मंगलबार, चैत ६, २०८०

शनिवार- साहित्य / सृजना / नियात्रा

डा. गोबिन्द राज भट्टराई२०७८ वैशाख ४ गते ५:०५

रेलमा बस्नेबित्तिकै वातावरण गम्म जस्तो भएर आयो । उता युरोप अमेरिकामा यस्तो हुन्थ्यो– एक प्रकारको गुम्सा, बतास नचल्ने ठाउँमा हुने एक प्रकारको निःश्वास जस्तो । प्रत्येक टियरमा मान्छे तीनतला ओछिन लागेका छन् । दिउँसोमास अझ प्रत्येकमा पर्दा लगाएका छन् र सबै गोप्य जस्तै बाह्य संसारतिर दृष्टि नलगाई बसेका छन् । कति त सुतेका पनि छन् ।

निकै बेरपछि मलाई निःश्वास थपिए जस्तै भयो । स्वच्छ वायुको अभावले हो कि भन्ने लागेर झ्याल खोली बाहिर हेर्ने इच्छा जागृत भएको बुझ्न थालेँ । तर सिसाको झ्याल बल गर्दा पनि खुलेन । मेरो चेष्टा देखेर पर्तिर बस्नेहरूले अलिक उदेक माने । तर म बोलिनँ । हेरेँ— सिसामा शीत परेझैँ पानी बगेका धर्का थिए । बाहिरी जगत् अलिक घुर्मैलो थियो । ‘यस्तो सोफोकेशन रेलमा ?’ जस्तो लागेर अतीतका रेलयात्रा सम्झेँ । हाम्रा लागि त प्रत्येक स्टेशनमा रोकियोस् । चना चटपटे लिएर एउटा छिरोस् । छिटोछिटो जुत्ता पोलिस गर्ने अर्काे, गीत गाउने भिखारी अर्को, गोजीकट्टाहरू चेपिँदै पसुन् । उनीहरूका तीखा आँखा अनि टाइगर बाम, चक्कु र सिक्रि बेच्नेहरू, खेलौना बेच्नेहरू, पेट बाहिर उछिट्टिने गरी बाक्सा भिरेका पान, सलाइ र सिग्रेट बेच्नेहरू, अरू चटके सामानको भीड होस् ।

मैले चिनेका–चढेका रेल यस्ता हुन्थे । उता झ्यालका पल्लाका तीन तह, काठ सिसा र फलाम होऊन्, यहाँ त सिसा मात्रै छन् । खुला झ्यालको डन्डीमा हात छिराउनेहरू, मान्छेका नाडीका घडी थुतेर उफ्रिनेहरू, घाँटीको सिक्रि ताक्नेहरू, दश रूपैयाँमा ताजा रोटीसब्जी बेच्नेहरू, पुलिसले लात्ती हान्दै तल खसाइरहेका छन् । यस्तो जीवन्तता नै मेरो रेलको यात्रा थियो ।

भुइँमा घोप्टिएर एउटा उँघ्दै छ । उसलाई नाघेर जानेहरू छन् । तल खसेका बदामका खोस्टामाथि निदाइरहेका । कोही माटाका पालामा हालेर मीठो अद्रक–चाय बेच्ने, यस्तो पो रेल यात्राको मज्जा ! मैले चिनेका–चढेका रेल यस्ता हुन्थे । उता झ्यालका पल्लाका तीन तह, काठ सिसा र फलाम होऊन्, यहाँ त सिसा मात्रै छन् । खुला झ्यालको डन्डीमा हात छिराउनेहरू, मान्छेका नाडीका घडी थुतेर उफ्रिनेहरू, घाँटीको सिक्रि ताक्नेहरू, दश रूपैयाँमा ताजा रोटीसब्जी बेच्नेहरू, पुलिसले लात्ती हान्दै तल खसाइरहेका छन् । यस्तो जीवन्तता नै मेरो रेलको यात्रा थियो । सधैँको त्यस्तै इम्प्रेसन थियो । आज अचानक भिन्न गतिको, रूपको, संस्क्रितिको रेलमा परेपछि म अलिक उदास र खिन्न भएँ । कारण कतै पर्दा खुलेन । खुलेको ससानो चिराबाट देखिएको बाह्य जगत् अस्पष्ट थियो जुन आशयले यो विशेष डिब्बाको सिट बुकिङ गरिएको थियो त्यसले मेरो मनमा विपरीत चित्र ल्याइदियो ।

त्यसो त छिनछिनमा खाना ल्याइरहे— सूप अनि लन्च । अनि आइसक्रिम । फेरि हाइ टी र पानीका बोटलहरू ! तर चार दशकदेखि चढेको र भोगेको रेलका त्रासद सुख आज अचानक ध्वस्त भएझैँ लाग्यो । बाहिर निस्कन पाइएन । तीव्र गतिका कारण बेलुका गुवाहाटी पुग्ने समयतिर अलिक रिँगटा चल्न थालेको थियो । धर्ती बिस्तारै घुम्न थालेको थियो । बीचका स्टेशनतिर हेर्दै, ओर्लिंदै, टिप्तै, चनाचटपटे, बदाम, घुघुनी खाँदै, नरिवलको पानी पिउँदै आउने सपना निराकार भएको थियो । मार्गमा कति स्टेशन, जक्सनहरू आए गए पत्तो भएन । कुन ठाउँमा ताता पुरी र तरकारी दुनामा पस्किएका थिए पत्तो पाइएन । रेलको आधी आनन्द बन्द सिसाले, पर्दाले छेल्यो । तीव्र गतिले उडायो । घुम्ती परेको ठाउँमा रेल घुमेको बेला कोल्टिएर हेरौँला— कालो मुस्लो बादल उठेर आकाशै ढाकिएला । त्यस्तो कोइलाको धूवाँ उड्दै आएर हाम्रो नाकसम्म आइपुग्दा एउटा विचित्रको देशी गन्ध कस्तो रुमानी बास्ना जस्तो हुन्छ होला ! तर आज त्यस्तो कुनै आनन्द थिएन ।

गुवाहाटी पुग्ने समयमा फोन गर्‍यौँ । लीलबहादुर क्षेत्री सरले उठाउनुभयो— ‘म आउन सक्तिनँ होला । तपाईंहरू रहने होटेल थाहा भयो । स्टेशनमा लिन भाइहरू आइपुग्ने छन् ।’ त्यस्तो सम्मानित र आत्मीय स्वर सुन्दा कुनै आदरणीय अभिभावक छेउ पुग्न लागेझैँ आनन्द लाग्यो ।

एक छिनपछि डा. खगेन शर्माको कल प्राप्त भयो— ‘गुवाहाटीमा सरलाई स्वागत छ ।’ मैले सचेत भएर बोलेँ— ‘हामी फलानो डिब्बाको सिट नं। ६४, ६५ र ६६ मा छौँ भाइ, हराउने हौं कि, राम्रो ख्याल गरिदिनुहोला ।’

उनले भने— ‘उत्रेर वरपर नगई त्यहीं उभिनु होला । हामी त्यहीं आउनेछौँ ।’ मैले कल्पेँ दुई जना हुनुपर्छ । अथवा बढी होलान् । खगेनलाई भेटेको छैन । हामीलाई नचिनेर दुःख पाउने हुन् कि ! साँझको छ बजेको छ । सबैतिर रिमरिमले ढाक्नै थालेको समय । तर अलिक अघिदेखि शहरले छुन थालेदेखि दीपावली पूजाका माला, फूल, झिलमिल बत्ती देख्न थालेका थियौँ ।

हामी राजधानीबाट ओर्लियौँ । ओर्लंदा बिहान चढ्दाझैँ ठूलो अन्योल र आतङ्कले छोपेन । होलै थियो । आआफ्ना सुटकेस बाक्सा ठड्याएर तिनका छेउमा उभिएका थियौँ— डा. खगेन शर्मा देखिए । एक उज्याला र गम्भीर लाग्ने अधबैँसे, चिल्लो, गोलो र उज्यालो अनुहार, कालो केश तर निधार चौडा हुँदै गरेको । तीसदेखि चालीसबीच हुनुपर्छ । मृदुभाषी खगेनसँग अर्का पातला, त्यस्तै मृदुभाषी युवा थिए— एकदेव शर्मा अधिकारी । दुवै जना एउटै संस्थामा कार्यरत विद्वान्हरू, हाम्रो साइबर भेट मात्र हो । तर आज लाग्न थाल्यो । हामी सधैँ सँगसँगै थियौँ । केले त्यस्तो पार्छ ? कसरी यो आत्मीय भाव उत्पन्न हुन्छ ? र परिचित भावले सबै छोपिदिन्छ ? म भन्न सक्दिनँ ।

तिलचामले केश छन् । दारीजुँगा खौरेको सफा, अनुहारमा काला कोठी जस्ता एक दुई थोप्ला, चम्किला आँखा र हँसिलो मुहार, हरियो सर्टमा पातलो क्रिम सुटसँग सधैँ चिटिक्क तन्दुरुस्त लाग्ने, बोली उही अलिकति भित्र पसेको भनौँ कम्पित छ ।

त्यहाँबाट रेल्वे ब्रिज चढ्दै र ओर्लंदै फेरि तेर्छिंदै पल्टनबजारका मुखमा पुग्यौँ । त्यो पनि चिरपरिचित ध्वनित हुने नाम । त्यत्रो महानगरी । एक मेट्रोपोलिटन सिटीको मुटुमा विकसित बजार लेनको नाम ‘पल्टनबजार’ सुन्दा नेपालीको उपस्थितिको कालक्रम बताउँछ । त्यसका लागि पढ्नु नि लीलबहादुर क्षत्रीको प्रतिध्वनिहरू विस्मृतिका (सन् २००८) । अनि बिस्तारै सामान जति रिक्सामा पठाएर नेपाली मन्दिरको मार्ग हेर्दै हिँड्यौँ । सबै त उस्तै छ । सधैँ देखेको एक परिचित शहरझैँ । रिक्सा, ठेलागाडा, सुमो, कार, ट्याक्सी र पैदलयात्रीहरूको घुइँचो । बाटाका दुईतिर ससाना छाप्रा । लहरै बसेका ससाना दोकान, फलफूल, चिया, खिर्चिमिर्ची, भीड, कटेरा ! फेरि पाश्र्वभूमिमा छन् लहरै ठूला घर । विशाल बिल्डिङहरू । यो मैले सदैव चिनेको जस्तो प्यारो लाग्ने शहर आयो । हिँड्दै गयौँ । एकै छिनमा ‘नेपाली मन्दिर’ भन्ने ठाउँतिर जान शाखा रोड छोडेर सडक तरेपछि हाम्रो बास आयो— होटल सिरोइ लिली ।

कस्तो छ प्रविधि, निकै अघि काठमाडौँको एजेन्टसँग बुक गरेको गुवाहाटीको कोठा— लबीमा झोला बिसाएर नाम दर्ता गर्नु, कम्प्युटर स्क्रिनमा आआफ्ना फोटा खिचाउनु, आइडी कार्ड बुझाउनु । अघि दिल्लीमा पनि यसै गरेका थिए । त्यसपछि चार तलामाथि लिफ्ट चढाएर लगे । एउटा थ्री बेडेड रुम रहेछ । टिभी, टेलिफोन आदि सुविधायुक्त एउटा ठीकैको राम्रो बाथरुमयुक्त कम्फर्टेबल ठाउँ । अग्लो, शहरको टाढा टाढासम्म देखिने । त्यसको भाडा रु। पच्चीस सय (प्रति दिन) रहेछ ।

हामी बिसाएर आराम गर्दै मात्र थियौँ, स्रष्टा भाइ रोहित गौतम आइपुगे । उनीसित पनि प्रत्यक्ष होइन, परोक्ष मात्रै भेट भइरहेको थियो । उनले खुकुरी निसानी पिन खिलेको एउटा कालो टोपी ओढाएर मेरो स्वागत गरे । केही क्रितिहरूको उपहार प्याकेट मलाई हस्तान्तरण गरे । उनी सपरिवारका सम्पादक हुन् । सपरिवारको नवीनतम अङ्क (पूर्णाङ्क १४) पनि उनका साथमा थियो । भाइ रोहितसँगको पनि मेरो परोक्ष भेट मात्र हो— साइबरीय । तर म यी कर्मठ युवाबाट प्रभावित छु । मलाई उनले सपरिवार वर्ष ६ अङ्क १ देखि निरन्तर एक प्रति पठाएका छन् । केही मात्र हुलाकमा बेपत्ता भए हुनन् । सबै मैले पढेर राखेको छु । यसका सम्पादक उनी । प्रत्येक अङ्क ८० ठूला पृष्ठमा छापिने नेपाली मासिक हो । सपरिवार आसामको स्तरीय साहित्यिक प्रकाशन हो । यही सपरिवारमा धारावाहिक रूपमा प्रकाशित गर्न रोहित भाइले मेरो सुकरातको डायरीको निमित्त अनुमति मागेका थिए । मैले सहर्ष स्वीकार गरेको थिएँ । गत वर्षदेखि त्यसमा यसका अंशहरू छापिँदै आएका छन् ।

यसअघिदेखि क्रिष्ण धरावासीको राधा र भगीरथ रावतको बास सल्किरहेछ क्रमागत थिए । यही देखेर रोहितको साहित्यप्रतिको निष्ठा र ऊर्जाशीलताले मलाई तानेको थियो । यस पटकको भेटमा मलाई उनले केही क्रिति पनि ल्याइदिए । त्यही सेरोइ लिलीमै हस्तान्तरण गरे । ती कृति हुन्— गीता उपाध्यायको सद्यः प्रकाशित क्रिति जन्मभूमि मेरो देश उपन्यास (२०१३), पूर्ण खड्काको क्रान्तिध्वनि कवितासङ्ग्रह (२०१३), धर्मेन्द्र उपाध्यायको तिमी घामकी आमा कवितासङ्ग्रह (२०१३), बोगीराम गोर्खा भण्डारीको आमा ! पूरा भयो तिम्रो चाहना कवितासङ्ग्रह (२०१३), डा. खगेन शर्मा र रोहित गौतमद्वारा सम्पादित अनुभवको साइनो कवितासङ्ग्रह (उत्तर–पूर्वाञ्चलीय नवीन कविता २०११) ।

हामी साइबरमा मात्र बोलेका थियौँ । आजको प्रत्यक्षरूपमा कति कोसेली प्रेमले जम्मा गरी मलाई उपहार गर्न प्रतीक्षामा रहेका रोहित भाइ तिहारको सन्ध्यामा कहाँदेखि हामीलाई भेट्न आइपुगे । उनी अलिक स्वप्निल आँखा भएका, ज्यादा नबोल्ने, मुहारमा हर्ष र उत्साह बोकेर हिँड्ने युवा रहेछन् । उनको प्रयत्न र परिश्रमलाई मैले सपरिवारका प्रत्येक अङ्कमा पढेको छु । गीता दिदीलाई त सशरीर पनि भेटेको हुँ । सपरिवारकै वर्ष ६ अंक १ मा प्रकाशित उनको सविताको सम्झनामा शीर्षक कति कलापूर्ण एवं मर्म छुने कविता छ । आज एकपल्ट त्यो स्मृति–कविताको पुनः स्मरण गर्न चाहन्छु—

तिम्रो हातको स्पर्शले सुगन्धित कागजको पन्नामा
मोती जस्ता अक्षरले मतिर हेरी
हाँसिरहेका छन् भावविनिमय गर्दै
अदृश्य लोकबाट
मेरो वरिपरि नै छौ तिमी
हरदम मेरो ख्याल राख्दै
पूर्वेली हावाले सुन्तलाको बोट हल्लाउँदै
मेरो निधार छुन आउँदा म झस्कन्छु
कपाल दुखेको छ म थिचिदिऊँ कि ? भन्दै
मेरो शिर दबाउँदै छौ भन्ने झझल्काले

केही पनि त फेरिएको छैन ?
तिमीले सजाएको भान्साघरको दराजमा
अचारका बोतलहरू मगमग बास्ना छोड्दै छन्
मसलाका डिब्बाहरू दिनहुँ म पुछ्ने गर्छु
क्रिसेनथिमाम र सयपत्री
तिमीले रोपेका ढकमक्क फुलेका छन् सामनेको आँगनमा
यहाँ बसेर बिहानबेलुका फूल हेरौँला है नि
तिमीले राखेका बेतका कुर्सी
जहाँ राखेका त्यहीं छन्
मैले ठाउँ सार्न दिएकी छइनँ

तिमी हिँड्दा भएको सारीको फुर्काको आवाज
मेरो कानमा आइरहन्छ
म टेबिलमा बसेर लेखिरहँदा
तिमीलाई त यो घरमा छरिएकी पाउँछु
बिहानको चिसो हावाजस्तो
पारिजातको सुवासजस्तो
दियोको उज्यालोजस्तो ।
तेजपुर

साँच्चै भन्ने हो भने सपरिवारका अङ्कहरूले नै मलाई विष्णु सुनार, रण काफ्ले, विक्रमवीर थापा, पद्म ढकाल, लोकनाथ उपाध्याय चापागाइँ जस्ता अनेक स्रष्टासित भेट्ने मौका मिलेको छ । रोहित भाइलाई फेरि एकपल्ट धन्यवाद दिन चाहन्छु । उनी दुई देशका सेतु हुन् । आज प्राप्त कृतिको म पछि चर्चा गर्नेछु । परन्तु आज एकै छिनमा त्यहीं आइपुग्नुहुने अग्रज स्रष्टा लीलबहादुर क्षत्रीसमेतको उपस्थितिले गर्दा हामी खुसीले भरियौँ । कुनै एक अभिभावक भेट गर्न घरै आइदिएजस्तो भयो ।

लीलबहादुर सर अलिक अस्वस्थ, डाक्टरले नहिँड्नू भनेको, चेस्ट पेन, नाडीमा ठक्कर, अरू विकारले गाँजेर अलिक अस्वस्थ छु भन्नुहुन्थ्यो । त्यसैले नआउनुहोला रातिमास, भोलि भेटौँला भनेका हौँ । खबर पनि पठाएका थियौँ तर आइदिनुभयो । अनुहार त गत वर्ष काठमाडौँको होटल कमलमा भेटेजस्तै थियो । तिलचामले केश छन् । दारीजुँगा खौरेको सफा, अनुहारमा काला कोठी जस्ता एक दुई थोप्ला, चम्किला आँखा र हँसिलो मुहार, हरियो सर्टमा पातलो क्रिम सुटसँग सधैँ चिटिक्क तन्दुरुस्त लाग्ने, बोली उही अलिकति भित्र पसेको भनौँ कम्पित छ । उहाँलाई पहिलोपल्ट भेटेको आज ३८ वर्ष बितेछन्, मलाई उस्तै लाग्छ । एउटा लिजेन्ड्री व्यक्तित्व । नेपाली जातिका उच्च गौरव । एक छिन बस्यौँ, वार्ता गर्‍यौँ । मैले यस पटकको मेरो यात्रायोजना बताएँ र उहाँहरूले तत्कालै भोलि हुने योजनाहरू मिलाउनुभयो ।

भाइटीकाको अघिल्लो दिन । शहर जगमग छ । तर हामी निकै थकित पनि थियौँ । त्यसकारण भोलि भेट्ने वाचा गर्दै उहाँहरूले बिदा लिएपछि रात्रिको स्वागतमा लाग्यौँ ।

बाटाका अनेक खाद्य थिए । एनजेपीका इडलीदेखि राजधानीका टाइमपास, घरका रोटी र यस्तै अरू पनि हाम्रा ब्यागतिर विश्राममा थिए । निकालेर तिनै पदार्थ सेवन गर्‍यौँ । दूध मगाएर पान गर्‍यौँ । आज शरीर गलेको छ । थकाइ मार्न पल्टिने इच्छा छ । गुवाहाटी जाडो–गर्मीरहित छ । वातानुकूलक यन्त्र सञ्चालन आवश्यक नपर्ने यस कोठामा समशीतोष्ण वायुचाप छ । हामीलाई बिहानदेखिको थकानले बिस्तारामा पल्टायो । दराजका पातला ब्ल्याङ्केट निकालेर त्यो विशाल पलङमा पल्टियौँ ।

क्रमश :

तपाइँको प्रतिक्रिया

फेसबुक