बुधबार, वैशाख १२, २०८१

“छिट्टै विस्थापित हुन्छ ओली सरकार” उपेन्द्र यादव

नेपालप्लस संवाददाता२०७७ चैत २४ गते २२:५०

Courtesy-khabarhub

हुन त उपेन्द्र यादव लामो समयदेखि राजनीतिमा सकृय छन । तर एउटा नेताको रुपमा उनको जन्म भने मधेश बिद्रोहले गराएको हो । दशकौं देखि मधेशका नेताहरु राजनीतिको रेल चढेर काठमाडौंसम्म पुगेपनि यथार्थमा मधेशका समस्या काठमाडौंलाई कसैले पनि सुनाउन सकेन । उपेन्द्र यादव पहिलो मधेशी नेता हुन जसले तराइका समस्यालाई काठमाडौँका गल्ली गल्लीसम्म सुनाउन सफल भए । केपी ओलीको सरकारका उपप्रधानमन्त्री सेमत थिए यिनी । तर ओलीको असंबैधानिक कदमका विरुद्धमा सिंहदरवारबाट सडकमा आए । जनता समाजवादी पार्टीको अध्यक्ष समेत रहेका यादव अहिले नयाँं सरकार बनाउने रस्साकस्सिमा छन । भन्छन- कुरा हुँदैछ । तर ओली सरकारमा सहभागी भईँदैन । प्रस्तुत छ, यादवसँग नेपालप्लसले गरेको छोटो कुराकानी-

तपाईं सरकारबाट सडकमा ओर्लेको पनि लामो समय भयो । के गरिरहनु भएको छ ?

हाम्रो पार्टी प्रतिपक्षमा छ । हामी त्यहि प्रतिपक्षको भूमिका निभाइरहेका छौं । प्रतिपक्षले जे काम गर्नुपर्छ त्यो हामी गरिरहेका छौं ।

अब सरकारमा नजाने ?

अहिले फेरी सरकारमा जाने कुनै योजना नै छैन । प्रतिपक्षमा बस भनेर जनताले मत दिएका हुन । हामी प्रतिपक्षमा नै बस्छौं ।

अर्कोतिर फेरी सरकारमा जानको लागि माओवादी र कांग्रेससँग कुरा गरिरहनु भएको छ हैन र ?

अहिलेको सरकारलाई विस्थापित गरेर बैकल्पिक सरकार बन्ने अवस्था भयो भने हामी सघाउँछौं भनेर भनेका छौ उहाँहरुलाई ।

के छ सम्भावना ? कहिलेसम्म विस्थापित हुन्छ यो सरकार ?

राजनीति भनेकै सम्भावनाको खेल हो । असम्भव भन्ने केही हुँदैन । छिट्टै नै विस्थापित हुन्छ यो सरकार ।

किन ढिला गरिरहनु भएको त ? देशलाई छिटो निकाश दिनुपर्दैन ?

Credit-The Rising Nepal

हाम्रो संख्या र शक्तिले एक्लै निर्णय गरेर परिणाम ल्याउन सकिंदैन । तीनवटा पार्टी मिल्नुपर्ने हुन्छ । हाम्रो पार्टी, नेपाली कांग्रेस र माओवादी नमिलिकन केही पनि हुँदैन । कांग्रेसले भर्खर निर्णय गरेको तर कार्यन्वयन गर्छ कि गर्दैन त्यो हेर्न बाँकी छ ।

कि एमाले फुट्ला कि भनेर कुरेर बसिरहनु भएको हो ?

एमाले त के कुनैपनि पार्टी टुक्रियोस भन्ने हाम्रो चाहना हुँदैन । पार्टी बनाउन गाह्रो हुन्छ । टुटाउने फुटाउने कुरा त सजिलो छ नि होइन र ? एक्कैछिनमा हुन्छ । तर त्यसले देशलाई हित गर्दैन । त्यसकारणले हामीले कुनैपनि पार्टी फुट्ला भनेर प्रतिक्षा गरेर बसेका छैनौं । उहाँहरुले शायद आफ्ना समस्याहरु मिलाउँदै हुनुहुन्छ होला ।

तपाईंहरु त केपी ओलीसँग पनि वार्ता गरिरहनु भएको थियो ! के भएर मिलेन त्यो ?

केपी ओलीसँगको वार्ता भनेको राजनीतिक सहकार्यका लागि होइन । उहाँ प्रधानमन्त्री भएकोले समस्याहरु कसरी समाधान गर्ने भन्ने बिषयमा हो । ‘राजवन्दि रिहा गर, मधेसका समस्याहरुमा संबैधानिक हिसावले देखिएका त्रुटीहरु सच्याउ, मधेश आन्दोलनमा जोडीएका ब्यक्तिहरु माथि लागेका मुद्दाहरु खारेज गर’ भनेर मात्रै हाम्रो वार्ता भएको हो । यि कुराका लागि वार्ता गर्ने भनेको त सरकारसँग मात्रै हो । सरकारमा जानका लागि हामीले वार्ता गरेका होइनौं ।

तपाईंहरुको दुई तिहाइको सरकार हुँदा मधेश आन्दोलनले उठाएका मागहरुलाई संबैधानीक रुपमा परिवर्तन गर्न सक्नुभएन । अब कसरी सम्भव हुन्छ ?

त्यतिखेर केपी ओलीले संविधान संशोधन गर्ने, मधेशका समस्या समाधान गर्ने भनेर सम्झौता गरेपछी उनले त्यो सम्झौतालाई उल्लंघन गरेर धोका दिए । त्यसैले केपी ओलीले हाम्रा माग पुरा गर्छन् भन्नु नै बेकार हो ।

 विश्वास नै नभएको मान्छेसँग के वार्ता गरेको त ?

विश्वास नगरेपनि सरकार सँग त कुराकानी गर्नैपर्ने हुन्छ । त्यहाँ बाहेक अर्को विकल्प छँदै छैन । सरकारले गर्ने काम त अरुले गर्न सक्दैन । सरकारबाटै हुनुपर्दछ । त्यसकारणले हामीले कुरा गरेको हो । विश्वास नै नभए पनि दवाव त दिइरहनुपर्‍यो । कुरै नगर्ने भन्ने हुँदैन ।

अब कहिलेसम्म टुङ्गिएला अहिलेको गतिरोध ?

अब चाँडै टुङ्गिन्छ । केही विषयमा हाम्रो छलफल भइरहेको छ । ‘गूड न्युज’ छिट्टै सुन्नुहुन्छ ।

तपाईंले अघि भन्नुभएको थियो नि राजवन्दी रिहा गर्ने हाम्रा मागहरु छन् भनेर ! कस्ता खालका राजवन्दी ? को छ अहिले राजवन्दी ?

मधेश आन्दोलनमा मुद्दा लागेका थुप्रै मानिसहरु जेलमा छन् । थारुहट आन्दोलनमा मुद्दा लागेकाहरु जेलमा छन्। घुमाइफिराइ मुद्दा लगाइएको छ । राजनीतिक समस्या धेरै छन् । राष्ट्रिय समस्याहरु हल गर्नु छ ।

Courtesy-khabarhub

तपाईंहरुको मुख्य माग रेशम चौधरीको रिहाइ हो । अपराधीलाई छोड्नुपर्छ भन्ने कस्तो माग हो ?

केपी ओलीले के गरेका थिए ? कांग्रेसले के गरेका थिए ? बिप्लव के गरेर आएका हुन् ? त्यसकारणले राजनीतिक समस्याको राजनीतिक रुपमै समाधान खोज्ने हो कि अर्को बाटो समात्ने हो ? फौजदारी अभियोग लगाएर राजनीतिक समस्या समाधान हुन्छ र दुनियाँमा ?

त्यसोभने तपाईंहरु अड्केकै रेशम चौधरी कै मागमा हो ?

रेशम चौधरी मात्रै होइन । उहाँ लगायत अरु पनि राजवन्दी छन् । ति सबैलाई रिहा गर्नुपर्छ र मुद्दा पनि खारेज हुनुपर्छ ।

यि मागहरु पुरा भए भने ओली सरकारमा पनि समावेश हुने सम्भावना छ ?

सरकारमा जाने शर्त होइन यो । यो राज्यले गर्नुपर्ने काम हो । यसको लागि सरकारमा जानु पर्छ भन्ने कुराले सरोकार राख्दैन । सरकारमा जाने पाटो अलग हो र मुद्दाहरुको पाटो अलग हो । हामी ओली सरकारमा जाँदैनौं ।

कांग्रेस माओवादीसँगका वार्ताहरुमा पनि यो माग त होला नि ?

निश्चित रुपमा । हामीले के भनिरहेका छौं भने यसलाई माग भन्दा पनि यि समस्याको समाधान हामीले खोज्नुपर्छ भन्ने छ । नेपालको राजनीतिले जातिय, सांस्कृतिक र भाषिक समस्याहरुको समाधान नखोज्ने हो भने मुलुकमा कहिल्यै शान्ती र स्थिरता हुँदैन ।

त्यसमा माओवादी र कांग्रेस सहमत भएका छन् त्यसोभए ?

सहमत भएको भए त सक्किइहाल्थ्यो नि ! अझै छलफल कै क्रममा छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक