शुक्रबार, वैशाख १४, २०८१

ज्योतिषी र भविष्यवाणी कति सान्दर्भिक ?

सुमन दहाल२०७७ चैत ११ गते २०:०६

भविष्यवाणी र ज्योतिषीको संबन्ध परापूर्वकाल देखि चलिआएको छ । मानिसलाई जीवनमा सबैभन्दा ठूलो डर प्रथमत मृत्युसँग नै हुने गरेको देखियो । दोश्रोमा सुख सुबिधासँग जीवन निर्वाह गर्न चाहिने यथेष्ठ सम्पत्ति प्राप्त होला या नहोला भन्ने छ । तेश्रोमा सन्तान र नजिकका नातागोताबाट सुख प्राप्त हुने हो या होईन ।

म कहिले मर्छु ? डरलाग्दो रोग प्रमाणित भयो भने चिकित्सकले यसको जानकारी दिन सक्छन् । तथापी भनेकै समयमा फ्याट्टै मरिन्छ नै भन्नेपनि छैन । चमत्कार भैदियो भने कसले जवाफ दिन्छ ?

अब दोश्रो आधिकारिक जानकारी प्रदान गर्ने भनेका ज्योतिषी नै हुन् । ग्रह, नक्षत्रहरूको ऊचित लेखापढी गरिसकेपछि निर्णय दिने चलन छ । यहि समय, यहि दिन, यहि गते, यहि महिना, यहि वर्ष नभएपनि दुईचार घण्टा यताऊता, दुईचार दिन तलमाथि, एकाध महिना ढिलोचाँडो । लौ एक वर्ष नै फरक परेपनि भविष्यको सुन्दर योजना बनाएर भरपूर जीवन बाँच्ने मन हुन्छ । हुन्छन् नि गर्न मन लागेका कति कुराहरू । अत्तोपत्तो नपाई बैगुनी कालले टपक्क टिपेर कहिल्यै नफर्कने गरि लैजाँदा कम चित्त दुख्छ र ?

मृत्यु त अन्तिम सत्य मान्दै आएका छौं । बिश्वका घघडान ज्योतिषीहरूले पनि राजा महाराजा, बिश्वकै सर्वश्रेष्ठ धनीमानीलाई पनि आजसम्म बचाउँन सकेनन् । अर्थात पूर्वजानकारी दिन सकेनन् । अचानक मृत्युको “ ब्रेकिङ्ग न्यूज” बन्दा हामीहरू स्तब्ध हुन्छौं । आजसम्मको प्रमाणित वैज्ञानिक तथ्य यो भन्दा पृथक यहाँहरूलाई जानकारी छ त ?

अब मृत्युकै कुरा गरिरहँदा हरेक समय र कालमा आईलाग्ने अचानक मृत्युलाई टार्न सकिन्छ भनेर ग्रहपूजा गर्ने चलन छ । पूजाको अर्थ प्रार्थना र अनुनय बिनय नै हो कि ? म बाँच्न चाहन्छु । कति खर्च गर्दा म बढी बाँच्छु । कुन ग्रहलाई खुशी बनाउँदा मेरो मृत्यु तत्कालकालागि टर्छ । हो यसैको एऊटा सुन्दर सपनाले ज्योतिष बिध्या सर्वत्र प्रख्यात छ । सकेजति त गर्ने हो नि नसके “ हुने हार दैव नटार् “ छँदैछ।

अब दोश्रो प्राथमिकतामा छलफल गरौं । जीवन निर्वाहकालागि यथेष्ठ सम्पत्ति चाहिन्छ नै । कति हो त यथेष्ठ सम्पत्ति ?
बिलगेट्सको जति
एलन मस्कको जति
मार्क जुकरबर्कको जति
बिनोद चौधरीको जति

अथवा तपाईंहामीसँग जति छ त्यति । यसमा चित्त बुझाऊनेहरू मुस्किलले १० प्रतिशत हुनुहुन्छ होला । श्रम र साधनले भ्याएसम्म त कोशिष गरिएकै छ नि । अतिरिक्त आम्दानी कसरि हुन्छ ? म कसरी मेरो साथी वा अन्यभन्दा बढि धनी हुन्छु भन्ने हुट्हुटी प्राय सबैलाई छ । अब यसकालागि पनि प्रश्न सोध्न जाने भनेको ज्योतिषीसँग नै हो । हामीलाई थाहा छ कि हामीलाई थाहा नहुने जति सबै ज्योतिषीलाई थाहा छ । जीवनमा कमाएको केही खर्च गर्नुस् तपाईको सम्पत्ति अचानक बढ्नेछ । यसोपनि हुनसक्छ कि कुनै ग्रहले बाधा अड्चन सिर्जना गरेको छ । यसबाट ऊन्मुक्ति पाऊन सकिन्छ । लौ तयारी गर्नुस् खर्च गर्न । हामी सम्पत्ति बढ्नेमा ढुक्क हुन्छौं ।

सन्तान सुख तेश्रो प्राथमिकता हो । नजन्मनेलाई पनि जन्माऊने ऊपाय छ चिकित्सा विज्ञानको सहाराले । त्यसपछिको बिकल्प त ज्योतिषशास्त्र नै हो । जन्मेका सन्तान र निकटका नातेदारहरूलाई सही मार्गमा ल्याऊनेपनि ऊपाय छ । नजिकका नातागोता श्रीमान श्रीमती, बाबुआमा, दाजुभाई र आफ्ना पृय छोराछोरीहरूको ग्रहदशालाई ऊचित संबोधन, संसोधन गर्नसकिन्छ भन्ने बिश्वास गरिन्छ । हो यहि बिश्वासको कारणले हामी दिनप्रतिदिन ज्योतिषको भर पर्दछौं ।

हरेक कुरामा ज्योतिषीको अनुमति बाहेक पाईलै नचाल्ने परिपाटी भने कत्तिको सान्दर्भिक हो त ?

अर्को प्रसङ्ग पनि ऊल्लेखनिय के छ भने गल्ति कमजोरी जति आफैंले गरेर ग्रहलाई दोष दिनु कति न्यायोचित हो ? “यस्तै हो दशा लागेपछि मती पनि बिग्रँदो रहेछ” यस्ता कुराहरू समाजमा प्रसस्त सुनिन्छन् ।

ज्योतिषशास्त्र, तन्त्रमन्त्र, धामीझाँक्री, माताहरूको न्यायोचित ऊचित दररेट अनुसारको सल्लाहलाई हतोत्साहित गर्न खोजिएको होईन । घरखेत नै जानेगरि सधैं यसैको भरमा समृद्धि खोज्नेहरूप्रति लक्षित छ यो सन्दर्भ ।

तपाइँको प्रतिक्रिया