मंगलबार, वैशाख ७, २०७८

मानवता रोएको म्यानमार र सैनिक सत्ता

कृष्ण कँडेल२०७७ चैत २६ गते १२:४९

दक्षिणपूर्वी एशियाली देश म्यानमार जो वर्मा नामले वढी परिचित छ । यतिवेला अशान्त छ । गत फेब्रुअरी १ तारिखमा हालै निर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले सत्ता हातमा लिएको छ । नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङसाङ सुकी लगायत सयकडौं नेताहरू नज़रवन्द वा गिरफ्तारीमा परेका छन् । प्रजातन्त्रको पुनर्वहालीको लागि सैनिक शासनको विरूद्धमा देशभर प्रदर्शन भैरहेको छ । सेनाले वालवालिका र बुढाबुढीलाई समेत आफ्नो तारो बनाएको छ । यसका निकटस्थ छिमेकी देशहरू थाईल्यान्ड, लावस, बंगलादेश, चीन र भारत पनि मौन बसेका छन् । वर्मेली सेनाले त्यहाँका जनताको स्वतन्त्रताको अपहरण गर्दा छिमेकीहरूले उनीहरूलाई गुहार दिन सकेनन् ।

वर्मामा यतिबेला मानवता रोएको छ । मूलत: वुद्ध धर्मावलम्बीहरूको वाहुल्यता रहेको म्यानमारमा ‘वुद्ध’ को शान्ति खलवलिएको छ । अशान्तिको रापले वर्मेलीहरू पिल्सीईरहँदा विश्व जनमत किंकर्तव्यविमूढ़ भएको छ ।

भनिन्छ, वर्मेली सेनालाई रूस र चीनको ‘व्याकिङ’ छ । त्यसैले संयुक्त राष्ट्रसंघमा म्यानमारको आवाज़ कम सुनिन थालेको छ । आफुलाई विश्वको सबैभन्दा ठुलो प्रजातान्त्रिक देश दावा गर्ने भारतले वर्मेली सेनाको आतंकवाट जोगीन भारतमा शरणलिन खोज्ने वर्मेलीहरूलाई वर्मातिरै फर्काएको खबर छ ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएको वर्मामा सन् १९६२ देखी २०११ सम्म सेनाले अविच्छिन्न रूपमा शासन गरिरह्यो । सन् १९६२ देखी शुरूभएको सैनिक शासनको कारण वर्मामा हजारौं आदिवासी चेपुवामा पर्दै आएका छन् । घना जंगल र त्यहाँ उत्पादन हुने टिक, मोती र मूँगा लगायतका जवाहरतको निकासीले देशको अर्थ व्यवस्था टिकेको छ । त्यसको अतिरिक्त तेल र ग्याँस भन्डारबाट समेत भरिपूर्ण देशका जनता भने आज पनि चरम गरिबीवाट आक्रान्त छन्।

सन् १९९१ मा घरमै नजरवन्दमा रहेको अवस्थामा आङसाङसुकीलाई नोवेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । आङसाङ सुकीले नोवेल पुरस्कार पाएपछी विश्वको ध्यान वर्मातिर आकृष्ट भैरह्यो र सेनालाई दवाव पनि पर्न थाल्यो । अन्तत:सेना आमनिर्वाचन गराउन बाध्य भयो । निर्वाचनमा सुकी नेतृत्वको दलले अत्यधिक बहुमत हासील गर्यो । सत्ताको वागडोर सुकीको हातमा गयो । तर पनि सेनाले नेशनल लिग फ़र डेमोक्रेसीको जीतलाई स्विकार गर्न आनाकानी गरीरह्यो । ज़बकी चुनावमा अन्तरराष्ट्रीय प्रयवेक्षण समेत भएको थियो । चुनाव निष्पक्ष र धाँधलीरहीत तवरले संपन्न भएको घोषणा निर्वाचन आयोगले गरेको थियो ।

आङसाङ सुकीको गल्ती के भयो भने उनले शासनको वागडोर आफ्नो हातमा लिएपछी सेनालाई खुशी पार्नतिर लागिन । रोहंग्या मुश्लिम समुदायलाई देशनिकाला गर्नुपर्छ भन्ने सेनाको प्रस्तावलाई स्विकार गर्नु नै सुकीको ठुलो भुल थियो । रोहिंग्याहरू वर्माबाट लखेटिए । उनीहरूलाई ज़बरजस्ती तवरले बंगलादेशमा शरण लिन लगाईयो । सुकीको यो क़दम प्रति अन्तरराष्ट्रीय समुदाय रूष्ट भयो । करिव ७ लाख रोहिंग्या मुश्लिम समुदायको पक्षमा सन् २०१७ मा सैनिक ‘जुन्ता’ को बिरूद्धमा अन्तरराष्ट्रीय न्यायालयमा परेको मुद्धामा सन् २०१९ मा सुकीले सेनाको ज़्यादतीको अस्वीकार गरेकी थिईन । यसले पनि सेनालाई अहिलेको अवस्थामा आइपुग्न बल मिलेको हो ।

राष्ट्रसंघीय सुरक्षा परिषदले सेनाको ‘कु’ विरूद्ध आवाज़ उठाउन खोज्दा चीन त्यसलाई रोक्न अग्रसर भयो । अन्तरराष्ट्रीय समुदाय विभक्त हुँदा वर्मामा सेनाको ज़्यादती दिनप्रतिदिन बढीरहेको छ । वर्मामा यतिवेला दिनहुँ ठूला ठूला प्रदर्शन भै रहेका छन् । मानिसहरू अनाहकमा मारिने क्रम जारी छ । वर्मेली जनताको पक्षमा नेपाल लगायत विभिन्न देशमा जनस्तरबाट आवाज़ उठे पनि देश र सरकारहरूको यो मौनताले सेना वा एकदलीय शासकहरूको मनोवल बढ्ने प्रबल संभावना छ । वर्मेली सेनाको यो ज़्यादतीको विरूद्ध विश्वले नैतिक दवाव दिन सकेन भने ढिलो चाँडो अन्य एशियाली मुलुकहरूमा पनि सैनिकीकरण हावी हुने निश्चित छ ।

(लामो समय पत्रकारिता गरेका कँडेल मानव अधिकारवादी नेता हुन् )

तपाइँको प्रतिक्रिया

फेसबुक