मंगलबार, चैत ६, २०८०

कोरोना कालमा स्विस जनता आगोसित खेल्न तयार

नेपालप्लस सम्वाददाता / जेनेभा२०७८ वैशाख १ गते २३:२८

(Photo: eCHo Restaurants Via traveler.marriott.com

स्विजरल्याण्डका स्वास्थ्य मन्त्रीले आफूहरु कोरोना कालमा आगोसित खेल्न तयार रहेको बताएका छन् ।  कोरोनाकालमा होटेल, रेस्टुरेन्टहरु खोल्ने निर्णय गरेकाले यसलाई उनले आगोसित खेल्न तयार रहेको बताएका हुन् ।

कोरोना भाइरस फैलिने खतरा छँदाछँदै स्विजरल्याण्ड सरकारले आउँदो सोमवारदेखि बाहिर बसेर खान मिल्ने सुविधा भएका रेष्टुरेन्ट र बारहरु खोल्ने घोषणा गरेको छ । चार महिनाको बन्दाबन्दीपछि अस्तव्यवस्त रहेको रेष्टूरेन्ट र बारको व्यवसायलाई पुरानै लयमा ल्याउने योजनाका साथ निश्चित नियम पालना गर्नुपर्ने गरी सरकारले यो घोषणा गरेको हो ।

प्रेस सम्मेलनमा बोल्दै स्विस संघिय सरकारका स्वास्थ्य मन्त्री अलाँ बेसेटले भने, ‘हामीलाई थाहा छ हामी खतरा मोल्दैछौं । यसरी रेष्टुरेन्ट, बार र भीडभाड हुने ठाउँहरु खुला हुनु खतराको संकेत हुन सक्दछ । तर कोरोनासँगसँगै बाँच्न अभ्यस्त हुनुपर्ने सत्यलाई स्विकार्दै हामी आगोसँग खेल्न तयार भएका हौं ।’

सरकारले स्विस बेपारीहरुलाई दिंदै आएको सहयोग नरोक्ने तर जनस्तरबाट कोभिड रोकथामका नियमहरु अनुशासितपूर्वक पालन गर्ने अपेक्षा लिएरै खुलापनको अवधारणा ल्याएको स्वास्थ्य मन्त्रीले पत्रकारहरुलाई बताए ।

कोरोना विरुद्धका न्यूनतम नियमहरु पालना गर्दै भवन भित्र र खुलारुपमा खेलकूद एवं सांस्कृतिक कार्यक्रमहरु गर्न पनि सरकारले खुल्ला गरेको छ । तर खुलारुपमा गर्दा सय जना र कोठाभित्र गर्दा ५० जना भन्दा बढि हुन नहुने नियम छ ।

विश्वविद्यालयहरु र शैक्षिक संस्थानहरुमा एकतिहाइ विद्यार्थीहरु राखेर कक्षाकोठाहरु सुचारु रुपमा चलाउन सकिनेछ । तर मास्क अनिवार्य गरिएको छ भने दूरी कायम गर्नुपर्नेछ । मार्चको पहिलो सातामा एक्कासी कोरोनाको नयाँ प्रजाति भेटिएर भाइरस संक्रमण बढेसँगै मृत्यु हुनेको सँख्या पनि ह्वात्तै बढेको थियो । अस्पतालमा बिरामी चापाचाप हुँदा पनि बेपारी, राजनीतिक दल, प्रान्तिय सरकार र सरोकारवाला समूहले लकडाउनको विरुद्धमा ब्यापक दबाब दिएका थिए ।

छायासी लाख जनसंख्या भएको स्विजरल्याण्डमा यो समाचार लेख्दासम्म ६ लाख २५ हजार संक्रमित भएकोमा १० हजार ४ सय ८८ जनाको मृत्यु भएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक