आइतबार, जेठ २, २०७८

राष्ट्रद्वारा गैरआवासीय नेपालीको क्षमता भन्दा बढी अपेक्षा र संघको औकातभन्दा बढी प्रतिबद्दताले संघ आलोचित

डा. हेमराज शर्मा२०७८ वैशाख १ गते १८:५१

लंका जितेपछि लक्ष्मणले ‘लंकामै बसौँ, अयोध्या नजाऔँ’ भन्दा रामले भनेका थिए ।
पि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते !
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी !!

अर्थात, “लक्ष्मण ! यो लंका सुनले बनेको भएपनि मलाई यसमा कुनै रुचि छैन । किनकी जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान छन् ।” करिब ११० राष्ट्रमा बसोबास गर्दै आएका ५० औँ लाख नेपालीहरु रामायणको यही आदर्श वाच्यबाट प्रेरित छन् । उनीहरुले आफूलाई दिउँसो चर्न गएका गाई सम्झिन्छन्– साँझ फर्किने गोठ नेपाल त आखिर नेपाल नै त हो ।

भौतिक रुपमा जो जहाँ भएपनि भावानात्मक रुपले हरेक नेपालीको मन मस्तिष्क नेपालसँग जोडिएको छ । कुनै भूगोलले परिभाषित गर्नै नसक्ने भावानाको डोरीले बाँधिएका गैरआवासीय नेपालीहरु मुलुकप्रति सदैव बफादार छन् ।

प्रवाशी नेपालीहरुले आफूलाई दिउँसो चर्न गएका गाई सम्झिन्छन्– साँझ फर्किने गोठ आखिर नेपाल नै त हो ।

विश्वका जुनसुकै कुनामा रहेका नेपालीले पनि मुलुकलाई पावन तीर्थका रुपमा मनमुटुमा राखेका छन् । उनीहरु आफूलाई अलग होइन, एक मान्छन् । सिँगो नेपाली भन्ने एक शब्दमा समाहित हुन चाहन्छन् । यसै भावनाले ओतप्रोत उनीहरु संगठित रुपमा नेपाल र नेपाली प्रतिको जिम्मेवारीलाई बोध गर्न पनि उतिनै लालायित छन् । त्यही जिम्मेवारीबोधले जन्माएको संस्था हो, गैरआवासीय नेपाली संघ ।

सन् २००३ मा जन्मिएको यो संस्था आजका दिनमा ८२ मुलुकमा विस्तार भइसकेको छ । विं सं २०४६ सालमा प्रजातन्त्रको पुर्नबहालिपश्चात सहज रुपमा मुलुकबाहिर जान थालेका आम नेपालीहरुको संख्या द्वन्दकालमा ह्यात्तै बढ्यो ।

गैरआवासीय नेपालीको पहिलो पुस्ता पनि सम्भवतः यही बन्यो । बिना पूँजी, सीप र विज्ञता विदेश पलायन भएका उनीहरु आजको दिनसम्म पनि आफूलाई स्थापित गर्न संघर्षरत नै छन् । तर त्यही पुस्ता आफूले प्राप्त गरेको ज्ञान, सीप, विज्ञता र पूँजी आफ्नो मुलुक लैजान आतुर छ । वास्तवमा यही पुस्ताको आफ्नो गाउँ ठाउँ, आफू पढेको विद्यालय र समग्र नेपालको लागि केही गरौँ भन्ने हुटहुटी देखेरै हो नेपालीहरुको एउटा साझा संस्थाको रुपमा गैरआवासीय संघलाई परिकल्पना गरिएको ।

गैरआवासीय नेपाली संघ विश्वभरका नेपालीहरुको अथाह सागर बनिसकेको छ । यहाँ राम्रा मात्रै होइन नराम्रा कुरा पनि मिसिइसकेका छन् । संस्थाको स्थापना सामाजिक सेवाको अभिप्रायले भएको थियो । तर अहिले प्रश्न उठेको छ ‘के यो संघ विशुद्द सामाजिक संस्था मात्र हो त ?’ यसका सकारात्मक र नकारात्मक आयामहरु बढ्दै गएका छन् ।

आफ्नो गाउँ ठाउँ, आफू पढेको विद्यालय र समग्र नेपालको लागि केही गरौँ भन्ने हुटहुटी देखेरै हो नेपालीहरुको एउटा साझा संस्थाको रुपमा गैरआवासीय संघलाई परिकल्पना गरिएको ।

संस्थापकहरुले एनआरएनएलाई एउटा ‘ब्राण्ड’ को रुपमा स्थापित गरे । उनीहरुको बर्हिगमन पछि आएको नेतृत्वलाई यो ‘ब्राण्ड’ को स्तर कायम राख्न हमेहम्मे परेको छ । नेतृत्वमा जानेहरु आफ्नो क्षेत्रमा सफल त छन् । तर उनीहरुमा एउटा विश्वब्यापी संस्था सञ्चालन गर्ने अनुभवको कमी देखिन्छ । एउटै विचार, एउटै क्षेत्र, एउटै पेशाका नेपालीहरु पनि जुट्न नसक्ने अवस्थामा सम्पूर्ण नेपालीहरुलाई एउटै संगठनभित्र एकबद्द गर्नसक्नु आफैंमा चुनौतीपूर्ण कुरा पक्कै हो । तर त्यो चुनौतीलाई सामाना गर्ने खुबी नेतृत्वमा छ त ? यो यक्ष प्रश्नको जवाफ दिने को ?

विं सं २०४६ पछिको राजनीतिक परिवर्तनसँगै हुर्केको पुस्ता गैर आवाशिय नेपाली संघको नेतृत्वमा रहेको छ । त्यसैले पनि होला, विद्यार्थी कालमा रेलिङ भाँचेको, क्याम्पसमा कुर्सी फोडेको, सडकमा गाडी जलाएको धङधङी कहिलेकाँही यता पनि देखिन्छ ।

तर यो समस्या अस्थाई हो । संघका पदाधिकारीहरुको अनुभव, पृष्ठभूमि र स्वार्थमा यति ठूलो खाडल छ कि उनीहरुबीच साझा एजेण्डा बनाउन मुस्किल छ । तथापी ‘नेपालीको लागि नेपाली’ भन्ने भावनाले केही असमझदारी देखिए पनि समग्रमा संघमा हालसम्म एकता कायम रहेको छ ।

राष्ट्रले गैरआवासीय नेपालीहरुको क्षमता भन्दा बढी अपेक्षा गर्नु र संघले आफ्नो औकातभन्दा बढी प्रतिबद्दता जाहेर गर्नाले संघले आलोचना खेप्दै आएको छ । गत निर्वाचनमा भएको हायत होटल प्रकरण, निर्वाचनमा पैसा र दलीय राजनीतिको खेल, संघका पदाधिकारीहरुको खराब व्यक्तिगत आचरण, संघभित्र अनुशासनको अभाव लगायत कारणले संस्थाको शाख खस्किँदो छ । यसकै कारणले हुनसक्छ, संघले धेरै गैरआवासीय नेपालीहरुलाई आकर्षण गर्नसकेको छैन । संस्थामा महिला युवाहरुको सहभगिता न्यून छ । दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुको सहभागिता शुन्य छ भने पेशागत, विज्ञ र विशेषज्ञहरु संघ भित्रको राजनीतिबाट टाढा छन् । कतिसम्म भने बाहिर बस्ने नेपालीहरुको दुई प्रतिशत भन्दा कम मात्र संघको पञ्जिकृत सदस्यहरु छन् ।

गत निर्वाचनमा भएको हायत होटल प्रकरण, निर्वाचनमा पैसा र दलीय राजनीतिको खेल, संघका पदाधिकारीहरुको खराब व्यक्तिगत आचरण, संघभित्र अनुशासनको अभाव लगायत कारणले संस्थाको शाख खस्किँदो छ ।

यी चुनौतीलाई पार लगाउन र प्रविधि, विश्व अर्थतन्त्र, गैरआवासीय नेपालीहरुको प्रगतिको धरातल लगायतमा भएको बदलिँदो परिस्थितिमा संघलाई अगाडि बढाउन अहिले ‘रुपान्तरको अभियान’ अघि सारिएको छ । संघमा बढी भन्दा बढी नेपालीहरुको सहभागिता गराउँदै दिगो, प्रविधियुक्त, बहुआयामिक, परिणामुखी, उत्तरदायी र पारदर्शी एनआरएनए बनाउन, लगानीमा सुलभ पहुँच, सम्मानपूर्ण वैदेशिक रोजगार, सीप, ज्ञान र नवप्रवर्धनको प्रभावकारी हस्तान्तरणका लागि विभिन्न कार्यक्रमहरु अघि सारिएको छ । विशेष अधिवेशनबाट विधानमा संशोधन गरी यसका केही पुर्वाधार तयार गरिएको छ । विधानले निर्वाचनलाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ । यद्यपी संसोधित विधानमा छलाङ मार्ने खालका केही एजेण्डाहरु सहमतिको पर्खाइमा छन् ।

रुपान्तरण अभियानले आम गैरआवासीय नेपालीहरुलाई केही मात्रामा भएपनि तरंगित पक्कै पारेको छ । यस अभियानबाट भयभित हुनेपनि छन् । राजनीति र पैसाको भरमा सघंमा वर्चस्व जमाउने, सिमित घेरामा संघ चलाउने र संघबाट फाइदा लिनेहरुले रुपान्तरणको अभियानलाई स्वागत् गरेका छैनन् ।

अर्को चुनौती संघका कार्यक्रम हुन् । अहिलेको प्रवृत्ति अल्पकालिन र दीर्घकालिन रणनीतिहरु तयार गरेर यसै अनुसार कार्यक्रमहरु अगाडि सार्नुभन्दा भावनामा बहेर वा भनौँ नेतृत्वको लहडमा कार्यक्रम आउने गर्छन् । नीतिगत, साधन र श्रोतको रुपमा संघ तयार छ वा छैन त्यसको लेखाजोखा नगरी कार्यक्रम गर्दा केही दुर्घटना पनि भएका छन् । विगतमा देखिएका यस्ता समस्या सच्याउन र आर्थिक पारदर्शिताका लागि केही नीतिगत परिवर्तन गरिएको छ । तर एउटा पुरानो मानसिकता भएका पदाधिकारीहरुको मनोविज्ञान परिवर्तन गर्न सकिएको छैन ।

स्थापना कालमा अघि सारेका मुद्दाहरु जस्तै संघको विश्वव्यापी सञ्जालको स्थापना, संघको दर्ता, गैरआवासीय नेपाली सम्बन्धी कानून, संघको भवन, नागरिकताको निरन्तरता, लगानीको वातावरण लगायतका विषय सम्बोधन भइसकेका छन् । संस्थापकका यी एजेण्डाको ब्याजले चल्न अब आउने नेतृत्वलाई छुट पक्कै छैन । नेतृत्वले मातृभूमि र गैरआवासीय नेपालीको हितका नयाँ एजेण्डाका साथ आउनुपर्छ । नीतिमा मात्र होइन नेतृत्व चयन प्रक्रिया पनि व्यापक फेरबदल हुन जरुरी छ । उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले जस्ता धरोहर ब्यक्तित्वहरुलाई नेतृत्वमा जान राजनीति वा अन्य तिग्डमको आवश्यक थिएन । यो अवस्था अब रहेन । त्यसैले राजनीति र पैसाको भरमा नेतृत्वमा आउने कोसिस हुँदैछ । तर, गुट, उपगुट र राजनीतिक आस्थाको आधारमा होइन एजेण्डाको आधारमा चुनाव लड्ने परम्परा सुरु गर्नुपर्छ ।

निर्वाचन जसरीपनि आफूले जित्नैपर्ने वा आफ्नोलाई जिताउनु पर्ने, निर्वाचनको परिणामलाई सहर्ष नस्वीकार्ने रोग देखिन थालेको छ । संसदीय राजनीतिमा जस्तो निर्वाचनमा पराजित हुनेले प्रतिपक्षको जस्तो व्यवहार गर्ने, संघका आन्तरिक मामिलामा नेपालका नेताहरुबाट हस्तक्षेप गराउने परम्परा सुरु भएको छ । यो जुन संघको भावना विपरित छ ।

पदाधिकारीहरुको त्रास र आश संघभित्रको अर्को समस्या बनेको छ । चुनावमा हारिन्छ भन्ने त्रासले पदाधिकारीहरुले दलीय हस्तक्षेपको विरोध गर्न चाहँदैनन् । कुनै एजेण्डामा आफ्नो दृष्टिकोण राख्दा भोट घट्ने हो कि भन्ने डर उनीहरुमा व्याप्त छ । सहीलाई सही र खराबलाई खराब भन्ने आँट गर्दैनन् ।

उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले जस्ता धरोहर ब्यक्तित्वहरुलाई नेतृत्वमा जान राजनीति वा अन्य तिग्डमको आवश्यक थिएन । यो अवस्था अब रहेन । त्यसैले राजनीति र पैसाको भरमा नेतृत्वमा आउने कोसिस हुँदैछ ।

अर्कोतिर, उच्च नेतृत्वमा बस्नेको अर्को त्रास छ – मेरो पालामा संघ फुट्छ कि ? निर्वाचनमा आफूले चाहेको जस्तो परिणाम ल्याउन नसक्ने (केन्द्र देखि तलसम्म) र संघले अघि सारेका एजेण्डामा असहमत हुनेहरुले बेला–बेलामा ‘संघ फुटाउने’ अस्त्र प्रयोग गरिरहन्छन् । एकताको लागि नेतृत्व आफ्ना एजेण्डामा सम्झौता गर्न बाध्य हुन्छ । संघमा लागेर केही पाउने आश गर्नेहरु संघको भन्दा आफ्नो स्वार्थलाई केन्द्रमा राखेर काम गर्छन् । नेतृत्व कमजोर हुँदा बाहिरबाट फाइदा उठाउनेहरुको ठूलो लहरो छ । यस्तो प्रवृत्ति परास्त गर्न कोसिस गर्ने पदाधिरीहरु उनीहरुको निशानामा पर्ने गरेका छन् । यस्ता पदाधिकारी संघमा टिक्न सक्दैनन् ।

एकले अर्कोलाई ‘खुइल्याउने’ र ‘खुट्टा तान्ने’ प्रवृत्ति अर्को समस्या हो । ‘काम गर्नेलाई खुईल्याएर निर्वाचन आफ्नो पक्षमा पार्न सकिन्छ’ भन्ने मनोविज्ञान एनआरएनएको भवन निर्माणदेखि आईएलओको परियोजनासम्म देखियो ।

यसै प्रसंगमा एउटा कथा उल्लेख गर्नु सान्दर्भिक होला । एक पटक भगवानले भक्तलाई भनेछन् – भक्त म तिम्रो भक्तिभावले प्रसन्न भएँ । तिमीले मागेको वरदान दिन तयार छु । तर तिमीले मेरो सर्त मान्नुपर्छ । भक्त सर्तसहित वरदान लिन तयार भएछ । ‘भक्त मैले तिमीलाई जे दिन्छु त्यसको दुईगुणा तिम्रो छिमेकीले प्राप्त गर्नेछ । ल माग के छ ईच्छा ।’

भक्तले मनमनै सोचेछ- एउटा घर मागौं भने छिमेकीको दुईटा घर हुने भयो । एउटा गाडी मागौं त छिमेकीको दुईटा गाडी हुने भयो । एउटा राम्रो श्रीमती माग्दा छिमेकीको दुईटा श्रीमती हुने भए । फेरि धेरैबेर सोचेर उसले भनेछ – भगवान मेरो एउटा आँखा फुटाई बक्सियोस् (ताकी छिमेकीको दुबै आँखा फुटोस्)। भक्तको जस्तो मनोदशा भएकाहरुबाट पनि संघ ग्रसित छ ।

संघको अपार क्षमता र सम्भावनालाई संघले सदुपयोग गर्न सकेको छैन । एनआरएनए ८२ देशमा सञ्जाल भएको यो सम्भवत पहिलो डायस्पोरा संस्था हो । पहिलो पटक संयुक्त राष्ट्रसंघ अन्तर्गतका अन्तर् राष्ट्रीय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रीय प्रवासन संगठन (आईओएम) जस्ता संस्थाहरुसँग प्रत्यक्ष सहकार्य शुरु गरेको छ । आईएलओबाट प्राप्त रु १० करोडको कार्यक्रमले मध्यपूर्वका हजारौँ श्रमिकहरुले लाभान्वित भएका छन् । संघका केही लोभीपापी र आफ्नो आँखा फुटाउने वरदान माग्ने भक्त जस्ताबाट यो कार्यक्रमलाई जोगाउन सक्यो भने अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गर्न अथाह सम्भावना खुल्ने छ ।

कोभिड–१९ को महामारीमा ५० देशमा २५०० भन्दा बढी स्वयंसेवक २०० भन्दा बढी मेडिकल प्रोफेसनलबाट १ लाख ७० हजार भन्दा बढी गैरआवासीय नेपालीहरुलाई प्रत्यक्ष लाभ दिन सफल भएको छ । महामारीमा राष्ट्रिय समन्वय परिषदहरुले स्थानीय दान र सरकारी निकायसँग सहकार्य गर्न सफल भएका छन् । यस महामारीमा भएको क्षमताको परीक्षामा संघ उत्तिर्ण भएकोले अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य गर्न बाटो खुलेको छ ।

डायस्पोराले राष्ट्रिय विपत, सीमा विवाद, विश्व तापमान (ग्लोबल वार्मिङ), साना राष्ट्रको हितजन्य काम, मानव अधिकार संकटमा पर्दा अन्तर्राष्ट्रिय समुदायमा दबाब सिर्जना गर्नसक्छन् । कुटनीतिक सीमाका कारणले राष्ट्रले गर्न नसक्ने काम उनीहरुले गर्नसक्छन् । नाकाबन्दी र कालापानी लिपुलेकको सीमा विवादमा संसारभरका भारतीय दुतावासमा पारेको दबाबलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । संघका यस्ता गतिविधि भारतका गुप्तचर विभागको आँखामा परेको छैन भन्न सकिन्न । कमजोर पात्रलाई प्रयोग गरेर उनीहरुले संघलाई कमजोर बनाउँदै खेल्ने संम्भावना पनि रहनसक्छ । यो विषय अतिरञ्जित लाग्ला । तर शंका गर्न मिल्ने संकेत देखिएका छन् ।

नेताहरुले संघमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्छ । र डायस्पोरालाई राष्ट्रको हितमा प्रयोग हुने आरक्षित शक्ति (रिजर्भ फोर्स) को रुपमा राख्नुपर्छ । नेपालका पेशागत संस्थामा जस्तो निर्वाचनमा हस्तक्षेप गर्दा डायस्पोरा विभाजित हुन्छ, जुन अन्तत्वोगत्वा देशको बेफाइदाजनक हुनेछ । सत्तापक्ष र प्रतिपक्षले आफ्नो पक्षमा बोलोस् भन्ने चाहाना राख्नु हुँदैन् । जुनसुकै दलको सरकार भए पनि, जुन राजनीतिक प्रणाली भए पनि वर्तमान सरकार(गभर्मेन्ट अफ द डे) सँग सहकार्य गर्ने संघको नीति रहेको छ । यसै कारणले राजा ज्ञानेन्द्रदेखि हाल नेकपाको सरकारसम्म संघले राजनैतिक मामिलामा मौन रहँदै सरकारसँग सहकार्य गर्दै आएको छ । संघको यस नीतिलाई पदाधिकारीहरु र नेपालका दलले सम्मान गर्नुपर्छ । गैरआवासीय नेपालीहरु विभाजित हुँदा स्थानीय समुदाय र सरकारले नेपाली डायस्पोरालाई हेर्ने दृष्टिकोणमा धमिलिँदै जाने पक्का छ ।

नाकाबन्दी र कालापानी लिपुलेकको सीमा विवादमा संसारभरका भारतीय दुतावासमा पारेको दबाबलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । संघका यस्ता गतिविधि भारतका गुप्तचर विभागको आँखामा परेको छैन भन्न सकिन्न । कमजोर पात्रलाई प्रयोग गरेर उनीहरुले संघलाई कमजोर बनाउँदै खेल्ने संम्भावना पनि रहनसक्छ ।

आजको कर्मले कालान्तरमा सुख दिन्छ । तसर्थ संघभित्रका हरेक कर्मलाई शुद्धिकरण गर्दै अघि बढ्नु आवश्यक छ । आजको पुस्ताले भोलिको पुस्तालाई पुस्तान्तरण गर्ने कुरा आफैँमा पवित्र र पारदर्शी हुनु अति आवश्यक छ । अन्यथा दोस्रो पुस्ताले पनि यसको भार थाम्न काँध थाप्नुपर्ने बाध्यताको जन्म हुने निश्चित छ । सत्य, सकारात्मकताको बाटो लामो हुन्छ । त्यहि अन्त्यमा सुखदायी हुन्छ । झूट छलछाम सरल होला । तर अन्त्य अत्यन्त कुरुप र पीडादायी हुन्छ । संस्थामा हाल नकारात्मकताको बीज रोप्नेले के भोलिका दिनमा गर्व महसुस गर्न सक्ला ? त्यसैले सुध्रिनु जरुरी छ ।

गुट, उपगुट, दलीय राजनीतिबाट माथि उठेर डायस्पोरालाई एकबद्द गर्न सबै आआफ्नो ठाउँबाट इमानदार बन्नु जरुरी छ । कमसेकम आफू र मातृभूमिप्रति इमान्दार बन्न सके हाम्रो अर्को पुस्ताले पनि पिता पुर्खाको ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ को गाथा सगौरव गाउने छन् ।

सत्ययुगमा पनि नकारात्मक तत्वको अन्त्यका लागि समुन्द्र मन्थन भएको थियो । त्यसैगरी संघमा देखा परेका नकारात्मक तत्वको अन्त्य गरी नयाँ शिराबाट अघि बढ्न त्यस्तै समुन्द्र मन्थनको आवश्यकता देखिएको छ । तर त्यसबाट निस्कने कालकुट पिउने ल्याकत नेतृत्वमा छ कि छैन ? अहिलेको यस यक्ष प्रश्नको जवाफ हामीसँग छ ?

तपाइँको प्रतिक्रिया

फेसबुक