सोमबार, कार्तिक ८, २०७८

नयाँ आवाज आउनासाथ ठडिने मृगका कान र एन्टेना उस्तै

नेपाल प्लस२०७७ चैत ११ गते १७:२१

कुनै चिज देख्नासाथ वा केहि आवाज आउनसाथ मृग, हरिण, चित्तलका कान किन परक्कै बटारिएर आगाडि ठाडा हुन्छन् । छिस्रिक्क केहि आवानासाथ ट्याक्कै सुनेर तिनका कान किन एन्टेनाझैं ठडिन्छन् ? किन त्यति सुन्दर हुन्छन् तिनका कान ? मान्छेले ख्वाक्क, अहम् गरेको आवाजपनि २०० गज पुरै सुन्ने के हुन्छ तिनको कानमा ? अझ कुनै ट्रक वा अन्य गाडीमा मृगको आवाज बजाइदियो भने सुन्छन् कि सुन्दैनन् होला ?

मृग, चित्तल र हरिणले कसरि सुन्छन् ? कति राम्रोसित अरुलाई देख्छन् वा सुँघ्न सक्छन् भन्ने जान्नु उति सजिलो काम हैन । ‘तपाईले सुन्नु भो र ?’ भनेर सोध्नपनि मिल्दैन । त्यसैले हामीले कि त तिनको ब्यवहार, क्रियाकलाप हेर्ने हो । कि भने उन्नत प्रविधीको सहयोगले अध्ययन गर्ने, नाप्ने हो । धन्न, केहि वर्ष पहिले हरिण र मृगले सुन्ने, देख्ने, सुँघ्नेबारे केहि अध्ययन भएका छन् । यहि आधारमा तिनको कानको रहस्य बुझ्न सकिन्छ ।

ति अध्ययनहरूमा जानुभन्दा पहिले हिरणको कानको संरचनाको बारेमा विचार गर्नुपर्छ । मृगका ठूला बाह्य कानहरू (पिन्नाए) ले केही हदसम्म भूउपग्रहको डिशले जसरि काम गर्छन् । तिनीहरूले ध्वनि विस्तार गर्न मद्दत गर्छन् । मृगको कानका लोतीले वरिपरिको आवाजलाई सोहोरेर एकत्रित गरिदिन्छन् । तर तिनीहरू एक अर्काबाट स्वतन्त्र रूपले अघि बढ्न सक्दछन् । अर्थात् ति डिस्कहरु चलायमान हुन्छन् । ति फनफनी घुम्न सक्छन् । त्यसैले ति डिस्कले मृगलाई चारै दिशामा के हुँदैछ भनेर मूल्यांकन गर्न मद्दत गर्दछन् ।

हरिण, मृगले लगातार कानको दिशा बदल्छ । हरिण वा मृगको समूह सँगै यात्रा गर्दा प्रायः एक अर्काको कुरा (संकेत, आवाज) सुनेर पिछा (ट्र्याक) गर्छन् । त्यसैले एक्लो हरिण, मृग देख्दा प्राय कान याद गर्नुपर्छ । कतैबाट आवाज आउँदा यसले पछाडि एक वा दुबै कानलाई कोप्रो पार्‍यो वा डिस्क जस्तै (कचौरा जस्तो) पार्‍यो भने नजिकै अर्को हरिण् वा मृग छ भन्ने बुझिन्छ । यो उसको भाषा हो, समूहमा सँगै हुने, जानकारि दिने ।

त्यस्तै,यदि हरिण, मृगले तपाइँलाई सिधा हेरेको छ भने कानहरू फरक दिशामा चल्छन् । यदि दुबै कानहरू तपाईंतिर घुमुर्किएका छन् भने तपाईंको उपस्थिति उसलाई जानकारि छ । तर उसले पूर्णरुपमा पहिचान गरिसकेको भने छैन । उसले तपाईका बारेमा सबै जानकारी प्राप्त गर्न प्रयास गरिरहेको छ । प्रत्येक कानले प्राप्त गर्ने संकेत, सूचना र जानकारिहरूको तुलना गरेर सही आवाजको स्रोत फेला पार्न उसले कोसिस गर्छ र त्यसमा प्राय सफल हुन्छ ।

हरिण र मृगहरु जंगलमा २४ घण्टा, सातै दिन बस्छन् । यो उनीहरूको घर हो । तिनीहरूलाई थाहा हुन्छ त्यहाँ कस्ता आवाजहरू सामान्य हुन् र कस्ता आवाजहरू हैनन् । तिनीहरूले ती सबै आवाज जीवनभर सुनेका हुन्छन् । आफ्ना बालबच्चालाईपनि त्यसबारे सिकाएका हुन्छन् । बाउ, आमा, काकाकाकी, नातेदार वा समूहमा बस्दाबस्दै पाठाहरुले ति संकेतहरु सिकिरहेका हुन्छन् ।

त्यसैले एउटा रुखबाट लोखर्के फुत्रुक्क तल झर्दा सुकेका पातमा टेकेको आवाज मृगहरुलाई हेक्का हुन्छ । चाँचर, वन कुखुरोले किरा खोज्न खस्रक खस्रक पारेर भुइँका पात पन्छाएको आवाजपनि उसले राम्रोसित चिन्छ । तर ख्याल गर्दैनन् किनकि तिनको जिवनमा ति सामान्य हुन् र तिनलाई बेवास्ता गर्नु भन्ने जस्तै गरि तिनको कान, दिमाखमा दर्ता भएको हुन्छ ।

तर मान्छे हिँडेको आवाज त के मानव पैदलको संकेतसितपनि मृगहरु सुरक्षित, सशंकित र सतर्क रहन्छन् । निर्जन बस्तिमा चर्दाचर्दै मान्छेका पाईला देखिएभने मृगहरु टक्क अडिन्छन् । ति पाईलाका पदचिन्ह तिनको लागि कौतुहलता, संसय, त्रास र शंकाको विषय बनिदिन्छ । तपाईको घर अगाडि चितुवाका पाईल देख्नु भो भने के ठान्नुहुन्छ । तपाईको कार्यालयभित्र एउटा सर्प, कुनै विषालु जिव छिर्‍यो भने कति संशय उत्पन्न हुन्छ ? हो, मानव पाइला जंगलमा देखिँदा मृग र हरिणहरुमापनि त्यस्तै शंका, उपशंसा, त्रास र संशय मच्चिन्छ । यो त असामान्य कुरा हो भनेर समूहबिच फैलिन्छ ।

चरा, बाघ, चितुवा, हात्ती, गैंडाका पाईला देख्दा बेवास्ता गर्ने चित्तल, मृग, हरिणहरुले मान्छेका पाईला देख्नासाथ ओहो यो त बिदेशी हो भनेर असामान्य रुपमा लिन्छन् । त्रास फैलिनथाल्छ ।

तर अझै प्रश्न यथावत छ, के मृगको सुन्ने शक्ति हाम्रो भन्दा तिक्ष्ण छ त ? ठूला बाह्य कानहरू भएकाले त्यो सहि लाग्नसक्छ । तर अध्ययनले त्यसलाई पुष्टि गर्दैन ।

अध्ययनहरुले के देखाएका छन् भने मृग र मानवहरूले कम-देखि मध्यम आवृत्तिको आवाजहरू लगभग समान तीव्रतामा पत्ता लगाउन सक्दछन् । परिक्षण गरिए अनुसार बिरालोले मृगले भन्दा वा धेरै आवृत्तिका मानिसहरुले भन्दा धेरै सुस्त आवाज सुन्न सक्छ । मृग, हरिणले उच्च फ्रिक्वेन्सी ध्वनिहरू मानव भन्दा अलि राम्रोसित सुन्न सक्छ ।

टेक्सास ए एण्ड एम विश्वविद्यालयका डा केनेथ रिसेनहुवरले ५ वयस्क मृग, हरिणहरूको लागि अडियोग्राम उत्पादन गर्न केही परिष्कृत टेक्नोलोजीहरू प्रयोग गरेका थिए । उनले हालसालै प्रमाणित गरे कि मान्छेको सुन्ने शक्तिभन्दा खासै धेरै तिक्षण त मृगहरुको हुन्न । मृगहरुले संवेदनशीलताको दायरा हेरेर एक देखि ८ किलो हर्जबिचको आवाज सुन्छन् ।

ए साँच्ची, ट्रकमा मृगहरुको सिठ्ठी वा आवाज बजाइदिँदा मृगले थाह पाउँछन् कि पाउँदैनन् ? सुन्छन् कि सुन्दैनन् त ? टेक्सास ए एण्ड एम र जर्जिया विश्वविद्यालयमा गरिएको अनुसन्धानका अनुसार यस्तो सम्भावना कम देखिन्छ । त्यस्तो आवाज ट्रक वा अन्य गाडीमा राखेर बजाउँदैमा मृग-सवारी दुर्घटनाहरू कम गर्नमा प्रभावकारी खासै हुन्न । किनकि चर्को स्वरमा निस्किने आवाज मृगको उच्च आवृत्तिभन्दा बाहिर हुन्छ । मृगको सुनुवाईको दायराको अनुपातमा । र यो भन्दापनि तिनको सिट्टीनै किन सुन्नुपर्‍यो ? आखिर ट्रक वा अन्य गाडीबाट निस्किने तिनको आफ्नै आवाज वा सिट्टी भन्दा त तिनले गाडीकै आवाज सुनिहाल्छन् नी !

(ददि सापकोटाको ‘वनको वैभव’ पुस्तक हालसालै बजारमा आएको छ)

तपाइँको प्रतिक्रिया

फेसबुक