शुक्रबार, साउन १५, २०७८

अबको प्रधानमन्त्री को ?

 महेन्द्र पौडेल२०७७ चैत १५ गते १५:२९

राजाको निरकुंश कदमविरुद्ध गिरिजाप्रसाद कोइरालाले संसद पुर्नस्थापनाको माग राख्दै आन्दोलन गरे । त्यो आन्दोलनले राजालाई कुनै असर गरेको थिएन । संसद पुर्नस्थापना हुन्छ वा हुँदैन मान्छेमा एक किसिमको अन्योलता थियो । उनले दरबारतिर औंला ठड्याउँदै भने–‘दरबार हत्याकाण्ड ग्राण्ड डिजाइन हो ।’ त्यो कसको ग्राण्ड डिजाइन थियो भन्ने कुरा गिरिजाबाबुले कहिल्यै खुलाएनन् । तर राजालाई उनले बारबार धम्क्याउँदै दरबार हत्याकाण्डको ग्राण्ड डिजाइन बारे बोलिरहे । गिरिजा बाबुले राजालाई यसो समेत भने– ‘हामी त लडे जनताको बिचमा जाउँला । तर राजा लडे कहाँ जाने’ ?

प्रत्येक सभा सम्मेलनहरुमा राजा ज्ञानेन्द्रप्रति इशारा गर्दै ‘तिम्रा तीन पुस्तासँग खेलेको छु’ भनेर बारम्बार गिरिजा बाबुले राजालाई सम्झाए । कहिले बेबी किंग त कहिले राजा फालेपनि संस्था राख्नेजस्ता कुराहरु गरिरहे । तर राजाले गिरिजा बाबुका कुरालाई ध्यानै दिएनन् ।

एकदिन पशुपति भक्त महर्जनले फोन गरेर गिरिजा बाबुलाई राजाबाट बोलाइबक्सेको कुरा भनियो । त्यसदिन नेपाली काँग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवासमेतलाई बोलाइएको रहेछ । गिरिजा बाबुलाई थाहै नदिई शेरबहादुर देउवा समेतलाई बोलाइएपछि गिरिजा बाबुले औंला ठड्याउँदै राजालाई भने–‘ मेरो अपमान गर्न बोलाइएको’ भनेर ।

त्यसयता गिरिजा बाबुको दिमागमा बेबी किङ्गको अवधारणापनि हट्यो । गिरिजा बाबु बाध्य भएर गणतन्त्रको लाइनमा पुगे । राजा फाल्ने अभियानमा पुगे । उनले लाइन परिवर्तन गरे । एकदिन भाषण गर्दै गिरिजा बाबुले भने–‘ग्रिन सिग्नल मिलेको छ ।’ पत्रकारदेखि राजनीतिमा ‘ग्रिन सिग्नल’ कोबाट मिल्यो भन्ने विषयमा खुबै चर्चा चल्यो ।

असोज महिना थियो । पुराना पत्रकारहरुलाई यसबारेमा पक्कै थाहा होला । अमुक दुताबासबाट ग्रिन सिग्नल मिलेको गाइँगुइँ सुनियो । त्यसको केहि दिनपछि मंसीरतिर १२ बुँदे सम्झौताको ड्राफ्ट तयार भयो र माघबाट घनघोर आन्दोलन गर्ने सहमती भयो । ०६२, ०६३ को आन्दोलनको सुरुवात भयो भनौं ।

काठमाडौंमा आन्दोलनको आधिबेहरी ल्याउने भनेर माओवादीले आफ्ना ३६ जना एसटिएफ कमाण्डरहरु खटाए । आन्दोलन सफल भयो । तत्कालिन भारतीय प्रधानमन्त्रीका दुतले पत्र ल्याए । तर त्यो पत्रलाई मानिएन र फेरि अर्को पत्र तयार गरियो । अर्कोपक्षबाट त्यहि पत्रबाट नै आन्दोलनको विर्सजन भयो ।

अर्कोपक्ष भन्नेबित्तिकै त्यो कुन थियो भन्ने मुख्य प्रश्न हो । यतिसम्म सबैलाई थाहा छ । किनभने भारत गिरिजा बाबुसँग रिसाएको थियो । शैलजालाई राजदुतमा एग्रिमो नदिएर गिरिजाबाबुलाई भारतले चिढाइसकेको थियो । त्यसैले गिरिजा बाबुले भारतीय लाइन छाड्नैपर्ने थियो र अमुक लाइनमा आउनैपर्नेथियो जुन लाइनमा प्रचण्ड,बाबुराम र माधवहरु थिए । नेपाली राजनीतिमा यति बुझेपछि अहिलेको राजनीति बुझ्न र आँकलन गर्न सजिलो हुन्छ ।

त्यसयता सबैलाई थाहै छ । नेपालमा धर्मनिरपेक्ष, संघियता र गणतन्त्र अर्थात नेपालको धार्मिक र साँस्कृतिक देखि हरेक क्षेत्रमा प्रहार हुँदै गए । संघियता र गणतन्त्र मुल मानेर समेटिएको संविधानसमेत अपुरो र अधुरो छ भन्ने छ । यहाँसम्म केपी ओलीको सरकारसम्म आइपुग्दा राजनीतिमा अलिकति चाख लिनेले बुझ्ने कुरा के हो भने नेपालमा कसको इशारामा राजनीति हुने रहेछ भन्नु बुझ्न अब टाढा जानु पर्दैन । बाबुराम भटृराई, प्रचण्ड र अमरेश कुमारका अन्र्तवार्ता हेरे पुग्छ ।

मान्छेहरुलाई लाग्ला अब के होला? प्रष्ट छ । हामीकहाँ दुइटा लाइन स्पष्ट देखिएको छ । चाइना र भारतको एउटा लाइन जसलाई डर यो छ कि नेपालमा अब अमेरिका छिर्यो । चाइनाको पनि खासगरी लालसेनाको लाइन हो । भारतको खासगरी रअको लाइन हो । भारतमा पनि मोदीको चाइनिज लाइन छ भने राजनाथको अमेरिकी लाइन छ । भनिन्छ, भारतमा अबको प्रधानमन्त्री राजनाथ हुन सक्छन् । नेपालमा केही नेताहरु राजनाथ लाइनका छन् । अब नेपालको मामिलामा अमेरिकलाई कसैले रोक्न सक्दैन । अमेरिकी दुतावासले नेपालको मामिलामा हस्तक्षेप वा केही गर्न सक्दैन । तर साउथ एसिया हेर्ने अमेरिकी दुतावास भारतबाट हेरिन्छ । त्यसैले अमेरिकाको हस्तक्षेप सिधै नेपालमा पर्दछ ।

अबको प्रधानमन्त्री को भन्ने सारै कौतुहल होला । यति माथी लेखिसकेपछि पक्कैपनि राजनीति बुझ्नेलाई थाहै होला, अबको प्रधानमन्त्री को हुन्छ भन्ने बारेमा ।
मान्छेलाई लागेको हुनुपर्दछ, प्रचण्डले किन अविस्वास प्रस्ताव दर्ता गरेनन् वा समर्थन फिर्ता लिएनन् सरकारसँग ? किनभने माधबहरुलाई केपीले कारवाही गर्लान भन्ने पर्खाइमा उनी रहे । कारवाही नहुँदै समर्थन फिर्ता लिँदा फेरि राजपासँग मिलेर केपीले सरकार बनाउनसक्ने देखिन्छ । त्यसैले गतहप्ता माधवसँग प्रचण्डको भेटवार्तापछि के देखियो भने समर्थन फिर्ता लिने । यसो गरियो भने माधबलाई कारवाही पनि गर्लान् । सरकारपनि ढल्ला । त्यसो भो भने ठूलो दलका हिसावले कांग्रेससँग मिलेर सरकार बन्ला । नत्रभने सांसदहरु माधबतिर आएनन् भने ठूलो दलका हिसाबले फेरि केपी कै सरकार बन्नेछ । यस्तो हुँदा कुनै आपत्ती नहुने माधबहरुले जोखिम मोल्न तयार हुने भए । प्रचण्डहरु माधब नेपाललाई कारवाही गर्लान् र २० प्रतिशत पार्टीमा दिने खेलमा रहे । माधबहरु बराबर अध्यक्षको हैसियतमा एमाओवादीमा जान चाहे जुनकुरा एमाओवादीका कार्यकर्ताले चाहेका छैनन ।

अब प्रश्न महन्थ ठाकुरकोमा गएर अड्केको छ । कांग्रेसले ठाकुरलाई प्रधानमन्त्री मान्दैन । त्यसैले ठाकुरहरुले ओलीलाई साथ दिन्छन् । बाबुराम भट्टराई कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार बनाउने सम्भावना छ । अमेरिकालाई एमसीसी चाहिएको छ । नेपाललाई लिपुलेक चाहिएको छ । लिपुलेक निशर्त आउनेछ र त्यहाँ भारतीय सैन्य हट्नेछ । कुनैबेला माधब नेपाललाई र भीम रावललाई सीआइएको एजेन्ट भन्नेहरु मध्यको योगेश भटृराई र घनश्याम भुषालले यो खेललाई बुझेपछि ओलीतिर फर्केका छन् । त्यो शक्तिशाली सरकार बन्नेछ । यो खेललाई ओलीले नबुझेका भने छैनन् । उनले यो खेललाई कसरी निस्तेज पार्लान हेर्न बाँकी छ ।

प्रधानन्यायधिसले नेकपाको बहुमतको सरकार भनेको विषयलाई दुइ जना सर्वोच्चको न्यायधिसले ओभरल्याप गरेको विषयले पनि पार्टीभित्र चर्चा छ । त्यसकारण रमण श्रेष्ठको नेतृत्वमा पुनरावलोकनमा जानेछ एमाओवादी । संक्षेपमा यति लेखिसकेपछि अबको प्रधानमन्त्री को हुनेछ भन्नेकुरा बुझ्न टाढा जानु पर्दैन ?

तपाइँको प्रतिक्रिया

फेसबुक