मंगलबार, चैत ६, २०८०

ब्रेकिङ न्युज : आइएलओले एनआरएनलाई दिएको रकममा किर्ते बिल प्रस्तुत, छली र अनियमितता (छानबिन समितिको गोप्य रिपोर्ट र बिलको प्रमाणसहित)

नेपालप्लस विशेष संवाददाता / युरोप२०७७ चैत १६ गते १९:५४

आइएलओले कोरोना भाईरस प्रभावित मजदूर, श्रमिकहरुकोलागि राहत तथा  उद्दारकालगि गैर आवाशिय नेपाली संघ (एनआरएनए) मार्फत दिएको आर्थिक सहयोगमा ब्यापक भ्रस्टाचार भएको प्रमाणित भएको छ ।

उक्त रकममाथि ब्यापक अनियमितता भएको भन्ने आरोप लागेपछि एनआरएनए केन्द्रिय समितिको पहलमा संयुक्त अरब इमिरेट्स (युएई) मा सन् १९ फेब्रुअरी २०२१ छानबिन समिति गठन गरिएको थियो । एनआरएनए युएईका आइसिसि सदस्य राजु केसीको संयोजकत्वमा गठित समितिको गोप्य रिपोर्टमै उक्त आर्थिक कोषको रकम ब्यापक भ्रस्टाचार भएको उल्लेख छ । विशेष स्रोत मार्फत नेपालप्लसलाई प्राप्त उक्त गोप्य रिपोर्टका अनुसार ६२ हजार सात सय यएई दिहराम (ने.रु. २० लाख ६ हजार चार सय) अनियमितता भएको छ ।

छानबिन समितिले एनआरएनए केन्द्रिय समितिका सिमित पदाधिकारीलाई मात्रै उपलब्ध गराएको उक्त रिपोर्टको बुँदा नं २ का अनुसार ल्यापटप, प्रिन्टर आदि सामाग्री खरिदमा पाँच हजार दिहराम, पिडितहरुको लागि राखिएको सेल्टर र खानामा १० हजार पाँच सय दिहराम, समस्यामा परेको नेपालीहरुलाई वितरण गरेको खानाको प्याकेटमा २५ हजार दिहराम भ्रस्टाचार गरिएको छ । त्यस्तै, यातायातमा एक हजार नौ सय ५२ दिहराम अनियमितता गरिएको छ । त्यसैगरि टिकटमा एक हजार पाँच सय २०, पाँच हजार दुई सय ५० र एक हजार सात सय ६० गरि कूल आठ हजार पाँच सय ३० दिहराम भ्रस्टाचार गरिएको छ । रिपोर्टमा पिसिआर टेस्टमा एक हजार आठ सय ७४ दिहराम, टेलिफोनमा आठ सय ४४ दिहराम र विनिमय दरमा नौ हजार दिहराम भ्रस्टाचार गरिएको छ ।

राहत तथा उद्दारको लागि आइसिसि मार्फत चार चरणमा युएई दिहराम २१६५९१.७९ (करिब ७० लाख नेपाली रुपैयाँ) आएको उपलब्ध भएको थियो । युएईको एनसिसिले उक्त परियोजनाको शुरुवात सन् २०२० सेप्टेम्बर पहिलो हप्ताबाट शुरु गरेको थियो ।

छानविनको विधि तथा प्रक्रिया

आइएलओको अनुदानमा एनआरएन आइसिसि मार्फत एनआरएन एनसिसि युएईले गरेको आर्थिक कारोबारको पारदर्शिता र क्रियाकलापको बारेमा छानविन गर्न गठित समितिले छानविनको लागि उक्त कार्यमा संलग्न एनआरएन एनसिसिका पदाधिकारीहरु, तलबी स्वयंसेवकहरु, अन्य बेतलबी स्वयंसेवकहरु, आर्थिक कारोबारमा संलग्न व्यवसायी, संभव भएसम्म राहत उद्दारमा रहेका पिडित नेपालीहरुसँग छलफल, सोधपुछ र अध्ययन गरेको थियो । त्यो प्रक्रिया भौतिक रुपमा उपस्थित भएर वा विभिन्न सामाजिक सञ्जाल वा भर्चुअल मिडिया फोन सम्पर्क मार्फत रहेको थियो । साथै आइसिसि र एनसिसिबाट प्राप्त भुक्तानिहरुको विल, आर्थिक अभिलेखहरुको अध्ययन र उक्त अभिलेखमा आर्कषण भएका व्यक्तिहरुसँग पनि समितिले सोधपुछ गरेको थियो ।

एनसिसि युएईले सञ्चालन गरेको परियोजनाको विषयमा अध्यक्ष प्रकाश कोइरालासँग सोधपुछ गर्दा उनले आइसिसिको निर्देशनमा कार्य गरेको, लो प्रोफाइलमा रहनुपर्ने बाध्यताले गर्दा कार्यसमितिलाई जानकारी नगराएको, हिसाव किताब पारदर्शी रहेको बताए । साथै कोइरालाले तलबी स्वयंसेवकको लागि  आइसिसि संयोजक प्रविन पोखरेललाई तोकेका थिए जसको तलब प्रतिमहिना ९०० डलर रहेको थियो । अन्य ४ जना स्वयंसेवक सिफारिस गरेको बताएका थिए ।

भिजिट भिसामा आएकापनि पेड स्वयंसेवक

स्यंसेवकहरु मध्येपनि समिक्षा तिवारीलाई प्रकाश कोइरालाले सिफारिस गरेका हुन् । उनी कोइरालाकै भतिजी हुन् । भिजिट भिषामा रहेको ब्यतिले काम गर्न पाइन्न । तर उनलाई प्रकाश कोइरालाले ६०० डलर प्रतिमहिना परियोजनाको रकमबाट दिएका छन् । मोहन राई भने पासाङ शेर्पाको सिफारिसमा आएका हुन् जो कामदार भिषामै छन् । ६०० डलर प्रतिमहिना लिने मोहन राई पासाङ शेर्पाको नातेदार हुन् ।

त्यस्तै, अर्की सुसान आचार्य पिएनसिसिका मेघराज सापकोटाको सिफारिसमा नियुक्त भएकि हुन् । कामदार भिषामा रहेर ६०० डलर प्रतिमहिना लिने आचार्य पत्रकारपनि हुन ।

मासिक ६०० डलर लिने सुर्दशन खड्का भने प्रविण पोखरेलको सिफारिसमा नियुक्त भएका हुन् । उनी भिजिट भिषामा रहेका हुन् । भिजिट भिसामा रहेकाले उनलेपनि काम गर्न पाउँदैनन् । सुर्दशन खड्का प्रविण पोखरेलका नजिकका मित्र हुन् ।

परियोजनाका संयोजक प्रविण पोखरेलले आइसिसिले नियुक्त गरिएको कर्मचारी रहेको आइसिसि र एनसिसि युएईका अध्यक्षको निर्देशनमा परियोजनाका कार्य गरेको, आर्थिक क्रियाकलाप वा खरिद विक्रिमा आफू संलग्न नभएको बताए। आफू टिम लिडर भए पनि स्वयंसेवकहरुले सिधै अध्यक्षसँग समन्वय गर्ने गरेको आफूले गरेको कार्यको सिधै आइसिसिमा सम्पर्क गर्ने गरेको बताए । परियोजना  शुरुगर्नु पूर्व भएको सहमती अनुसार अध्यक्ष प्रकाश कोइरालाले कार्य नगरेको, आफ्नै ढंगले कार्य गर्नाले समस्या भएको बताए । अध्यक्षको कार्यबाट आफू खुशी नभएको उल्लेख गरे ।

दूतावासपनि संलग्न ?

छानविन समितिले कार्यवाहक अध्यक्ष निरन्जन सिलवाल, महासचिव निश्चल दाहाल र कोषाध्यक्ष विकाश शाहीलाई संयुक्त रुपमा भेटेर सोधपुछ गरेको थियो जसमा उनीहरुले परियोजनाको विषयमा कार्यसमिति जानकार नरहेको र बाहिर कुराहरु आएपछि मात्र कार्यसमितिले सो विषयमा खोजी शुरु गरेको , अध्यक्ष र उपाध्यक्षले कार्यसमितिलाई जानकारी नदिइ कार्य गरेर गलत गरेको बताए । वयानका क्रममा अध्यक्ष प्रकाश कोइरालाले ‘परियोजनाको विषयमा कार्यसमितिमा छलफल भएको उक्त समयमा कार्यसमितिले नेपाली राजदुतावासका महामहिम कृष्ण ढकालको संरक्षकत्वमा सहयोग रकम ल्याउनको लागि एउटा टिम पनि बनाइएको थियो।

यसरि गरियो भ्रस्टाचार (समितिको विश्लेषण)

परियोजना शुरुवातको लागि अवश्यक ल्यापटप, प्रिन्टर, माउस, आदि सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको देखिन आएको छ । उक्त सामाग्रीहरु खरिद गर्दा सामाग्री खरिदको भुक्तानीको विलमा रहेको नाम Pokhara Hard & electric
Ware Tr. llc (http://www.pokharauae.com) ले सम्बन्धित समाग्रीहरु (ल्यापटप, प्रिन्टर, माउस) आदि विक्री वितरण नगर्ने, मात्र निर्माण सम्बन्धि सामाग्रीहरु विक्रि वितरण गर्ने आधिकारिक कम्पनी भएको हुदाँ उक्त विक्रेताको विल अबैध देखिन आउँछ । सामाग्री खरिद गर्नको लागि लिइएको कोटेसन (दर) को अध्ययन गर्दा युएईमा रहेका विक्रेताहरु  Carrefour र EMax बाट Quotation  लिएको देखिन्छ । जसमा दुइ ओटै विक्रेताहरुको भाषाशैली एकै देखिन आएको छ । जसबाट Quotation किर्ते भएको बुझ्न सकिन्छ ।

छानविन समितिले सामाग्रीहरु खरिदको लागि उक्त समयको बजार भाऊको  Quotation हरु लिएर अध्ययन गर्दा र उक्त सामाग्रीहरु तत्कालिन समयमा करिब १० हजार युएई दिहराम सम्ममा रहेको देखिन आएको र खरिद प्रक्रियामा करिब ५००० युएई दिहराम अनिमितता हुन आएको देखिन्छ । र नक्कली विल तथा नक्कली Quotation पेश गरेको देखिन आउँछ ।

छानविन समितिले उक्त सामाग्रीहरु हेर्न खोज्दा अध्यक्ष, उपाध्यक्ष र स्वंयसेवक संयोजक लगायतले ल्यापटप यता उता भन्दै एकले अर्कोसँग भएको भन्ने वयान दिएको र अन्तमा स्वंयसेवक संयोजक प्रविण पोखरेलले २ वटा मात्र ल्यापटप देखाएका थिए जसमा ल्यापटपको वास्तविक बिवरण हेर्नकालागि ल्यापटप खोल्न  दिएनन् । व्यक्तिगत रुपमा पनि ल्यापटप प्रयोग भएको भन्दै पोखरेलले कम्प्युटरमा भएका परियोजना सम्बन्धि फाइलहरु हेर्न अनुमती दिएनन् । आफूले ल्यापटपको फाइल हेर्न नदिएको विषयमा जहाँ जसरी लेखे पनि आफूले भोग्ने भन्दै छानविन समितिलाई धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।

परियोजना अन्तर्गत समस्यामा परेका नेपालीहरुको लागि आश्रय (सेल्टर) र खाना समस्यामा परेका नेपालीहरु दुर्गा ठकुरी र रचना सुर्खेती सँगको कुराकानी अनुसार उनीहरु २८ नोभेम्बर २०२० मा सेल्टरमा बस्न गएका थिए । र डिसेम्बर २४, २०२० मा कोठा छोडेको जानकारी दिएका थिए । तर समितिलाई आइसिसिबाट उपलब्ध भएको खर्च विल भर्पाइमा अक्टुबर, नोभेम्बर र डिसेम्बर गरी ३ महिना राखेको भनी विल रहेको विल भुक्तानी गरेको पाइएको छ । आश्रयको लागि मासिक २ ओटा कोठा लिएको भनिए पनि आश्रयको व्यवस्थापन गरेका उपाध्यक्ष पासाङ शेर्पाले कोठा धनी उक्तम भण्डारीसँगको मिलेमतोमा पिडितहरु र अन्य भाडामा वस्नेहरुलाई सगोलमा राखेको र अन्य व्यक्तिहरुसँग मासिक ५०० का दरले ५ जना सँग मासिक भाडा २५०० लिएका थिए । यसको अवधि ५ महिना रहेको थियो । समस्यामा परेर सेल्टरमा बसेका नेपालीहरुलाई खाना खाने रेष्टुरेण्ट उपाध्यक्ष पासाङ शेर्पाद्वारा सञ्चालित कंचनजंघा रेष्टुरेण्टमा भाँडा माझ्ने काममा लगाएर श्रम शोषण गरेको
छानबिन समितिको रोपोर्टमा उल्लेख छ ।

आइसिसिले उपलब्ध गराएको पिडितहरुको खानाको विलमा मासिक ४५० का दरले  भुक्तानी गरेको  छ । तर समितिले कंचनजंघा नजिकै रहेका नेपाली रेष्टुरेण्टहरु (कोशेली र काठमाणठौ प्यालेस) मा गएर लिएको Quotation मा मासिक ३०० रहेको हुँदा प्रति व्यक्ति मासिक १५० दिहराम अनियमितता भएको देखिन्छ । यसरी हेर्दा पिडितहरुलाई मासिक रुपमा खुवाएको खाना र कोठामा १०,५०० युएई दिहराम अनियमितता भएको थियो ।

नेपालीहरुलाई वितरण गरेको खाना प्याकेट आइसिसिबाट प्राप्त विलमा करिब ५० दिहरामका दरले करिब १२०० प्याकेट वितरण गरिएको छ । अध्यक्ष, उपाध्यक्ष र स्वयंसेवक मार्फत ७०० प्याकेट वितरण गरिएको र बाँकी रहेको करिब ५०० प्याकेट वितरण नभएको देखिन्छ । त्यसको रकम करिब २५ हजार युएई दिहराम अनियमितता भएको देखिन आउँछ । उक्त प्याकेटको विल भौचर युएईको कानुन अनुसार भ्याट विल नरहेकोले उक्त प्याकेटमा अनियमितता देखिन्छ । साथै भ्याट विल नभएकोले यति नै प्याकेट खरिद गरिएको यकिन हुन नसकेकोपनि छानबिन समितिले खुलाएको छ ।

युएईको कानुन अनुसार डिसेम्बर २०१८ पश्चातका खरिद विक्रिका विलहरु भ्याट विल लागु हुनुपर्ने र भ्याट नभएको विललाई युएईको बाणिज्य कानुन अनुसार बैध मानिंदैन । त्यसैले नक्कली विल प्रयोग भएको थियो ।

“शारजाहमा रहेको क्यालिकट फ्लोर मिलसँग मिलेर खानाका प्याकेटहरु तयार गरिएको थियो । सो फ्लोर मिलमा भ्रमण गर्दा विलमा उल्लेख गरिएका सम्पुर्ण खाद्यान्नहरु नपाइने पनि देखियो” रिपोर्टमा उल्लेख छ ।

समितिलाई आइसिसि मार्फत उपलब्ध विलहरु हेर्दा अध्यक्ष प्रकाश कोइरालाका अनुसार अक्टुबर २४ मा उनी घर विदामा नेपाल गएका थिए । नोभेम्बर १९ मा फिर्ता आएका थिए । सो समयमा अध्यक्ष कोइरालाको सवारी साधन (कार) संयोजक प्रविण पोखरेलले प्रयोग गरेको जानकारी गराएका थिए । तर आइसिसि मार्फत आएको विलमा नोभेम्बर २ मा प्रविण पोखरेलले फुजेरा जानको लागि आफैं कार्यरत कम्पनी लिमोजिन (ट्याक्सी) को विल प्रयोग गरेका छन् । (हेनुहोस, मिति २ नोभेम्बर २०२० को विल नं. १७७६११, रकम ४०० दिहराम ।)

टम कोर्डिनेटरको सवारी साधन भनेर लेखिएको विलमा ट्राफिक फाइन दिएको गाडी नं. अबुधावीको ८०८९६ रहेको र पेट्रोलको विलमा गाडी नं ७०९६० रहेको छ । यसरी हेर्दा फरक फरक गाडीहरुको नाममा टिम कोर्डिनेटरले विलहरु पेश गरेको देखिएको छ । यसलाई आइसिसि मार्फत दिइएको विलमा सँगै एकै ठाउँ राखेर प्रमाणित गरिएको छ ।

टिम कोर्डिनेटरको सवारी साधन भनेर लेखिएको विलमा ट्राफिक फाइन दिएको गाडी  नं. अबुधावीको ८०८९६ रहेको र पेट्रोलको विलमा गाडी नं. ७०९६० रहेको छ । यसरी हेर्दा फरक फरक गाडीहरुको नाममा टिम कोर्डिनेटरले विलहरु पेश गरेको देखिएको छ ।

यातायातको लागि प्रयोग गरिएको गाडी नं. ८६५६३ को शालिक (टोल) शुल्कमा रहेको विलमा पनि किर्ते गरेको देखिन्छ । जसको एउटै गाडीको विलको टाइटलमा २ ओटा व्यक्ति प्रकाश कोइराला र श्याम पाठक फरक फरक नाम रहेको छ । र इमेल पनि फरक रहेको पाइएको छ । शालिक(टोल) एकाउन्ट नं ३४१७३४०९ पनि एउटै रहेको छ । यसमा सेम्टेम्बरमा प्रकाश कोइरालाको नाममा र इमेल प्रकाश कोइराला छ । अक्टुबरमा प्रकाश कोइरालाको नाम र श्याम पाठकको इमेल आइडी रहेको छ । नोभेम्बरमा प्रकाश कोइरालाको नाम र श्याम पाठकको इमेल, डिसेम्बरमा नाम र इमेल श्याम पाठकको रहेको छ । जनवरीमा नाम र इमेल प्रकाश कोइरालाको रहेको छ । जसको जम्मा रकम १५५२ हुन आउँछ ।

नेपाल फर्कन पिडित टिकाराम बोहोराको लागि पिएनसिसिका सदस्य मेघराज सापकोटाले अध्यक्ष प्रकाश कोइराला नेपाल गएको बेलामा पिपल ट्राभल्समा टिकट बनाएर स्वयं मेघराज सापकोटाले विल भुक्तानी गरेका थिए । अध्यक्ष प्रकाश कोइराला युएई आएपछि टिकाराम बोहोराको टिकट रकम बराबरको रकम नमस्ते ट्राभल्समा दिनु भनि उक्त रकम बराबरको प्रकाश कोइरालाले नमस्ते ट्राभल्समा भुक्तानी गरेका थिए । त्यसपछि टिकाराम बोहाराको टिकटको रकम पिपल ट्राभल र नमस्ते ट्राभल दुइओटैबाट विलहरु पठाएर दोहोरो रकम लिईएको छ । जसमा पिपल ट्राभल्सको विल नं २०११०१२५३ मा जम्मा रकम १४५० युएई दिहराम रहेको छ । त्यसमा २८० युएई दिहराम टिकटको उडान परिवर्तन गर्नको लागि टिकाराम बोहोरालेनै भुक्तानी गरेको भएपनि उक्त २८० दिहरामपनि विलमा समावेश गरिएको छ । र नमस्ते ट्राभल्सको RV201221784 नं विलमा रहेको रकम १५२० युएई दिहराम पनि भुक्तानी दावि गरेर रकम लिईएको छ ।

घर फिर्तीको लागि बनाइएको टिकटको शिर्षकमा ३१ जना मध्ये आइसिसिले छानविन  समितिलाई पठाएको विलमा टिकट नभएका नामहरु सिता राई, यादव प्रसाद, गौतम  कमारा, सुरज क्षेत्री, गमबहादुर थापा, बाबुलाल सार्की र हिरालाल चौधरीको टिकट रहेको छैन । तर विल प्रति व्यक्ति ७५० का दरले ५२५० युएई दिहराम पेश गरी भुक्तानी गरिएको छ ।

सेल्टरमा रहेका नेपाल फिर्तीको लागि दुई जना पिडितहरु लाक्पा वाइवा र सत्य मान  मोक्तानले स्वयं उनीहरुले टिकट काट्नको लागि उपाध्यक्ष पासाङ शेर्पालाई रकम दिएका थिए । पासाङ शेर्पाले सस्तोमा टिकट काटिदिएका थिए । त्यसको रकम ३०० दिहराम रहेको भनी पासाङ शेर्पालाई भुक्तानी गरेको उक्त रकम पिडितहरुले नेपालबाट मगाएका थिए । उनीहरु दुबै जनाले  पिसिआर पनि स्वयंलेनै गरेको समितिलाई बताए ।

आइसिसिले भुक्तानी गरेको विलमा लाक्पा वाइवा र सत्यमान मोक्तानको टिकटको प्रतिव्यक्ति ७३० र पिसिआरको १५० गरि दुइजनाको १७६० युएई दिहराम दावी गरी भुक्तानी लिईएको छ । त्यसमा लाक्पा वाइवा र सत्य मान तामाङले प्रति व्यक्ति ३०० दिहराम टिकटको र १५० पिसिआरको गरि ९०० दिराम स्वयं पिडितहरुले भुक्तानी गरेको बताएका छन्।

आइएलओ परियोजनाको लागि छलफलमा दुतावास जाँदा गरिएको भनिएता पनि उक्त पिसिआर नेपाल एसोसिएसन र एनआरएन युएई विचको मेलमिलापको लागि छलफल गर्न  दुतावासमा गएको बेलाको रहेको थियो । विल भुक्तानी रकम ९७५ दिहराम रहेको छ । उक्त समयमा परियोजना शुरु पनि भएको थिएन ।

अध्यक्ष प्रकाश कोइराला र टिम लिडर प्रविण पोखरेल मिति २०२० अक्टुबर ८ मा समसायिक विषयमा छलफल गर्न नेपाली दुतावास जाँदा गरेको आरडिटी रिपोर्ट पनि आइसिसि मार्फत भुक्तानी गरिएको छ । त्यसको रकम १०० दिहराम रहेकोछ ।

सत्यमान मोक्तान र लाक्पा वाइवाले पिसिआरको रकम आफैंले दिएको बयान दिएका छन् जसको रकम १५० का दरले ३०० रहेको छ । धिरेन्द्र मिश्र र टिकाराम बोहोराको पिसिआरको शुल्क पिएनसिसिका मेघराजले भुक्तानी गरेको वयान दिएका छन् जसको पुन भुक्तानी आइसिसिले गरेको छ । रकम २४९ रहेको छ ।

अध्यक्ष प्रकाश कोइरालाले लिएको टेलिफोनको विलको भुक्तानीमा सेप्टेम्बर महिना र अक्टुबर महिनको विलमा current month charges हरुको अध्ययन गर्दा युएई दिहराम ८४४ को फरक वा बढी देखिन आएको छ । अध्यक्षको कोठामा रहेको इन्टरनेटको दावी गरेपनि आइसिसिले उक्त भुक्तानी गरेको गरेको देखिँदैन । उक्त फोन अध्यक्ष कोइराला कार्यरत कम्पनीको नाममा रहेको छ जसको विलको आधारभुत रकम कम्पनीले भुक्तानी गरेको हुन्छ ।

परियोजनाको लागि अध्यक्ष र उपाध्यक्षले रकम युएई ल्याउनको लागि गरेको विनिमय दरमा नेपालमा बुझेको नेपाली रुपैयाँलाई दिहराममा सटही गर्दा करिब ९००० दिहराम  नोक्सान भएको  छ । त्यसको विनिमयको तत्कालिन दर प्रमाणमा राखिएको छ । यस कुरा अध्यक्षले आफ्नो मासिक तलब, उपाध्यक्षको मासिक तलब र व्यवसायले युएईमा परियोजनामा खर्च गरेको, आइसिसिबाट पाउनुपर्ने रकम आफूहरुले नेपालमा प्रचलित विनिमय दरमा लिएको बताएका थिए ।

समितिको निश्कर्ष

छानबिन समितिले आफ्नो निष्कर्शमा भनेको छ “समितिले गरेको छानविनको प्रक्रियामा बयान, छलफल, अनुसन्धान, खोज र अध्ययन
पश्चात ६२,७०० युएई दिहराम आर्थिक अनियमितता भएको देखिन आउँछ । समग्रमा हेर्दा एनआरएन आइसिसिको  पहलमा आइएलओ मार्फत कोभिड प्रभावितहरुको लागि राहत तथा उद्दार शिर्षकमा एनआरएन एनसिसि युएई मार्फत भएको आर्थिक क्रियाकलापमा विलहरुको किर्ते, छली गरी अनियमितता गरेको भनि छानविन समितिको ठहर सहित यो प्रारम्भिक प्रतिवेदन पेश गरेका छौं ।”

भ्रस्टाचार गरिएको भन्दै समितिले बुझाएका बिलका केहि नमूना र समितिका केहि प्रमाण

एनआरएन, अनियमितता र प्रवाशका ताजा, लुकेका खबर तुरुन्तै थाहा पाउन हामीलाई फेसबुकट्वीटरमा फलो गर्नुहोस् !

तपाइँको प्रतिक्रिया

फेसबुक