बिहीबार, वैशाख १३, २०८१

माईग्रेन किन हुन्छ, कसरि निको पार्ने ?

आना फुन्क२०७७ चैत २६ गते १५:५३

यदि तपाईंले केहि वर्ष पहिले माइग्रेनबाट टाउको दुखाइको बारेमा डाक्टरलाई सोध्नुभएको भए तपाइँलाई दिएको उपचार विकल्पबारे अचम्म लागेको हुनसक्छ । तर विगत २० वर्ष यता माइग्रेनको कारण र माईग्रेन भएकाहरूलाई कसरी मद्दत गर्ने भन्ने बारेमा धेरै कुरा प्रकाशमा आएको छ । यो समयले ल्याएको परिवर्तन हो । प्रविधीले बदलेको कारणले हो । माइग्रेन पछिल्लो समय देखापरेको जस्तो लागेपनि कम्तिमा प्राचीन इजिप्टको समयदेखि नै देखापरेको हो ।

माइग्रेनले विश्वव्यापीरुपमा १ अरब मानिसहरुलाई असर गर्ने अनुमान गरिएको छ । माईग्रेन १५ देखि ४९ उमेरका व्यक्तिहरूमा अपांगताको पहिलो कारण हो । र १० प्रतिशत दीर्घकालीन माइग्रेन पीडितहरूले रिपोर्ट गरेका छन् कि उनीहरूको बच्चा पाउने निर्णयलाई पनि असर गर्यो । किनभने माईग्रेन लागेको बेला त्यसको असरलाई पार गर्न सक्दैनन् । वा उनीहरूलाई बच्चा पाएपछि तिनको राम्रो आमा बुबा बन्न सक्छु जस्तो लाग्दैन ।

माइग्रेनहरू केवल अतिरिक्त दर्दनाक रुपमा टाउको दुख्ने मात्रै होइन कि सम्पूर्ण लक्षणहरू मान्छेलाई असक्षम पार्ने गरि आउँछन् समुद्री छालहरु मडारिएझैं । अर्थात् ति तत्कालै आएर आक्रमण गर्छन् । आउने जाने भैरहन्छ । एकल माइग्रेनको आक्रमण धेरै दिनसम्म रहनसक्छ।

माइग्रेन के हो ?

माइग्रेन सामान्यतया चार चरणहरूमा हुन्छ । पहिलो चरणलाई प्रोड्रोम भनिन्छ । न्यूयोर्क शहरको अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनका न्यूरोलोजीका क्लिनिकल प्रोफेसर डान बुस भन्छन् “माईग्रेन यस्तो चिज हो कि यसको पीडा महसुस नगरेका बेला मान्छेले आफू कोहो भन्नेनै भुल्छ । माईग्रेन भएका बेला तुवाँलोले घेरे जस्तो, कुहिरो लागेजस्तो महसुस गर्छ । उसले थकित र मुड परिवर्तन भएको अनुभव गर्न सक्छ ।

अर्को आउँदछ अति कडा लक्षणहरू जस्तै वान्ता होला जस्तो लाग्ने र प्रकाश र ध्वनीको संवेदनशीलता अर्थात् उज्यालो देख्दा टाउको दुख्ने, हेर्नै मन नलाग्ने । कुनै आवाज सुन्दा दिक्क लाग्ने । केहि मानिसहरुलाई भने बोल्न कठिन लाग्ने हुन्छ । वासना वा गन्ध मन नपर्ने, कुनै चिज खाँदा स्वाद मन नपर्ने, ज्यान थर्थराएजस्तो हुने, मुड बदलिइरहने र थकाई लाग्ने । माइग्रेन भएका पाँच मध्ये एक जनाले यी मध्ये कुनै न कुनै लक्षणको अनुभव गर्छन् । यि लक्षण टाउको दुख्नुभन्दा पाँच देखि ६० मिनेटसम्म देखा पर्छन् ।

पहिलो पटक जब यो हुन्छ एकदम डरलाग्दो तरिकाले हुन्छ” बुसे भन्छन् “मानिसहरू प्रायः उनीहरूको माइग्रेन हो र माथि दिईएका लक्षणबारे जान्न नसक्दा अति गाह्रो महसुस गर्छन्, अति खराब स्थितिको अनुभगर्छन् ।” यो उनीहरूमा नियमित रूपमा हुन्छ, माइग्रेनको आक्रमण हो भन्नेपनि जान्दैनन् ।

अर्को माथिल्लो टाउको दुख्नु हो । अलि अलि टाउको दुख्दादुख्दै त्यो मध्यम खालको पिडालाई गम्भिर पिडातिर बदलिदिन्छ । पहिलेको नियमित टाउको दुखाईभन्दा बढि दुख्छ ।

अर्को खालको अवस्थालाई पोस्टड्रोम भनिन्छ । लगभग ५४ घण्टासम्म टाउको दुखिरहन्छ, पिडा भैरहन्छ । यो अवस्थामा थकित, उदास र निराश महसुस गराउँछ । सोचाईपनि स्पष्ठ हुन्न । टाउको गह्रुंगो बनाउँछ । एक खाले ह्याङओभर जस्तै गराउँछ ।

“यी सबै चार चरणहरू सँगै आएभने तपाईंलाई धेरै घण्टा, दिनहरूसम्म यीसित सम्बन्धित लक्षणहरूले पीडा दिन्छन् । अशक्तता बनाउँछन्” बुसे भन्छन् ।

माइग्रेन के कारण हुन्छ ?

माइग्रेनहरू आंशिक रूपमा आनुवंशिक हुन्छन् । सामान्यत तिनीहरू पुरुषमा भन्दा महिलामा तीन गुणा बढी हुन्छन् । यदि आमाबुबामा छ भने बच्चामापनि हुने संभावना बढि रहन्छ ।

वैज्ञानिकहरू सोच्थे कि माइग्रेनको वास्तविक दुखाइ रक्तवाहिका (ब्लड भेसल) हरू फैलिएर हुन्छ । हालसालैका अध्ययनले त्यतिमा मात्रै सिमित नभएको देखाउँछन् । यो दुखाई मस्तिष्कमा संरचनाहरूको न्यूरोइन्फ्लेमेसन (शरिरको रोग निरोधक क्षमता, विकारसित लड्ने स्नायुलाई बिगार्ने, निस्क्रिय पार्ने वा आक्रमण गर्ने) बाट आउँदछ जसले पीडा महसुस गराउँछ । धेरै मस्तिष्क क्षेत्रहरू र बहु स्नायु स्थानन्तरक (न्यूरो ट्रान्समिटर) हरू संलग्न भएको कारणले त्यहाँ यति धेरै प्रकारका लक्षणहरू देखिन्छन् कि ति माईग्रेनसँगै आउँदछन् ।

क्याल्सिटोनिन् भनिने वस्तु पेप्टाइट न्यूरोट्रान्समिटर हो । यहि न्यूरोट्रान्समिटर विशेष रूपमा महत्त्वपूर्ण खेलाडी हो माईग्रेन बनाउने । न्युरोट्रान्समिटर सबै मानिसको शरीरभरि हुन्छ । तर माइग्रेन भएका व्यक्तिहरूसँग यो अधिक मात्रामा हुन्छ । माइग्रेनले आक्रमण गरेको बखत यो अझ उच्च स्तरमा बढ्छ । अध्ययनले के देखाएका छन् भने माइग्रेन हुने व्यक्तिलाई पाईप वा सुईको माध्यमबाट औषधी वा जलसेवक प्रदान गर्दा यसले आक्रमणलाई निम्त्याउन सक्छ । बजारमा चार फरक औषधी छन् जुन विशेष रूपमा त्यसैलाई लक्षित गरेर माइग्रेन रोक्नको लागि काम गर्दछ ।

माइग्रेन आक्रमण केले गर्दछ?

केहि व्यक्तिले माइग्रेनको हमला अनुभव गर्छन् । सबैले गर्दैनन् । जसले अनुभव गर्छ उसले यस्तो भैरहेको छ भनेर भन्न सक्दछ । र यो अनियमित किसिमले हुनाले कसैलाई गाह्रो हुन्छ । तर धेरै व्यक्तिको खास खास बहाव वा माईग्रनले हान्ने तरिका हुन्छन् । यीनले प्राय: आन्तरिक वा बाह्य परिवर्तनहरूको रूप लिन्छन् जसले स्नायु प्रणालीलाई असर गर्दछ । धेरै आँधीबेहरी आउँदा ब्यारोमेट्रिक दबावमा डुबेको जस्तो हुन्छ । महिलाको मासिक चक्रको बेला एस्ट्रोजेन घट्ने वा कसैको नियमित क्याफिन सेवनमा परिवर्तन हुँदा माईग्रेन आउन सक्छ ।

प्रारम्भिक लक्षणहरू आउनु अघिनै संकेत बुझ्ने वा अलिअलि केहि हुन लाग्यो भन्ने ईशारा बुझ्ने (पोन्ड्रोम) जान्ने मानिसहरूका लागि सहयोगी हुन्छ । किनकि यसले उनीहरूलाई गम्भिर दुखाईको छाल आउनु अघिनै त्यसको अवरोधका लागि अगाडि योजना गर्न वा उपचार पहिले नै सुरू गर्न मद्दत गर्दछ ।

यति धेरै माइग्रेनका धक्काहरू तपाईको शरीरको प्रणालीमा गडबडीसँग सम्बन्धित हुन्छ । डाक्टरहरूको सुझाव अनुसार पहिलो उपचार नियमित जीवनशैली अपनाउनु हो । यसमा सुत्ने र हरेक दिन उही समय ब्यूँझने, पानी प्रशस्त पिउने वा पानीमा पकाएको खाद्य खाने, नियमित रूपमा व्यायाम र रगतमा चिनीलाई स्थिर राख्न नियमित खाना खाने जस्ता चीजहरू समावेश छन् । “स्नायु प्रणाली धेरै नियमित क्रियाकलाप, ब्यायाम, स्वस्थ खान्की र बानीले राम्रो गर्छ । त्यसैले ती दिनचर्याले फरक पार्दछ” बुसे भन्छन्।

तनावको स्तरमा परिवर्तनले माइग्रेनको आक्रमणको जोखिम पनि बढाउन सक्छ । अर्थात् तनाव धेरै लिँदा माईग्रेन बढाउन सक्छ । कुनै क्षणहरु एक्कासि बढ्दा तनावको स्तरपनि बढ्न सक्छ । कुनै परिवर्तनले यसलाई जोखिम बढाउन सक्छ । राम्रो वा खराबलेपनि त्यस्तो हुनसक्छ । कसैलाई त्यस्तो तनाव केहि हप्ता रहेर भाग्नसक्छ । त्यसपछि माईग्रेनको स्तरपनि घट्नसक्छ । त्यसलाई चिकित्सकहरु लेट-डाउन माइग्रेन भन्छन् ।

माईग्रेनको उपचार

बिभिन्न माइग्रेन पीडितहरूले माईग्रेनका लक्षण फरक फरक तरिकाले भोगेको हुनसक्छन् । भिन्नै समूहको अनुभवपनि लिनसक्छन् । प्रत्येक ब्यक्तिपिच्छे फरक फरक तरिकाको आक्रमणपनि हुनसक्छ । माईग्रेनको भोगाईको स्तर वा छालको अनुभवपनि फरक हुनसक्छ । यो अक्सर नियमित गतिविधिहरूद्वारा चल्दछ । अर्थात् भर्‍याङ चढे जस्तो तलमाथि हुनसक्छ । तपाईं एरोबिक्स गर्न चाहनुहुन्न जब तपाईं माइग्रेन भोग्दै हुनुहुन्छ भने । माईग्रेनबाट छुट्कारा पाउन धेरैलाई प्रकाश, ध्वनि वा कडा गन्धहरूबाट पर रहनुपर्ने हुनसक्छ ।

डा बुसेका अनुसार माइग्रेनहरूको लागि सबैभन्दा आधारभूत उपचारहरूलाई तीव्र औषधीहरू भनिन्छ । यी प्राय: माईग्रेनले आक्रमण गरिसकेपछि लिने औषधी हुन् । यस्तो औषधी लिँदा त्यससँगै रोकथामका रणनीतिहरूको एक सुझाव वा तरिका पनि उपलब्ध हुन्छ । जीवनशैली परिवर्तनदेखि फार्मास्यूटिकल्स (लक्षित ड्रग्स जस्ता) सुझावपनि हुन्छन् । बाह्य स्नायु उत्तेजकहरूपनि पाइन्छन् । हातले समात्ने मेशिनहरू जसले विभिन्न स्नायुहरूलाई माईग्रेन हुँदा छुट्कारा दिलाउने वा नियन्त्रण गरिदिने गर्छ । माइग्रेन रोक्न मद्दत पुर्‍याउने धेरै औषधीहरू छन् । स्वास्थ्य क्षेत्रहरूबाट पनि लागू गरिएको हुन्छ जुन बीटा ब्लकर, क्याल्सियम च्यानल ब्लकर, एन्टिडीप्रेससन्ट र एन्टिकोनभल्सेन्ट भनिने माईग्रेन रोक्ने औषधीहरु प्रभावकारी मानिन्छन् ।

बोटोक्स वा ओनाबोटुलिनुम्तोक्सिन पनि माइग्रेनको बिरूद्ध काम गर्छ भन्ने पत्ता लागेको छ । यद्यपि यो केवल माईग्रेनको चरम अवस्थामा मात्र प्रयोग गरिएको छ । जस्तै- यदि तपाइँ प्रति महिना १५ वा बढी दिन माइग्रेनको अनुभव गर्दै हुनुहुन्छ भने त्यस्तो अवस्थामा दिईन्छ । नयाँ अनुसन्धानले यो पनि सुझाव दियो कि माइन्डफिलनेस र रिलक्सन टेक्निकहरू आक्रमणको समयमा दुखाइ व्यवस्थापन गर्न सहयोगी रणनीति हुन सक्छ ।

हाल अमेरिकन हेडेक सोसाइटीले मासिक चार वा बढी दिन माइग्रेन देखिएमा आफ्नो चिकित्सकसँग रोकथाम उपायहरुको बारेमा परामर्श गर्न सुझाव दिएको छ ।

माइग्रेनले साँच्चै व्यक्तिको जीवनका धेरै महत्त्वपूर्ण पलहरू छिन्न सक्छ । जब मानिसहरू काम, स्कूल, कलेज, परिवारमा व्यस्त हुन्छन् त्यहि बेला आक्रमण गर्छ । बच्चा जन्माउँने, विवाह गर्ने र आफ्नो क्यारियर स्थापना गर्ने जीवनको प्रमुख समयमा सताउँछ । उपचारविना यसले वास्तवमा विध्वंश ल्याउन सक्छ।

(डिस्कभर डटकममा ‘द साईन्स अफ माईग्रेन’ शिर्षकमा प्रकाशित आलेखलाई नेपालप्लसले भावानुवाद गरेको हो-संपादक)

तपाइँको प्रतिक्रिया