आइतबार, साउन १०, २०७८

नतिजा एउटै प्यानललाई : हार व्यवसायिक र श्रमजीवि पत्रकारको

सुरेशचन्द्र कुईकेल / काठमाडौं२०७७ चैत २९ गते २३:३५

photo-Républica

नेपाल पत्रकार महासंघको चुनावमा देशभरकै पत्रकार नेताका रुपमा दाङका बिपुल पोखरेललाई खसेको मतको बहुमत (झण्डै ५५ प्रतिशत) ल्याएर निर्वाचित भएका छन् । तर, यो जिताइ बिशुद्ध श्रमजीवि पत्रकारको हो अथवा राजनीतिक तावेदारी, र झण्डाको ? प्रश्न स्वभाविक रुपमा उर्लिएर अगाडी आएको छ ।

सबैलाई थाहा छ— व्यवसाय र श्रमजीवि हकहितमा बोल्ने अर्थमा बिपुल एक नमूना–पत्रकार हुन् । दिनरात नभनी पत्रकारको हकहित र कहींकतै साह्रो गाह्रो आइपरेमा कुदेर साथ दिन जाने अर्थमा पोखरेल अनुपम–अनुकरणीय पात्र हुन् । तर, यसो भन्दैमा उनी कुनै ‘ट्याग’ नभएका पत्रकार भने होइनन् । चुनावी स्पर्धा र राजनीतिकै खातिर देउवा–पौडेल र सिटौला पक्षधरताका सामु उनी झुकेरै यहाँ आइपुगेका हुन् । यति अपहत्ते गरेर र देशमा व्याप्त राजनीतिक ‘प्रतिगमन’को बिरुद्ध चलेको हावाकै कारण बिपुलले देशभरबाट अध्यक्ष मतमा ६९४२ वटा ‘अनुमोदन’ पाएका हुन् जबकि ‘प्रतिगमनप्रेमी प्रधानमन्त्री’ केपी ओलीको पक्षमा उभिएकि निर्मला शर्माले ३१९५ मत मात्रै पाइन् । व्यवसायिक र श्रमजीवि तथा व्यवसायिक भनिएका पत्रकार गजेन्द्रसिह बुढाथोकीले ४९१ मत मात्रै पाए ।

यतिखेर पत्रकारको चुनाव के सकिएको थियो, राजनीतिक दलका नेताहरुको हुँकार सुरु भैसकेको छ । एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाखेरलले एक प्रकारको कुन्ठा र आवेग पोखिसकेका छन्— “हाम्रो प्रेस चौतारीका बिरुद्ध यसरी महागठबन्धन उभिएको अवस्थामा हाम्रो दलको हार स्वभाविक हो । तर यस्तो हारलाई अन्यथा नलिऔं” ।

अर्का नेता एवं नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भनेका छन्— हो, यसैगरी पत्रकारले जसरी नै ओलीलाई हामीले हराउनुपर्छ ।’ नेपाली कांग्रेसका नेताहरुले जितेका आफ्नाहरुलाई अविर धसिदिएका र जिल्ला जिल्लामा कांग्रेस र कम्युनिष्टका झन्डा उचालिएका तस्वीरहरुले सामाजिक संजाल छोपिएका छन् । पुरै चुनावी माहौल यस्तो देखियो जहाँँ पत्रकारहरुको नभएर स्थानिय चुनाव भएको छ । विजय जुलुसहरुमा पत्रकार देखिएनन । स्थानिय नेताहरुले आफ्ना पार्टीका नारा लगाए । विपुल पोखरेललाई सबैभन्दा पहिले पार्टीको शुभकामना आयो । निर्मला शर्माका पक्षमा पार्टीलाई नै दु:ख ब्यक्त गर्‍यो ।

पत्रकारिताले जित्यो जितेन थाहा भएन । पार्टीहरुको हरेक ठाँउमा आमना सामना भयो । चुनाव पार्टीकै भयो । पार्टीकै कार्यकर्ताले भोट हाले । जित हार पनि पार्टीकै भयो । नत्र गजेन्द्र बुढाथोकीलाई भोटहाल्न पत्रकारले हात कमाउनु पर्ने थिएन । १० हजार भन्दा बढी सक्रिए पत्रकार छन् भनिएको देशमा स्वतन्त्र र ब्यवशायीक पत्रकारहरुको संख्या जम्मा ५ सयको आसपास मात्र हुनु उदेकलाग्दो अवस्था हो । के पाँच सय भन्दा बढी ब्यवशायीक पत्रकार छैनन देशमा ?

अब सोचौं—हाम्रो व्यवसायिक पत्रकारिता र श्रमजिवी पत्रकारको हतहितको कुरा कहाँ गयो ? एउटा नियमित कोलममा देखिने पत्रकार समेतले सिंहदरबार छिर्न कहाँ कहाँबाट श्रमजीवि पत्रकारको पास लिएर आउनुपर्ने हो ?

यथार्थमा अहिले प्रतिगमन बिरोधी र लोकतन्त्र पक्षधर पत्रकारको समुहले चुनाव जितेको भएपनि यो व्यवशायिकताको अर्थमा कहाँ–कसरी जोडिन सक्ला भन्ने प्रश्न एकदमैं मत्वपूर्ण छ ।

स्वभावत चुनावी कुरामा प्रतिष्पर्धा हुन्छ नै । आआफ्नो व्यवसायिक धर्मको कुरा हुन्छ नै । यो बेला बिपुलसहितको बिजेता टोलीले श्रमजीवि र व्यवासयिक पत्रकारका हिकहितका पक्षमा केही साहसपूर्ण निर्णय देखाउन सकेमा मात्रै यो फरक आयाम र धारको पत्रकार समुहको अर्थ रहन्छ । अन्यथा भोलीबाटै ओली, देउवा, दाहाल र नेपालको घर आगनमा ढुकुवा भएर दर्शनभेट कुरिरहने अवस्था आएमा यो पत्रकार टोली पनि उही ‘कानै चिरेको’ सावित हुने निश्चित छ । पार्टीपंक्तिकै झुण्डमा चेपिएर वा तानिएर व्यवसायिक पत्रकारिताको धर्मकर्म खोज्नुको कुनै अर्थ रहन्न । यो स्पष्ट हुनु जरुरी छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक