बिहीबार, चैत १५, २०८०

कोरोना भ्याक्सिनमा राजनीति : ‘अस्ट्राजेनेका’ भनेर ‘सिनोफार्म’ कसरी आयो ?

नेपालप्लस कूटनितिक संवाददाता२०७७ चैत १३ गते १८:४०

कुटनीतिभन्दा बढी राजनीतिक सरोकारमा जोडिएका व्यक्तिलाई राजदूत बनाएमा के हुने रहेछ ? यसको उदाहरण हेर्न खाडी मुलुकको बहराइन गए हुन्छ जहाँ माओवादी (प्रचन्ड) कोटाका नेपाली राजदूत पदम सुन्दासको सानो गल्तीले नेपाली राज्य प्रशासन र परराष्ट्र मन्त्रालयकै हुर्मत लिएको छ ।

शिखर सगरमाथा आरोही बनेर गत १४ मार्चमा काठमाडौं आएका बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल–खालिफा र उनको टोलीले साथमा कोभिड प्रतिरोधी खोप पनि लिएर आयो । गोर्खा जिल्लाको चुमनुब्री गाउपालिका–१ मा रहेका बासिन्दाका लागि कोरोना प्रतिरोधी खोप सहयोग दिइने र यो २ हजार भाइल भ्याक्सिन ‘अस्ट्राजेनेका’ रहेको भन्दै बहराइनस्थित नेपाली दूतावासले बिज्ञप्ती पनि जारी गर्यो । (बिज्ञप्ती पढ्नुहोस् ।)

तर, काठमाडौं उत्रिएर त्यो खोपको आधिकारिकता र प्रामाणिकता पहिल्याउँदा त्यो त चिनिया सिनोफार्म कम्पनीबाट उत्पादित खोप भन्ने थाहा भयो । यो विवाद र अन्यौलमाझ बहराइनी राजकुमारको टोलीले आफ्ना साथमा खोप लैजान त पाएन नै, नेपाली मिडिया र सरकारी निकाय पनि यो मनपर्दी खोप ल्याउने र प्रयोगमा हतारिने पद्धतीप्रति आवेशमा आए । ल्याएको खोप जति छानविन र अनुसन्धानकै नाममा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको भण्डारणमा थन्किएपछि राजकुमारको टोली खाली हात गोर्खातिर लागेको छ । यो सबै प्रकरणको मारमा भने बहराइनमा रहेका ७७ बर्षिय राजदूत पदम् सुन्दास बनेका छन् जसले मानवीय संवेदनाका अर्थमा निकै संवेदनशील खोपबारे के, कसो, किन बुझ्नै नपाई छानबिनको दायरामा पुगेका छन् ।

राजदूतले यसलाई ‘सामान्य त्रुटी’ मानेपनि बहराइनको राजपरिवारले भने यो घटनाप्रति चर्को असन्तुष्टी जनाउँदै मानवीय सहयोग गर्न खोजिएको प्रकरणलाई समेत अपब्याख्या गरिएको र यसमा नेपाल सरकारको गम्भीर गल्ती रहेको भनेर राजपरिवारले काठमाडौंमा सन्देश पुर्याइसकेको छ । यो प्रकरण बेलैमा साम्य नभएमा राजदूत पदम् सुन्दास समेत फिर्ता बोलाइने चरणमा पुगेका छन् । उनको ४ वर्षे राजदूत कार्यकाल पुरा हुन अब ४ महिनामात्रै बाँकी छ ।

बहराइनका राजकुमारले अनुमति बिनै खोप ल्याएकोबारे गरिएको स्वास्थ्य मन्त्रालय तहको छानबिनले आफ्नो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । ‘तर छानबिनले के भनेको छ भनेर थाहा पाउन सकिएको छैन,’स्वास्थ्य मन्त्रालयका एक उपसचिवले भने । यो गैर जिम्मेवारी र लापरबाहीको घटनाका आधारमा परराष्ट्र मन्त्रालयले पनि बहारइनका नेपाली राजदूतसमक्ष स्पष्टीकरण लिइसकेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक