मंगलबार, वैशाख ७, २०७८

निस्तब्धताको प्रार्थनामा

डा. गोबिन्द राज भट्टराई२०७७ चैत १४ गते २०:०६

आज विहानै देवीप्रसाद वनवासी आए । ७४ वर्षीय वनवासी स्याङजादेखि काठमाडौँ आएर यहाँ डेरा गरी बसेको तीन महिना पुगेछ– मलीन छन् । पातला छन् । मृदुभाषी वनवासीले पाँचवटा पुस्तक लिएर आएका छन्– लोकायत, बयरबास (यात्रा), लोकाक्षर (जीवनी) र मेलमिलाप (घटना विचार र विश्लेषण) । अनि कालस्तोत्र (हास्यव्यङ्ग्य कविता सङ्ग्रह)। सबै कृति २०६९ सालकै। तिनै पुस्तक प्रकाशनमा यहाँ एउटा लजमा बसेका छन् । म छक्क परेँ– गतवर्ष मात्रै उनले मलाई ऐरेनीतिर सैरिँदा, त्रिवेणी, अब्बल मान्छे जस्ता तीन कृति उपहार दिएका थिए। यसपालिको मेलमिलाप पल्टाएर हेरेँ । कभरको भित्रपट्टि छापिएको रहेछ, साहित्यकार देवीप्रसाद उपाध्याय वनवासीको बाउन्नौं सिर्जनात्मक लोकार्पण । यसपालि म झन् छक्क परेँ । २०३२ सालदेखिको मेरो चिनाजानी– स्याङ्जाका मित्र जयप्रसाद पौडेल मार्फत भएको थियो । त्यसैबेला वनवासी बाल साहित्यका पुस्तक लिएर आउँथे । युगभाषा सम्पादन पनि गर्दथे । २०३४ सालको त्यही युगभाषामा मेरो मुगलानको समीक्षा छापिदिएका छन्, अद्यापि त्यो त्यहाँ छँदैछ । मुगलान सँगै छापिँदै छ।

आज म देवीप्रसाद वनवासीबारे लेख्न बसेको थिइनँ । म आफ्नैबारे लेख्ने चिन्तनमा थिएँ । मूडमा र आवश्यकतामा पनि थिएँ । लेख्ने भन्नुको तात्पर्य मेरो निमित्त भावना र विचारको जगत्मा विचरण गर्नु हो । त्यसो त, म प्रत्येक दिनका धेरै घण्टा कलम कापीमै हुनेगर्छु । कम्प्युटर किबोर्डमै हुनेगर्छु । परन्तु त्यो सबै ता लेख्नु होइन रहेछ । यो केवल एक ‘कर्म’ रहेछ । यस्ता कर्मले मेरा पलप्रतिपल ढाकिएका हुन्छन् । जस्तो कि उता प्रवीन बेघा भाइले आज भनेको होइन– सर, नेपाली साहित्यमा लिम्बू स्रष्टाको स्थानबारे एउटा रचना अब त सरको मात्र पर्खिरहेका छौँ । त्यस्तो विषयमा लेख्नु भनेको विचारले थिच्ने शुष्क कर्म भएकाले यस्ताबाट अलिक भाग्न भए हुन्थ्यो जस्तो पनि लाग्छ । अलिक दिन टार्न र पर सार्न पाए हुन्थ्यो जस्तो पनि लाग्छ। यो अलिकति पर सर्न सक्छ, तर टर्दैन । यता ‘टेसन’ भन्ने संस्थाले शिक्षामा उत्तरआधुनिकता शीर्षक लेखको लागि अनुरोध गरेको छ। यस्ता लेखनमा मभित्रको स्वतन्त्र स्रष्टा खेल्ने स्पेस हुँदैन । तर म यस्ता कर्म गर्न बाध्य छु । अब गर्छु होला। यस्ता कुरा अरू पनि प्रतीक्षामा छन्– लक्ष्मी उप्रेतीको कथा सङ्ग्रह छ । रजनीको स्वतन्त्र आकाश, डा हर्कबहादुर बुढा मगरको गोर्खाल्याण्ड, लुनाको साइबर विशेषाङ्क छ । त्यस्तो लेखनका लागि जति जोडेपनि सामग्री कम्ती नै हुन्छ । जति लेखे पनि कति जनाको विचार जोडेर मिलाएको जस्तो मात्र लाग्छ । त्यसैले यस्ता मस्तिष्कीय कर्मदेखि तर्कौं जस्तो हुन्छ सधैँ । तर मेरो लेखनको असी प्रतिशत यस्तैले खान्छ। त्यसलाई म लेखन भनँला । तर त्यो मन परेको कुरा वा सिर्जना चाहिँ होइन । म जस्तो लेखकले अटूट साधनाको गहिरो दुलाभित्र लुकिरहनु पर्थ्यो होला। अघि नै अलिकति शिर संसारले देख्ने गरी निकालिसकेँछु । अब भित्र हुल्नु असम्भव छ ।

यसै हप्ताका कर्महरू बताउँछु– वीपी कोइरालाको जन्म शताब्दी आउनै लागेको छ। त्यसको तयारी गर्न, त्यस अवसरबारे ब्रोशर, परिचय, पुस्तिका तयार गर्ने जिम्मा ममा आयो। अनि अध्ययन गरेँ, लेखेँ, अङ्ग्रेजीमा अनुवाद गरेँ । उन्नाईस पृष्ठ सामग्रीले एक हप्ता खायो । फेरि उता हङकङदेखि दीपा राईको अनवरत (कविता सङ्ग्रह) आएको निकै भएको थियो । त्यसमाथि लेखिपठाएँ । उता मलेशियादेखि मौलश्री लिम्बू, दिलिप सागर राई आदिले केस्रा (कविता) को पुस्तक तयार पारे घोषणापत्र सहितको । भोलि विमोचन छ । कुनै दूरदेशमा बसेर नेपाली वाङ्मयको सेवामा समर्पित यो नयाँ पुस्ताको प्रेमले मलाई सिर्जनाले भन्दा ज्यादा तान्छ– त्यसको विमोचनमा पुग्नु छ, बोल्नु छ । फेरि यता प्रकाश आङ्दम्बेको रुवाइयात सङ्ग्रह आएको छ । मंगलबार त्यसमाथि बोल्नुछ । प्रकाशलाई कसरी टार्न सकिन्छ र उनी पूर्वै उज्यालो पारी बसेका मेरा परिवार सदस्य हुन् । काठमाडौंले मलाई माया गर्ला कि भनी वहाँदेखि हाम्फालेर यहाँ आएका छन् । आफ्नो सारा शक्ति शिल्प, साहित्य सिर्जना र संयोजनमा लगाएका छन् । यतिखेर त अझ देश खोज्दै जाँदा उनी डुबेका छन् । भूटानी शरणार्थीको त्यो मार्मिक कथा श्रव्यदृश्यमा उतारेका छन् । यस्ता युवाको यो देशलाई कत्रो खाँचो छ । कसले पो गोडमेल गर्ला ? यता भोलि नै अमेरिकादेखि शीलु घिमिरे आइपुग्नेछिन् । उनी उता गएको दशक नाघ्यो । विद्यावारिधि गर्दै, लेख्दै, अनुवाद गर्दै, उनको त्याग हेरौँ । उनको परको देशमा (उपन्यास) प्रकाशित भएको दुई महिना पुग्यो । त्यसको विमोचन गराउन पनि आएकीस सहयोग गर्नु परेनरु यता जेठ तीन गतेको लागि प्राज्ञ ठाकुरप्रसाद मैनालीको भक्ति कविता र भजनको सङ्ग्रह छ– समर्पणस त्यसको अनुवाद पनि छ फ्लेम्ज् अव् डिभोशन । त्यहाँ पनि लेखेको छु, मेरो उपस्थितिको प्रतीक्षा छ।

जेठ ११ गते शनिबारको लागि सरिता अर्यालले समय लिएकी छन्– उनको विभिन्न मुलुक भ्रमणमा आधारित कथा सङ्ग्रह ‘फर्केर हेर्दा’को विमोचन छ । यस्ता कतिमा मैले लेखेको हुन्छु, लेख्नु परेको छ । यो प्रेमले तानेर एक प्रकारको बाध्यताले छोएर पनि मेरो कलम रातोदिन कस्सिनु परेको छ । हाम्रोमा उखान छ– माग्नेको मुठी दिनेको उठीस भनेजस्तै आज एकै छिन हो भन्यो । त्यता लाग्यो । फेरि एकै बिहान हो भन्यो । त्यता लाग्यो । फेरि एक अपरान्ह न हो । अरु समय आफ्नै छ भनेजस्तो लाग्छ । त्यता लायो । आखिर आफ्नो सर्वस्व अर्थात् समय त गइहाल्छ । एक हप्तापछि वा एक महिनापछि हिसाब जोडेर हेर्दा आफ्नो भागमा कति थोरै बाँकी रहन्छ !

आजै हेर्नास् डा लक्ष्मण गौतमकी छोरीको बिहा छ । एक ऐतिहासिक कर्म सम्पन्न गर्दैछन । त्यहाँ नपुग्दा फेरि आएन भन्लान् । बिहान एकपल्ट आउँछ । इष्टमित्र ता सधैँ चाहिन्छ।

म सोच्दै थिएँ, मेरा समस्त कर्महरू केवल अध्ययनमा र आफ्नै सिर्जनामा लगाउन सकेको भए तिनको योगफल कति ठूलो देखिन्थ्यो होला । मैले गरेका कार्यहरू पनि व्यर्थ ता होइनन् परन्तु ती गौण हुन् कि जस्तो लाग्छ । त्यसमा पनि अनुवाद कार्यमा लाग्नु परेपछि मनमा त्यो भावना उत्पन्न हुन्छ । आजसम्ममा झन्डै एक दर्जन कृतिको अनुवादमा कतिको सम्पादनमा म संलगन भएँ हुँला । तर त्यसको सट्टा मैले केवल सिर्जना गरेको भए म कहाँ पुग्थेँ जस्तो हुन्छ । जीवनका विविध पक्षबाट बहने ससाना खोला खोल्सा र जँघार तर्दातर्दा म हैरान भइसकेको रहेछु । अब पो मेरा तिघ्रा लगलगी काम्न थालेका छन् । आफ्नो लेखन त कहिले लुकेर भागेर मात्रै गर्ने कर्म जस्तो भएको छ । यस्तै भएर नै हो चारवटा उपन्यास लेख्ता मेरा चार दशक खर्लप्पै सकिएछन्– सबै छोडी उपन्यास मात्र लेखेको भए डा. ध्रुवचन्द्र गौतम जति वा पारिजात जति पुग्थेँ कि । फेरि सङ्ख्या मात्र पनि गणना होइन । तीसँग स्तर पनि चाहियो– आइबी राईको जम्मा एउटा, भिक्षूका जम्मा दुईवटा, वीपीको जम्मा पाँच यस्तै छ स्तरले गुणात्मकाताले ती महान् छन् । ध्रुवचन्द्र दुवैमा छन् भन्ने लाग्दछ । खोसेला परालको भारिलाई ठूलो भनिँदैन।

मेरो समय, कसले खायो होला ? यतिखेर बेलाबेलै म आफैँसँग जंगिन्छु । दाह्रा किटेर पाखुरा सुर्किन्छु । त्यसो त मेरो समयलाई कुनै दुर्व्यशनले खाएन– यिनै पुस्तकले कलम कापीले निचोरिरहे । म यसै निथ्रिएँछु । कहिले भाषाविज्ञानले पेल्यो । कहिले अनुवादले दल्यो । कहिले समालोचनाले सुकायो र धेरैपल्ट सिद्धान्तले सुतायो । भूमिकाले भत्कायो । दर्शकले मलाई कसरी हेर्दा होलान् । पाठकले कस्तो देख्दा होलान् पनि भन्ठान्छु। सुदूर भविष्यमा मेरा लेखन बाहेक यस्ता अन्य कर्महरूलाई समयले कसरी निलेर उघ्राइरहेको हुनेछ होला । आफ्ना कर्महरू भूलेर अन्यमै रमाइरहने यो कर्म पनि लेखनकै सहकार्य थियो होला भनेर चित्त बुझाउने गर्दछु । ती सारामध्येको एउटा प्रधान कर्म छ– जीवनलाई गतिशील राख्न परिवारलाई भोक प्यासबाट बचाउन, समाजको हारमा उभिन मैले कि एक हल गोरुसँग हिँड्नु पर्थ्यो कि पूजामण्डपमा बस्नु पर्थ्यो, कि कुनै मुगलान पस्नु पर्थ्यो । मैले साना नानीहरुलाई अक्षरका आकृति देखाउँदै, तिनका ध्वनि सुनाउँदै त्यसको पारिश्रमिकले जीवन सञ्चालन गर्न थालेँ । चारदशक बितिसक्ता पनि म त्यहीँ छु– अक्षरको अर्थ फोर्दै, जोड्दै तिनैलाई रंगाउँदै हुर्किसकेका नानीहरुकै वरिपरि नाँचिरहेको छु । टाल्स्टाय जस्तो अथवा रवीन्द्रनाथ जस्तो जमीन्दार, सभ्रान्त, सेठको अवशेष भएको भए जीवन धान्ने एकै रति चिन्ता नरहेको भए म कति लेख्तो हुँ, कति पढ्दो हुँ।

अरूले कसरी गर्दा हुन्– ओशोका ७०० भन्दा बढी पुस्तक छन् भन्छन्स । भलै ती ता वाणीको निरन्तर प्रवाहलाई यन्त्रको सहायताले लिप्यान्तरण गरिएका हुन् । अनि महान् यात्री राहुल साङ्कृत्यानका, हाम्रै महाकविका, कसरी कुन साधनाले, कस्तो समर्पणले कुन सिद्धिले त्यो कुरा प्राप्त हुन्छ होला । जीवनमा सिर्जनाको आकाङ्क्षलाई पछार्दै, उछिन्दै अघिल्तिर आएर आफ्नो आँगनमा उभिने अरू तत्व पनि छन् । ती निरन्तर रातो दिन उफ्रिरेका हुन्छन् । आज सुतेर ब्यूँझँदा टोलिफोनको बिल तिर्ने मिति पुगेको हुन्छ । भोलि एउटा विशेष गोष्ठी आउँछ । पर्सी टोलको मिटिङ हुन्छ । निकोर्सी बिहानै आँगनमा गाइनेको गीत बज्न थाल्छ । अर्को रात व्यर्थमा अबेरसम्म कुकुर भुक्छन् । फेरि अर्को दिन हुरी बतास, चट्याङ र बिजुलीले धेरैबेर तर्साईरहन्छ ।

फेरि कम्प्युटरमा अलिकति पस्नुछ– त्यताबाट पाखा आउन ढिला हुने हो कि ? यसरी प्रत्येक दिन बिहान बेलुका राति नभनी ध्यान भत्काउने तत्वहरू हार लागेर उभिएका छन्। कहिले ता दुईवटाको पालो एकैचोटि पर्छ । सधैँ नै झाडी जंङ्गलको बाटो हिँड्नु छ। त्यहाँ उफ्रिने बाघ भालु, घस्रिने सर्प बिच्छी सदैव तत्पर छन् । त्यहीँ भित्र पसेर यसैलाई टेक्दै पन्छाउँदै एउटा फूल रोपी फुलाउनु कत्रो कुरा । फेरि अर्को, फेरि अर्को, फेरि अर्को, महाकविले त्यो छोटो जीवनमा झण्डै सय कृति रचेस यो कुनै सरल कर्म थिएन । कन्टकमय मार्गको यात्रा थियो। स्रष्टाका पनि भोक तिर्खा छन्, साहू आसामी छन्, परिवार छन्, लोकलज्जा छन्, सामाजिक पहाडहरू छन्, यौनेच्छाहरू छन्, आकाङ्क्षाका ज्वालामुखी फुटिरहेका छन्, पीडा र चिन्ताका आँधि चलिरहन्छन् । कसरी ती सिर्जना मात्र गरिरहन सक्दछन् ? संवेदनाको नीलो सागरमा पस्तै उत्रिँदै गर्ने ती प्राणीहरूको निम्ति बाह्य संसारको एउटा पात हल्लिँदा पनि मन सिरिंग हुन्छ । तर यस्तै कोलाहलपूर्ण जगतमा कान थुनेर आँखा चिम्लेर समाधि कसेर बस्नेहरू पनि छन् । त्यस्तो गर्न नसक्नेको लागि यस्ता गन्थनले चित्त बुझाउन ठूलो मद्दत गर्ला भन्ने आशामा छु।

अस्तिको हप्ता मात्रै बालकृष्ण गुरुलाई फोनमा बोलाएँ । उहाँ भन्नु हुन्छ– मेरो तीस वर्षको तपस्या पूरा गर्न लागेँ । यो शब्दकोष अब दुई वर्षमा रातोदिन घोटिएर काम गरेँ भने सक्छु होला । ८२ वर्षका महान् साधक भोक तिर्खा बिर्सेर, पत्नी वियोगको पीडा छोपेर थर्थराएका ओठले हाँसेझैँ गर्दै मृत्युलाई नै भुलेर रातोदिन घस्रिएको देख्ता लाग्छ, हामी धेरैको जीवन व्यर्थ छ । केवल रोदन क्रन्दन, चित्कारमा समर्पित हामी समयलाई छेक्ने मूर्खता गर्दै मर्छौं । समयले मारिरहेको छ । तर त्यसको चिन्ता नराखी अन्य तृष्णाहरूको फेदमा पानी हाल्दैछौँ । कतिबेला म आफैं त्यसो गर्दैछु कि भन्ने लाग्दछ । यद्यपि पिताजीले देखाउने गरेको मार्ग म यी वाणीमा सुन्दैछु ।

अज्ञानको तिमीरलाई ज्ञान खुर्पा लिई
विषय र तृष्णादिका बुटा सबै फाडौं

त्यसो त अज्ञानको तिमीरलाई ज्ञान खुर्पाले छिमोल्ने कति महारथीहरुलाई मैले देखेँ, भेटेँ। म कृष्णचन्द्रसिंह प्रधानज्यूको घरमा गइरहन्थेँ । गएर उहाँका निबन्ध सुन्थेँ । उहाँ बोलाइरहनुहुन्थ्यो । उहाँको निधन ८४ वर्षको उमेरमा भयो । चोला उठ्ने सात दिन अघि लेखेको निबन्ध पनि समकालीन साहित्यमा छापियो । यसपालि विराटनगरका कवि टेकनाथको ८४ वर्षमै निधन भयो । उहाँले मर्ने दिन रचेको कविता पनि स्थानीय पत्रिकामा प्रकाशित भयो भनेर खबर आयो।

यता मदनमणि माडसापले नब्बे पार गर्नु भयो । तर एकपल खर्च नगरी सिर्जना गरेको गर्‍यै हुनुहुन्छ । अर्को कृति (उपन्यास) आउँदैछ भन्ने सुन्छौँ । उता उहाँका समकक्षी माधव घिमिरेको महाकाव्य पूरा हुन लागेको छ । ताना शर्मा, आइबी राई यस्तै साधना शिखर हुन् । तर अझै अतृप्त झैँ । कतै नगै, कतै नहेरी, केही नसम्झी वृद्धत्व, रोग र मृत्युलाई बिर्सेर भूलेर नित्य अमर झैँ गरी लागिरहेका छन् । कत्रो तपस्या, कत्रो दृष्टान्त।

त्यसैले मैले अघि देवीप्रसाद वनवासीको नाम लिएको हुँ। हाम्रामा आएको कारणले होइन । उनीभित्र जरामरणको भय नदेखेर, एउटा ख्याउटे चोला । तर सधैँ अमर छु झैँगरी हिँडेको देखेर म अत्यन्तै प्रभावित छु। मैले सोधेँ– यी पुस्तक यति राम्रा र स्तरीय छन्, कसरी प्रकाशित गराउनु भयो ? उनले भने– म त्यसको त्यति चिन्ता गर्दिनँ, ५२ थान निस्किसके । कुनै साथी भाइले पनि गरिदिन्छन् । धेरै त मेरो अलिकति पेन्सन आउँछ । त्यो जम्मा भएपछि प्रकाशनमा लगाउँछु । परिवारलाई भनिदिएको छु, मेरो आशा नगर, मेरो खर्चकोे लोभ नगर, म आफ्नो इच्छा गर्न पाउँ।

त्यसपछि उनले भने– मेलमिलापको भूमिका लेख्तालेख्तै झन्डै एक पुस्तक सामग्री जम्मा भएछन् । मैले भनेँ– ल्याउननोस् पुस्तक बनाएर यता प्रकाशक खोजौँला । यस्ता धावकहरू छन्– सर्वत्र, देशभरि देशबाहिर, विविध प्रकारका त्यागमा छन् । नेपाली वाङ्मयलाई यिनीहरूले थामेका छन् । मैले पनि यस्तैबाट सिक्नुपर्ने । तर मन ज्यादा अटेरी भई अलिक कम्ति उज्यालो ठाउँतिर पनि हाम्फाल्दो रहेछ कि के भएको होला ?

यसरी सदैव कर्तव्य पथमा नुहेकाहरू छन्, निस्पृहहरू छन् । अर्को जुनीमा फल प्राप्ति होला भन्ने भावनाले धर्मकर्म सेवामा लाग्नेहरू झैँ सिर्जनामा लीन भएका साहित्यकारहरू देख्ता लाग्छ– तपस्वी ऋषिमुनि वा देवदेवता भनेको यिनै हुन् । त्यत्रो महान् उचाइबाट तल ओर्लेर भुइँमा पल्याँटि कसी बालकृष्ण समले जीवन अर्पित गरे । अर्का राजकुलका डायमन शमशेरलाई भेट्न गइरहन्थेँ । एकदिन गयौँ । दिवंगत हुनुभन्दा तीन हप्ता पहिले मात्र रहेछ । उनले भने– यो सेतोबाघ संशोधन गराउँदै छु र त्योभन्दा ठूलो कुरा चाहिँ आफ्नो जीवनी (संस्मरण) पूरा गराउन सक्छु कि भन्ने छ । कालले उछिन्ने हो कि मैले, म भन्न सक्तिनँ । त्यसो भनेको तीन हाप्तामा उनी बिते । उनी देख्न नसक्ने, लेख्न नसक्ने थिए । तर बाबुराम आचार्यझैँ, महानन्द सापकोटाझैँ, नयराज पन्तझैँ अरूलाई श्रुतिलिपि गराउने, टिपाउने गर्दै थिए । वीपीलेझैँ। अन्तिम दिनसम्म पनि नदी बगिरहेकै छ, तर अचम्म छयाप्पै सुक्ने रहेछ एकैचोटि झ्याम्म सिसा फुटेझैँ।

अरू पनि त्यस्ता छन्– केवलपुरे किसानलाई भेट्न हात्तीवन पारिको सेतेपाखामा गयौँ । उनले कति कविता कण्ठै सुनाए कति सुन्दर लयमा। ती पत्नी वियोगका र राजनीतिक व्यङ्ग्यका थिए । यस्तै अरू तयारीमा छन् भन्थे । त्यसको दुई महिना पछि उनी बिते। उता हङकङमा कमल भाइले भनेका थिए– पिताजीको संस्मरण जीवनी तयार गराउँदै छु त्यो हुँदैछ।

यतिखेर म अरू दुई व्यक्तित्वको दृष्टान्त दिन्छु । एक हुन् श्री नगेन्द्र शर्मा– पत्नी वियोगको पीडा नभएझैँ गरी ८२ वर्षमा निरन्तर सक्रिय छन् । उनले छ महिनाभित्रै झमकको जीवन काँढा कि फूलको अनुवाद सकाएका थिए । फेरि अर्को पुस्तक निकाले, फेरि अर्कोमा छन्, वीपीको हिटलर र यहूदी अनुवाद गरे । फेरि अर्कोमा छन् । नितान्त एक्ला छन् । ओडार जस्तो छ घर सुनसान । वर्षमा छ महिना कलकत्ता दार्जिलिङ पुगेर कर्कट रोग (क्यान्सर) सित लर्छन् अनि फिर्छन् । तर हार्दैनन् । सधैँ अजरअमर चोला पाएझैँ गरी, एक पल पनि समय खेर नफाली ती दौडिरहेका छन् । यतिखेर उनी जीवनको गोरेटो अनुवादमा छन् । यो श्री बुद्धिलाल भण्डारीको सुन्दर जीवनी, किताब सानो छ । सुन्दर पठनीय तर भण्डारी स्वयम् फेरिएका दुवै मृगौलाले पनि काम नगर्लान् जस्तो भई मूढो जस्तो जीवन लिएर घरमा लडेका छन् । कलंकी वारिको भित्तामा, सत्तरी हाराहारीका भण्डारीका अरू निकै कृति छन्, जंगबहादुरको जीवनी ता निकै लोकप्रिय भयो । अब हात चल्दैनन्, गोडा चल्दैनन्, शरीर ढिको जस्तो छ, फेरि पनि भन्दैछन्– एउटा बाल साहित्यको पुस्तक तयार पार्न पाए हुन्थ्यो भनी बनाएको खाका छ । मनमा कथा तयार छन् । तर हात चल्दैन । बडो विवश स्थिति छ । फेरि इच्छा जीवन्त छन् । छोरा छोरी अमेरिकामा छन् । फेरि यता अरू सम्पत्तिको सुस्वास्थ्यको, अरू अन्य कामना छैन । छ केवल सिर्जनाको । मनमा यस्तो कुन आँधी चल्दछ, केले छोप्छ, कसरी मानिसको मन र भावना एकोहोरिन्छ ?

गर्दागर्दै मोहन कोइरालाले अन्तिम महाकाव्य मलाई सुम्पेर गए । एकवर्ष पछि निस्कियो । कृष्णचन्द्रसिंहले पनि त्यसरी एक सङ्ग्रहभरि निबन्ध सुम्पेका थिए । अहिले फाइनल गर्दैछु । बल दाइको त्यस्तै भो । कृष्णभूषण बल झन् भर्खरै थिए ६४ मा । भन्दै थिए– यी संस्मरण र यी कविताहरूको एक सङ्ग्रह निकाल्नु छ । कति पो लाग्छ होला भन्दाभन्दै उनी ती सामग्री छोडी गए । भाउजू शोभा लामाले खोजी गरी जिम्मा दिनुभो यता तयारी हँदैछन् । यस्ता कति होलान् कति अपूरा असमर्थ अपूर्ण । जीवनभरि अनेक सङ्घर्ष गर्दा पनि प्रकाशन गर्न नसकेर नभ्याएर नजानेर पाण्डुलिपि छोडी जानेहरू, तिनका सन्तानले महत्व नबुझेर त्यसै नष्ट भएकाहरू, समाजले नचिनेर धमिराले खाएकाहरू कति छन् कति दिनदिन देखिरहन्छु । कति प्रकाशनमा गइरहेका पनि छन्।

सिर्जनाको इच्छा पनि मानिसका सारा अन्य इच्छा जस्तै हो । अन्य सारा आकांक्षा जस्तै हो । गाउँमा एउटा वृद्ध माता थिइन् हाम्री आफन्त । एक दिन उनले भनिन्– साँइला नाति मलाई एकपल्ट नेपालको दर्शन गरेर मर्न मन छ। तेरा बा सानैमा मरिगए । छोराछोरी हुुर्काउँदैमा मेरो जुनी बित्यो । मेरा बिहेको तामाको गाग्री लुकाएकी छु । त्यो बेचेर मलाई पुर्‍याएर ल्याइदे ।

म विश्वविद्यालयमा पढाउँथेँ । मैले भनेँ– आमै ठीक पर्नोस् म तपाईंलाई हवाइजहाजमै नेपाल पुर्‍याएर पशुपति दर्शन गराएर फर्काउँछु। तर आमै ९० नजिकै थिइन्, त्यो इच्छा अधुरै राखी दिवंगत भइन् । मृत्युको सम्मुख पनि यसरी झन् धेरै र असाध्य इच्छाहरू बाँकी नै रहने रहेछन् ।

२०५६ सालमा हाम्रा पिताजीको देहान्त हुने समयमा हामी सबै भेला भएर अन्तिम इच्छा सोध्यौँ– म सन्तुष्ट छु नानीहरू, म तृप्त छु, तर एउटा इच्छा थियो । मेरा छोराहरूले पनि मान्नुपर्ने ठूलाठूला विद्वानरू बसेको ठाउँमा बसाइँ लैजाउँला भन्ने थियो, सकिनँ ………… लेखकको इच्छा पनि त्यस्तै रहेछ । तर उसित केवल लेख्ने, सिर्जना गर्ने, त्यसको प्रकाशन गर्ने इच्छा मात्र हुन्छ । उसका अरू इच्छा मरिसकेका हुन्छन् । ऊ त केवल आत्मप्रकाशनको लागि संघर्ष गरिरहेको हुन्छ । एउटा इच्छाको बत्ति बलिरहेको हुन्छ । आफ्नै स्वतन्त्रताका सबै प्रकारका क्रूरताका लागि विरुद्ध लडिरहेको हुन्छ।

म पनि त्यस्तै इच्छाहरूको जङ्गलमा छु । युद्धरत छु । इच्छारहीत स्थितिमा को छ र ? म सधैँ सिर्जना गरिरहन्छु जस्तो लाग्छ । एकदिन सबैको अन्त्य अवश्यम्भावी छ भन्ने थाहा भए पनि ठान्दछु । मेरो त समय थुप्रै छ । तर कसलाई थाहा छ र ? त्यो मेरो भ्रान्ति हो र प्रार्थना गर्दछु– मलाई एउटा आर्शिवाद देऊ । प्रभु ! यस्तो भ्रान्तिले मलाई कहिल्यै नछोडोस् । कहिलेकाहीँ अधुरा इच्छा छोडी जाने स्रष्टाहरू सम्झन्छुु । धेरैका धेरै छापिन बाँकी थिए । धेरै सिर्जना पूरा हुन बाँकी थिए । यसपालि मात्रै ओरिएन्टलले तारिणीप्रसाद कोइरालाको फालिएको सामान छाप्यो । महाकविका कति कृति, कवि शिरोमणि लेखनाथ पौड्यालका कति अधूरा थिए । यस्तो सधैँ भएको छ, कावावाताको लेक पनि त्यस्तै छ । इतिहास पढ्दा आश्चर्य लाग्छ– लोर्काका कविता, ज्याक लण्डनका गद्यकृति, मार्लोका नाटक अझ नेपालीमा भनौँ– आदिकविले आफ्नो कृति देख्न पाएनन् । साहित्य, संगीत, दर्शन विज्ञान कुनै क्षेत्रमा यस्ता अधूरा कर्म कति हो कति छन् । कहीँ पुगेको समयमा झ्याप्प बत्ती निभ्ने भएकाले स्रष्टाको यात्रा कहाँसम्म पुगेको थियो कसले भन्न सक्छ र ? तर धन्य छ, बाँचेकाहरूले त्यो बत्ती जलाएर दिवंगत इच्छा पूरा गरिदिएका छन् । नत्र विश्वसाहित्य भण्डार यत्रो हुने थिएन।

अघि त सजिलो थियो भनौँ । काराबासमा लेखेर छोडेको सेतोबाघको पाण्डुलिपि ‘साथै लानोस्’ भनी जेलरले अह्राएपछि डायमन्ड शमशेरले लिई निस्केका थिए । सिर्जना पनि भौतिक र मूर्तरूपमा हुन्थ्यो । कैयौं वर्ष नछापिए पनि सुरक्षित रहेसम्म फेरि छापिने दिन आउँथ्यो । तर आज कम्प्युटरको प्रयोगले गर्दा स्रष्टाका मनको प्रतिलिपि जस्तो भएर चिप्सले लुकाइदिन्छ । कतिपय त्यो उघार्ने साँचो पनि स्रष्टासँगै हुन्छ । उसको वास्तविक मस्तिष्क निश्चल भएपछि कति ता त्यो परोक्ष मन पनि टालिन्छ । कहिले म पनि भित्रभित्रै डराउँछु । तर त्यो डर कसैसँग शेयर गर्दिनँ । मेरो भर्चुअल मनमा दश हजार पृष्ठ जति सामग्री प्रकाशित हुन बाँकी छ । कम्तिमा २० वटा पुस्तक कम्प्युटर होलान् । मैले आफ्नो मेमोरिबाट त्यता सारिसकेँ। कति लेख्यौ ? कसैले सोध्दैन, कति बाँकी छ ? कसैले सोध्दैन । कुनकुन पाण्डुलिपि प्रकाशित हुने तयारीमा बाँकी कति छन्, कसैले सोध्दैन । प्रकाशक कोको छन्, कसैले प्रश्न गर्दैन । कुन अवस्थामा कहाँ छन् कसैले प्रश्न गर्दैन । सधैँ सँगै रहने अञ्जनाले, सेवा, रिचाले, भाइ, दाजुले, मेरा प्रेमी विद्यार्थीहरुले, पाठकले कसैले । यो स्वाभाविक रहेछ । मैले पनि नसोध्दो रहेँछु। कसैलाई परिवारजनलाई, आफन्तलाई, निकटकालाई, स्वजनलाई किनभने सधैँ यस्तै हो हिजो जस्तै आज र आज जस्तै भोलि पर्सि सधैँ– यस्तै भ्रान्तिले हामीलाई आँखा छोपेर कुधाइरहेको छ ।

मैले तिनको सम्पादन निर्माण र प्रकाशन पिट्ट लाग्नु पर्ने होइन ? फेरि प्रत्येक दिन, प्रत्येक हप्ता, प्रत्येक महिना मलाई नयाँले छोप्तै छ । झन् नयाँले झन् नयाँले। म खोरिया फाँड्दैछु । नयाँ बाली छर्दैछु । अघि छरेका मास, भट्मास, केराउ, मस्याङ पाकेर खेतैमा कोसा फुट्न थालेका पनि देख्दैछु । पुरानो थन्क्याउन थाती राखेर नयाँ रोप्नेतिर म निकै एकोहोरिए छु । आउनुहोस् मेरा साथीभाइ खेतालाहरू एकपल्ट मेरो बाली उठाउन सघाइदिनोस् । मैले भ्रमण गरेका अनेक देशका यात्रा, आफ्नै देशका यात्रा अन्य रचना सबै इलेक्ट्रोनिक हृदयभित्रै छन् । म तिनलाई पुस्तकाकारमा, बजारमा पुर्‍याउन चाहन्छु।

सिर्जनाको चिन्ताले यति लहर चलेको हो । सिर्जनाले अमरत्व प्राप्त हुन्छ हुँदैन भन्न सकिँदैन । तर वेदव्यास, कालीदास, शेक्सपियर, मिल्टन, गेटेको नाम सधैँ लिएको सुन्दा मनमा लाग्छ, सिर्जनाले मलाई पनि एउटा ससानो भए पनि स्पेस दिन्छ कि ? म त्यही स्पेसमा कहिलेकाहीँ, कसैका आँखामा बाँचिरहेझैँ देखिन सक्छु कि , तर सिर्जनाको निमित्त आवश्यक पर्ने निष्ठा त्याग र समयको कमी छ । यसको मार्गमा अल्झाउने र विझाउने तत्वहरू लहरै उभिएका छन् । तिनलाई त्यागेर नाघेर दौडिन कति मुश्किल छ । समय कम्ती छ । कर्म अनन्त छन् । आर्ट इज लङ, लाइफ शर्ट।

वीपी कोइरालाको आत्मवृत्तान्त पढेपछि म एउटा निष्कर्षमा पुगेको छु– एउटा राजनेता देशको लागि मर्ने रहेछ । तर साहित्यकार केवल आफ्नै लागि । राजनेता अरूको स्वतन्त्रताको लागि लड्छ, साहित्यकार आफ्नै स्वतन्त्रताको लागि । एउटा वाह्य जगत्मा समर्पित हुन्छ, अर्को अन्तरजगत्को आर्तनादलाई छाम्दै हिँडेको हुन्छ । एउटा भीडको उपासनामा हुन्छ अर्को एकान्तको निस्तब्धताको, मौनताको, शान्तिको । मलाई पनि आज त्यस्तै केही भएकाले यति मनको कोलाहल बिसाएको मात्र हुँ ।

तपाइँको प्रतिक्रिया

फेसबुक