शनिबार, वैशाख ८, २०८१

पत्रकार आरपीले देखेको लस एन्जलस

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ वैशाख २ गते १३:०२

नेपालको आर्थिक पत्रकारिता जगतमा अघिल्लो पुस्ताका सिद्धहस्त पत्रकार हुन्—आरपी (रामप्रसाद) भट्टराई । तर, अहिलेको चिनारीमा भने उनी एक नियात्राकारका रुपमा उदाएका छन्, साहित्यक पत्रकारका रुपमा ।

नेपाल पत्रकार महासंघका पूर्व पार्षद एवं नेपालको पहिलो आर्थिक साप्ताहिक ‘कौटिल्य’का सम्पादक, ‘उदय’ आर्थिक साप्ताहिकका सम्पादक एवं ‘हरित भूमी’ वातावरण पत्रिकाका सम्पादक रहीसकेका आरपी शंकरलाल केडियाका जीवनीपरक पुस्तकहरुका सम्पादक तथा सहलेखक पनि हुन् ।

अमेरिकाको लस एन्जलस, लस भेगास, युसिएलए र अन्य शहरमा झण्डै एक वर्षसम्म बस्दाको अनुभवलाई उनले लघु आकारमैं भएपनि ‘मेरो लस एन्जलस यात्रा’मा समेटेका छन् । अमेरिका यात्रामा देखेका, भोगेका र अनेक चाखलाग्दा घटनाहरुको रिपोर्ताजजस्तो लेखनीमा आरपीले सबै कुरा बेलिबिस्तारमा नभनेर संकेतमा व्यक्त गरेका छन् । यही पुस्तकको अंग्रेजी अनुवाद पनि एकैसाथ प्रकाशित भएको छ— ‘माइ जर्नी टु लस एन्जलस’ नाममा । अनुवाद भने भुटानमा बस्ने साहित्यिक स्रष्टा डा. शिवराज भट्टराईले गरेका छन् ।

पुस्तकबारे टिप्पणी लेख्दै प्राध्यापक डा. अन्जना भट्टराई वस्तीले भनेकी छिन्—‘यो पुस्तकमा अमेरिका यात्रामा देखेका, भोगेका अनेकौं घतलाग्दा घटना, परिस्थिती, व्यक्ति र प्रचलनलाई लेखकले रोचक ढङ्गमा प्रस्तुत गर्नुभएको छ । तीमध्ये केही गृह निर्माणका सामग्रीभन्दा निर्माणकर्मीलाई दिने रकम ४ गुणा बढी हुने तथ्य, अस्पताल व्यवस्थापनको चुस्तता, वालवालिका ओसार्ने बिद्यालयका बसलाई दिइने प्राथमिकता, विवाहित जीवनमा महिला–पुरुष दुबै असहिष्णु हुनाले देखिएका सम्बन्ध बिच्छेद, पुर्नबिवाह, सौतेनी बाबुको सहज प्रचलन जो हाम्रो समाजमा नगन्य देखिन्छ । यी र यस्ता विवरणहरु मनकारी शैलीमा लेखिएका छन् ।’

बुधबार यही नियात्रा पुस्तकको कीर्तिपुरमा आयोजित संक्षिप्त समारोहमा प्राध्यापक डा. गोबिन्दराज भट्टराई, हाँस्यव्यङ्गयकार लक्ष्मण गाम्नांगे, टिप्पणीकार डा. अन्जना भट्टराई वस्ती र लेखक स्वयंले बिमोचन गरेका थिए । उक्त समारोहमा नियात्राकार आरपी भट्टराईले यात्रा गर्नु र यात्रामा नयाँ कुराको खोजी गर्नु तथा उत्सुकता जनाइराख्नु आफ्नो बानी भएकाले पनि अमेरिकाको यात्राको टिपोट नियात्रा साहित्यको रुपमा बाहिर आउन सकेको बताए । ‘अमेरिका यात्रामा म जहाँजहाँ पुगें, जेजे देखें, अनुभव गरें, त्यसलाई यो सानो पुस्तिकामा उतार्ने प्रयत्न गरेको छु,’नियात्राकार आरपीले भने—‘आज अमेरिका नपुग्ने त कोही छैन । तर, अनुभुती सबैका आ–आफ्नै हुने रहेछन् । त्यसैले यो मेरो नितान्त निजी अनुभव हो ।’

१२० पृष्ठको कृति ‘मेरो लस एन्जलस यात्रा’ कृति मन्जरी प्रकाशन गृहले प्रकाशित गरेको हो । नियात्राकारले कृतिको मुल्य भने निकै चर्को राखेका छन्— २ सय रुपैंया नेरु अथवा २० डलर । पुस्तकको नेपाली संस्करणमा डा. अन्जना वस्ती भट्टराई, ज्ञानबहादुर क्षेत्री (आसाम), जानु काम्बाङ्ग लिम्बू (बेलायत), डा. गोविन्दराज भट्टराई लगायतले शुभेच्छा टिप्पणी राखेका छन् । हाल बेलायत बस्ने समीक्षक जानु काम्बाङ लिम्बूको टिप्पणी छ—‘स्रष्टा आरपी भट्टराईको ‘मेरो लस एन्जलस यात्रा’ पढेर यो निर्क्यौल निकालेकी छु—उनको लेखन सुपाठ्य, कोरेली गाईको दूधजस्तो स्वादिष्ट र पोषिलो छ ।

तपाइँको प्रतिक्रिया