आइतबार, साउन १०, २०७८

लघुकथा : अज्ञात भय

धनराज गिरी२०७७ चैत २८ गते १४:२३

हार्दिकताको एक नमूना हो धीरज,नीरज,सरोज, केशव र महेशको यो गाउँमा, गत ५५ वर्षदेखि । गाउँको नाम हो ‘बैकुण्ठपूरी ‘। दशरथनगर नगरपालिका । यी ५ पाण्डवको एक थप मित्र हो -पंकज धीर । उसलाई साथीहरू जिस्क्याएर “राधेय” पनि भन्ने गर्दछन् !”धीर” अलि वीर पनि छ । र छ, धीरोदात्त ! कमजोरी -वक् वक् बढ़ी र छिटो प्रभावित भएर मान्छेलाई देवता मानी आँखा चिम्लिएर भरोसा गर्ने । सोझो, गाईप्राणी !

“यार नीरज,यो राधेयलाई अचेल के भयो ? बोल्न पनि छोडेको छ । अनुहारमा उदासी छाएको छ । त्यस्तो ‘मनराज़’ हो, के भयो ?”

धीरजले चिन्ता व्यक्त गर्यो । “हो त यार, म पनि यही अनुभूत गर्दैछु । अवसाद देख्छु अनुहारमा । आधा जिन्दगी जिए जस्तो, मनको वाटिकामा फेरि गोदावरी नफुलेजस्तो, चुनाव हारेको नेताजस्तो !” नीरजले उत्तर दियो ।

सरोज र केशवले पनि नमज्जा माने । किनकि जमघटको ‘केन्द्र’ नै पंकज धीर हुने हो र पूरा महाभारतको केन्द्र उही हो । महाभारत र गीताको पारखी पनि हो । महेश अघि आयो  ।

“साथी हो, मलाई पूर्वाभास हुन्छ केही कुराको । मेरो अनुमान खेर गएको छैन । हाम्रो राधेय सरल हो र हो तरल पनि । पानी हो, जुन रंग हाल्यो उही हुन्छ । उर्वर माटो हो, जे खेती गरे पनि अब्बल फसल । मान्छे असल । हृदयमा खोलेको छ सद्भावको पसल ! नो टसल !!”

महेशको बोली अलि अमूर्त, मोहन कोइरालाको कविताजस्तो । रमाकान्त नाम गरेका, मणिग्रामपछि हरिपुर र त्यसपछि कैलाश पर्वतमा घोर तपस्या गरेका एक मेधावी पात्र ‘रमाकान्त’ । सदा शान्त । उसले महेशको अमूर्त शैली खूब मन पराउने । ऊ अहिले यहाँ छैन । मन मनमा महेशले उसलाई सम्झियो “यार महेश,अलि क्लियर भन यार, के हो समस्या ? किन राधेय ? हाम्रो दानवीर कर्ण ‘नवराज ‘नबनेर “यमराज “भयो ? यो “धरामा” धेरै मधुवन हुनुपर्ने, के भयो ?” सरोज बोल्यो ।

“साथी हो, पंकज धीरको एक मात्र कमजोरी, छिटो प्रभावित हुने । छन्द कविहरूको संगत गर्यो । छन्द कविता लेख्यो । ग़ज़ल गोहरूले मायाँ गरे, गजलकार बन्यो । इमानदार मानिसहरूको साथले इमानदार बन्यो । उपन्यासकारको छापले उपन्यास लेख्यो । यसरी प्रणामी भेटे प्रणामी, ॐ शान्ति भेटे ॐ शान्ति । यो पारा ठीक हो ……ठीक होइन ……एक “अज्ञात भय “मेरो मनमा छ ! “महेशको अनुहार अलि चिन्ताग्रस्त देखियो । “कस्तो अज्ञात भय ?” केशव बोल्यो ।

“अज्ञात भय । हो यही “अज्ञात भय” ले मेरो मनमा ९ रेक्टर स्केलको भूकम्प गएको छ । हाम्रो राधेय, अरूको कुरा नसुनेर एक फटाहाको संगतमा पुग्यो । १० वर्ष झुक्कियो । अब त्यो ‘नटवरलाल’ ले हाम्रो सोझो राधेयलाई पनि “फटाहा “, ठग बनाउने हो कि ? यही हो मेरो “अज्ञात भय”!

महेशले फटाहाको परिचय दिएन । “अज्ञात भय” बाँकी ४ मित्रहरूको मनमा पनि छायो । तर यो अनुमान सत्य हुन पाएन । किन कि पंकज धीर एक कलमवीर, उत्तर आधुनिक मीर । दलदलबाट, भासबाट उम्कियो र आफ्नो “पूर्व दुनियाँमा” रमाउन पुग्यो । साथीहरूको अनुहार पनि उज्यालो भयो ।

तपाइँको प्रतिक्रिया

फेसबुक