शुक्रबार, वैशाख १४, २०८१

अस्थिर राजनीतिको गोलचक्करमा मुलुक

लिला भारद्वाज / काठमाडौं२०७७ चैत २० गते १२:०७

सर्वोच्च अदालतको फागुन २३ को फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई आफ्ना आफ्ना चुलाचौकातिर फर्काइदिएपछि झण्डै दुई महिनाको राजनीतिक घनचक्करले मुलुक झन् गन्जागोलतिर उन्मुख छ । नाम सम्बन्धी विवादलाई नाघेर दलको एकतालाई नै अवैध ठहर्याई अलग्याउनु गलत भन्दै सर्वोच्च पुगेका प्रचण्डलाई पनि अदालतले चूप गराइदिएको छ । पुनरावेदनको निस्सा नै हात नपरेपछि प्रचण्ड र सो प्रकृयाका समर्थक माधव नेपाललाई सम्भावनाका सबै ढोका बन्द भएको जस्तो देखिएकोछ । यसबखत हातमा सजायको कोर्रा लिएर प्रधानमन्त्री केपी शर्मा ओली एक एक प्रतिद्वन्दीलाई तह लगाउँदै छन् । पहिलो लटमा माधव नेपाल र भीम रावललाई कोर्रा हानेका ओलीले दोश्रो चरणमा घनश्याम भूसाल र सुरेन्द्र पाण्डेलाई सजायको कोर्रा हानेका छन् ।

केपी शर्मा ओलीसँग निकै लामो संगत गरेका र ओलीलाई राम्रैसँग चिनेका माधव कुमार नेपाल पक्ष भने यति कारवाही हुँदा पनि एमालेबाट निस्किएको छैन । बरु नेपाल समूह समानान्तर कमिटी गठन गर्दै हिंडेको छ ।

काठमाडौंमै युवा संघ, महिला संघको समानान्तर कमिटी गठन गरेको नेपाल समूहले चैत १९ मा पोखरामा सुरेन्द्र पाण्डेको अध्यक्षतामा गण्डकी अंचल कमिटी गठन गरेर सो अन्चल अन्तर्गतका जिल्लाहरुका अध्यक्ष, सचिवहरु पनि तोकेको छ । नेपाल समूहका नेताहरुका अनुसार अब ७७ वटै जिल्लामा समानान्तर समितिहरु गठन गरेर ओलीका विरुद्ध संघर्ष जारी रहनेछ । केन्द्रीय कमिटी सदस्य ठाकुर गैरेले नेपालप्लसलाई बताए, “अदालतको फागुन २३ को फैसला अनुसार एकतापूर्वको विगतको महाधिवेशनले निर्वाचित गरेको कमिटी नै वैध हुने कुरालाई लत्याएर अध्यक्षले एकलौटी सदस्यहरु थप्ने, कारवाही गर्ने, असहमत पक्षलाई वैठकको जानकारी नै नदिइ गरेका निर्णय कानूनी रुपमा पनि अवैध छन् । त्यसो हुनाले पार्टीको विधान अनुसार बनेको हाम्रो कमिटीले अब काम गर्नेछ । नेकपा एमालेको शाख र इतिहास जोगाउने जिम्मेवारी हाम्रो काँधमा इतिहासले दिएको छ ।”

एमाले भित्रको किचलोमा अहिले केपी ओलीको हात माथि देखिएपनि भित्रभित्रै केपी ओलीले एमाले सिध्याए भनेर विश्लेषण गर्ने नेताहरु एमालेका दुवै कित्तामा छन् । कमिटीगत रुपमा निर्णय नगरिकन प्रचण्डसँग एकता गरेर निर्वाचनमा गएका केपी शर्मा ओली प्रचण्डसँग छुट्टिएको अवस्था छ । छाँटकाँट हेर्दा तत्काल मिल्ने कुनै अवस्था छैन । सबैतिर केपी ओलीको निशाना प्रचण्ड नै छन् । सकेसम्म एक्ल्याउँदै गलाउँदै लगेर राजनीतिको किनारमा एक्लै पार्ने ओली रणनीति छ । पूर्णत रक्षात्मक बनेका प्रचण्डसँग त अलग्गिए नै, तर आफ्नै पार्टीका अर्का नेता माधव कुमार नेपाल दलबल सहित भूगोलमा निस्केका छन् । ठूलो संख्यामा गानाबजानाका साथ नआएपनि वडा तहसम्मै माधव नेपाल समूहको पनि प्रभाव छ । चुनाव जितेर चुनौति दिने नहोला नै, तर आगामी निर्वाचनलाई असहज बनाइदिने हैसियतमा माधव नेपालहरु छन् ।

हिजो माले गठन गर्दाका विद्रोही नेताको छवि बनाएका वामदेव गौतमले अर्को समूह लिएर छुट्टै पसल थापेका छन् । सारमा पार्टीभित्र भाँडभैलो छ । कोही कसैसँग मिल्ने अवस्थामा छैन । माधव नेपालहरुलाई दपेटेर दरकिनार गरिन्छ भन्ने हार्डलाइनरहरुसँग ओली समूहकै सफ्ट लाइनरहरु असन्तुष्ट छन् । तर, बेला बोल्ने छैन । सबैलाई राजनीतिको भविष्यसँग डर छ । गैरेले भने “पार्टीलाई जोगाउनको निम्ति शीर्ष २, ४ होइन, हामी हजारौं कार्यकर्ता कारवाही भोग्न तयार छौं । सत्य बोल्दा भएको यो कारवाही इतिहासमा पार्टी जोगाउने अभियानको हिस्साको रुपमा दर्ज हुनेछ ।”

बालुवाटार वृत्त भने फागुन २३ पछि राजनीतिको पासा आफ्नो पक्षमा पल्टिएकोमा गिडगिडाइरहेको छ । सूर्य थापाले पुत्र वियोगमा आर्यघाटमा रोइरहेका प्रचण्डलाई प्रतिशोध साँध्ने माध्यम बनाइँदा झण्डै ट्विटबाटै विदा हुनुपर्यो । ओलीलाई मन पराउने तर सूर्य थापाहरुको छुद्रताबाट आजित भएको नेकपा एमाले समर्थकको ठूलो समूह यसबखत निराश छ । त्यो निराश समूह भोलि कता लाग्छ ? आइ लभ यू ओली बा भन्दै भोलि चुनावमा सत्ताको पक्षमा त्यो समूह नउभिने खतरा पनि उत्तिकै छ ।

प्राध्यापक कृष्ण खनालको शब्दमा, ‘जनताको आशामाथि भएको यो खेलवाडले जन्माउने निराशा धेरै खतरनाक छ । यो खतरनाकले अस्थिरतामा आगो बाल्छ । तर के गर्नु अस्थिरताको मूल श्रोत नै राजनीतिक पार्टीको धूरीमा छ ।’

दुई महिना बित्न लागिसक्दा पनि संसदमा नयाँ सरकारको कुनै पहल हुनसकेको छैन । एकपछि अर्को गर्दै बरु ओलीका गोटीहरु सफल भइरहेको देखिन्छन् । जसपाको यौटा समूहलाई फकाइरहेका ओलीले देउवालाई समेत अघि बढ्न नसक्ने बनाइदिएका छन् । रामचन्द्र पौडेल, शशांकहरुले समेत सरकार बनाउने पहल गर्न देउवालाई आग्रह गर्दा समेत माओवादीले समर्थन फिर्ता नलिएको अवस्थामा र जसपाको लाइन स्पष्ट नभएको अवस्थामा हतार नभएको बताएर राजनीतिको गतिलाई अलमलमा पारिरहेका छन् । प्रचण्ड ओलीलाई दिएको समर्थन समेत फिर्ता लिन सकिरहेका छैनन् ।

ओलीको प्रतिनिधि सभा विघटनको कदम गलत थियो । सर्वोच्चले ओलीलाई दण्डित गर्दा पनि उनमा कुनै लघुताभाष, गल्ती महसुस क्यै देखिएन । बरु उनी अरु पासा फाल्न आतुर देखिए । नैतिकता, इमान्दारिता सबलाई तिलान्जली दिएर सबैतिर जित्नुपर्ने दौडमा ओली छन् यसबखत । कांग्रेस कता छ स्वयम् कांग्रेसलाई पनि थाहा छैन । प्रतिगमन भयो भन्न समेत डराउने कांग्रेसले इमान्दार प्रतिपक्षको भूमिका देखाउन नसक्दा राजनीति दोबाटोमा अल्मिलिएको छ । तत्काल चुनाव भयो भने कम्युनिष्ट विभाजनको फाइदाले बहुमत आउँछ भन्ने गैर जिम्मेवार हिसाब गर्ने देउवा ओलीलाई उद्दण्ड रुपमा अघि बढाउन उत्तिकै जिम्मेवार देखिएका छन् ।

राजनीतिक दलहरु बीचको बिशुद्ध दलगत स्वार्थका कारण संसद जोक्करहरुको अखडा भएको छ । सिंहदरबारदेखि वडासम्म ओली समूहको दादागिरी र मनपरीतन्त्र चलिरहेको छ । त्यसका विरुद्ध कसैको आवाज उठाउने हिम्मत छैन । साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर आगामी चुनाव जित्ने पूर्ण रणनीतिका साथ ओलीका सेनाहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएका छन् । हजारौं शहीदहरुको बलिदानीबाट आएको गणतन्त्र, संघियता अहिले अर्थहीन बनाउने प्रयास भैरहेको छ । ओलीहरु स्वयम् संघियता असफल भएको हेर्न आतुर देखिएका छन् ।

संसदलाई अझ सक्रिय बनाउने दायित्व सरकारको मात्र होइन, प्रतिपक्षको पनि हो । प्रतिपक्षी बेन्चमा पुगिसकेका प्रचण्डले अब त्यसको बेडा समाउनुपर्छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नो कित्ताकाट गरेपछि कांग्रेस र जसपा पनि बोल्न बाध्य हुनेछन् । भोलि चुनावमा जाँदा जनताले जसलाई जिताउँछ उसलाई मान्नु त छँदैछ, कम्तिमा चलुन्जेल त घिटीघिटी पार्नु भएन जनताको थलो संसदलाई । विश्लेषकहरुको भनाइ छ ।

तपाइँको प्रतिक्रिया