शुक्रबार, वैशाख ७, २०८१

बेल्जियममा शनीवारदेखि तेस्रो कडा लकडाउन घोषणा

नेपालप्लस संवाददाता / बेल्जियम२०७७ चैत ११ गते २१:११

credit-aa.com.tr

बेल्जियममा शनीवारदेखि तेस्रो पटक कडा लकडाउन गरिने भएको छ । बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर देक्रोले कोरोना भाईरसका संक्रमितहरुको संख्या ब्यापक रुपमा बढेपछि यसलाई नियन्त्रण गर्न फेरि लकडाउन गर्नुपर्ने आज घोषणा गरेका छन् ।

बेल्जियममा कोरोना भाईरस संक्रमितको तथ्यांक द्रुत रूपमा बृद्धि भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले चार हप्ताको कडा लकडाउन घोषणा गरेका हुन् । विद्यालय र गैर-खाद्य कारोबारलाई शनिबारदेखि बन्द गरिने उनले बताएका छन् ।

बेल्जियमलाई कोरोना भाईरस बिरूद्ध लड्न तेस्रो लकडाउनमा राख्नुपर्ने फ्लेमिश पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका आलेक्जेन्डर दि क्रोले उल्लेखगर्दै भने “एक छोटो अवधिकालागि बलिदान गर्नुपर्ने छ ।” महामारीको तेस्रो लहरलाई पार गर्ने प्रयासकालागि देशको व्यवसाय र विद्यालयहरूमा प्रतिबन्ध कडा पार्ने घोषणा गरेका छन् ।

उनले गैरअनिवार्य र बढि सम्पर्कका पेशा विशेष गरी हजाम पसल शनिबारदेखि चार हप्ताका लागि बन्द गर्नुपर्ने, “गैर-अनिवार्य” व्यवसायले ग्राहकहरूलाई धेरै हप्ता पहिलेदेखिनै समय तोकेरमात्रै सेवा दिन सक्ने उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीको घोषणा अनुसार इस्टरको बिदाको दुई हप्ता छुट्टी अघिको अन्तिम साता केवल नर्सरी विद्यालयहरू मात्र खुला रहनेछन् । प्राथमिक देखि उच्चस्तरसम्म दूर शिक्षा अभ्यास गरिनेछ । “यो लकडाउनको उद्देश्य भनेको छुट्टिहरू पछि अप्रिल १९ मा विद्यालयहरू पूर्ण रूपमा खोल्न सक्षम हुनु हो” अलेक्ज्याण्डर डेक्रोले भने ।

बेल्जियममा बेलायती स्वरुपको कोरोना भाईरसले प्रभुत्व जमाएको छ । यस देशले १० दिनदेखि कोरोना भाईरसका बिरामीहरूको अस्पतालमा चाप ब्यहोरिरहेको छ । अस्पताल भर्नामा तीव्र वृद्धि भएको छ । “चार महिनासम्म भाइरसको संक्रमण यत्तिको गहन कहिल्यै भएको थिएन” प्रधानमन्त्रीले नयाँ प्रतिबन्धहरूको औचित्य प्रमाणित गर्दै भनेका छन् ।

“हामी तेस्रो छालको सामना गर्दैछौं । हामीले यसलाईपनि नियन्त्रण गर्ने छौं जसरि हामीले अघिल्लोलाई गर्यौं” अलेक्ज्याण्डर डीक्रोले भने “हामीले छोटो अवधिकालागि बलिदानको विकल्प रोज्यौं । यो लिनु गाह्रो निर्णय हो । तर यदि हामीले यसलाई लिएनौं भने नतिजा झनै गम्भीर हुनेछ ।”

बेल्जियम सरकार विशेष गरी अतिभार परिसकेको सघन उपचार कक्षमा संकट पर्लाकि भनेर चिन्तित देखिएको छ । किनकि यी कक्षहरूमा भाइरसका बिरामीहरूको संख्या दुई हप्तामा दोब्बर भएको छ । आधिकारिक तथ्यांकका अनुसार आज बुधवार सघन उपचार कक्षमा ६ हजार भर्ना भैसकेका छन् । सोमवारदेखि बेल्जियमका अस्पतालहरुले उद्दार र आपतकालिन बिरामीकालागि सघन उपचार कक्षका पचास प्रतिशत बेड सुरक्षित राख्नुनुपर्ने छ । अर्थात् राष्ट्रिय रुपमा एक हजार बेडहरु अनिवार्यरुपमा सुरक्षित राख्नुपर्ने छ ।

अघिल्लो हप्ताहरुको तुलनामा बेल्जियममा कोरोना भाईरसबाट संक्रमितहरुको संख्या तिब्रेरुपमा बढेर प्रत्येक दिन लगभग चार हजार पुगेको छ । अघिल्लो एक साताको तुलनामा यो ४१ प्रतिशतले ब्रिद्दी हो । करिब दुई साता अघि प्रति दिन दुई हजार मात्रै संक्रमित हुने गरेको तथ्यांक थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक