बिहीबार, वैशाख १३, २०८१

तिलक सापकोटाको “यात्रा निरन्तर” पूर्व राष्ट्रपतीद्वारा लोकार्पण

नेपालप्लस संवाददाता / गैंडाकोट, नवलपरासी२०७७ चैत २८ गते १६:१०

नेपाली कांग्रेसका नेता, स्वतन्त्रता सेनानी तिलकप्रसाद सापकोटाद्वारा लिखित डायरी “यात्रा निरन्तर” नवलपरासीको गैंडाकोटस्थित सापकोटा निवासमा आज आयोजित एक समारोहका बीच नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले बिमोचन गरे । आज बिमोचित सो पुस्तक सापकोटाले वि.सं २०४० सालदेखि निरन्तर रुपममा लेखेको दैनिकी हो । यस पुस्तकमा आफूले भोगेका विविध घटनाक्रमहरु, आफ्नो जेल जीवन र समग्र राजनीतिक जीवनदेखि सामाजिक क्षेत्रमा आफ्नो संलग्नता समेत गरी उहाँको समग्र दैनिकी समेटिएको छ । सादगी र सरल स्वभावका सापकोटा प्रजातन्त्र र स्वतन्त्रताको आन्दोलनका साथै त्यसका लागि आवश्यक पर्ने राजनीतिक र नागरिक संगठन निर्माणका लागि निरन्तर संघर्षरत एक असल प्रजातन्त्रवादी व्यक्तित्व हुन् । विपी कोइरालाका सच्चा अनुयायी र समाजवादको अथक प्रयोगकर्ता सापकोटा नेपालको प्रजातान्त्रिक आन्दोलनमा निकै लामो समयदेखि समर्पित छन् ।

वि।सं २००१ साल माघ १७ मा बाग्लुङको दमेक, रितिपमा जन्मिएका तिलकप्रसाद सापकोटा आफ्नो गाउँ–ठाउँको सामाजिक र राजनीतिक चेतना बिस्तारका एक अभियन्ता हुन् । सुरुमा बाग्लुङ र त्यसपछि नवलपरासी केन्द्रमा रहेर नेपाली कांग्रेसको राजनीतिसँगै सामाजिक विकास, सुधार र सामाजिक रुपान्तरणमा प्रभावकारी भूमिका निभाउने सापकोटा यही क्रममा जेलनेल ब्यहोर्ने तर बाहिरी जगतको चिनारीमा आउनै नचाहने एक उदाहरणीय पात्रका रुपमा परिचित छन् ।

नवलपरासीको गैंडाकोटलाई आत्मनिर्भर, उद्यमशिल र प्राकृतिक स्रोत–साधनका हिसाबमा हराभरा बनाउनमा सापकोटाको योगदान जति उल्लेख्य छ, त्यत्तिकै युवा सशक्तीकरण, जनचेतना र शैक्षिक प्रवद्र्धनका दृष्टिमा पनि उनको अतुलनीय नामकाम जोडिएको छ । राजनीतिको केन्द्र काठमाडौंसँग प्रत्यक्ष–परोक्ष सम्पर्कमा रहेपनि सत्ता, शक्ति र पहुँचमा जोडिनुभन्दा आफ्नै माटोको धरातलमा रम्दै–रमाउँदै स्वान्त सुखाय जीवन बिताएका सापकोटाको निरन्तर यात्रा अझै पनि यथावत छ । उत्तिकै अनुपम र अनुकरणीय छ ।

सो पुस्तक बिमोचन गर्दै पूर्व राष्टपति डा।यादवले नेपालको प्रजातान्त्रिक आन्दोलनमा तिलक सापकोटाको ठूलो योगदान रहेको चर्चा गरे । उनले भने “उहाँहरुजस्ता अनुकरणीय व्यक्तित्वहरुले गर्नुभएको त्याग, तपस्या र संघर्षले नै नेपालमा प्रजातन्त्रको उदय भएको हो । देशमा अहिले प्राप्त यो उपलब्धिका पछाडि उहाँहरुजस्ता प्रजातन्त्र सेनानीहरुको ठूलो बलिदान रहेको छ ।”

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद डा।शशांक कोइरालाले तिलक सापकोटाको यस पुस्तकबाट नेपाली कांग्रेसको विगत लामो इतिहास उजागर भएको धारणा राख्दै यस पुस्तकबाट आफूले धेरै प्रेरणा लिन सक्ने बताए । उनले भने ‘तिलक सापकोटा जस्ता सादगी र त्यागी नेताका कारणले नै आज नेपाली कांग्रेस सबै नेपालीहरुको साझा र प्रतिष्ठित पार्टी भएको छ । म पनि यस जिल्लाबाट उहाँकै प्रेरणाबाट सांसद बन्न सकेको हुँ ।”

नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले देशमा प्रजातन्त्रको स्थापनाका लागि पहिलेको पुस्ताले कसरी लडेको थियो, के कस्तो त्याग र बलिदान समर्पण गरेको थियो भन्ने विषयमा यो पुस्तकबाट आजको पुस्ताले प्रसस्त मात्रामा प्रेरणा लिन सक्ने धारणा राखे ।

राजनीति विश्लेषक हरि शर्माले केन्द्र केन्द्रियता मात्र राजनीति होइन र स्थानीय स्तरमा बसेर पार्टी निर्माण गर्न के गर्नुपर्छ भन्ने प्रेरणा नेपालका नीति निर्माताहरुले यस पुस्तकबाट लिन सक्ने बताए ।

उनले देशमा प्रजातन्त्रको स्थापना र समाजवादको कार्यान्वयनका लागि नागरिक समाज निर्माण गर्ने काम नै महत्वपूर्ण रहेको प्रसंग उल्लेख गर्दै यो पुस्तक डायरीका रुपमा आएको भए पनि नेपालको समकालीन राजनीतिक र समग्र नीतिहरुको केन्द्रमा रहेको टिप्पणी गरे ।

त्यसैगरी यस सभामा १००८ स्वामी ज्ञानानन्द सरस्वती, पूर्व सांसद शंकर पाण्डे, गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष कुल आचार्य, नेपाली कांग्रेस नवलपुरका सभापति विष्णु लामिछाने, नेपाली कांग्रेसको सुशासन एवं सञ्चार समितिका विज्ञ एवं तिलक सापकोटाका सुपुत्र केशव सापकोटा लगायतका व्यक्तित्वहरुले कांग्रेसका नेता तिलक सापकोटाको जीवनी र व्यक्तित्वमाथि प्रकाशपारेका थिए ।

त्यस समारोहमा सापकोटासँग जेल बसेका प्रजातन्त्र सेनानीहरु इन्द्रराज ज्योती पौडेल, शक्तिप्रसन्न गिरि, नन्दलाल मिश्र, गोविन्दप्रसाद शर्मा कडेललाई सम्मान गरिएको थियो ।

त्यसैगरी नवलपरासीको प्रजातानित्रक आन्दोलनका नेता स्वर्गीय सूर्यभक्त अधिकारीलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो । सामाजिक रुपान्तरणकै माध्यमबाट राजनीति र संगठन सम्भव हुने भन्दै यही चेतना साथमा लिएर हिँडिरहेका सापकोटाले समाजका लागि निर्वाह गरेको दायित्वको थोरै भए पनि गुन तिर्ने लक्ष्यमा उनको जीवनी र संघर्षको आयाम झल्कने यो कृति तयार भएको सहप्रकाशक संस्था विजय फाउन्डेशनका अध्यक्ष त्रिलोचन सापकोटाले बताए । कूल ५०८ पृष्ठको यो पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरी बजारमा ल्याएको हो ।

तपाइँको प्रतिक्रिया