मंगलबार, साउन १९, २०७८

बौद्धिकता र प्राज्ञिकता सम्पूर्ण रूपले परास्त हाम्रा विश्वविद्यालय (शिलाङ, तेजपुर, गुवाहाटी यात्रा)

डा. गोबिन्द राज भट्टराई२०७७ चैत २२ गते ४:०६

पूर्वाेत्तर भारत भ्रमणमा निस्कने यो मेरो तेस्रो अवसर हो । अघि २०३४ सालमा पूर्वाेत्तर आसामको सदियासम्म पुगेर फर्केको थिएँ । असार मास ब्रह्मपुत्रको उर्लंदो भेल तरेको अझै सम्झिरहेको छु । त्यसको धेरै वर्षपछि २०६६ सालको चैत्रमा उता शिलाङसम्म पुगी फर्किएँ । नर्थ इस्टर्न हिल युनिभर्सिटी (नेहु) को निमन्त्रणामा एक अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिन शिलाङसम्म पुगी फर्केको यात्रा संस्मरण पूर्वको स्कटल्यान्डमा विनासपना (नेपाली) र अड्रिम्लेस नाइट इन द स्कटल्यान्ड अफ दि इस्ट (अंग्रेजी) शीर्षक निबन्धमा प्रकाशित छन् । त्यसको केही वर्षपछि पुनः गुवाहाटीको होटल सेरोइ लिलीमा बसेर यी शब्द कोर्दैछु ।

सबै बयान गर्दा लामो होला । नगर्दा पाठकलाई प्रसङ्ग बुझ्न गाह्रो पर्ला । यसपालि चाहिँ शिलाङस्थित अंग्रेजी तथा वैदेशिक भाषा विश्वविद्यालयको निमन्त्रणामा स्मृतिविज्ञान विषयको सम्मेलनमा भाग लिन अर्थात् त्यसमा एक कार्यपत्र प्रस्तुत गर्ने उद्देश्यले म यता आएको हुँ । अघि २०६६ को यात्रामा म लेखनाथ शर्मा पाठकसित थिएँ । यसपालि पनि म एक्लो छैन । अञ्जना र छोरी सेवा साथमा छन् ।

म तीन दिनअघि नै काठमाडौँबाट दमक (झापा) झरेको थिएँ । घर काठमाडौंमा छ । तर दमक झर्दा मात्रै घर पुगेको न्यानो अनुभूति प्राप्त हुन्छ । अझै त्यहाँ पुग्दापनि भित्री मनमा त म पहाड पाँचथर–ताप्लेजुङबाट यता मधेश झरेको हुँ भन्ने भाव रहिरहन्छ । झापाबाट काठमाडौँ पस्ता त्यो भाव द्विगुणा हुन्छ । त्यहाँबाट बेलायत, अमेरिका पस्ता झन् कस्तो हुँदो हो ? कहिलेकाहीं म कल्पिन्छु । बहिर्गमनले टाढा पुर्‍याएकाहरूको मनमा उठ्ने लहर गन्दछु ।

घर काठमाडौंमा छ । तर दमक झर्दा मात्रै घर पुगेको न्यानो अनुभूति प्राप्त हुन्छ । अझै त्यहाँ पुग्दापनि भित्री मनमा त म पहाड पाँचथर–ताप्लेजुङबाट यता मधेश झरेको हुँ भन्ने भाव रहिरहन्छ । झापाबाट काठमाडौँ पस्ता त्यो भाव द्विगुणा हुन्छ । त्यहाँबाट बेलायत, अमेरिका पस्ता झन् कस्तो हुँदो हो ?

हाम्रो यात्रा पूर्वी भारतको न्यू जलपाइगुडी स्टेशन (एनजेपी) बाट आरम्भ हुन्छ । यात्राको पूर्वतयारीका लागि पनि म दमक झरेको थिएँ । एनजेपी पनि निकैपल्ट आवतजावत गरेको ठाउँ हो । तर इ–टिकटसँग यात्रा गरेको पहिलोपल्ट पर्‍यो । चार वर्षअघि बेलायत पुगेका बेला घरै बसेर रेल, बसको इ–टिकट काट्न सकिन्छ भन्दा आश्चर्य मानेको थिएँ । आज त काठमाडौँबाटै जलपाइगुडीको रेल्वे टिकट र गुवाहाटीको होटल बुक गरियो । समय कसरी परिवर्तनशील छ यो बुझ्नुपर्छ । यो प्रविधिले मारेको फड्को हो । उसका लामा फड्काबीचको खाडलमा हामी परेका छौँ । यी सबै कुरा त छोरीले सिकाएकी हुन् । म पनि समयसँग दौडिन सिकिरहेको छु ।  किनभने हाम्रो लेखनमा पनि यस्ता वारा आउन थालेका छन् । यसपालि शिलाङ पुगेर यसमाथि बोल्नु छ ।

प्रत्येक गन्तव्यको तयारी ठूलो र प्राथमिक कुरो हुन्छ । मेरा अधिकांश यात्राहरू साहित्यिक, प्राज्ञिक हुने भएकाले ती कुनै न कुनै गोष्ठीपत्र, कार्यपत्र प्रवचनसितै जोडिएका हुन्छन् । तिनको विषयवस्तु, प्रस्तुति, औचित्य आदिको चिन्ता र त्यसको तयारीले धेरै समय लिन्छ । यस पटकको कार्यपत्रले मेरो एक महीना लियो होला । तर म आफैं त्यति सन्तुष्ट छैन । कारण, यस महासम्मेलनले स्मृतिविज्ञान शीर्षकलाई प्रधान विषय बनाएको छ । ग्रिसेली मूलको निमोनिक्स प्राक्सिस जसको अर्थ हुन्छ— स्मृतिको संस्क्रितिमा वा सभ्यतामा स्थान, त्यसको उपयोगिता, महत्व र परम्परा । यो विषय हाम्रो सन्दर्भमा नवीनतम छ ।

जतिपल्ट यात्रा गरिए पनि फेरि नवीन यात्रा गर्ने बेलाको मनस्थिति सदा उस्तै हुन्छ । दुईचार दिनदेखि महीना दिनसम्मका अनेकौँ यात्रा गरेँ । स्वदेशदेखि समुद्रपारिसम्म कतिपल्ट तरेँ । तर हिँड्नुभन्दा अघि कति दिनदेखि मनमा अनेक तरङ्ग, किञ्चित् चिन्ता र कौतूहलले छोप्ने गर्छ । केही त सन्देह र भयले पनि छुन्छ । परदेशमा खान बस्न नमिलेर, धावाधपेडीका कारण बिसन्चो पो हुन्छ कि ! अरू कुनै अप्ठ्यारो पर्छ कि ! टिकट हराउँछ कि ! खर्चपात, झोला चोरिन्छ कि ? उताकाहरूले कसरी ‘रिसिभ’ गर्ने हुन् आदि ।

यसरी जहिले पनि यात्रा अघिको मन अलिक उद्वेलित र अशान्त पनि हुन्छ । प्रस्थान गर्ने समयमा पानी छुट्ने हो कि ? डायरी–कलम कुन गर्ने होला । बाटामा पासपोर्ट परिचयपत्र देखाउनुपर्छ कि ? पढ्ने पुस्तक कुन कुन बोक्ने होला । पढ्न मिल्ला ? चस्मा, हाइलाइटर, फलफूल काट्ने चक्कु, केही एक्स्ट्रा रुमाल, औषधी, खाजा, विशेष गरी उपयुक्त वस्त्रहरू इत्यादि छन् । यस्तो लामो यात्रामा जानाले छुटेको मेरो १०–१५ दिनको समयको केबाट क्षतिपूर्ति हुन्छ होला ? भन्ने चिन्ता पनि लाग्छ । तर अर्काे मन भन्छ, ३६० दिनमा १५ घट्छ, त्यत्ति न हो ।

त्यसो त ज्ञान आर्जनमा गएको म । यसमा अवश्य अलिकति चुनौती छ । अप्ठ्यारो छ । तापनि त्यसमा नवीनता छ । अरू प्राप्ति छन् । इष्टमित्र भेट होलान् । उता छोरीको पनि कार्यपत्र छ । उनलाई पनि ज्ञान र ढाडस मिल्ला । अञ्जनाले पनि देश हेर्ने इच्छा गरेकी हुन् । अन्य विश्वविद्यालयले के कसो गर्दा रहेछन् सो थाहा भएमा आफ्नो विभाग र विश्वविद्यालयको चिन्ता गर्ने नयाँ दृष्टि प्राप्त हुन्छ ।

हाम्रो विश्वविद्यालयमा बौद्धिकता र प्राज्ञिकता सम्पूर्ण रूपले परास्त छ । राजनीतिका चाटुकार र मूढहरूको बजारमा उभिन पनि सरम लाग्छ ।

यद्यपि हाम्रोमा केही नयाँ काम गर्ने कुनै उपाय छैन । बद्धमार्गी अर्थात् (पुराना संरचनावादी) हरूले चलाएको प्राज्ञिक संस्थामा कुनै नयाँ मार्ग खुल्न दिँदैनन् । यथास्थितिवादी जडहरूको बाहुल्य छ । हाम्रो विश्वविद्यालयमा बौद्धिकता र प्राज्ञिकता सम्पूर्ण रूपले परास्त छ । राजनीतिका चाटुकार र मूढहरूको बजारमा उभिन पनि सरम लाग्छ । तथापि अरूसमक्ष पुगेर त्यस्तो गुनासो सुनाउने आँट आउँदैन । त्यस्तोमा कसरी काम गर्दैछौं । किन त्यो सुधारिएन भन्दा के भन्नु ? देशकै नाम कलुषित होला भनी म चुप रहन्छु । सबै उत्क्रिष्ट छ भन्छु । तर हाम्रोमा जस्तो प्रतिकुलता विश्वका कमै विश्वविद्यालयमा होला । यस्तो मेरो अनुभव छ– यो चाटुकारिता र गुण्डागर्दीले चलेको छ ।

अघि भनेँ, म काठमाडौँबाट तीन दिनअघि हिँडेको थिएँ । दमक पुगेर प्रतिभा निकेतनद्वारा आयोजित देवकोटा जयन्ती मनाउने सल्लाह थियो । सो सौभाग्य कार्तिक १५ गते प्राप्त भयो । धन्य हाम्रा मेघराज तिमसिना, प्रा मोहन भण्डारीलगायतका साहित्यप्रेमीहरूको उत्साहले जम्मा एउटा भए पनि महाकविको सालिक स्थापित छ । त्यत्रो दमकमा ! अरू स्रष्टाको नाममा केही बनिएको छैन । तर विशाल चौडा सडक । मनोरञ्जन–घर । भव्य महल । अपार्टमेन्टहरू, स्वास्थ्य र शिक्षाको व्यापार अकल्पनीय छ । त्यत्रो नगरपालिका छ, नेताहरू कुर्लिन्छन् । तर एउटा पुस्तकालय छैन । कला, संस्क्रिति र सिर्जनापक्ष भने टालिएकै छ । यता दीपावलीको समय र संविधानसभाको चुनावले गर्दा सारा देश उत्साह र अनिश्चित आतङ्कको धूवाँले कुइरीमण्डल थियो । तथापि हामीले मनायौँ, महाकविको स्मरण गर्‍यौँ ।

त्यसपछि दुई दिन घरै बसेँ । आमा, दाजु, भाउजू र इष्टमित्रसँगै । आमाको रहरले अर्कै सानो सुन्दर घर बन्दै छ । उहाँको यस जीवनवादी रहरलाई र लोकको अतृप्त तृष्णालाई हामीले पूरा गर्ने प्रयत्न गर्दैछौँ । कार्तिक १७ गते रविवारको बिहानी उडानबाट अञ्जना र सेवा पनि विराटनगर ओर्लेर दमक आइपुगे । विराटनगर जहाजबाट उत्रेर दमक आउन अढाइ घण्टा जति लाग्छ । भविष्यमा दमकवरिपरि जहाज मैदान खुल्यो भने कुनै तीव्र गतिको विद्युत् यान चल्यो भने यो समय छोट्टिएला ! तर हाम्रो मनमा आज त्यसको कल्पना छैन । देशले भोगेको अभाव र गरीबीले धेरै सम्भावनाहरू निर्जीव पार्दाे रहेछ । देशको विपन्नता र अज्ञानतालाई यसका नागरिकले भोग्नुपर्ने, कस्तो होला !

म दमक पुगेको छु । लक्ष्मीपूजाको दिन हाम्रोमा पीठो कुट्नेहरूको पालो हुन्छ । किनभने गाउँभरिमा एउटै ढिकी छ । प्राचीन सभ्यताको प्रतीक ढिकी दमकबजारतिर (गाउँमा पनि) सबैले उखेलिसकेका छन् । ढिकी बनाउने काठ, त्यसलाई स्थापना गर्ने ठाउँ, त्यसको छानो, बाराबेरा, त्यसको निरन्तर लिपपोत त्यसपछि चाहिने ओखली, मुस्ली, आग्लो आदि अनेक औजार जोडेर बनाइएको ढिकी एउटा सार्वजनिक एवं निःशुल्क सेवा केन्द्र हो । नागर जीवनमा पसेको मान्छेले ढिकीसेवा धान्न सक्तैन । त्यसबाट उत्पन्न हुने ध्वनिमा अब प्राचीनताको सांस्क्रितिक लय मेटिएको छ । प्रदूषण र झर्काे जस्ता तत्व प्रतिस्थापित छन् । त्यसैले होला ढिकीको प्रयोग कम हुँदैछ । तर हाम्रोमा छ । आमाको रहरले त्यो जीवित छ । त्यसले हाम्रो भाङबारीमा अनादि कालदेखिको जीवन्ततालाई बचाएको छ ।

गाईतिहारे औँसीको दिन । दिनभरिको ढिकीको ध्वनि र छरछिमेकदेखि उठेको सेलरोटीको खार, साँझदेखिको झिलिमिली र पटकाले उल्लसित दमक शहर जगमगाएर उठ्यो । एक छिन बल्दै फेरि झ्याप्प अँध्यारोमा लुक्तै गर्छ– आवाज, ध्वनि, रंग, प्रकाश र वायुले गर्दा जीवन अर्कै भूमिमा पुगेझैँ हुन्छ । सारा गाउँ रमाएको बेलामा अबेरसम्मको आवाजले आनन्दसँग सुत्न दिएन । यद्यपि हाम्रोमा यसपालि तिहारको माला टीका थिएन ।

ढिकीको ढ्वाकढ्वाक र जाँताको घ्वाइँघ्वाइँ छ । त्यहीं गोठमा १२ लिटर दूध दिने गाई छ । छरछिमेकी, फलफूल र सागसब्जीको बगान । तिनमाथि चारै प्रहर गाउने पक्षी, बुबाले रोपेका, आमाले गोडेका यस्ता आनन्दका स्रोत छन् । आनन्दकर परिवेश छ ।

त्यसको भोलिपल्ट १८ गते बिहान चार बजे नै उठ्यौँ । यति बेला पनि आमाले मलाई नुहाउने पानी तताउने तर्खर गरेको देख्छु । मैले त भनेँ— ‘मोटरले तानेको पानी भूगर्भको तातो होला आमा, पर्दैन ।’ तर आमा भन्नुहुन्छ— ‘म तताइदिन्छु ।’ ‘त्यसो भए ग्याँसमा तताउनु ।’ आमा भन्नुहुन्छ— ‘अगेनामै बसाल्छु, आगो पनि ताप्नुपर्छ ।’ सम्झेँ— अब आगो ताप्ने संस्क्रिति नेपालका शहरबजारमा कति प्रतिशत बाँकी होला ? तर आमाको डल्ले भाँडामा मेरो पानी तात्यो । यसरी स्नेह र ममता सदा अक्षय रहेछन् । नयाँ भान्साघरमा पसेर बिस्तारै अगेनामा आगो जोरेर ओदानमाथि डल्ले भाँडो राखी उमालेको पानी, बैनी गंगाले स्नानागार पुर्‍याई । मैले स्नान गरेँ । यही ममता र प्रेमको लागि म घर आउँछु । ठुल्दाजु, भाइहरू र बैनीहरू पनि त्यसैले तानिएका हुन्छन् ।

त्यस्तै ममता र निःस्वार्थका खानी दाजु र भाउजू पनि । दुवैलाई मन छ हामीलाई राम्रो खाने बस्ने प्रबन्ध गरी आनन्द दिनु । यसैले पनि मलाई घर आउन मन लाग्छ । त्यहीं पचासौँ वर्षदेखिको पारिवारिक संस्कार एवं परम्परा सुगन्धित हुन्छ । यता काठमाडौँतिरको नागर शुष्कताले नित्य लखेटिएका हामी उता पुगेर एकै छिन बिसाएर श्वास फेर्न पाउँछौँ । त्यहाँ ढिकीको ढ्वाकढ्वाक र जाँताको घ्वाइँघ्वाइँ छ । त्यहीं गोठमा १२ लिटर दूध दिने गाई छ । छरछिमेकी, फलफूल र सागसब्जीको बगान । तिनमाथि चारै प्रहर गाउने पक्षी, बुबाले रोपेका, आमाले गोडेका यस्ता आनन्दका स्रोत छन् । आनन्दकर परिवेश छ । त्यसैले बारम्बार काठमाडौँ छोडर दाजु पुग्नुहुन्छ दमक ।

अब धेरै सुविधा थपियो । विशाल मार्ग छ— घरसामुन्ने चौडा कालो पिच । आँगनमा धनबहादुर भाइको भ्यान पर्खिरहेको छ । नुहाइ–धुवाइ गरी वस्त्र धारण गरेर चियानास्ता पश्चात् झोला निकाल्दै म प्रश्न गर्छु— ‘कति लिने भाइ ?’ ‘दाजुलाई के कति भन्ने र, मात्र रु १५०० दिनू’ ऊ भन्छ । हामी पाँच नबज्दै भ्यान चढ्छौँ ।

पूर्वमा लाली फाटेको छैन । अलिकति उज्यालोको तीव्रताले निर्मित एक मण्डलाकार छ । मैले नित्य सुन्ने गरेको अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम्……. सम्झेँ, मैले सूर्यकोटिसमप्रभः सम्झेँ । दिनभरि हिजोको रमाइलोमा गम्भीर आनन्द दिने विद्वान् काका र यता हल्का रमाइलोमा सहभागी भाइहरू क्रिष्ण भट्टराई अनि लक्ष्मी खनाल साथमा थिए । यी प्राचीन आनन्दका संयोजक । त्यति सम्झिँदै आमासित बिदा माग्यौँ । हाम्रो भ्यान सडकका डिलडिलको शीत हेर्दै बाटो लाग्यो । पूर्वको अरुणिमा झन् गाढा हुँदो छ र ज्योतिर्मय मण्डल माथिमाथि चढ्दो छ । ज्योतिर्मय लाल गोलाकार जगत् ब्यूँझाउन आएको छ । हामी त्यसलाई स्वीकार्दै, निःशुल्क प्राप्ति ठान्छौँ । तर यसका दाताप्रति हाम्रो कुनै विनयभाव छैन ।

झन्झन् उज्यालो बढ्दै गयो । लामो झरीबादल वर्षापछिको यस्तो प्रभात आज कति स्वच्छ थियो । धनबहादुर भाइ सोधेको बोल्छ, अथवा नबोली सरर चलिरहन्छ । त्यसरी एकै घण्टामा हामीलाई उसले काँकरभिट्टामा ओराल्यो । मान्छे यहाँ कम्ती थिए । दश बाह्रवटा ट्याक्सी र भ्यान थिए । भर्खर बजारमा चिया पाक्दै थियो । तिहारले छोपिसकेको एक प्रकारको मीठो मौनता र नीरव शान्ति थियो । १८ कार्तिक २०७० (४ नोभेम्बर २०१३)

(क्रमश 🙂

तपाइँको प्रतिक्रिया

फेसबुक