बुधबार, साउन २०, २०७८

भाले बौद्धिकताको कुरूप दृश्य

अजवी पौड्याल२०७७ चैत ७ गते ६:०२

एउटा बौद्धिक कार्यक्रमको प्रसंगबाट कुरा शुरु गरौं । कार्यक्रम थियो क्रान्ति दिवस । बौद्धिकहरुको जमघट भएको कार्यक्रममा महिलाको उपस्थिति उसै न्यून थियो । ड्यासमा त झन् कम । कम्युनिष्टहरुकै कार्यक्रममा महिला किन कम त भन्ने प्रश्न उठ्यो । एक पुरुष मित्रले कटाक्ष गर्दै जवाफ दिए– महिलालाई लिपिस्टिक पाउडर लगाउँदैमा फुर्सद छैन । बौद्धिक काममा आउने हैनन् । यो जवाफमा निहित व्यंग्य निकै डरलाग्दो थियो ।

महिला धेरै संख्यामा विज्ञ वा बौद्धिकको भूमिकामा नहुन सक्छन् । तर के त्यसो भएको लिपिस्टिक पाउडर लगाउँदैमा फुर्सद नभएर हो ? व्यापक संरचनात्मक विभेदमा शदियौंदेखि परेका महिलाका बारेमा त्यति हल्का टिप्पणी गर्न मिल्छ ? अझ महत्वपूर्ण कुरा त के भने ती पुरुष मित्रको दिमागमा महिला भन्ने बित्तिकै लिपिस्टिक पाउडरको याद किन आयो ?

पुरुष महोदयले भनेझै महिलाहरु बिज्ञ वा बौद्धिक हुन लिपिस्टिक र पाउडरले त पक्कै रोकेको छैन । यहाँ प्रश्न उठ्छ– महिलाहरु बौद्धिक नभएकै हुन् या हुन नदिइएको हो ? महिलाले भोग्नु बाँच्नु परेको संसारका बारे केही यथार्थ खोतल्नैपर्ने भयो ।

महिलामा बौद्दिकता भन्दा पनि उसको शरिरमा सुन्दरता खोज्ने चलन धेरै पुरानो हो । स्वर्गका अप्सरादेखि परीकथाका परीसम्म जताततै सुन्दरताको खास मानक राखेर महिलालाइ हेर्ने परम्परा छ । महिलालाइ भोग्यबस्तुको रुपमा लिइँदै आएको छ । आम पुरुषवादी चिन्तन परम्परालाई अघि बढाउँदै पूँजीवादले महिलाको थप वस्तुकरण गरेको छ । यो यथार्थलाई बिर्सेर महिलाका बारे टिप्पणी गर्न मिल्छ कि मिल्दैन ?

आधा शताब्दी अघिसम्म महिलालाई भोट दिने अधिकार पनि थिएन । महिलाले सामाजिक भूमिका निभाउन सक्छन भन्ने विश्वास नै गरिन्नथ्यो । महिलामा भोट हाल्ने चेतना छ भनेर नै मानिदैनथ्यो । हुनत अहिले पनि श्रीमानले जहाँ भन्यो, त्यहि पार्टीको मान्छेलाई भोट हाल्न धेरै महिला बाध्य छन् । समाजका कुनै पनि बौद्दिक कार्यक्रमबाट महिलालाई सकभर बाहिर नै राख्न खोजिन्छ । महिलाका आवाजहरुलाई ‘पोथि बासेको’ भन्दै समाजमा महिलाको चेतनशिल भूमिकालाई अस्विकार गरियो ।

नेपालकै प्रसङ्गमा कुरा गर्दा केही समय अगाडिसम्म बहुविवाहलाई कानुनी मान्यता थियो । कानुनले नै महिलाको निर्णय गर्ने क्षमतालाई कुण्ठित गरेको थियो । सामाजिक रुपमा बहुबिवाह अहिले पनि स्विकृत छ । समाजमा एकभन्दा बढि श्रीमती राख्ने पुरुष प्रशस्तै भेटिन्छन् ।

महिलाको चेतनालाई परम्परादेखि नै बेवास्ता गरिएको यथार्थ हो । यसको निरन्तरताको रुपमा अहिले पनि महिलालाई स्थान दिन कन्जुस्याईं गरिन्छ । समाजमा सबै क्षेत्रमा पुरुषले आफ्नो बर्चस्व कायम गरेको छ । त्यसो भएपछि बौद्दिक क्षेत्रमा पनि उसको हैकम कायम हुनु स्वभाविक भयो । यसरी बौद्दिकतालाई नै पुलिंगी जस्तो बनाइएको छ । जब बौद्धिकताकै लिंग बनाइयो, त्यसबाट स्त्रीलिंग स्वतः बाहिर पर्ने नै भयो । महिलालाई बौद्धिक काममा न विश्वास गरियो, न भूमिका दिइयो, न त्यस्तो कुनै अवसर नै ।

इतिहास लेख्नेहरुले अनेक वीरहरुको गाथा त लेखे, तर योगमायाको बौद्धिक योगदानलाई त चिनेनन् । भानुभक्तको वधुशिक्षाको प्रशंसा गर्नेले योगमायालाई कवि नै मान्दैनन् । बधुशिक्षालाई मानव जीवनको अमृतवाणी सम्झने पुरुषवादी समाजले पुरुषको लागि वरशिक्षाको माग कहिल्यै गरेन । यरी महिलालाई संस्कारी हुनुपर्ने दबाबमा राखेर पुरुषको रजगज कायम गरियो ।

ब्रम्हा, बिष्णु र महेश्वरको कपोलकल्पित कथामा मुख्य पात्र सदैव पुरुष नै लेखिए । महिलाको भुमिका पुरुषलाई नाचेर लठ्ठ पार्ने, ऋषिको ध्यान भङ्ग पार्ने सुन्दरी अप्सराको रुपमा सिर्जना गरियो । पुरुषलाई नै बलवान, बिद्वान र शुरविर पात्रको रुपमा जताततै चर्चा परिचर्चा गरियो । महाभारतमा महिला पात्र द्रौपदीलाई जुवामा दाउ राख्ने वस्तुका रुपमा चित्रण गरियो । यस्ता कथा र मिथक सुनेर हुर्केको हाम्रो मतिष्कले कसरी पचाउन सक्छ महिलाको बौद्धिक ब्यक्तित्व ?

जब धर्म, कर्म, संस्कार, संस्कृति र सिकाइमै फरक ब्यबहार र विभेद गरिन्छ, अनि कसरी सरोबर हुन सक्छन महिला पुरुषको संख्यात्मक उपस्थिति ? एकातिर जन्मदै विभेदको टिका लगाएर आउँछन् महिला, अर्कोतर्फ भएका केही सक्षम र सबल महिलालाई पनि ठाउँ दिन नचाहने पुरुष परम्परा पुरानै हो ।

कार्यालय जानेबेला टाईको गाँठो समेत बनाउन श्रीमतीकै भर पर्नेहरु धेरै छन् । नुहाएर अण्डरवेयर धारामै फाल्ने बिद्वानको पनि कमि छैन । जीवनभर आफ्नो मोजा र रुमाल समेत नधुने पुरुष पात्रको बिगबिगी छ । बौद्धिक पुरुष निर्माण गर्न महिलाको लाखौं घन्टा समय चोरिएको छ । परिवारभित्रै विभेद र हैकम कायम गर्ने पुरुषका लागि लिपिस्टिक पाउडर लाउने चलन नै चलेको भए पनि उसलाई महिलाले नै सजाइदिनुपर्थ्यो भन्न कठिन छैन ।

अवसर दिने बेलामा सधैं पछाडि पार्ने, छोरीको भन्दा छोराको तराजुमा तौल बढी राख्ने, छोरीको ब्यक्तित्व विकासका लागि लगानी गर्न खुट्टा कमाउने र विभेदपूर्ण संस्कार सिकाउने, अनि मुल्याङकन गर्ने बेलामा लिपिस्टिक पाउडर लगाएर पछि परेका हुन् भन्न मिल्छ ?

पुराना सांस्कृतिक मान्यताले अझै समाजमा बलियो डेरा जमाएको छँदैछ । घरमा गरिने स–साना गल्तिमा छोरीलाई आफ्नो कमजोर हैसियत सम्झाउने गरिन्छ । छोरीले कपाल काट्न हुन्न, सार्वजनिक ठाउँमा बोल्न हुन्न, अरुका अगाडि शिर निहुराएर हिड्नुपर्छ, महिनावारी भएको बेला दाजुभाइलाई छुन हुन्न, लोग्ने मान्छेलाइ हेर्न हुन्न जस्ता अनेकौ भेदभावपूर्ण चलन भोग्दै, सुन्दै र सिक्दै हुर्कन्छन् छोरीहरु । अझ छाउपडी प्रथाले निम्त्याउने कहालिलाग्दो पिडाको त कुरै नगरौँ । घर र घरबाहिरका लोग्नेमान्छेदेखि देवीदेउतासम्मको डर छोरीका दिमागमा हालिन्छन् । कति मिनेट सिकाइन्छ छोरीलाई समानताका कुरा ? अनि विभेदका पर्खालहरु नतोडीकनै अचानक पुरुषसरह कसरी उपस्थित हुनसक्छन् महिला ?

अक्सर परिवारमा पाइने ब्यावहारिक ज्ञान र शिक्षामा समेत बौद्धिकताको लिंग छुट्याइएको हुन्छ । मेरी आमाले भात पकाउनुहुन्छ, लुगा धुनुहुन्छ, तर बाबाले अफिसमा काम गर्नुृ हुन्छ । पैसा कमाउनुहुन्छ भन्ने सारका कविता पाठ्यपुस्तकमा पढेर हुर्कन्छौं हामी । आमा भनेको घरको काम मात्र गर्ने र बुवा घरपरिबार पाल्ने ठुलो ब्यक्ति हो भन्ने भ्रमको खेती सानैदेखि गराइन्छ हाम्रो बाल मस्तिष्कमा ।

आजको पूँजीवादी समाज ब्यवस्थाले महिलालाई बिक्री हुने मालको रुपमा चित्रण गर्दै आएको छ । महिलालाई नङ्ग्याएर, शारीरिक आवरणको मात्र प्रशंसा गरिदिएर उनीहरुलाई सुन्दरताको जालमा अल्झाइरहने चलन हुर्किरहेकै छ ।

चर्चित पत्रपत्रिका, मिडिया कभर तथा ब्यापारिक सामानको विज्ञापनको लागि समेत महिलाको तथाकथित् सुन्दरतालाई प्रयोग गर्ने गरिन्छ । यो सुन्दरता कस्को आँखाबाट हेरिएको छ ? कस्को प्रयोजनका लागि प्रयोग गरिएको छ त ?

अझ सौन्दर्य प्रसाधनका साधन उत्पादन गर्ने कम्पनीहरुले त आफ्नो गुणस्तरमा भन्दा पनि महिलालाई बिज्ञापनमा प्रयोग गर्नमा बढ्दा ध्यान दिन्छन् । महिलालाई पैसामा किनिएको सामानको रुपमा प्रयोग गरिने चलन पुरानै हो । यस्तै सुन्दरता बेच्न र किन्नको लागि बर्तमान बिश्वले अरबौं रुपैयाँ खर्चेर अनेकौ सुन्दरी प्रतियोगिता समेत गर्ने गर्छ र तथाकथित् सुन्दरी छनौट गर्छ । यस्ता गतिविधी विस्तार भैरहेका छन् ।

एकथरि महिलालाई लाग्छ, श्रुङारका सामाग्रीले महिलाको सुन्दरतामा निखार ल्याउँछ । तर यो एउटा गतिलो भ्रम हो । यसको पनि आफ्नै राजनीति छ । महिलाको ब्यक्तित्व नै श्रृङारमा मात्र सिमित गर्न खोज्ने यो एउटा गजबको राजनीति हो । सुन्दरताका अनेक उपमा भिराएर श्रृंगारकै दुनियाँमा मात्र अल्झाउने र अघि बढ्न नदिने एउटा प्रपन्च हो । जब श्रुङारका प्रसाधनमा नै महिलाहरु अल्झिन्छन्, बौद्दिक सत्ता आफ्नो हातमा लिन पुरुषलाई सजिलो हुने नै भयो । फलस्वरुप पुरुष हरेक क्षेत्रमा माथि परिरहे । शताब्दियौं देखिको श्रृंगारको राजनितिले डामेका महिलालाई श्रुङारकै उपमा जोडेर होच्याउनु आफैंमा पुरुषवादी तर्क होइन र ?

तपाइँको प्रतिक्रिया

फेसबुक