बिहीबार, चैत १५, २०८०

कुबेलाको ढाका भ्रमणमा राष्ट्रपति : ‘चाहिएको छ मल, रेल–रुटको सम्झौता गरिंदै’

नेपालप्लस संवाददाता /काठमाडौं२०७७ चैत ८ गते २३:४४

creadit-The Kathmandu Post

सल्लाहमा राष्ट्रपति बिद्यादेवी भण्डारी दुई दिने बंगालादेश भ्रमणमा सोमबार ढाकातर्फ प्रस्थान गर्ने भएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अविश्वास प्रस्ताव बेहोर्नुपर्ने अवस्था सामुन्नेमा आइसकेको र सामान्य विवेकसम्म नराखी टेबलमा आएका राजनीतिक ध्येयका अध्यादेश पारित गर्दै विवादास्वद छवि बनाएकी राष्ट्रपति भण्डारी स्वयमले पनि महाअभियोगसम्म बेहोर्नुपर्ने स्थिती परिपक्व बन्ने क्रममा छ । ‘धेरै कालसम्म शासन र कुर्सी अडिन सक्ला भन्ने नभएपछि एक साताकै अन्तरमा राष्ट्रपतीको ढाकाकालागि राजकीय भ्रमण टुंगो भएको हो,’एमाले पार्टी (नेपाल समूह)का एक जानकार केन्द्रिय सदस्यले भने—‘ढाकामा पुगेर बिगतमा गरिएकै सहमती र समझदारीमा दोहोर्याउँदै हस्ताक्षर हुने भएको छ । अरु केही उल्लेख्य गतिबिधि हुनेवाला छैन ।’

बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा भ्रमणमा जान लागिएको भनिएपनि यसमा औपचारिकताका एजेन्डाबाहेक केही देख्न सकिएको छैन । सांस्कृतिक टोलीसहित झण्डै ५० जनाको भ्रमण टोली लिएर नेपाल एयरलाइन्सको न्यारो बडी ए ३२० जहाजबाट राष्ट्रपति ढाका पुग्नेछिन् । समकक्षी हमिदसँग भेटवार्ता हुने, प्रधानमन्त्री शेख हसिना बाजेदसँग शिष्टाचार भेट हुने सधैंको औपचारिक कार्यक्रमबाहेक कुनै नयाँँ र विशेष समझदारी वा सहमती हुन सक्ने देखिन्न ।

भ्रमण दलको हुलमा राष्ट्रपति पुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन सचिव यादवप्रसाद कोइराला, परराष्ट्र सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख भेषराज अधिकारी सहित रहनेछन् । परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली राजदूत बंशीधर मिश्रसहितका ५० भन्दा बढी सदस्य भ्रमण दलमा छन् ।

पुरानै सम्झौता–समझदारी

परराष्ट्र मन्त्रालयको दक्षिण एशिया डेस्क हेर्ने एक अधिकारीका अनुसार, राष्ट्रपति भ्रमण क्रममा रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगतमा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ (स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्स) सहितका तीन समझदारीपत्रमा हस्ताक्षर हुनेभएको छ । तर, समझदारीका यि बिषय भनेका बिभागीय मन्त्रालयको कुनै उवसचिव तहको कर्मचारीले गर्न सक्ने सामान्य स्तरका विषय हुन् । यस्ता साना एजेन्डामा राष्ट्रपतिलाई उभ्याएर कुटनीतिक पहुँच र उपस्थितीकै उचाइ घटाउन परराष्ट्र मन्त्रालय लागि परेको जस्तो देखिन्छ ।

बङ्गलादेशले नेपाललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ भने रोहनपुर–सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलाकाता बन्दरगाहको विकल्पको रुपमा मोङ्ला बन्दरगालाई उपयोग गर्न मार्गप्रशस्त भएको छ । नेपालका निम्ति कोलाकाताभन्दा मोङ्ला बन्दरगाह नजिक हुने भएकाले त्यसबाट कम लागतमा द्विपक्षीय व्यापार विस्तार गर्न सहयोग पुग्नेछ । उक्त बन्दरगाहबाट विराटनगरस्थित एकीकृत जाँचचौकीमा माल आइपुग्न २ सय १७ किलोमिटर दूरी पार गर्नुपर्नेछ भने वीरगञ्जमा रहेको एकीकृत जाँचचौकी पुग्न ६ सय किलोमिटर यात्रा गर्नुपर्नेछ ।

बंगालादेशबाट गत वर्षको धानखेती यामताका द्धैदेशीय बार्टर पद्धतीबाट युरिया मल ल्याउने भनेर दुइ देशका प्रधानमन्त्री तहमा समझदारी बनेपनि यो साता हिउँदे याम पनि पुरा भएको अवस्थामा मात्रै मल आउन थालेको छ । प्रधानमन्त्री तहमा गरेको र भएको समझदारीकै कार्यान्वयमा ६ महिना लाग्ने द्धैदेशीय संयन्त्रमा राष्ट्रपतिले गर्ने रेल्वे रुटबारेको समझदारी कत्तिको व्यवहारिक हुन सक्ला, यो हेर्न बाँकी छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक