बुधबार, साउन २०, २०७८

सम्बन्धबिच्छेद : एक अवसर

अजबी पौड्याल२०७७ चैत १२ गते ११:२२

अरु नातासम्बन्ध र वैवाहिक सम्बन्धमा एउटा फरक छ । वैवाहिक सम्बन्धलाई ‘बन्धन’ मान्ने धारणा अझै जिउँदै छ र यहि सम्बन्धमात्र पारपाचुके अर्थात् बिच्छेद हुनसक्छ । हिजोआज सम्बन्धविच्छेदका घटना बढिरहेको बारे संचारमाध्यममा खबरहरु बारम्बार आउने गर्छन् । एउटा अनौपचारिक तथ्यांक अनुसार काठमाणडौं जिल्ला अदालतमा मात्र मासिक चार सय देखि पाँच सय सम्बन्धविच्छेदका मुद्दा दायर हुन्छन् । जुट्नु भन्दा फुट्नु र जोडिनु भन्दा छुट्टिनु पक्कै पनि दुःखदायी कुरा हो । परिवार टुट्नु त झनै पीडादायी कुरा हो । सम्बन्धविच्छेद शब्दै सुन्दा पनि प्रिय लाग्दैन । अप्रिय नै भए पनि, सम्बन्धविच्छेदका घट्ना बढेको चाहिँ सत्य हो ।

अदालतमा पुगेका लगभग शतप्रतिशत सम्बन्धविच्छेदका मुद्दा महिलाले दायर गर्छन् । पुरुषले सम्बन्धविच्छेदको मुद्दा दायर गर्न केही झन्झटिलो पनि छ । तर मूख्य कारण त्यो होइन । वैवाहिक सम्बन्धमा पुरुष ‘स्वामी’ र महिला ‘पाउकी दासी’ समान हैसियत हुने समाजमा पुरुषले पारपाचुके खोज्नुपर्ने कारण विरलै मात्र आउँछ । त्यो पनि कानूनी बाध्यताले मात्र । नत्र दुई, तीनवटी श्रीमति जम्मा गर्न उसलाई समाजले छेक्दैन । अर्कोतिर सम्बन्ध र परिवार जोगाउन श्रीमतीहरु आँशु पिएर बाँच्न बाध्य हुन्छन् । जब अन्याय र यातनाले सिमा नाघ्छ, त्यसपछि मात्र बाध्य भएर महिलाहरु सम्बन्धविच्छेदको विकल्प रोज्न पुग्छन् ।

कठोर र अन्तिम विकल्प हुँदाहुँदै पनि सम्बन्धविच्छेद रोज्ने महिलाको संख्या बढ्दै जानुमा धेरै कारणहरु जिम्मेवार छन् । समाज परिवर्तनशील हुन्छ । समाजमा आउने विभिन्न परिवर्तनले मान्छेको मनोविज्ञान र सम्बन्धका चरित्रमा पनि परिवर्तन ल्याइरहेको हुन्छ । नारी–पुरुष सम्बन्ध चाहिँ परिवर्तनका लहरबाट अछुतो हुने कुरै हुँदैन । पछिल्लो समय नेपालका नारीको आत्मविश्वास बढेको छ । आत्मनिर्भर हुने महिलाको संख्या पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । राजनीतिक र सामाजिक क्षेत्रमा महिलाको सहभागिता पनि ह्वात्तै बढेको छ । सारांशमा भन्दा महिलाहरु चुलोचौकोबाट निस्केर सामाजिक भूमिकामा देखापर्न थालेका छन् ।

बितेका पच्चिस वर्षमा देशमा धेरै राजनीतिक परिवर्तन भए । राजनीतिक आन्दोलनको एउटा महत्वपूर्ण अंगको रुपमा महिला आन्दोलन पनि साथसाथै रह्यो । माओवादी जनयुद्धमा ठूलो संख्यामा छापामार महिला देखापरे । महिलालाई प्रकृतिले नै कमजोर बनाएको छ भन्ने धारणालाई उनीहरुले चुनौती दिए । महिलाले दुनियाँमा धेरै चमत्कार देखाइसकेका छन् । बन्दूक बोकेर नेपालमै पनि चमत्कार देखाइदिए । त्यसपछि नेपाली सेना र प्रहरीमा पनि उल्लेख्य संख्यामा बन्दूक बोकेका महिला देखापर्न थाले ।

नेपालको नारी मनोविज्ञानमा यसको महत्वपूर्ण प्रभाव परेको छ । दोस्रो जनआन्दोलनपछि आएको समावेशिताको सिद्धान्तले धेरै महिलालाई राजनीतिमा आउने मार्ग खुल्ला गर्‍यो । त्यसैगरी आरक्षणका कारण कर्मचारीतन्त्र, सेना, प्रहरी आदि राज्यका अंगमा पनि महिलाहरु प्रवेश गर्न थाले । स्थानीय तहमा पनि अहिले प्रशस्तै महिला निर्वाचित भएका छन् । घरेलु घेराबाट महिलाहरु समाजमा भूमिका खोज्न पुगे भन्ने कुराको यो बलियो प्रमाण हो ।

यतिले नै लैंगिक समानताको लडाईं सकिएको छैन । तर नारीको दिमागमा रहेको पितृसत्ता चाहिँ अब कमजोर हुँदैगयो । आत्मनिर्भर भैसकेका वा परिवर्तनको चेतनाले सल्किएका महिलालाई पुरानै किसिमको वैवाहिक सम्बन्धको डोरीले बाँधेर राख्न सकिँदैन । यो तथ्यलाई लोग्ने भैसकेका वा हुन चाहने पुरुषले अझै बुझेका छैनन् । उनीहरु पुरानै विचार र परम्परामा अल्झिएका छन् । परिवर्तनलाई आत्मसात गर्न नसकेपछि विद्रोह हुनु स्वभाविक छ । सम्बन्धविच्छेद त्यसैको परिणाम हो ।

समाजशास्त्रीहरुको भनाईमा बढ्दो सहरीकरणले पनि वैवाहिक सम्बन्धमा नयाँ आयाम ल्याएको छ । सहरिकरणसँगै सूचना प्रविधिको बढ्दो प्रयोगले मानिसहरुको जीवनशैली र चेतनाको स्तर फरक ठाउँमा पुगेको छ । महिलाहरु आफ्नो हक अधिकारका बारेमा सुसूचित हुन थालेका छन् । त्यसैगरी आत्मसम्मानको खोजी गर्ने महिलाहरु ठूलो संख्यामा देखा परेका छन् । आत्मनिर्भरताले महिलालाई स्वाभिमानी बनाएको तथ्य एकातिर छ, अर्कोतिर रेमिट्यान्सका कारण पनि महिलाको हातमा आर्थिक कारोबार आएको छ । वैदेशिक रोजगारीमा महिलाहरु आफैं पनि प्रशस्त पुगेका छन् । यी सब कारणले महिलाले सोच्ने तरिका बदलियो । तर पुरुष भने पुरानै तरिकाले सोचिरहेको छ भने वैवाहिक सम्बन्ध सुमधुर हुने सम्भावना हुँदैन ।

उत्पीडित लिंग भएकोले महिला नै सम्बन्धविच्छेदको फिराद गर्ने ठाउँमा हुनु स्वभाविक छ । जो बन्धनमा छ, मुक्तिको खोजी उसैले गर्छ । परम्परागत धारणामा पति–पत्नीको सम्बन्ध ‘पाल्ने’ र ‘पालिने’ बीचको सम्बन्ध हो । आजसम्म पनि विहेबारीको कुरो चल्दा छोरीलाई ‘दिने’ वस्तुकै रुपमा हेरिन्छ । पति–पत्नीको सम्बन्ध एउटा करार सम्बन्ध हो । त्यसैले यो सम्बन्धमा एकअर्काप्रति सम्मान छैन भने करार भङ्ग हुन्छ । हिजो पत्नीमाथि शासन गरेको भरमा यो सम्बन्ध टिक्थ्यो । आज पनि बहुसंख्यक पत्नीहरुको हालत त्यही छ । तर जो आत्मसम्मानको भोको छ, उसलाई सम्मान चाहिन्छ, शासन होइन ।

सम्बन्धविच्छेद जति बढे पनि यो संख्या उत्पीडित महिलाको जनसंख्यामा ठूलो संख्या होइन । त्यसैले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि एउटी महिलाले धेरै चुनौतीको सामना गर्नुपर्ने स्थिति छ । नेतृत्व र हैसियतमा पुगेका महिलाको हकमा केही सजिलो पनि होला । तर सर्वसाधरण महिलाले स्वतन्त्र जीवन बाँच्ने निर्णय गरिनसक्दै चुनौतीको पहाड तेर्सिन्छ । ‘मारे पाप पाले पुण्य’ भनेर छोरी जिम्मा लगाउने माइतीको सहयोग कतिको मिल्छ भन्ने कुरा मुख्य हुन्छ । यातनाग्रस्त सम्बन्ध रहिरहनुभन्दा छोरीले सम्बन्धविच्छेद गरेर नयाँ जीवनको शुरुवात गरोस् भन्ने चेतना माइतीमा पलाउनु जरुरी छ । पैतृक सम्पत्तिमा समान हक नभएको हुनाले छोरीहरु आशको जिन्दगी पर्खिन बाध्य छन् । सम्बन्धविच्छेद गर्ने निर्णय गर्नबाट धेरैलाई यही कारणले रोक्छ । सम्बन्धविच्छेदपछि लोग्नेको सम्पत्तिमा हक लाग्ने कानूनी व्यवस्था छ ।

तर धेरैजसो स्वतन्त्र जीवन रोज्ने महिलाले सजिलै त्यो सम्पत्ति पनि पाउँदैनन् । अनेक कानूनी झन्झट त छँदैछ, वकिलको खर्च बेहोर्न नसक्ने स्थिति पनि छ । त्यसमाथि कानूनी लडाईं धेरै लामो समय चल्ने हुनाले त्यही लडाईंमा आफ्नो व्यक्तित्व विकास गर्ने समय बर्बाद हुने अवस्था छ । धेरै महिलालाई यो चक्रले निराश पनि बनाइदिन्छ ।

सम्बन्धविच्छेदको निर्णय आत्मसम्मानका लागि मात्र नभएर स्वतन्त्रतापूर्वक प्रगतिको पाइला चाल्नका लागि पनि गरिन्छ । वैवाहिक सम्बन्धले जब पीडा मात्र दिन्छ, व्यक्तित्व विकास गर्न दिँदैन, महिलाका लागि सम्बन्धविच्छेद एक अवसरका रुपमा आउँछ । आफ्नो व्यक्तित्वको विकास गर्ने, स्वतन्त्र पहिचान बनाउने र सामाजिक भूमिका खोज्ने अधिकार महिलालाई पनि पुरुषलाई जत्ति नै हुन्छ । त्यसैले सम्बन्धविच्छेदले पेस गर्ने चुनौतीलाई अवसरमा बदल्न स्वतन्त्रताप्रेमी महिलाहरु तयार हुनैपर्छ ।

सम्बन्धविच्छेद आफैंमा एक समस्या त हो । तर सम्बन्ध नै समस्या हुँदा सम्बन्धविच्छेद नै समाधान पनि हुन्छ । परम्परागत वैवाहिक सम्बन्धलाई नयाँ परिभाषा दिने अवसर सम्बन्धविच्छेदले प्रदान गर्नसक्छ । समग्र नारीको आत्मसम्मान उँचो पार्नपनि सचेत नारीले अन्याय सहेर बस्न अस्विकार गर्नुपर्छ । अन्तरजातिय, अन्तरधार्मिक लगायतका विवाहहरुले पनि वैवाहिक सम्बन्धमा परिवर्तन ल्याइरहेका छन् । पुरानो संस्कार भत्किने क्रममा छ । वैवाहिक सम्बन्धलाई हुर्काउने नयाँ संस्कार निर्माण गर्न स्वतन्त्र महिलाले महत्वपूर्ण योगदान गरेका छन् ।

आत्मनिर्भर र स्वाबलम्बी जीवनको अभ्यासबाट नै पुरुष शक्तिशाली भएको हो । महिलालाई यही कुराबाट वञ्चित गरेर कमजोर बनाइएको छ । आत्मनिर्भर हुनासाथ मान्छेले विभिन्न अवसरको खोजी गर्छ र रचनात्मक काम गर्छ । स्वतन्त्रता बिना आत्मसम्मान पाउन सम्भव छैन । वैवाहिक जीवनले महिलालाई रचनात्मक काम गर्ने, कमाउने र स्वतन्त्रतापूर्वक समाजमा भूमिका खोज्ने कुरामा बाधा हाल्छ भने त्यो वैवाहिक जीवनको अन्त्य हुनुपर्छ । स्वतन्त्र जीवनको अभ्यासमार्फत जीवनका विभिन्न आयामको खोजी गर्ने मौका कैयौं महिलालाई सम्बन्धविच्छेदले मात्र दिएको छ । धेरै सफल नारीहरुको जीवनकथाले पनि यो तर्कलाई प्रमाणित गरिसकेको छ ।

पुरुषप्रधान समाजका मान्यता भत्काउन र पुरुषको पुरानो मनोविज्ञान बदल्न पनि सम्बन्धविच्छेदको बढ्दो दरले काम गरिरहेको छ । पुरुषले बाहिरको काम र महिलाले घरको काम भन्ने परम्परागत कार्यविभाजनलाई बदलेर दुवैले एकअर्काको काममा सघाउने, योग्यता बढाउन सहयोग गर्ने समाज निर्माण गर्नु आजको आवश्यकता हो । त्यस्तो चेतना केवल नाराले मात्र ल्याउँदैन । सम्बन्धविच्छेद गरेर वैवाहिक सम्बन्धको नयाँ परिभाषा खोज्ने महिलाले अरु कैयौं घरभित्रको नारीविरोधी व्यवहार बदल्न भूमिका खेलिरहेका हुन्छन् ।

सम्बन्धविच्छेदले अप्ठ्यारो परिस्थिति निर्माण गर्नसक्छ । तर स्वतन्त्रताको कुन लडाईं सरल छ मान्छेको इतिहासमा ? राजनीतिक र सामाजिक क्षेत्रमा नारी आन्दोलनले नयाँ अवसरहरु सिर्जना गरिरहेका छन् । यस्तो माहोलमा समानताको संस्कृति निर्माण गर्न खराब सम्बन्धलाई भंग गर्नु आफैंमा एक रचनात्मक काम होइन र ? पुराना संस्कृति र चेतना बोकेर न पुरुषले परिवार थेग्न सक्छ, न थोत्रिसकेको समाज व्यवस्था नै । सम्बन्धविच्छेदको चुनौती सामना गर्न अब पुरुषप्रधान समाजका बन्द झ्यालढोका खुल्नैपर्छ ।

(तिन वर्ष अघि कान्तिपुरमा प्रकाशित लेख)

तपाइँको प्रतिक्रिया

फेसबुक