मंगलबार, वैशाख ७, २०७८

राजाको आवश्यकता बढेको छ – राधाकृष्ण मैनाली

नेपालप्लस राजनितिक संवाददाता२०७७ चैत २० गते १९:१२

source-youtube

कुनै जमानामा नेपाली वाम आन्दोलनको मुख्यालयमा राधाकृष्ण मैनालीको कद निकै माथि थियो । यिनले पुरै वाम आन्दोलनलाई एक्लै डोर्याएका थिए । बहुदलभरी यिनको दबदवा बनिरह्यो । जब राजाले शक्ती आफ्नो हातमा लिए- मैनालीको बाटो फेरियो । कसैले सोच्दै नसोचेको कुरा भयो । मैनालीले जम्प मारेर राजाको मन्त्रिमण्डलमा सहभागि बने । धेरै वाम समर्थकहरुका लागि यो खबर अपत्यारिलो थियो । कतिले जिब्रो टोके भने धेरैले पार्टीको गोप्य निर्णयको आधारमा मैनाली राजाको मन्त्रिमण्डलमा सहभागि भएको अनुमान गेर । तथापी राजाका शासन सकिएर कांग्रेस कम्युनिष्टका झन्डा सडकमा उचालिँदा राधाकृष्ण मैनाली फेरी बाम आन्दोलनमा देखिएनन् । अहिले यिनै बाम आन्दोलनका अग्ला मान्छेले हात डोर्याएका केपी ओली र माधव नेपालहरुको जुवारीलाई सितापाइलाको पाखोबाट हरेक क्षण नियाली रहेका यि वाम भेट्रानलाई खासमा यो लडाईं कस्तो लाग्छ । के होला वाम आन्दोलनको भविष्य ? नेपालप्लसले गरेको कुराकानी-

अहिलेको राजनीति कस्तो खालको छ ?

छोटकरिमा भन्दा बडो अस्थिर खालको छ अहिलेको राजनीति । प्रधानमन्त्रिले संसद भङ्ग गर्नुभन्दा पहिलेसम्म त बहुमत थियो । बिकास निर्माण र अरु कुरा छोड्ने हो भने जेनतेन सरकार चलैको थियो । बहुमत सरकारको ३ वर्षेकालमा कुराहरु धेरै ठुला भए । तर काम केही हुन सकेनन । सरकार र पार्टीको सुनौलो समय प्रधानमन्त्री स्वयंले आन्तरिक किचलो मै बिताए । अदालतका निर्णय पछी माओबादी र एमाले पार्टी अलग अलग भएपछी सरकार अल्पमतमा छ । संसदमा कसैको पनि बहुमत छैन । एमालेको झगडा धेरै माथि पुगेको छ । तर पार्टी फुटीसकेको छैन । कांग्रेस, माओवादी र मधेशवादी दलहरुको बहुमत त पुग्छ । तर मधेशीहरुले निर्णय गर्न सकेका छैनन् । ओली सरकारमै जाने कि अर्को सरकार बनाउन पहल गर्ने अन्योल मै छन् मधेशीहरु । कांग्रेसको अवस्था पनि त्यस्तै छ- अन्योलता उसमा झन ठुलो छ । लगभग दुई तिहाइको बहुमतमा रहेको नेकपा अब तीनवटा पार्टी बन्ने अवस्थामा छ । अब मधेशीको कुरा हेर्नुस्, सरकारमा सहभागि हुनको लागि संविधान संशोधनको माग छ । हिजो दुई तिहाइको सरकार हुँदा त संशोधन हुन सकेन, अब कसरी संभव होला ? यो अवस्थामा मधेसी दलहरुका माग सम्बोधन हुन सक्दैनन् । उनिहरुले माग पुरा हुने अवस्था नभएसम्म सरकारमा नजाने अड्डी राखेपछी निश्चित रुपमा राजनीतिक अस्थिरता बढेको छ । अब संबैधानिक संकट शुरु हुँदै छ । संबैधानिक संकट अन्त्य गर्न कसैले पनि पहल गरेनन् । ओलीजीले रजिनामा दिए पनि कांग्रेस र मधेसी दलहरु स्पष्ट नहुँदासम्म अवस्था राम्रो छैन । कसैले पनि सरकार बनाउने स्थिती नहुँदा फेरी संसद भंग हुन्छ । भनेपछी हेर्दा हेर्दै यो अस्थिरता नेकपाको बहुमतको सरकार अघिको अवस्थामा पुग्छ । यो दुर्भाग्य हो ।

credit-wikipedia.com

सरकार अथवा केपी ओलीका कदमहरुको बिरोध गर्ने पार्टीहरुले अविश्वासको प्रस्तव किन ल्याउन सक्दैनन ?

संविधानमा के लेखेको छ भने अविश्वासको प्रस्ताव सँगसँगै प्रधानमन्त्रीको नाम पनि पेश गर्नु पर्दछ । अविश्वासको प्रस्ताव ल्याउनको लागि ‘बहुमत’ छैन । कांग्रेस, माओवादी र मधेसी नमिलिकन बहुमत हुँदैन । नेपाली कांग्रेसको आफ्नै ल्याङ ल्याङ छ । मधेसीहरु ओलीसँगै मिलेर संविधान संशोधन गराउन सकिन्छ कि भन्ने दाउमा लागेका छन । त्यसैले अविश्वासको प्रस्ताव ल्याउन पनि संसदिय गणित मिलेकै छैन ।

कांग्रेसले किन भूमिका खेल्न नसकेको हो ?

कांग्रेसले नेकपा एमाले पनि फुटोस भन्ने चाहन्छ । त्यसैका लागि कांग्रेसले ओलीलाइ मल पनि हालिरहेको छ । ओली पनि पार्टी एमाले फुटाल्ने खेलमै छन । माधवहरु सकेसम्म पार्टी नफुटोस बरु समानान्तर बनाउने, दवाव दिने सोच उनिहरुको छ । तर ओलीमा भने पार्टी फुटाल्न सकेंभने मैले फेरी पनि बहुमत ल्याउछु भन्ने महत्वकांक्षा छ । अर्कोतिर नेपाली कांग्रेस खास गरेर शेरबहादुर प्यानलको सोच एमालेलाई फुटाल्न सकियो भने हामीले सहज रुपमा चुनावी परिणाम ल्याउन सक्छौं भन्ने छ । त्यसकारण एमाले फुट्यो भने हामीले केही गर्नै पर्दैन सजिलै चुनाव जितिन्छ भन्ने दाउमा कांग्रेस छ । र वैकल्पिक सरकार बनाउने तर्फ शेरबहादुरजी लाग्नु भएको छैन ।

के छ एमाले फुट्छ त ?

ओलीजीको यस्तै हठ रहिरहने हो भने त फुट्छ । अली समय लाग्ला । तर फुट्छ । एमालेमा भएको गुट हेर्नुहुन्छ भने ओलीको भन्दा पनि माधव नेपालको गुट धेरै पुरानो हो । जसरी ओलीले यताका मान्छेहरुलाई कार्वाहीको अस्त्र प्रहार गरिरहेका छन त्यसले नेपाल गुट अझ बलियो बन्दै गएको छ । त्यसैले फुट्नुको अर्को विकल्प छैन ।

केपी ओलिका कदमहरुको खास धरातल के हो ?

त्यो धरातल के हो भन्ने कुरा यसै भन्न गाह्रो छ । तर ओलीले जुन धरातलमा तेकेर अहिलेका कदमहरु चालिरहेका छन त्यसले नेपालकै ईतिहासमा नेपाली कम्युनिष्ट आन्दोलनले प्राप्त गरेको सर्वोच्चतालाई छिन्न भिन्न पारेको छ । उनका कदममा कुनै राजनैतिक आग्रह र राजनैतिक मान्यता देखिंदैनन । नेपाली कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्नका लागि अग्रसर भएजस्तो देखिन्छ । यसको पृष्ठभूमि भनेको ब्यक्तिगत आग्रह र पूर्वाग्रह नै हो । अब त कस्तो देखियो भने ओलीजीको दिमागी अवस्थाका बारेमा नै शंका गर्ने ठाउँ आएका छन् । सनकका भरमा पार्टी र कम्युनिष्ट आन्दोलनलाई नै ध्वस्त पारिंदै छ । त्यतिमात्र होइन सुनियोजित रुपमा संवैधानिक संकट ल्याँइदै छ ।

के हुन्छ फेरी राजा फर्कने सम्भावना छ ?

मैले त धेरै पटक भनेको कुरा के हो भने जती पार्टीहरु र राजनीतिप्रती जनता निरास हुँदै जान्छन् । त्यही हिसावले जनताले फेरी विकल्प सोच्न थाल्दछन् । हिजो गणतन्त्र आयो राम्रो भयो । तर गणतन्त्र चलाऊने मान्छे राम्रा आएनन् । गणतन्त्रलाई राम्रो सँग संचालन गर्न सकेनन् । अहिले पुरै देश निरास भएको छ । यसरी नै निरासा बढ्दै गयो भने त म अर्को विकल्प देख्दिन । राजनीतिक पार्टीहरुले देश चलाऊन नसकेको अवस्थामा फरिने त राजै हो । यो अवस्था हाम्रा राजनीतिक पार्टीहरुले नै बनाईरहेका छन् । किनभने संसारमा सबभन्दा राम्रो सिस्टम भनेको नै जनताको गणतन्त्र हो । तर सिस्टम राम्रो भएर के गर्ने यसलाई चलाऊनेहरु खराव भए पछी । सिस्टम राम्रो भनेर मात्रै जनता त चुप्प लागेर बस्दैन । त्यसले जनताको अभिभावकत्व लिन सक्नुपर्‍यो । जब राज्यले जनताको अभिभावकत्व बहन गर्न सक्दैन अनी राम्रो नराम्रो जस्तो भए पनि जनताले विकल्प पक्कै पनि खोज्छ ! राजतन्त्र ठ्याक्कै फर्किहाल्ने अवस्था छैन । तर पार्टीहरुको यो अस्थिरताले संकेत त्यतै गएको छ ।

तपाईंले केपी ओलीलाई लामो समयदेखि चिन्नुहुन्छ । यस्तै हो उहाँको स्वभाव ?

source-youtube

उनी पहिले देखी यस्तै हुन् । पहिले जिम्मेवारी सानो थियो त्यसैले यती ठूलो दम्भ देखिदैनथ्यो । मैले उनीसँग जेलदेखी बाहिरसम्म पनि संगत गरेको छु । दुरदृष्‍टि भएको नेता होइन । महाकाली सन्धी पछी र माधवजी कै पुल्पुल्याइले पार्टीमा जिम्मेवारी बढ्दै गयो । तर क्षमता बढेन । दाउपेच खेल्ने सोचबाट उनको चिन्तन माथि बढेन । उनको अहिलेको राजनीति पनि दाउपेचकै राजनीति हो । कसलाई उचाल्ने, कसलाई पछार्ने, कसलाई सिध्याउने भन्ने दाउपेच अहिले पनि छ । त्यसैले उनी पहिले देखिनै यस्तै हुन् । अहिले मुसालाई हात्तीको भारी जस्तो भयो ।

नेपालको अहिले देखिएको अस्थिरतामा विदेशी चलखेल कस्तो देख्नुहुन्छ ?

जब जब संकट बढ्दै जान्छ स्वभाविक रुपमा विदेशी शक्तिहरुले खेल्न खोजिहाल्छन । तपाईं हेर्नु भयो भने ०३६ साल, ०४६ साल, ०६२ साल हरेक पटक देखिएकै छ नि विदेशीको चलखेल । अहिले नेपालको सरकार ईतिहासकै सबैभन्दा कमजोर सरकार छ । सरकार छ पनि छैन पनि । यस्तो कमजोर माहौलमा पक्कै पनि अरुले चलखेल गरिहाल्छन् । उत्तर दक्षिण दुबैतिरबाट यहाँँ चलखेल गर्ने अवशरको खोजी भइरहन्छ । पश्चिमाहरु पनि चिन र भारतलाई सन्तुलनमा राख्न अवशर खोजी गरिरहन्छन् ।

अहिलेको यो अवस्था समाधान कसरी हुन्छ त ?

ठ्याक्कै भन्न त सकिंदैन । तर अझै पनि सानो आशा राखौं । डेमोक्रेसी बलियो भयो भने पार्टीहरु बलिया हुन्छन । ति भित्रको डेमोक्रेसी पनि बलियो हुन्छ । कुनै बिन्दुमा आएर लोकतन्त्र र देशका लागि साहमति हुन सक्छ । र, डेमोक्रेसी बलियो हुँदै जान्छ अनी त्यसपछी राजा आउने कुरा र वाह्य चलखेलको कुनै सम्भावना हुन सक्दैन । तर अब यिनिहरु मिलेनन् र केही समय अझै देश यही अवस्थामा रहिरह्यो भने वामपंथी परिवर्तनले केही गर्न सकेन र अली पुँजिवादी परिवर्तनमा गयो भने अली सास फेर्न पाईन्छ कि भन्ने विकल्प रहन्छ र मान्छेहरुले यो तर्फ पनि सोचिरहेका छन् ।
राजातन्त्र पुनर्स्थापनाका कुरा अली अली चल्न थालेका छन् । यो विषयमा विदेशी ‘स्वार्थ’ कत्तीको देखिन्छ ?

मलाई अली अली किन लाग्छ भने गणतन्त्र कालको १४ वर्षको शासनमा हेर्नुस् प्रधानमन्त्री त राजनीतिक हुने भैहाले, राष्ट्रपती पनि त्यो पदको जिम्मेवारी भएको हुन सकेन । चाहे रामवरण यादव हुन या बिद्या देवी भण्डारी । यि दुबैको कुरा गरौं, बिद्यादेवी भन्दा त रामवरण अली अलग थिए । बिद्यादेवीको भूमिका भनेको त ठ्याक्कै ओलीजीको कार्यकर्ताको भूमिका भयो । विदेशी शक्तीहरुले चिन्ने भनेको त राष्ट्रपतिलाई हो । राष्ट्रपती नै पार्टीको कार्यकर्ता जस्तो भएको हुनाले उनिहरु त्यती ढुक्क भएका छैनन् । सामान्यतया कस्तो हुन्छ भने ‘हेड अफ स्टेट’ भएको हुनाले उनीहरुले आफ्ना कुराहरु राष्ट्रपतिलाई भन्ने हो र त्यसपछी ति कुराहरु सरकारसम्म पुग्ने हो । तर उनिहरुका कुराहरु भरपर्दो रुपमा नआएपछी पक्कै पनि सोच्न बाध्य हुन्छन- “यो भन्दा त राजाहरु नै एउटा कुरामा बचन्बद्द भएरब स्छन, एउटै कुरामा बस्छन भन्ने हुन्छ । दलै पिच्छेका मान्छेहरुलाई भन्नु भन्दा त एउटा राजालाई समाते राम्रो हुने हो कि भन्ने खालका कुरा उत्तर-दक्षिण दुबैतिर आएको छ भन्ने सुनिन्छ । यो भनेको त राजालाई फाइदा भयो ।

राष्ट्रपती किन बलियो हुन नसकेको ?

किनभने उनिहरुले राष्ट्रपती छान्दा स्वतन्त्र मान्छे छान्न सकेनन् । राष्ट्रपती संस्थालाई देखाउने एउटा पदको रुपमा मात्र लिए । नेपाली कांग्रेसले पनि आफ्नै नेता यादवजीलाई ल्यायो । यादवजीले पनि ठाउँ ठाउँमा पार्टीको रुप देखाउनु भयो । विद्यादेवी ओलिजीको कार्यकर्ता भएर राष्ट्रपती हुनु भो र ओलीजीको कार्यकर्ता भन्दा माथि उठ्न सक्नुभएन । संबिधानको सुरक्षा गर्ने काममा पनि उहाँ असफल हुनु भो । संसद बिघटनको सिफारिस पाँच मिनेट मै सदर गर्नुभयो । तर अदालतले त गलत थियो भन्यो नि । तै पनि उहाँसँग कत्ती पनि हिनतबोध छैन । अस्ती भर्खरको कुरा हेर्नुस् राष्ट्रपतीले बोलाएको दलहरुका नेताहरुको भेलामा प्रधानमन्त्रीले चुनावको कुरा उठाउनु भो, राष्ट्रपतीले पनि त्यही कुरा भन्नु भो । चुनावमा जाने कुरा त भर्खरै अदालतले रोकेको हो, त्यती कुरा पनि आँकलन गर्न नसक्ने । प्रधानमन्त्रीले जे कुरा बोले उहाँले त्यै बोल्नु भो । यस्तै कारणले गर्दा राष्ट्रपती बलियो हुन सकेका छैनन् । यसले राजाको आवश्यकता बढाएको जस्तो देखिन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक