शनिबार, वैशाख १५, २०८१

पोर्चुगलमा गलत ठेगाना दिएकै भरमा वामपन्थी सांसदद्वारा राजीनामा

नेपालप्लस डेस्क२०७८ वैशाख २ गते २२:२०

पोर्चुगलको संसदमा निकै जोडदार रुपमा श्रमिकहरुको पक्षमा आवाज उठाउने वामपन्थी सांसद सान्द्रा कुन्ह्याँले ठेगानाको विवाद चर्किएपछि राजिनामा गरेकी छिन् ।

दुई सय तीस सदस्य रहेको पोर्चुगिज संसदमा १९ सिट रहेको वामपन्थी दलकी सांसद सान्द्राले सांसद चुनिएपछि बुझाउने व्यक्तिगत विवरणमा घरको ठेगाना गलत दिएको भनी पत्रपत्रिकामा खबर आएको थियो । सूचना बाहिरिएसँगै महान्यायाधिवक्ताको कार्यालयले ‘के कति कारणले गलत सूचना दिइएको हो ?’ भनी साँसद सान्द्रालाई प्रश्न सोधेको थियो । उनले कुनै नियतवश गलत ठेगाना नदिएको तर आफू पहिल्यैदेखि बस्दै आएको घर सरेको सूचना मात्रै दिन बाँकी भएको बताएपछि पत्रपत्रिकाले आफ्नो सम्पत्ति लुकाउनको लागि गलत सूचना दिइएको भन्दै छापेका थिए ।

उमेरले ४८ वर्षकी सान्द्राले विश्वविद्यालयमा समाजशास्त्र अध्यापन पनि गर्छिन् । उनको पिएचडी पनि सकिनै लागेको छ । समाजवादी पार्टीको सरकारकी कटू आलोचक रहेकी सान्द्राले राजीनामा पत्रमा भनेकी छिन्, “म इमान्दारितामा विश्वास गर्छु । म माथि सरकारको स्वतन्त्र छानविन गर्ने निकायले प्रश्न गरेपछि म सांसदको हैसियतमा संसद भवनभित्र जाँदा पद्धतिमाथिको उपहास हुन्छ । समाजमा न्याय र समानता स्थापित गर्न आवाज उठाउने हामीहरु पहिला आफू बेदाग रहनुपर्छ । त्यही भएर छानविन गर्न सघाउ पुगोस् भनेरै मैले राजीनामा गरेकी हुँ ।”

पोर्चुगलमा पूर्व प्रधानमन्त्री जोजे सोक्रेट्स अवैध सम्पत्तिमा आलिसान घर बनाएर सरकारलाई सूचनाहरु लुकाएको अभियोगमा तारिख खेपिरहेका छन् । स्वीजरल्याण्डको बैंकमा उनको अकूत सम्पत्ति छ भनी छानविन भैरहेको छ ।

यतिबेलै आफ्ना सांसदमाथि सुनियोजित हमला भएको भनी वामपन्थी गठबन्धनले वक्तव्य निकालेपनि सांसद सान्द्राले राजीनामा दिएर छानविनको बाटो खुला गरिसकेकी छिन् ।

तपाइँको प्रतिक्रिया