सोमबार, कार्तिक ८, २०७८

विद्यार्थीका झोला बोकिदिने देशद्रोहीको सूचीका जमिनदार

रविन्द्र पोखरेल२०७७ चैत २७ गते १५:५८

हाम्रो घर गोरखा जिल्लाको पूर्बी भेक धादिङको सिमाना नजिकै थियो । त्यो बेला उच्च शिक्षा पढ्नका लागि गोरखामा त्यस्तो कुनै अवशर थिएन । एसएलसी उत्तिर्ण गरे पछि पढ्नका लागि काठमाडौं नै जानूपर्ने बाध्यता थियो । तर धेरै जसो बिद्यार्थीहरुलाई घरको आर्थिक अवस्थाकाले काठ्माडौं बसेर आफ्नै खर्चमा पढ्नु धरै टाढाको कुरा थियो । उच्च शिक्षाका लागि काठमाडौं पुग्ने अवशर धनिका छोराछोरीलाई मात्रै थियो । नत्र हाम्रो जस्तो अवस्थाको मान्छेले गाउँमै खुम्चिनु पर्दथ्यो । या कोही आफन्तको घर भए उनिहरुका साना छोरा छोरी पढाई दिने अथवा घरको या ब्यवसायको काममा सहयोग गरी दु:खैले पढ्नु पर्दथ्यो । त्यसैले धेरै जसोको मावी तह सकेपछि गाउँतिर शिक्षक जागिर खोज्ने चलन थियो । पढाइमा जेहेन्दारहरु जागिर खाँदै उच्च शिक्षाको प्राईभेट परीक्षा दिंदै योग्यता बढाउँथे । पछि सरकारी या अन्य क्षेत्रमा जागिरे हुन्थे ।

मैले पनि एसएलसी परीक्षा राम्रै अंक ल्याएर उत्तीर्ण गरें । म बुबा आमाको एक्लो छोरो । दिदीको सानैमा बिबाह भएको थियो । धेरै पढ्न पाउनु भएन । त्यति बेलाको समय छोरीप्रति हेर्ने हाम्रो समाज र पुरानो मान्यता आदिले । हाम्रो घरको आर्थिक स्थिति कमजोर नै थियो । तथापी छोराले धेरै पढोस् भन्ने चाहाना हुँदो हो बुवाको । मलाई काठ्माडौं आफन्तको घरमा राखेर पढाउने बिचारले बुबाले कुरा गर्नु भएछ । म बानेश्वर आफन्तको घरमा बस्ने गरि शंकरदेव क्याम्पसमा भर्ना भएँ । बिहान बेलुका उनैका छोराछोरीलाई पढाउँदै आफ्नो पढाइ अघि बढाएँ ।

हाम्रै गाउँका जिम्वाल ‘बा’ को छोरो प्रशान्त पनि मसँगै पढ्थ्यो । धनीको छोरो भएकोले महँगो कोठा लिएर ठाँटले बसेको थियो । हामी दशै तिहारको बिदामा सँगै घर आउँथ्यौं । त्यतिबेला गाउँमा मोटर चल्ने बाटो थिएन । मोटरबाट आवत जावत गर्नपर्‍यो भने पृथ्वी राजमार्ग हुँदै आउन सकिन्थ्यो । तर त्यसरी आउँदा बुढी गण्डकी र त्रिशूलीमा डुङ्गा चढ्नुपर्ने । अरु खोला त कती हो कति । लामै बाटो हिंड्नु पर्थ्यो । त्यसैले सबै जना पदैलै हिँड्ने गर्थे । हामी पनि पदलै आउने जाने गर्दथ्यौं ।

दशै तिहार सकिएपछि पढाई शुरु हुने भएकोले हामी दुबै जना काठमाडौं हिंड्यौं । मेरो त के सामान थिए र अलिकती फेरफारका लुगा । झोला सानै थियोे । अझ म त दुखमा हुर्केको मान्छे सानो तिनो भारी बोक्न आफै सक्थें । प्रशान्तको झोला भने भरिलो थियो । जिमावाल बाले खानपिनमा छोरालाई कुनै कमी नहोस् भन्ने चाहन्थे। त्यसैले उसको झोला हरेक पटक भरिलो नै हुन्थ्यो । दुई तीन घण्टा त हिंड्यो । पछी लत्रक्क पर्‍यो । घ्यु तेलका भाँडा टनाटन थिए । त्यसैले थाक्यो ।

केही पर पुगे पछि उसले लामो सुस्केरा हाल्यो । “कोही सामान बोक्न भरिया पाए पनि हुन्थ्यो नि ! जति मागे पनि दिन्थें ज्याला” उसले भन्यो । हामी जेनतेन अझै लतारियौं । तल चौतारीमा त कोही भेटिएला नि भन्ने लाग्यो । नभन्दै एक जना अधवैंशे मान्छे बसेका देखिए । हामी पनि त्यही सुस्तायौं । तिनका आँखा अली चनाखो भए । हेर्दा ४५-५० वर्षका ति मान्छेसँग एउटा सानो कपडाको झोला थियो । खुट्टामा पुराना चप्पल, मैलो देखिने घरेलुको कुर्ता र घुँडामा टालेको सुरुवा लगाएका उनको काँधमा पातलो गम्छा लत्रेको थियो । प्रशान्तलाई लाग्यो यो मान्छे भरिया नै हो । ‘कुरा गर्छु तेरो झोलापनि बोक्लान्’ उसले भन्यो ।

मैले भनें- ‘मेरो खासै गरुँगो छैन । आफैं बोक्छु । तेरो कुरा राख्न त बाजेसँग ।’ उसले अली हिच्किच्याउदै सोध्यो- ‘बाजे तिमी काठमाण्डु जानेहो ?’

‘हो किन बाबु’ बाजेले भने । ‘त्यसो भए मेरो झोला बोक्न बोकिदिन्छौं ? मागेको ज्याला दिन्छु’ प्रशान्तले सोध्यो । बाजे केहीछिन बोल्दै बोलेनन् । आफ्नै सुरमा केही सोचे जस्तो गरिरहे । ‘के सोच्नु भो ?’ प्रशान्तले फेरी सोध्यो ‘मागेको ज्याला दिन्छु केरे’ ।

उनले भने “हुन्छ बोकिदिउँला” । प्रशान्तले सोध्यो- ‘कति लिन्छौ बाजे ज्याला ?’ “बिचार गरेर दिनु होला । आफैं विचार गरेर दिनुहोला । मैले बोकिदिन्छु ।’ त्यसपछि बाजेले प्रशान्तको झोला बोकेर हिँडे । बाटोमा गफियो पनि । खुशी भयो । उसलाई त भगवान फेला परेजस्तो भयो । नत्र कती घ्युका डब्बा बाटैमा फाल्दिने थियो उसले । तर मैले मन मनै सोचें ‘धन भए जहाँ जे खोज्यो त्यही पाईने रहेछ । गरिब हुनु पनि भाग्य लेखा लगनको नियति हो क्यार ।’

हामी त्रिशूली तरेर काठमाडौं, हालको कलंकी चोक नजिकै पुग्यौं । छुट्टीने बेला भो । ति बाजेले भारी बिसाए । प्रशान्तले भन्यो “ल बाजे तिमी कता गएर बस्छौ कुन्नी मेरो त कोठा यहीं नजिकै छ । भन कति रुपैयाँ दिउँ ज्याला ।” बाजे बोलेनन । प्रशान्तलाई झोला बुझाएर भने- “भो बाबू मैले तिमीहरुलाई सहयोग गरेको हो । हिजो आजका ठिटाहरुलाई दुख:गर्ने बानी छैन । यत्ती पनि झोला बोक्न सकेनौ भनेर मैले बोकिदिएको हो । मलाई ज्याला दिनु पर्दैन । बरु मलाई सम्झदै गर्नु, हाम्रो भरिया बाजे भनेर ।”

बाजेले भन्दै गए “तिमीहरू विद्यार्थीहरु रहेछौ । काठमाण्डु बसेर पढ्न गाह्रो छ । सबै सामान महँगो छ । बा आमाले अड्कलेर दिएको खर्चले धान्न मुस्किलै हुन्छ होला । भोकाएका पनि छौ होला ।”

‘धेरैत म सँग पनि छैन । यसो खाजा खानुहै’ भनेर पेटमा बाँधेको पटुका बाट झिकेर १००, १०० रुपैयाँ झिकेर हामीलाई दिए । म त दंग परें । प्रशान्तले बाजे तिर हेर्नै सकेन । अजीवको परिस्थिती उत्पन्न भयो त्यो बेला । हामीले बुढालाई हेरेको हेर्यै भयौं । को हो यो मान्छे ? हे राम ! हाम्रा निधारबाट चटचट पसिना निस्के जस्तो भयो । मनमा अनेक खालका प्रश्न आए । बाजेको बारेमा जान्न मन लाग्यो । “बुबा हामीले हजुरलाई चिन्न सकेनौं माफ गर्नु होला । बरु चिन्न पाए हुन्थ्यो” मैले सोधे । हामी बाटोको छेउमा थचक्क बस्यौं । उनका आँखा अझै चनाखो थिए । छेउछाउमा हुने सामान्य गतिविधी समेत उनका नजरमा पर्थे ।

के भनौं खोइ । अहिलेको अवस्था त्यती सहज छैन । तै पनि सुन । उहाँले खुलेर भन्नूभयो “बाबू मेरो शरीर त के टाउको मात्रै लगेर पनि पञ्चायतलाई बुझायौ भने हजारौं रुपैयाँ ईनाम दिने भनेको छ सरकारले । मेरो नाम सूर्यभक्त अधिकारी हो । मेरो बाले मधेसमा पनि पहिल्यै दुईवटा मौजा किन्नु भएको छ । मधेसमा पनि हाम्रो घर छ । मेरो जमिन्दारीले मलाई त खासै केही त्यस्तो ठूलो उपलब्धि गरेको छैन । बेलामा अलिअलि अल्लारे पनि भैयो । तिमीहरु जस्तै रमाउनुपर्ने रहेछ कहिलेकाहीँ त । ठूलो मान्छे र असल मान्छे के हो बुझ्न लागिएन । अहिले बल्ल बुझ्दै छु । ठूलो मान्छेले आफ्नै मोज मस्ती हेर्दो रैछ बा ! असल मान्छेले अरुप्रति माया, सद्भाव, प्रेम, करुणा, स्नेह, त्याग, समर्पण, देश, समाज, गरिब, मजदुर बर्गको हित र कल्याण तथा सिंगो देश र जनताप्रति समर्पित हुन सिकाउने रैछ । अहिले बुझ्दैछु र त्यसैमा लागेको छु ! कति गर्न सकिएला नसकिएला भबिस्यले सुनाउने छ ।”

हामी मन्त्र मुग्ध भएर सुनी रह्यौं । उनले भन्दै गए “म नेपाली कांग्रेस पार्टीको संस्थापक केन्द्रीय सदस्य हो ।”

तिमीहरुले मेरो कपडा हेर्‍यौ । म कपडा भन्दा पनि ब्यवस्था फेर्न हिंडेको मान्छे” उनले थपे । प्रशान्तलाई के भयो कुन्नी मेरो भने आत्मै देखी झंकार शुरु भयो । मैले मेरो जीवनमा भेटेको पहिलो नेता जो पुराना कपडा लगाएर नयाँँ ब्यवस्थाक्को कल्पना गरिरहेका थिए । त्यसै दिन मेरो मनको ब्यवस्था फेरियो । सुर्यभक्त अधिकारी मेरो मानसपटलबाट कहिल्यै हराएनन् । उनी कहाँँ देखी, कती दिन देखी लुकेर हिंडिरहेका थिए ।

उनले सुनाए “सुन्दरिजल पुग्नु थियो बीपी कोइरालालाई भेट्न । म लुकेर हिंड्नु पर्छ । सरकारले मेरो टाउकाको मुल्य तोकेको छ । यसरी नै मैले राजनीति गरें । म धेरै पढालेखा मान्छे पनि होईन । जमिन्दारको छोरो भएर पनि जमिन्दारमा घमण्ड कत्ति गर्दिन । गर्ने पनि छैन । म बीपी कोइरालालाई भेट्न जान लागेको हो । बाटोमा तिमीहरुलाई भरियाको रुपमा सहयोग गर्न पाएँ, खुशी लाग्यो । तर मान्छेको हैसियत कहिल्यै पनि उसको लुगा र पहिरनमा नखोज्नु । लुगाले बोल्दैन- विचार बोल्छ ।”

बुढा उठेर हिँडे । हामीले पर पुगुन्जेल हेरिरह्यौं । छिटो छिटो पाइला बढाएको तिनको ख्याउटे शरीर । त्यस दिन मेरो मन मस्तिष्कमा कहिल्यै नमेटिने गरेर छापिए सुर्यभक्त अधिकारी ।

धेरै वर्ष पछी ति सादगी नेतालाई नवलपरासीमैं भेटें । उनको सालीनता उस्तै देखें । जमिन्दार भनिएका सुर्यभक्त अधिकारीको सादगीपन फेरिएको थिएन । अधिकारीले वर्षौं भयो हामीलाई छोडेर गएको । उनका विचार भने जहिका त्यहीं छन्। कपडा त धेरैका फेरिए । कतिले विचार पनि फेरे । तर मैले त सुर्यभक्त अधिकारिलाइ सुनेको सुन्यै छु । धेरै छन् सुन्ने । बीपी कोइरालासँग नारिएर भनेकै हुन “यो जमिन्दारि र मेरो जीवनका हरेक पाइला प्रजातन्त्रका लागि हुन ।”

तपाइँको प्रतिक्रिया

फेसबुक