शुक्रबार, वैशाख १४, २०८१

पत्रकार चुनावमा बिपुल पोखरेल प्यानलले जित्ने संकेत

‘काभ्रे, रोल्पा, प्यूठान, दोलखाजस्ता कम्युनिष्ट गढमा लोकतान्त्रिक प्यानल विजयी’

नेपालप्लस संवाददाता / काठमाडौं २०७७ चैत २५ गते २२:०३

बुधवार अपरान्ह सम्पन्न नेपाल पत्रकार महासंघ निर्वाचनको प्रारम्भिक मत परिणाम हेर्दा प्रतिगमनबिरुद्धको लोकतन्त्रबादी, व्यवसायिक र श्रमजीविको संयुक्त बिपुल पोखरेल नेतृत्वको प्यानलले ‘क्लिन स्वीप’ गर्ने संकेत देखिएको छ ।

बुधवार राती १२ बजेसम्म आएको मत परिणाममा दोलखा जिल्लामा २१ वर्षपछि लोकतान्त्रिक समुहले पत्रकार महासंघमा नेतृत्व गरेको छ । त्यहाँ अध्यक्ष दीपशंकर चौंलागाईसहितको समुहले जितेको छ । पुर्व संचार मन्त्री एवं ओली सरकारका सदाबहार प्रवक्ता गोकुल बास्कोटाको पकड रहेको जिल्ला काभ्रेमा प्रेस युनियनका अध्यक्ष बद्रीप्रसाद तिम्सिनाले चुनाव जितेका छन् भने रोल्पामा केन्द्रको गणना गर्दा बिपुल पोखरेल(कांग्रेस) समुह ४६ र निर्मला शर्मा (एमाले ओली) समुह २८ मत मात्रै आएको छ ।

यस्तै, डढेलधुरामा बिपुल समुह ६४ र निर्मला समुह २३ मत आएको छ । चितवनमा पनि अहिलेसम्म बिपुल समुह झण्डै ५० मतले अगाडी छ । गुल्मीमा बिपुल प्यानलले ३९ मत पाएको छ भने निर्मला प्यानलमा १९ मत झरेको छ ।

पर्वत, ओखलढुङ्गा, ताप्लेजुङ, रौतहट जिल्लामा भने माधव नेपाल निकट प्रेस चौतारीका प्रतिनिधि अग्रस्थानमा छन् । अहिलेसम्म ओली समुहबाट गोरखापत्र प्रतिष्ठानका शाखा अध्यक्ष सरोज ढुङ्गेल मात्रै निर्वाचित भएका छन् ।

नेपाल पत्रकार महासंघको एशोसिएट सदस्यमा कृति भट्टराई र विकास कार्कीसमेत बिजयी भएका छन् । चुनावमा केन्द्रीय अध्यक्षमा प्रत्याशी बनेका स्वतन्त्र व्यवसायिक पत्रकार गजेन्द्र बूढाथोकीले भने अहिलेसम्म आशातित मत पाउन सकेको देखिएको छैन । सम्पूर्ण मत परिणाम बिहिवार अपरान्हसम्ममा मात्रै आइसक्ने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया