शुक्रबार, वैशाख ७, २०८१

गंगा नदीमा साधुहरुको भिड, भारतमा कोरोना संक्रमण झन भयावह

आचार्य ऋषीराम अधिकारी / हरिद्वार, भारत२०७८ वैशाख १ गते १४:१८

कुम्भ मेलाका अवशरमा भारतको हरिद्वारस्थित गंगा नदीमा नुहाउँदै नागा साधु । Photo- Money Sharma/AFP Via newsinfo.inquirer.net

भारतमा हिन्दूहरुको पर्व कुम्भ मेलाका अवशरमा गंगा नदीमा नुहाउने तिर्थालुहरुको भिड बढ्दै जाँदा कोरोना भाईरस संक्रमणले भयावह रुप लिएको छ ।

भारतमा आज वुधवार कोरोना भाईरस संक्रमणले नयाँ रेकर्ड तोडेको छ । कोरोना भाईरसको संक्रमण ब्यापक भएर अस्पतालहरु भरिभराउ हुँदापनि गंगा नदीमा भिड लागेर नुहाउनेहरुको संख्या भने घटेको छैन । कुम्भ मेला भर्न भन्दै हजारौं हजार मानिसहरु गंगा नदीमा स्नान गर्न गएका छन् ।

अस्पतालहरुमा कोरोना संक्रमितहरुका लागि अक्सिजनको अभाव छ । अन्य कतिपय क्षेत्रमा कडा निषेधहरु गरिएपनि धार्मिक उत्सवकालागि तिर्थयात्रीहरुको भिड ठूलो छ ।

भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा गत २४ घण्टामा एक लाख ८४ हजार तिन सय ७२ संक्रमित भएका छन् । कोरोना संक्रमितको संख्या हालसम्म एक करोड ३९ लाख पुगिसकेको फ्रंस २४ न्युजले उल्लेख गरेको छ । मृत्युहुनेको संख्या एक्कासि बढेर एक लाख ७२ हजार ८५ जना पुगेको छ । तर धार्मिक उत्सवकालागि भन्दै गंगा नदीमा हजारौं हजार मानिस भेला भएका छन् ।

अक्सिजन अभावको सामना गर्न संघर्ष गरिरहेका अस्पतालहरूमा भिड अझै बढ्दो छ । यस्तो अवस्था हुँदापनि भारत सरकारले गंगा नदीमा पवित्र स्नानका नाममा हिन्दू कुम्भ मेला उत्सवलाई अनुमति दिएको छ ।

धार्मिक शहर हरिद्वारमा हप्तौं लामो चाडको तेस्रो मुख्य दिन आज बुधवार सयौं हजारौं हिन्दू गंगामा नुहाउन भेला भएका छन् । अब यिनले अझ कतिलाई संक्रमित गर्ने हुन् कसैले ध्यान दिएको देखिन्न ।

यो महोत्सवकालागि खटिएका प्रहरी महानिरीक्षक संजय गुंज्यालले बुधबार बिहान ६ लाख ५० हजारले आज विहान मात्रै गंगामा नुहाएको मेडियाहरुलाई बताएका छन् ।

“घाट (नुहाउने ठाउँ) मा भीडभाड गर्दा सामाजिक दूरी कायम नगर्ने मानिसहरुलाई जरिवाना दिइन्छ । तर मुख्य घाटमा मानिसहरुको धेरै नै भीड भएकाले सजाय दिन धेरै गाह्रो छ” उनले भनेका छन् । भिडमा मास्क लगाउने र सामाजिक दूरी कायम गर्नेको संख्या नगण्य देखिन्छ ।

ईन्डिया टुडेका पत्रकार आशुतोसले आफ्नो ट्विटरमा उल्लेख गरेका छन् “हरिद्वारमा गंगा स्नान गर्नेले मास्क लगाएका छैनन् । सामाजिक दूरी कायम गरिएको छैन । कोरोना भाईरस नियन्त्रणका लागि लगाइएका सबै प्रावधान बेकम्मा बनाइएको छ ।”

यस हप्ताको सुरुतिर कुम्भ मेलाका बारेमा उठाइएको चिन्ताको जवाफमा कुम्भ मेला “सुपरस्पिडर” अर्थात् कोरोना भाईरस तिब्र बेगमा फैलाउन गरिएको कार्यक्रममा परिणत हुनसक्ने राज्यका मुख्यमन्त्री तीरथ सिंह रावतले उल्लेख गर्दै भनेका थिए “ईश्वरमाथिको विश्वासले भाइरसको डरलाई जित्न सक्छ”।

गंगा नदीमा नुहाउन हजारौंको भिड लागेको हरिद्वारमा सरकारी तथ्यांक अनुसार गत दुई दिनमा एक हजार भन्दा बढी कोरोना संक्रमितको संख्या रिपोर्ट गरिएको छ।

भारतमा यस वर्षको शुरूमा संक्रमितको संख्या प्रतिदिन १० हजार भन्दा कम थियो । तर अप्रिल २ पछि कोरोना भाईरसबाट विश्वको सबैभन्दा बढी पीडित देश भएको छ । स्वास्थ्य विज्ञहरूले भिडहरु जम्मा हुने, आन्दोलन गर्ने, सामाजिक अन्तरक्रिया गर्नाले त्यसलाई रोक्न ध्यान नदिन नसकेको, भारत सरकार विफल भएको दोष दिएका छन् ।

कोरोना भाईरस संक्रमणले ब्यापक रुप लिन थालेपछि भारतीय सरकारले वाणिज्य राजधानी र सबभन्दा धनी राज्यमा नयाँ प्रतिबन्धहरु लगाएको छ । भारतको सबैभन्दा धनी महाराष्ट्र, वाणियमा सबैभन्दा सम्पन्न र अहिलेको कोरोना संक्रमणको केन्द्रसमेत रहेको मुम्बैमा आजै वुधवारदेखि सुरक्षा र प्रतिबन्धका कडा नियमहरु घोषणा गरिएको छ ।

त्यहाँ “गैर-अनिवार्य” पसल, मल, सुपरमार्केट, र ई-कमर्स, डेलिभरीहरू आजै बुधवार देखि मे १ सम्मकालागि बन्द गर्ने घोषणा गरिएको छ ।

बलिउडमा चलचित्र, टेलिभिजन कार्यक्रम र विज्ञापनका लागि शूटिंगसमेत रोक्ने निर्णय गरिएको छ । यसले भारतको प्रमुख फिल्म उद्योगलाई ठूलो क्षती पुर्‍याउने अधिकारीहरुले उल्लेख गरेका छन् ।

यस महिनाको सुरुबाटै बार र रेष्टुरेन्टहरू बन्द गरिएका थिए । पाँच जना भन्दा बढि एकै थलोमा जमघट हुन नपाइने नियम राखिएको थियो ।

नयाँ प्रतिबन्धहरुले महाराष्ट्रको एक राज्यव्यापी साप्ताहिक लकडाउन लाउने कदम चालेको छ । यसले अप्रिलको अन्त्यसम्म राज्यको १२ करोड ५० लाख मानिसहरुलाई आफ्नो घरहरुमा सीमित राख्ने छ । ति सिमित समयकालागि सिमित पसलमा खाने कुरा किन्न वा औषधि किन्न मात्रै निस्किन पाउँछन् । विशेष कामलेपनि आफ्नो नगरभित्र बाहेक अन्यत्र जान पाइन्न ।

अस्पतालमा संक्रमितको बाढी, खोप वितरणमा ढिलाइ

कतै कतै, निजी क्षेत्रका अस्पतालहरूले बिरामीहरूलाई हटाइरहेका छन् । त्यसरि हटाईएका विरामी सरकारी अस्पताल पुगेका छन् । त्यसले अस्पतालको भिड बढाएको मात्रै नभएर सुविधा घटाउनसमेत बाध्य पारेको छ ।

पश्चिमी राज्य गुजरातमा स्थानीय मिडियाले अहमदाबाद सिभिल अस्पताल बाहिर पर्खालमा एम्बुलेन्सको लामो लाईन लागेको उल्लेख गरेका छन् । अस्पताल बाहिर केहि विरामीहरु उपचारको पर्खाईमा बसेका छन् ।

भारतभरी भएको बृद्धि विशेष रूपमा चिन्ताको विषय हो । किनभने भारत एक मुख्य खोप निर्मातापनि हो । संयुक्त राष्ट्र संघ समर्थित कोभ्याक्स पहलको महत्वपूर्ण आपूर्तिकर्ता हो भारत । त्यो कार्यक्रमको उद्देश्य विश्वको सबैभन्दा गरीब देशहरूमा कोरोना भाईरस विरुद्दका खोपको मात्रा उपलब्ध गराउनु हो ।

भारतमा कोरोना भाईरसका संक्रमितको संख्यामा भएको तिब्र ब्रिद्दीले खोपलाई आफ्नै घरेलु समस्या समाधानमा पहिलो प्राथमिकता दिन दबाब बढेको छ । यसले गर्दा संयुक्त राष्ट्र संघको कोभ्याक्स योजना अन्तर्गत, बेलायत, क्यानडा र अन्य गरिब देशहरुमा कोरोना खोप बितरणमा ढिलाई हुनसक्छ ।

भारतमा संक्रमितको संख्या पछिल्ला दुई हप्ता यता ब्यापक रुपमा बढेपछि भारतले हालै रुसी खोप स्पुतनिक भिलाई अनुमोदन गरेको छ ।

(फ्रँस २४ न्युज समेतको सहयोगमा)

तपाइँको प्रतिक्रिया

फेसबुक