बुधबार, वैशाख २६, २०८१

पार्टीको दैलो चाहर्ने पत्रकारको हैशियत टोले कार्यकर्ताको जस्तै

नेपालप्लस संवाददाता / काठमाडौं२०७७ चैत १६ गते १०:३४

अहिले काठमाडौं उपत्यकामा दुई कुराको सर्वाधिक चर्चा छ— पहिलो, मेलम्चीको पानी । दोस्रो पत्रकार महासंघको आसन्न चुनाव ।

झण्डै ३० वर्षअघि तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले योजनामा अघि सारेको मेलम्ची खोलाको पानी काठमाडौं ल्याइछाड्ने योजना अहिले आएर सम्पन्न भएको छ । त्यही पनि आंशिक रुपमा । यसकारण सपना र योजनाको मात्रै त्यति अर्थ नहुँदो रहेछ । नेपाली राजनीति र प्रशासन संयन्त्रका सामु मेलम्ची पानीको वहाव पनि निकम्मा हुँदो रहेछ भन्ने देखियो ।

अहिले फेरि सुरु भएको छ— पत्रकार महासंघको चुनाव । देश–दुनियाँ हाँक्ने र राज्य संयन्त्र, पद्धती सबैलाई ‘कपुरी क’ बनाउन सक्ने पत्रकारहरुको ‘कठैबरा’ हविगत यतिखेर देखिएको छ । कांग्रेस, एमाले, माओवादीका आ–आफ्ना कोटामा छानिएर वा पारिएर पनि आफूलाई स्वतन्त्र र व्यवसायीक कलमजीवि भन्न नछाड्ने बबुरा पत्रकारगणहरु कहिले देउवा दाइको ढोका पुगेका भेटिन्छन्, त कहिले केपी र माकुनेका आसपासमा दर्शनभेटका लागि गैरहेका हुन्छन् ।

नेताहरु प्रचण्डदेखि कमल थापासम्मको घेराबन्दी आआफ्नै छँदैछ, एमालेमा पनि अहिलेको राजनीतिमा जस्तै ओली र नेपाल गुटका पत्रकारहरु आआफ्नो ट्याग बोकेर कुदिरहेका छन् ।

चैत २५ मा हुने महासंघको केन्द्रिय निर्वाचनमा भन्नका लागि ‘दलका कार्यकर्तालाई होइन, पत्रकारलाई भोट हालौं’ भन्ने नारा लगाएपनि अधिकांस राजनीतिक कार्यकर्ताहरु पत्रकार चुनावको मैदानमा उत्रिएका छन् । के अब आम जनसाधारणले सूर्य थापा (प्रधानमन्त्री ओलीका खाँट्टी प्रेस सल्लाहकार) वा मुमाराम खनाल(पुर्व साझा पार्टी) लाई व्यवसायिक पत्रकार मान्ने ? चिरन्जीवि खनाल (पत्रकार बिभागीय प्रमुख, रत्नराज्य क्याम्पस)लाई पत्रकार उम्मेद्धार मान्ने वा शम्भु थापा(एमाले खरो कार्यकर्ता एवं दृष्टि साप्ताहिक सम्पादक)लाई पत्रकारै मानेर बस्ने ? ‘कुखुरा पहिला कि अन्डा’को यो डिबेटमा पत्रकारगण पनि पर्न गएका छन् जहाँ पहिला पत्रकार बन्ने कि व्यवसायिक देखिने भन्ने प्रश्नले गाजेको देखिन्छ ।

पत्रकार पनि कोही दलित कोटामा छन्, कोही मधेशी । कतै अपाङ्गताको कोटा छ भने खुल्ला र समावेशी तथा आदिवासी–जनजातीको बर्ग आ–आफ्नै छ । महासंघको निर्वाचनमा ५२ पदका लागि झण्डै दुई सय जनाको उम्मेदवारी परेको छ जसमा राजनीतिक ट्यागवालको हालीमुहाली छ । अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा चार, महिला उपाध्यक्षमा २, समावेशी उपाध्यक्षमा २, महासचिवमा ४, खुला सचिवमा ६, महिला सचिवमा २, आदिवासी जनजाति सचिवमा ३ जनाको उम्मेदवारी परेको छ। सचिव (मधेसी) मा ४, सचिव (दलित) मा ३, सचिव (एसोसिएट)मा ६ र कोषाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा प्रेस युनियन र प्रेस सेन्टरको गठनबन्धनबाट युनियनका विपुल पोखरेलको उम्मेदवारी परेको छ। अध्यक्षमा युनियनकै रामप्रसाद दाहालले पनि उम्मेदवारी दिएका छन् । गजेन्द्र बुढाथोकी र दीपक पाठकले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । कांग्रेस आबद्ध प्रेस युनियन, माओवादी आबद्ध प्रेस सेन्टर र एमालेको माधव नेपाल पक्षीय प्रेस चौतारीसहितको गठबन्धन बनेको छ । तर अधिकांश पदमा बागी उम्मेदवारीसमेत परेको छ ।

प्रेस चौतारी निर्मला शर्माको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ । प्रेस चौतारीको नेतृत्वमा प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी गठबन्धन बनेको छ । यीमध्ये राजनीतिक ट्याग नलागेका र व्यवसायिक तवरमा आफ्नै बलबुतामा काम गर्दै आएका एकजना बुढाथोकी मात्रै सही उम्मेद्धार देखिएका छन् । अहिले गजेन्द्र बुढाथोकी मात्र यस्ता उम्मेद्वार हुन जसमा कुनै पनि राजनीतिक पार्टीको ट्याग लागेको छैन र उनी ब्यवशायिक पत्रकारहरुका एक मात्र उम्मेद्वार देखिन्छन् । विभिन्न क्षेत्रका ब्यवशायिक ब्यक्तिहरुले बुढाथोकीको उम्मेद्बारी सह्राएका छन पनि । किनभने गजेन्द्र बुढाथोकीलाई कुनै पनि राजनीतिक दलको टिको परेको छैन । नत्र अन्य ब्यक्तिहरु दलको कार्यकर्ताका रुपमा पार्टीले उठाएका उम्मेद्वार हुन ।

पत्रकारहरुको नेतृत्व गर्न चाहनेहरुले राजनीतिक नेताहरुको दैलो चाहर्ने मानशिकताका विरुद्धमा कतिपय पुराना पत्रकारले समेत बोलेका छन । पत्रकार लेनिन बन्जाडेको दलिय उम्मेद्वार र तिनलाई काँधमा राख्ने पत्रकारहरुलाई यस्तो सन्देश छ- पत्रकार उम्मेदवारज्यूहरू ! तपाईं जतिसुकै सन्त, व्यावसायिक, इमानदार वा कर्तव्यनिष्ठ हुनुहोस्–– पार्टीले टिकट दिएर उठायो भने तपाईंको हैसियत टोले कार्यकर्ताभन्दा माथिको होइन ! तपाईंजत्तिको पाखण्डी कोही छैन । पाखण्डीहरूले परिवर्तन ल्याउन सक्दैनन् । उनीहरूको काम भाँड्ने मात्रै हो ! राजनीतिक टिका लगाउने त छँदै छ, बिशुद्ध व्यवसायिक भनिएको कान्तिपुर मिडिया ग्रुपबाटै २ दर्जनभन्दा बढी राजनीतिक वा पार्टीगत भरथेग पाएका पत्रकारहरु चुनावी मैदानमा भिडेका छन् । राजेश मिश्र, नारायण किलम्बू, शाहीमान राई, स्वेता सिन्हा, मधुश शाही, अवधेशकुमार झा, पवन आचार्य, कलेन्द्र सेजुवालसहितका पत्रकार प्रतिनिधि कान्तिपुर प्रकाशन गृहको ट्यागमा चुनावी मैदानमा छन् ।

तपाइँको प्रतिक्रिया