शुक्रबार, साउन १५, २०७८

मुलुकमाथीको नाटक र नौटंकि कहिलेसम्म ?

निल थापा / कोपेनहेगन, डेनमार्क २०७७ चैत २६ गते २१:१२

फोर्ड कम्पनीका संस्थापक अध्यक्ष हेनरी फोर्डको एउटा प्रख्यात भनाई छ “एकै ठाउँमा आउनु सुरुवात हो, संगसंगै रहनु प्रगति हो भने संगसंगै काम गर्नु सफलता हो।” तर नेपालको कुनैपनि राजनीतिक दलमा यो भनाई सान्दर्भिक देखिएन । नत विश्वास गर्ने ठाउँ नै राखे ।

नेपालका कम्युनिस्ट पार्टि मुख्यत एमाले माओवादीको एकिकरणलाई लिएर यति ठूलो बजार हल्ला फैल्याईयो कि मुलुकले छिट्टै काँचुली फेर्ने छ । तर धेरै राजनीतिक विश्लेषकहरु यो हल्ला, हल्लामा मात्र सिमित रहने र मुलुकले अलिकति पनि प्रगति गर्न नसक्ने कुरा ढुक्कसँग व्यक्त गरेका हुन् ।

नेपालका राजनीतिक विश्लेषकहरुले गरेको त्यो अनुमान आज तीन करोड नेपालीहरुले भोगिरहनुपरेको छ । वितेको दुई महिना यता फेरि मुलुकको राजनीतिक घटनाक्रममा नयाँ माथी नयाँ विषय थपिँदै गईरहेको छ । शिर्ष नेताहरूको आन्तरिक द्वन्द्वमा सिंगो मुलुक फसेको छ ।

महाभारतको एक अध्यायमा भनिएको छ “मुलुक भन्दा ठूलो केही हुँदैन ।”
तर नेपालमा हरेक राजनीतिक दलमा विगतदेखि वर्तमानसम्म मुलुकभन्दा माथि पद देखियो । त्यहि पदका लागि हरेक दलको नेतृत्वले लडाँई सुरु गरे । राजनीतिक नेतृत्वको लडाइँको आफ्नो दम्भ र घमण्डका कारण तीन करोड नेपाली जनताको चाहनालाई उपेक्षा गरियो ।

हुनत २००४ साल अगाडि श्री ३ सरकारहरुले पनि मुलुकलाई विकासको सबभन्दा उचाइमा पुर्याउने ईच्छा व्यक्त गर्दै सविधानमै उल्लेख गरेर नेपाललाई सामाजिक, आर्थिक र राजनीतिक सुधारद्वारा संसारका विकशीत मुलुक बराबरको हैसियतमा पुर्याउने लक्ष्य राखेका थिए । तर त्यतिखेर शासक मोटाउने बाहेक अरु काम भएन ।

श्री ३ हरुको शासन व्यवस्था निरंकुश भएपछि २००७ सालमा मुलुकमा आन्दोलन भयो । आन्दोलनको सफलता पश्चात् देशमा प्रजातन्त्र आयो । त्यतिखेरपनि शासन कसरी गर्ने, विकास कसरी गर्ने भन्दापनि सत्तामा टिकिरहने र मुलुकको बागडोर कसले लिने भन्नेमा केन्द्रित रह्यो । मुलुकले नत विकासको मुख देख्यो नत जनताले त्यसको अनुभूति गर्न पाए ।

२००७ सालको आन्दोलनबाट प्राप्त प्रजातन्त्र पछि मुलुकमा खासै जनताको लागि उपलब्धिमूलक काम हुन सकेन । मुलुकमा भारतीय हस्तक्षेप बढ्न थाल्यो । जनताले सुखको अनुभव गर्न सकेनन् । राजनीतिक दलका व्यक्तिहरु आपसी स्वार्थमा त्यतिखेर देखि नै अल्झन थाले । त्यहि मौका छोपी तत्कालीन राजा महेन्द्रले दलीय नेतृत्वको  कमि कमजोरी देखाउँदै पुस १ गते २०१७ सालमा प्रजातन्त्रलाई खोसेर पुन सत्ता दरबारमा ल्याए ।

२०१७ पछि क्रमश उनले चिन र भारतसँग संतुलित सम्बन्ध राखे । महेन्द्रले सत्ता आफ्नो हातमा लिएसँगै केही वर्ष विकासको लहर ल्याए । पुर्व पश्चिम राजमार्ग निर्माण, कोदारी राजमार्ग निर्माण, पंचवर्षिय योजना, भुमिसुधार लागू, सर्वोच्च अदालतको स्थापना, नेपाल राष्ट्र बैंकको स्थापना, साझा बस स्थापना, त्रिभुवन विश्वविद्यालयको स्थापना, उद्योग तथा कल कारखाना स्थापना, तथा १९५५ मा नेपाललाई सयुंक्त राष्ट्र संघको सदस्य बनाउन महेन्द्रले उल्लेख्य भुमिका खेले । महेन्द्रसँग आौपचारिक शिक्षा थिएन । तर पनि उनले जनतामुखि काम गरेर मुलुकलाई अलिकति भनेपनि माथि उठाउने काम गरे ।

माघ १७, २०२८ सालमा चितवनको दियालो वंगलामा हृदयघातका कारण महेन्द्रको मृत्युु भयो । उनको मृत्यु पश्चात् मुलुकको बागडोर जेठा छोरा वीरेन्द्रमा सर्यो । नेपालका लोकप्रिय राजाको परिचय बनाउन सफल भए राजा वीरेन्द्र । आफू पुर्ण राजा नमानी उदार तथा प्रजातान्त्रिक राजा देखाउन, निर्दलिय र बहुदलिय प्रणालीको बिचमा २०३७ मा जनमत संग्रह गरेका थिए । जनमत संग्रहमा सुधारसहितको पंचायत पक्षलाई बढी मत प्राप्त भयो । जनमत संग्रह पछि आफ्ना पिता महेन्द्रले गरेका विकासका कामलाई अलिकति भनेपनि निरन्तरता दिने काम वीरेन्द्रले गरे ।

राजनीतिक दलका नेतृत्व बर्गले आफ्नो कालो अनुहार र आफ्नो कमजोरी छेक्न दोष दरवारलाई देखायो । पुन शासन सत्ता आफ्नो कब्जामा पार्ने योजना अनुरुप आन्दोलन लाई केन्द्रीय योजना बनाईयो र २०४६ मा आन्दोलन घोषणा गरियो । आन्दोलनले सफलता पनि हात पार्यो । तत्कालीन राजा वीरेन्द्रले पुन आफुलाई प्रजातान्त्रिक देखाउँदै कार्यकारी अधिकार जनतामा सुम्पे ।

विसं २०४६ को सफल आन्दोलन पश्चात् जनताले सोचे, ‘अब त गाँस बाँस र कपासको राम्रो व्यवस्था होला ।’ तर त्यो पूर्णरुपमा उल्टो हुन गयो । बहुदल आयो । गाउँगाउँमा बहुदल पुग्यो । जब बहुदल फैलियो – भाईभाईमा पानी बाराबार भयो । नेपाली जनताहरु क्रमश दलका कार्यकर्ता हुन पुगे । मुलुकले प्रगतिको बाटो पहिल्याउन सकेन । नेतृत्व वर्गले देश विकास भन्दा आफ्नो पार्टी र कार्यकर्ता विकासमा लागे । भ्रष्टाचारलाई प्राथमिकतामा दिए ।

परिणाम स्वरुप शासन व्यवस्थाविरुद्द २०५२ मा माओवादी आन्दोलन शुरु भयो । आन्दोलनले डढेलोको रुप लियो । १२ वर्ष मुलुक द्वन्द्वमा फस्यो । यो आन्दोलनमा १७ हजार भन्दाबढी मानिसहरुले अकालमा ज्यान गुमाउनु पर्यो । सम्पुर्ण मुलुकको विकास वजेट द्वन्द्व व्यवस्थापन र हातहतियारमा खर्च भयो । आन्दोलनले एउटा विन्दुमा पुगेपछि गति कम गर्यो । मुलुकमा रहेको १२ वर्ष द्वन्द शान्ति सम्झौतामा परिणत भयो । तत्कालीन सरकार र माओवादी विच शान्ति सम्झौता भएपश्चात मुलुकले नयाँ बाटो लियो ।

देशमा पुन आन्दोलन घोषणा गरियो । २०६२/२०६३ को आन्दोलनले नेपालमा झन्डै २ सय ४० वर्ष देखिको राजतन्त्रको जरोलाई उखेलेर फाल्यो । गणतन्त्रको विजारोपण गर्यो ।

गरिब, दिन दु:खि, मजदुर र सर्वहारा वर्गको साथ पाएको माओवादी १२ वर्षमा देशको ठूलो पार्टी भएर सत्तासिन हुन पुग्यो । माओवादी सत्तामा पुगेपछि आम जनताले सोचेका थिए कि अब मुलुकले नसोचेको सफलता हातपार्ने छ । अफसोच: मुलुक झन झन खराब स्थितिमा प्रवेश गर्यो । दुई दुई पटक संविधानसभाको निर्वाचन गर्नुपर्यो । लगातार दुईपटकको निर्वाचन र अनेकन प्रयास पछि मुलुकले नेपालको संविधान २०७२ पायो ।

शासन व्यवस्था परिवर्तन गरेर मुलुकलाई नयाँ विकासको बाटोमा दौडाउने सपना देखाउने नेतृत्व वर्गलेनै हिजो भन्दा आज मुलुकलाई झन झन खराब अवस्थामा पुर्याईरहेका छन् । जनतालाई कमजोर बनाईरहेका छन् । जनताको भावनामाथि खेलवाड गरि हामी कमजोर छौं भन्ने बनाईएको छ । जनतालाई कार्यकर्तामा परिणत गरिएको छ । हिजो दल दलविचमा मतभेद थियो । तर आज जात, जाती, धर्म, वर्ग, संस्कृति, पेसा लगायत हरेक क्षेत्र तथा समुदायमा खराब राजनीतिक संस्कारले जरो गाडेको छ ।

नेपालको राज्य संचालनमा विद्वान विदुषि नभएपनि हुन्छ भन्ने मान्यता सथापित हुँदै गएको छ । सज्जनलाई अल्पमतमा पारेर जाली, अयोग्य, अपराधी, भ्रष्टहरुको दबदबा बढ्दै गएको छ । बाहुबलीहरुले मुलुक हाँक्न थालेका छन् । जेल नेल तथा अपराधलाई राजनीतिक योग्यता मापन गर्न थालिएको छ । हरेक राजनीतिक दलमा राम्रो नभई हाम्रो मानिस खोज्न थालिएको छ । दलहरुमा ईमान्दार, बुद्धिजीवीको अभाव खट्किएको छ । भएकाहरुको पनि अवमुल्यन गरिन थालिएको छ ।

नेपाली राजनीतिले यतिबेला भोगिरहेको राजनीतिक संकट मुलुकको नियति हो वा नेतृत्व वर्गको खराब नियत ? सधैं आफैंले सृजना गरिरहेको राजनीतिक अस्थिरतामा चुनावी लाभहानी हेर्ने नेपाली राजनीतिबाट मुक्ति पाउने बाटो के हुन सक्छ ? के नेपालीजनले सधैं उही र उस्तै राजनीतिक अस्थिरताको सिकार भईरहनु पर्ने ?

लोकतन्त्रमा शासन चलाउने, राजनीतिक दलहरूले नै हो । चुनावी प्रकृयामा जनताबाट निर्वाचित भएर शासन गर्नेहरुले तिनै जनतालाई रैतिकै व्यवहार गरिरहेका छन् । जनताले रैतीबाट माथि उठेर साच्चै जनताको अनुभुती गर्ने कहिले ?

हुनत जहाँका शासक (नेतृत्व) वर्ग पापी र अधर्मि हुन्छन् त्यहाँका जनता पनि गतिला हुदैनन् भनिएको छ नीतिमा । यो अवस्था सृजना भएमा मुलुक पतन हुन्छ भन्ने छ । क्रमश नेपालमा त्यहि संकेत देखिंदै छ ।

जर्मन लेखक रोवर्ट मिसेल्स ले सय वर्ष अगाडि लेखेका छन्- “नेताहरुले पहिल्यै आफ्ना मतदाता आफैं चुन्छन् र त्यहि चुनिएका मतदाताबाट आफू चुनिन्छन् ।” नेपालमा अहिले बिस्तारै त्यहि कुरा लागू भईरहेको छ । नगद, मासु, रक्सि र स्वार्थमा साटिने मतदाता अर्थात् जनअधिकारलाई जसरी गलत प्रयोगमा ल्याईएको छ त्यसैलाई हामी प्रजातन्त्र मानिरहेका छौं र त्यसैमा रमाईरहेका छौं ।

ट्रानसपरेन्सि ईन्टरनेसनलको २०२१ को रिपोर्ट अनुसार नेपाल दक्षिण एसियाकै खराब अर्थतन्त्र भएको मुलुक हुनुको साथै दक्षिण एसियाकै भ्रष्ट मुलुक भएको छ । तरपनि कुखुरा चोर्नेलाई दन्डदिने हाम्रो मुलुकमा राष्ट्र फोर्नेलाई सलाम गर्ने परम्परा छ । नेपालमा राजनीति फोहोरी खेल हो भन्न थालिएको छ । वौद्दिक र सक्षम युवा वर्गलाई राजनीति गर्नु हुँदैन भन्ने गलत मानसिकता बोकाइँदैछ । अन्यत्र असफल भएका तर पैसा भएका विचौलिया र दलाल प्रवृतिका अपराधिक मानिसलाई राजनीतिको केन्द्रविन्दुमा राख्न थालिएको छ ।

गाऊँ छ तर युवा छैनन् । जमिन छ तर बाँझो छ । छोरा विदेशमा छ तर वुहारी, नानीबाबुहरु शहरमा छन् । युवा खाडी मुलुकमा श्रम र बैँस बेच्दैछन् । तर मुलुक भित्रका कलकारखाना उधोग धन्दा कता बिलाए ? कसले बेची खाए ? कसले खोजिनीति गर्ने ?

दैनिक लुटपाट, हत्या,आतंक, महिला तथा वालिका वलात्कारका घटना र मुलुक भित्रै दैनिक १४/१५ जना युवा युवतीले गर्ने आत्महत्या बढ्दो छ । खाडीमुलुक लगायत अन्य मुलुकबाट दैनिक १३ / १४ वटा लास नेपाल ल्याईएको समाचार पढ्ने सुन्ने हामी नेपाली । नेपाल कृषि प्रधान देश हो । जलश्रोतको धनी देश हो । सगरमाथाको देशपनि यहि हो । वुद्दको देश हो भनेर कहिले सम्म गर्व गरिरहने ?

तपाइँको प्रतिक्रिया

फेसबुक