मंगलबार, वैशाख ११, २०८१

प्रवाश बसेर पाँच दशक नेपाली साहित्यलाई योगदान

श्याम उपाध्याय२०७७ चैत १८ गते १३:४८

गहिरो शोक तथा दु:खका साथ हामी देशविदेशमा रहनुभएका आफन्त, इष्टमित्र, शुभेच्छुकहरू र नेपाली तथा रूसी साहित्य समाजलाई यो समाचार दिइरहेका छौं कि हाम्रा प्रात: स्मरणीय बुवा कृष्णप्रकाश श्रेष्ठको मास्कोस्थित एक अस्पतालमा उपचार गर्दागर्दै २९ मार्च २०२१ का दिन स्वर्गारोहण भयो । झण्डै एक महिना अघि उहाँमा कोरोना भाइरसको संक्रमण भएको थियो । त्यसपछि उहाँका अन्य स्वास्थ्य समस्याहरू निरन्तर बल्झिँदै गएका थिए ।

कृष्णप्रकाश श्रेष्ठको जन्म विक्रम सम्बत १९९५ साल मंसिरमा चुनिखेल, काठमाडौंमा भएको थियो । उहाँ सोभियत संघमा अध्ययन गर्न जाने पहिला नेपाली विद्यार्थीहरू मध्येका हुनुहुन्थ्यो । मास्को लोमोनोसोभ विश्वविद्यालयबाट सन १९६३ मा पत्रकारितामा स्नातकोत्तर उपाधि हासिल गरेको लगत्तै उहाँ त्यसबेला भरखरै स्थापित रेडियो मास्कोको नेपाली कार्यक्रममा समाचार वाचक हुनुभयो । सोही वर्षदेखि सोभियत संघको विघटनपश्चात सन १९९३ मा नेपाली सेवा बन्द नहुँदासम्म अविच्छिन्न रूपमा उहाँले सो सेवाको संचालकको रूपमा काम गर्नु भयो । त्यसपछिका वर्षहरूमा उहाँ रुसको प्राच्यविद्या संस्थानसँग सम्बद्ध हुनुहुन्थ्यो । त्यसै मार्फत् आफ्ना साहित्यिक गतिविधिलाई निरन्तरता दिइरहनुभएको थियो ।

कृष्णप्रकाश श्रेष्ठ नेपाली साहित्यका एक परिचित र खासगरी साहित्यिक अनुवाद क्षेत्रमा स्थापित ब्यक्तित्व हुनुहुन्थ्यो । उहाँले विश्व प्रसिद्ध रूसी साहित्यकारहरू लियो टाल्स्टाय, अलेक्सान्द्र पुश्किन, मिखाइल लेर्मोन्तोभ लगायत अन्य कैयनका रचनाहरूको नेपाली भाषामा अनुवाद गरेर नेपाली साहित्यप्रेमीहरूलाई रुसी साहित्यको परिचय दिनुभएको थियो । नेपाली साहित्यिक कृतिहरूको पनि रूसी भाषामा अनुवाद गरेर रुसमा नेपाली साहित्यको प्रचार गर्नमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।

उहाँका कैयन मौलिक रचनाहरू नेपालमा प्रकाशित भएका छन् । तिमध्ये रुसमा नेपालको छबि, नेपाली समालोचक र समालोचना, नेपालभाषा साहित्य, नेपाली किम्बदन्तीमाला आदि प्रसिद्ध छन् । नेपालमा पशुपक्षीको पूजा, यमलोकमा जिउँदोमान्छे (नेपाली दन्त्य कथा), लंगडाको साथी (लैनसिंह बाङ्देल), नेवारी साहित्य आदि उहाँले रुसी भाषामा सोभियत संघ र रुसमा प्रकाशित गरेका पुस्तकहरू हुन् ।

अनुवाद साहित्यलाई प्रवर्द्धन गर्ने उद्येश्यले उहाँले नै मास्कोमा विश्वभाषा अनुवाद संस्थाको पनि स्थापना गर्नुभएको थियो त्यसमा मास्कोमा अध्ययनरत नेपाली विद्यार्थीहरू पनि सहभागी भएका थिए ।

राजनीतिक क्षेत्रमा उहाँले मार्क्सवादी साहित्यका चर्चित ग्रन्थहरू नेपाली भाषामा अनुवाद गरेर ख्याति कमाउनुभएको थियो । उहाँले मार्क्स र एञ्जेल्सद्वारा प्रतिपादित ‘द्वन्दात्मक भौतिकवाद’ दर्शनबारे रुसमा प्रकासित पुस्तक र लेनिनका थुप्रै रचनाहरुको नेपालीमा अनुवाद गर्नुभएको थियो । सोभियत काल देखिनै त्यहाँको समकालिन राजनीतिक, सामाजिक, साहित्यिक गतिविधि र जनजीवनबारे उहाँका रचनाहरू नेपाल तथा सोभियत संघ र रुसका पत्रपत्रिकाहरूमा नियमित रूपमा प्रकाशित भइरहन्थे ।

विदेशमा बसेर नेपाली भाषा र साहित्यको विकासमा दिएको अतुलनीय योगदानवापत उहाँलाई विस २०५९ सालको जगदम्बा श्री पुरस्कारले सम्मानित गरिएको थियो । रुसमा पनि उहाँलाई पुश्किन स्वर्णपदक प्रदान गरिएको थियो ।

उहाँकी धर्मपत्नी श्रीमती इरिना श्रेष्ठ सन २०१८ मा दिवंगत हुनुभएको थियो । उहाँकी दुई छोरी जान्ना श्रेष्ठ र मारिना श्रेष्ठ छन् । जेठी छोरी जान्ना श्रेष्ठका तर्फबाट नाति अनन्त उपाध्याय र नातिनी एलिजा उपाध्याय छन्।

(स्रोत- स्वर्गिय कृष्णप्रकाश श्रेष्ठका ज्वाई श्याम उपाध्यायको फेसबूक)

तपाइँको प्रतिक्रिया