बुधबार, साउन २०, २०७८

को लेखक, कस्तो लेखक ?

डा. गोविन्दराज भट्टराई२०७७ चैत ८ गते ६:३१

सिर्जनात्मक लेखन भनेको कुनै लेखनको प्रकृति होइन । यो लेखनको सारतत्त्व र मुटु होस । यो सिर्जनाको अन्तिम स्वरूप पनि हो । सिर्जना सिक्ने कुरा हो ? अथवा यो स्वयं प्राप्त हुन्छ ? अथवा यो कुनै वरदान हो ? यो कुरा मलाई थाहा छैन । विगतका चालीस वर्षदेखि म यही कर्म गरिरहेको छु । यो मेरो अस्तित्त्वको नै एउटा अभिन्न अङ्ग बनिसकेको छ । अब त नलेखिकन उत्तरजीविता सुनिश्चित हुन्छ जस्तो लाग्दैन । अथवा म लेख्तै छु भन्ने कल्पना नगरिकन या म एउटा स्रष्टा हुँ भन्ने कुरो बहाना नगरिकन अथवा एकचित्तले लेखनमा लागिनरहेसम्म म बाँच्न सक्तिन । लेख्नुको तात्पर्य मेरो लागि सिर्जनाको लेखन हो । भनौं, सिर्जनात्मक लेखन हो । त्यसैले लेखक भनेपछि अपरिहार्य रूपले मेरो निम्ति एउटा सिर्जनात्मक लेखक अथवा स्रष्टा नै हो । त्यसक्कारणले लेख्नुको तात्पर्य मेरो निम्ति सम्पूर्ण रूपले सिर्जनात्मक लेखनमा समर्पित हुनु हो । त्यसो भए तापनि मैले आजसम्म सिर्जनात्मक लेखनको कुनै पाठ सिकेको कक्षा लिएको सम्झना छैन । म केवल एउटा कुरा सम्झन्छु— कसरी मैले सर्वप्रथम सिर्जनात्मक लेखन आरम्भ गरें । कसरी अचानक उठेका सरल विचारहरूलाई एउटा कागतको टुक्रामा जोड्दै गएँ । र कसरी म बारम्बार निरास हुने गरी त्यसमा असफल हुँदै गएँ । अनि कसरी म अनन्त रूपले नहारिकन लेख्ने सङ्घर्ष गरिरहें । मैले यस्ता कुरा कसैलाई भन्न सक्तिन थिएँ । केवल आफ्नै मनलाई सुनाउँदै आएँ ।

आज म यो कल्पना गर्दछु— मेरो त्यो प्रयत्न व्यर्थ थियो । किनभने मलाई बाबुआमाले अथवा मेरो समाजले विद्यालयमा गएर कविता लेखोस् भन्ने कामना गर्दैनथे । न त शिक्षकहरूले नै मबाट यस्तो कुराको अपेक्षा राख्दथे । अथवा म जस्ता कुनै विद्यार्थीहरूबाट यस्तो अपेक्षा राख्दथे । यस्ता व्यर्थका प्रयत्नहरूका बारेमा समाज अनभिज्ञ थियो । यस्तो कर्म व्यक्तिगत अभिरुचिको कुरा हुन्थ्यो । अझै पनि त्यो धारणा बदलिएको छैन ।

त्यस कारणले गर्दा सिर्जनात्मक लेखनमा बारम्बार असफल हुनु मेरो निम्ति स्वाभाविक थियो । किनभने मैले पढेका पुस्तकहरूमा कसरी शब्दको उच्चारण गर्नू, कसरी तिनीहरूको हिज्जे गर्न जान्नू भन्ने पाठहरू हुन्थे । विस्तारै मैले ती शब्दहरूलाई वाक्यमा प्रयोग गर्नसम्म सिक्नुपर्ने हुन्थ्यो । कसैले झुक्किएर पनि कहिल्यै सिर्जनात्मक लेखनको कुरा गरेन । त्यो कलालाई गोप्य रूपले आफ्नै इच्छाले सिक्नु पर्दथ्यो । अझै पनि स्थिति त्यस्तै छ । त्यस कारणले त्यो असफलताको अनुभूति र पीडा मेरो हृदयमा सीमित थियो ।

शाब्दिक अथवा व्याकरणिक ज्ञान कुनै प्रकारले सिर्जनात्मक लेखनसँग जोडिंदैन । त्यसो त मैले पनि पढ्न र लेख्न सिकेँ । तर पढ्नुको तात्पर्य काला सङ्केतहरूलाई मनले छुट्याएर ओठले उच्चारण गर्नु अनि लेख्नुको तात्पर्य तिनै अवाजहरूलाई एउटा कागजमा टिप्न खोज्नु मात्र थियो । यो एउटा भावनाशून्य कर्म थियो । यसको तात्पर्य कुनै संरचना वा ढाँचालाई दोहोर्‍याउनु भन्ने मात्र हुन्थ्यो । पढ्दै जाँदा मेरो शब्दभण्डार बढ्दै गयो । वाक्यसंरचनाको ज्ञान पनि निकै बढाएँ । तर त्यसले मेरो लेखनशिल्पलाई बढाएन । यसको कारण केहो भने शब्दको र वाक्यसंरचनाको ज्ञानले कुनै कल्पना कर्मलाई प्रोत्साहित गर्दैनभने यस्तो कल्पना र भावनाले चल्ने ज्ञान नै सिर्जनात्मक लेखनको एउटा आधार हो । सुरुमा सिर्जना भन्ने कुरा अकस्मात घट्ने घटना हो । यो आफैं हुन्छ । मानिलिऊँ यो एक प्रकारको उद्वोधन हो अथवा स्वप्रकाशन हो । त्यसैकारणले एउटा ठूलो भाषाविद होस् अथवा एउटा ठूलो समालोचक होस् कहिले त एउटा मात्र रचना पनि सिर्जना गर्न नसकी उसको अन्त्य हुन्छ । सिर्जना भन्ने कुरा कसैको डिग्री अथवा डिप्लोमासँग जोडिएको हुँदैन । यो कुनै प्राज्ञिक उपलब्धिको लागि गरिने परिश्रमको परिणाम पनि होइन । यो सम्पूर्ण रूपले कलासित सम्बद्ध हुन्छ । किनभने यो मानविकीसँग जोडिएको विधा हो ।

सिर्जनात्मक लेखनको परिचय गर्न खोज्दा मेरा हृदयमा केही अस्पष्ट विचारहरूको, अस्पष्ट बिम्बहरूको प्रतिध्वनि ठोकिन्छ । म तिनीहरूलाई कुनै प्रकारले बोधगम्य आकारमा परिणत गर्न खोज्छु । त्यसो त मैले आजभन्दा पाँच दशक पहिले नै त्यसो गर्न थालेको हुँ । र आजसम्म पनि त्यही अभ्यास निरन्तर राखेको छु । यद्यपि मलाई त्यो सम्बन्धमा अरू ज्ञान छैन । मेरो सङ्घर्ष अझै सकिएको छैन । जति धेरै गर्छु, त्यति धेरै आफ्नो सिर्जना अझै अपूर्ण र अपरिपक्व रहेको आभास मिल्छ । के भएको होला ?

मेरो निमित्त सिर्जनात्मक लेखन भनेको एउटा अभिव्यक्ति कला हो । त्यो सम्पूर्ण स्वाभाविक हुन्छ । स्वस्फुर्त हुन्छ । यो मानव जातिलाई स्वतस्प्राप्त एउटा उपहार हो । यद्यपि यो वरदान वा उपहार प्रत्येक मष्तिकलाई अथवा हृदयलाई समान रूपले वितरित हुँदैन । त्यसो त, प्रत्येक विद्यालयले, महाविद्यालयले गणित, विज्ञान, अर्थशास्त्र आदि सिकाउँछन् । भाषा र साहित्य पनि सिकाउँछन् । तर कहीँ पनि ‘सिर्जना, कला’ जस्तो विषयको पठनपाठन हुँदैन । अथवा शब्द, बिम्बको सहायताले अनि कल्पना र अनुभूतिको सहायताले कुनै कुराको सिर्जना गर्ने कार्य कहीँपनि सिकाउने परम्परा छैन । सिक्ने प्रावधान पनि छैन । कहीँकहीँ होलान् । तर तिनीहरूले सिर्जना गर्न सिकाउँदैनन् । सिर्जना सम्बन्धी यस्ता प्रश्नको उत्तर सिकाउँछन् ।

सिर्जनात्मक लेखनका अभिलक्षणहरू के के हुन् ? सिर्जनात्मक लेखनका उत्कृष्ट उदाहरण दिनुहोस् । कुन तत्त्वले एउटा सिर्जनालाई सरल, सुसम्बद्ध, आनन्दकर र सुललित बनाउँछ ? केले एउटा सिर्जनालाई दीर्घकालीन, सदा स्मरणीय बनाउँछ ? सिर्जनामा नवीनता र प्रयोग भनेको के हो ? समरसेट मम अथवा भर्जिनिया उल्फ अथवा खालिद हुसेनी अथवा शंकर लामिछाने अथवा अरविन्दा आडिगा अथवा पाउलो कोहेलो यीमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ? उदाहरण दिनुहोस् । कत्रो विरोधाभास, कत्रो अव्यावहारिकता ? तर कसैले पनि यस्तो ज्ञानले यसरी स्रष्टा होइन्छ भन्ने कुराको ग्यारेन्टी दिन सक्तैन । यस्तो कला सिकाउने धेरै जना अध्यापकहरूले कहिल्यै पनि आफ्नो ज्ञानलाई सिर्जनात्मक ज्ञानमा प्रयोग गर्न सक्तैनन् । यो सिक्ने कुनै पाठशाला छैन । कुनै पाठ छैन । यो ता अन्तरहृदयमा जन्मिएको एउटा कला हो । म ठान्दछु यो सिक्न र प्राप्त गर्न दुवै कुरा सम्भव छ ।

कसैले मलाई सोध्न सक्छन् त्यसो भए तपाईंले कसरी लेखक बन्ने बाटो रोज्नु भयो होला ? अनि कसरी लेखक बन्नु भयो होला ? म भन्छु— होइन, यो मेरो चयन होइन । यो त समयको हो । म जुन समाजमा हुर्कें त्यसैबाट मलाई प्राप्त भएको परम्परा हो । यो मेरो परिवारको विरासतको खास गरी मेरा पिताजीको त्यसलाई मैले निरन्तरता दिन खोजेको मात्र हो । सबै कुरा संयोगले र आकस्मिक रूपले भएको हो । मेरो छनौटले वा अभिकल्पनाले भएको होइन ।

म सम्झिन्छु— प्रत्येक विहान र बेलुका मेरा पिताजी लयदार श्लोकहरू गराउनुहुन्थ्यो । यी प्रार्थनाका श्लोकहरू, स्त्रोत्रहरू गाउने बानी थियो । पछिबाट मलाई थाहा भयो ती श्लोकहरू, ती गीतहरू कतिपय प्राचीन ग्रन्थहरूका उद्धरण थिए । खास गरी कविताका संस्कृतमा अथवा नेपालीमा कतिपय त हाम्रै घरमा थिए । कहिलेकाहीँ मिठो मधुर लयमा हामी केटाकेटीलाई पिताजीले गाएर सुनाउनु हुन्थ्यो ।

जयतितेदिकम जन्मना ब्रज
श्रयत इन्दिरा शास्वदत्तहि

हामीलाई अर्थ थाहा थिएन । तर पिताजीले भगवान् कृष्णको स्तुति वा प्रशंसामा कुनै विशिष्ट श्लोकहरू गाउँदै हुनुहुन्छ भन्ने बुझ्दथ्यौं । भागवत गीताका श्लोकहरू भन्ने चिन्दथ्यौं । श्रद्धा र भक्तिको भावले भरिएर केही नबुझे पनि हामी पिताजीलाई सुन्दथ्यौं । दैवी आनन्दमा डुबेझैंगरी उहाँ आँखा चिम्लनुहुन्थ्यो र गाउँदागाउँदै उठेर कहिले नाच्न पनि थाल्नुहुन्थ्यो । सेतो धोती फेरेका पिताजी नाचेको दृश्य अझै पनि सम्झिरहन्छु । उहाँको अर्कै जगत् थियो । कहिलेकाहीं उहाँ यस्तो भजन गाउनुहुन्थ्यो !

नेपालीले बुझौं कृष्ण गीताको अर्थको गति
गितानुवाद गीताको गाना गर्दै यथामति

यो श्लोक कोमल गीताको सुरुमै छ । कोमल गीता भनेको विद्वान् अनुवादक कोमलानाथ अधिकारीले गरेको गीताको भावनुवाद हो । यसको अर्थ छ- हे नेपाली जातीहरू हामीले गीताको अर्थ बुझौं, भगवान् कृष्णको गीत गाऔं र कोमल गीता गाउने गरौं ।

कहिलेकाहीं पिताजी भिन्नै भाषामा पनि गाउनुहुन्थ्यो । मलाई थाहा छैन यो ब्रज हो कि जस्तो लाग्छ ।

जो सही दस्ख पर छिद्र दूरावा
बन्दनीय जयै जगदीश पावा

पछि गएर मैले यसको अर्थ केही अनुमान गर्न सक्ने भएँ जसले आफ्ना दुस्ख कष्टहरू सहन गर्दै जगदीशको प्रार्थना गर्दछ उनैको कृपाले उसका दुस्ख कष्टहरू समाप्त हुनेछन् ।

म यस्ता प्रकारका एक सयभन्दा बढी गीत र प्रार्थनाहरू अझै सम्झन्छु । प्रत्येक श्लोक लयात्मक छ । प्रत्येक छन्दमय छ । उहाँले गाउँदा प्रत्येक गायन साङ्गीतिक हुन्थ्यो । उहाँले गाएका कतिपय गीत, वेदका ऋचा र भजनहरू अझै सम्झन्छु, केही गाउन पनि सक्छु तर मलाई कुनै अर्थ लाग्दैन ।

विस्तारै म पनि मेरा पिताजीले गाउने गरेका छन्द र लयलाई कवितामा टिप्न थालें । यसको अर्थ के रहेछ भने कविता नै गीत होस अझ कविता भनेको गीतको उच्चतम रूप हो । कविता रच्ने आरम्भिक प्रयत्नमा मेरो हृदयले ती अनुकरणात्मक पदहरूलाई अस्पष्ट पंक्तिमा लेखाउन थाल्यो । तर ती हाँस उठ्दा भए । ती प्रस्तुत गर्न नहुने जस्ता भए । केही कविता त मैले विद्यालयस्तरीय प्रतियोगितामा पनि प्रस्तुत गरें । तर पनि अनेकपल्ट म निराश हुँदै फर्किन्थें । तर मैले कहिल्यै हारिन । मैले केही किताव पढिरहें र निरन्तररूपले कविताहरू रच्दै गएँ । कुनै सफलता हात नलागे पनि म एक्काइस वर्षको हुँदासम्म कविता रचिरहें । त्यस उमेरसम्म मैले धेरै कविता रचिसकेको थिएँ । कुनै छन्दमा थिए । अरू कति त छन्दमुक्त थिए । यसरी म छन्दको बन्धनबाट बाहिर निस्कन पनि बल गर्दै थिएँ । तर धेरै सफलता मलाई हात लागेन । आज पनि म राम्ररी छन्द कविता लेख्न सक्छु । तर कविता भनेको छन्दका गण र मात्राको गणना भन्दा धेरै गहिरो कुरा रहेछ । मलाई यो सबैभन्दा कठिन कर्म लाग्दछ ।

आज म ठान्दछु । प्रत्येक भावी लेखकले सुरुमा कविताबाटै आरम्भ गर्न खोज्दो रहेछ । अनि प्रत्येक महान् स्रष्टाले आफ्नो जीवन कवितामै गएर टुंग्याउँदो रहेछ । कविता सबै सिर्जना विधाहरूमा सबैभन्दा कठिन र सर्वोच्च रहेछ । आरम्भमा कविता लेख्नेले अरूको नक्कल गर्छ । सार्छ अथवा चोर्छ पनि । केही नलागे त कुनै नमुनहरूलाई सिकेर त्यसैको प्रतिकृति उत्पन्न गर्न खोज्दछ । झलक्क हेर्दा कविता सजिलो लाग्छ । अनि उसले त्यसलाई उतार्ने प्रयत्न गर्दछ । कविता एउटा भ्रमजनक कला रहेछ भन्ने कुरा बुझ्न उसलाई धेरै समय लाग्छ । परिणमस्वरूप आफूभित्र शक्ति उत्पन्न नभई त्यस कलालाई पूर्णरूपले आत्मसात नगरी गरिएका कविता कर्महरू केवल अपूर्ण प्रतिध्वनि जस्तो अथवा एउटा पहेली अथवा कुनै तुक्काको अंशजस्तो मात्र लाग्दछ । त्यस्तो स्थितिमा अडकिएपछि न अघि बढने सङ्घर्ष गर्न सकिन्छ न सदाको लागि त्यागेर पछि हटन सकिन्छ ।

फेरि अर्कातिर एउटा कविता कसरी सिर्जना गरिन्छ भन्ने कुरा सिकाउने कुनै विद्यालय छैन । विद्यालयमा गएर गण, मात्रा, छन्द अथवा मुक्त रूपहरू पढ्न सकिन्छ । कवितामाथि टिप्पणी वा आलोचना गराउन सकिन्छ । तर वास्तवमा एउटा कविता कसरी उत्पन्न हुन्छ, कसरी त्यो शक्ति प्रकट हुन्छ भन्ने कुरा अनुभव गर्नेले बाहेक कसैले गर्न सक्दैन । यो एक प्रकारको आत्मानुभूति हो र यसलाई पूर्णरूपमा कसैले ग्रहण गर्न सक्तैन ।

मैले यस्तै देउता चढेको बेला यदाकदा कविता रचो । सबै गरेर १०० जति पुगे होलान् । अझ मैले आफ्नो यौवनकालमा धेरै प्रेम कविता लेखे । पछि गएर केही व्यङ्ग्यात्मक पनि लेखें । कति गम्भीर कविता पनि लेखें । कति उदात्त विचारका पनि लेखें । तर आजसम्म करिब एक दर्जनमात्रै प्रकाशित छन् । ठूलाठूला कविताहरूसँग तुलना गर्दा मेरा अति सामान्य लाग्दछन् । प्रत्येक पटक म आफ्ना सिर्जनादेखि अलि लज्ज्ति पनि हुन्छु । यसले मलाई के धारणा दिएको छ भने स्रष्टामध्ये कविहरू सर्वोच्च श्रेष्णीमा पर्दछन् । किनभने कविता रच्ने निरन्तर प्रयत्न गर्दागर्दै उनीहरूका कविता पठनीय मानिने बेलासम्ममा जीवनको ठूलो भाग समाप्त भइसकेको हुन्छ । समुद्रमा डुबेको हिमशैलको अंश जस्तै धेरै जीवन बितिसकेको हुन्छ । त्यसैले गर्दा मजस्ता कतिपय कविहरू धेरै नै व्यर्थपदार्थ छोडेर लेखनको दृश्यबाट पलायन हुन्छन् । त्यसैले आफूभित्रको लेखककहाँ गएर उपयुक्त स्थान भेट्दछ भन्ने सकिँदैन ।

त्यसदेखि यता मैले कविता क्षेत्रलाई परित्याग गरे र अर्को विधा पक्रिएँ । त्यो थियो उपन्यास । मैले २०३१ सालमा मुगलान लेखें । त्यो थियो मेरो पहिलो उपन्यास । त्यो केवल सात दिनको प्रयत्नले पूरा गरें । यसलाई छपाएँ । अनेकौँ संस्करण आए । त्यसपछि अरू गद्य सिर्जना गर्दै गएँ । तर म अझै भन्न सक्तिन— मैले कसरी त्यस्तो कृति रचें होला जसको आजसम्म पनि अत्यधिक प्रशंसा भइरहेको छ । मेरो लेखकीय जीवनको प्रक्षेपपथ भन्नु नै क्रमशस् आख्यान, निवन्ध र समालोचनाले निर्मित छ ।

कहिलेकाहीँ त्यसमाथि कविताको फूलपाती पनि चढाएको छु । यद्यपि कुनै कविता कृति छापिएको छैन । यसरी सिर्जनात्मक विश्वमा धेरै ठाउँमा प्रवेशद्वार छन् । निर्गमनद्वार पनि छन् । कुनै एउटा छाने हृुन्छ । अथवा अर्को छाने हुन्छ । कविताको प्रवेशद्वार छ । अथवा निवन्धको छ । अथवा आख्यानको अथवा नाटकको अनि समालोचनाको । मेरो अनुभवले भन्छ, कवितामा असफल भइयो भने निबन्धमा, निबन्धमा असफल भइयो भने आख्यानमा, दुवैमा असफल भए नाटकमा र सबैतिर असफल भइए समालोचनामा लाग्दछन् । समालोचना सबैभन्दा सजिलो छ । धेरैको निमित्त समालोचना पहिलो प्राथमिकतामा पर्दछ । किनभने उनीहरूलाई अर्थोक आउँदैन । अरू धेरैको निमित्त समालोचना अन्तिम उपाय हुन जान्छ । किनभने उनीहरूलाई अरूथोक आउँछ । एउटा समालोचक राम्रो प्रकारको उपदेशक हुन सक्छ । तर मेरो लागि ऊ चाहिं स्रष्टा, लेखक हुन सक्तैन ।

प्रत्येक स्रष्टा स्वनिर्मित व्यक्तित्त्व हो । स्वाध्यायनले बनेको शिष्य हो । स्वनिर्मित कलाकार पनि हो । म आफ्नै अनुभवद्वारा भन्दछु आफ्नै प्रयत्नले मात्रै, लामो समयको निरन्तर साधना र प्रयत्नले मात्रै अविछिन्न रूपमा संकलित अनुभव र ज्ञानका अंशहरूको संयोगले मात्रै कुनै व्यक्ति स्रष्टा बन्न सक्छ । त्यसमाथि पनि एउटा प्रधान सर्त के छ भने उसले कहिल्यै पनि हारेर, गलेर यसलाई परित्याग गर्नु भएन । हाम्रो जस्तो समाजको परिप्रेक्षमा कुनै भौतिक उपलब्धिको अपेक्षा राख्नु भएन र उसले सधैं यो जगतको रहस्य खोल्ने इच्छा निरन्तर राख्नुपर्दछ । यो महान् सृष्टिको रहस्यलाई बुझ्ने प्रयत्न निरन्तर राख्नुपर्दछ । सिर्जना भन्नु नै सृष्टिको रहस्य फुकाउन खोज्ने प्रयत्न हो । सिर्जना भनेको नै यो ब्रहमाण्डमा मानव जातिको स्थान पत्ता लगाउन खोज्ने संघर्षको मार्ग हो । त्यसैले अधिक भौतिकतामा विश्वास गर्नेहरू अथवा विज्ञानले देखाएको विश्वको आवरणलाई ज्ञानको अन्तिमस्वरूप ठान्नेहरू कहिल्यै महान् स्रष्टा भएनन् र ती हुन पनि सक्ने छैनन् । स्रष्टाको निमित्त विश्वासको अर्कै मार्ग छ ।

सिर्जनात्मक लेखन यस्तो कुरा हो । यो सम्पूर्ण रूपले व्यक्तिगत चयनको कुरा हो । यिनै कारक तत्त्वले गर्दा सयौं अथवा हजारौं कविताहरू भए पनि प्रत्येक अर्कोभन्दा भिन्दै हुन्छ । हजारौं आख्यानहरू भिन्नाभिन्नै हुन्छन् । यी त प्रत्येक स्रष्टाले छान्ने विषयवस्तु उनै हुन्छन्— प्रेमको अथवा वियोगको अथवा युद्धको अथवा विद्रोहको अथवा द्वन्द्वको । अझै, निरासाको होला अथवा मृत्युको होला अथवा यस्ता अनन्त विषयमध्ये कुनै एउटा होला । सबै त मानवले भोगेका, मानव संसारका, मानवकल्पित कुरा नै हुन् । तर तिनै कुरा लेख्दा पनि प्रत्येक सिर्जना मौलिक र अलग्गै हुन्छ । यसरी सिर्जनात्मक शक्ति विषयपरक हुन्छ कला वस्तुपरक हुँदैन ।

कतिले प्रश्न गर्ने गर्दछन् कुन भाषामा सिर्जना गर्ने होला ? म भन्छु— यो केवल राजनीतिको कुरा हो । एउटा साहित्यिक सिर्जनाको निमित्त हृदयभन्दा परको कुनै भाषा हुँदैन । यसले मानवताको विश्वव्यापि भाषामा लेख्दछ । स्यामुअल जोन्सनले भनेका छन्— भाषा भनेको विचारको आभूषण होस त्यसले केही लुकाउँछ, केही देखाउँछ पनि । यसबेला म बीसौं शताब्दीका महान् स्रष्टा, अङ्ग्रेजी निबन्धकार विलियम हयाज्लिटका केही शब्द उद्धृत गर्दछु । कविता भनेको विश्वव्यापी भाषा हो । यसलाई हृदयले छोएर प्रकृतिलाई र आफैंलाई प्रस्तुत गर्दछ । जो कविता प्रति उपेक्षाभाव राख्तछ, त्यो व्यक्तिले आफैंलाई सम्मान गर्न सक्दैन । अन्य कुनै कुराको सम्मान गर्न सक्दैन ।

कसैले प्रस्न सोध्दछन्, म कुन भाषामा कविता रचौं ? म भन्ने गर्छु, शब्दमा अथवा बिम्बमा अथवा पत्थरमा, काष्ठमा, मृतिकामा अथवा तपाईंका स्वरयन्त्रीमा, रंगमा वा नृत्यमय पदचापमा । तपाईंका प्रत्येक कर्मले सिर्जना गर्न सक्दछन् जस्तो कि भगवान् शिवका निम्ति गाइने प्रार्थनाको एउटा अंश छ — यत्यत् कर्म करोमी तत्तदखिलम् सम्भोतबाराधनम् अर्थात् म जुनसुकै क्रियाकर्म गरौं, हे प्रभु, म हिंडौं अथवा सुतौं, खाऊँ अथवा नाचुँ अथवा केवल बोलिरहुँ ती सारा हजुरकै आरधनाका स्वरूप हुन् ।

यो सुन्दा ज्यादै अस्पष्ट लाग्ला, सिर्जनाको भाषा कसरी असिम रहेछ भन्ने पनि लाग्ला । तर सिर्जना यसरी अनेक रूपमा नै प्रतिपल प्रकट भइरहेको हुन्छ । यसका अतिरिक्त नेपालका विविध भाषा र संस्कृतिहरूमा पनि निरन्तर सिर्जना भइरहेका छन् । त्यहाँ भन्दा टाढा गएर सिर्जनाको लागि कसैले अङ्ग्रेजी भाषालाई पनि माध्यम बनाएका छन् । नेपालमा सिर्जनाको माध्यम भएर अङ्ग्रेजी आएको त भर्खरै हो । तर यतिखेर यो बढिरहेको छ ।

गाउने हृदय नव्यूँझी सिर्जना आरम्भ हुँदैन । गाउनुको तात्पर्य स्वरको आरोह अवरोह होइन । यसको तात्पर्य हृदयले प्रकृतिको लय सुन्नु हो । मानव चेतनाको आदिम गुणतिर आकर्षित हुनु अथवा सृष्टिको रहस्यतिर हृदय फर्किनु हो । सबै कुरा लयमा छ, सबै कुरा लयमा छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक