब्यवस्था गरिएको थियो । एक सय जनालाई नयाँ जागिर खोजियो । एक हजार नौ सय १८ जनालाई तनावबाट छुट्कारा दिलाउन सहयोग गरिएको उल्लेख छ ।

युनाईटेड अरब इमिरेट्समापनि २० जनवरि २०२१ को प्रगति रिपोर्टले देखाउँछ, दुई हजार चार सय चार जना आप्रवाशी कामदार यो परियोजनाबाट लाभान्वित देखिएका छन् । ति मध्ये नौ सय ६७ जनालाई खाना र आवाशको ब्यवस्था गरिएको रिपोर्टमा छ । तर एक हजार नौ सय ७५ जनालाई भने तनावबाट मुक्ति पाउने परामर्श दिईयो ।

त्यस्तै, काठमाडौंमापनि आप्रवाशी कामदारलाई एन आर एनले यो परियोजना मार्फत् सहयोग गरेको छ । सन् २०२१ को जनवरीमा काठमाडौं पुगेका तिन हजार एक सय ८१ आप्रवाशी कामदार मध्ये आफ्ना विषय र समस्या अनुसार एक हजार सात सय ७० जनालाई परामर्श दिईएको छ । यो परामर्शदाता संस्था को हो ? कुन खाले परामर्श हो ? त्यसको बिल र भर्पाई उपलब्ध हुन्छ कि हुन्न ? नौ सय ३६ जनालाई भने स्थानिय यातायात सुविधा दिएको उल्लेख छ ।

त्यस्तै, “कुवेतका १७, बहराईनका ६ जना, ओमानका १३ र कम्बोडियाका २२ आप्रवाशी नेपालीहरुलाई खाना, आवाश, पिसिआर परिक्षण, विमान खर्च भरिएको थियो । कुवेतका १६ जना, बहराईनका ६ जना, ओमानका ११ जना र कम्बोडियाका २२ जनालाई पिसिआर परिक्षणकालागिपनि सहयोग गरियो” भनेर रिपोर्टमा उल्लेख छ । पिसिआर टेस्ट गराइएको भनेर दुई ठाउँमा उल्लेखित ति ब्यक्ति वा संख्या उहि ब्यक्ति हुन् वा फरक फरक हुन् भन्ने स्पष्ठ बुझिन्न । मध्यपूर्वमा पिसिआर टेस्ट के त्यहाँको कम्पनी, सरकारले गर्ने थिएन ? यो पिसिआर टेस्टको खर्च कति हो भन्ने स्पष्ठ हुनु जरुरि छ ।

१२ हजार सात सय तिन आप्रवाशी कामदारको संख्या मध्ये ११ हजार पाँच सय २८ पुरुष र १,१७५ महिलाले बिभिन्न खाले सहयोग पाएकोपनि एनआरएनए केन्द्रिय रिपोर्टमा उल्लेख छ ।

यस अघिनै यो प्रोजेक्टले काठमाडौंमा स्थानिय यातायातको लागि सहयोग गरेको भन्ने उल्लेख भैसकेको छ । तर त्यसपछि फेरि नेपाली आप्रवासी कामदारहरूलाई काठमाडौंबाट गन्तव्य (घरसम्म) पुग्न यातायात सहयोग गरेको उल्लेख गरिएको छ । यस्तो सहयोग पाउने नौ सय ३६ जना छन् । ति मध्ये कतारका ९८, मलेशियाका २१०, साउदी अरेबियाका तिन सय ७२, युनाईटेड अरब इमिरेट्सका २२०, कुवेतका सात, वहराईन र ओमानका ६, ६ जना गरि १२, कम्बोडियाका १७ जना छन् ।

एनआरएनको आन्तरिक रिपोर्टमा त्यति धेरै ब्यक्तिलाई पिसिआर टेस्टकालागि सहयोग गरेको उल्लेख गरिसकेपछि फेरि रिपोर्टको अन्त्यमा आफन्त वा साथीभाइबाट पीसीआर परीक्षण र एयर टिकटको लागि पैसा मागेको उल्लेख छ । त्यति धेरै ब्यक्तिले आर्थिक र मानसिक तनाव मुक्तिको परामर्श पाउँदापनि केहि ब्यक्तिले भने किन परिवारबाट आर्थिक सहयोग लिए ? कि यो परियोजना शुरु नहुँदै मगाएका हुन् ? त्यो खुल्नुपर्छ ।

यो सबै सहयोगकालागि यो परियोजनाको कुल बजेट आठ लाख, ६२ हजार छ सय ७९ अमेरिकी डलर खर्च भएको छ ।

दाताबाट हालसम्म तिन लाख ८२ हजार एक सय १७ डलर बिनियोजित छ । बाँकि लगभग पाँच लाख डलर रिपोर्ट तयार गरिसकेपछि बिनियोजित गरियो कि ? रिपोर्टमा ‘हालको मितिसम्म’ भन्ने उल्लेख छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक