मंगलबार, चैत ६, २०८०

कर्णालीको सन्देश

लक्ष्मण देवकोटा२०७८ वैशाख ४ गते ४:०४

प्रचण्डसँगको मित्रता दुश्मनीमा बदलिएपछि बदलाको भावमा खुँडा खुकुरी बोके जसरी उत्रिएका प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई कर्णालीका आफ्नै दल एमालेका सांसदले फ्लोर क्रसको बज्र प्रहार गरिदिएका छन् । माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगिएको छ । ओलीपक्षको योजना तुहिएकोछ ।

कर्णालीको प्रदेश सभामा भएको यो घटना लगत्तै ओलीका सारथीहरु सुवास नेम्वांग र प्रदीप ज्ञवालीहरुले फ्लोर क्रस गरेर प्रकाश ज्वाला लगायतका सांसदहरुले गम्भीर अपराध गरेको बताएका छन् । यो अक्षम्य अपराधका लागि उनीहरुलाई पार्टीले हदैसम्मको कारवाही गर्ने पनि उनीहरुको भनाइ छ । प्रकाश ज्वाला भने आफूहरु चारजनाले गरेको काम पार्टी एकताको निम्ति भएको र माधव नेपालकै सल्लाहमा आफूहरुले निर्णय लिएको बताएका छन् ।

लुम्बिनीमा शंकर पोखरेल र गण्डकीमा पृथ्वीसुब्बा गुरुङ जस्ता ओलीभक्तहरुको पनि कुर्ची हल्लिएको बेला माधव नेपाल पक्षका प्रदेश सांसदहरुको विद्रोहको झट्का सिंहदरबारसम्मै आइपुगेको छ । अहंकारको टाँगामा सवार केपी शर्मा ओलीलाई ठूलै झट्का लगाइदिएको छ कर्णालीले ।

एमालेका सांसदहरुले फ्लोर क्रस नगरेको भए माओवादीले प्रदेश सरकारबाट हात धुनुपर्दथ्यो । तर प्रचण्डलाई कर्णालीमा बढारिएको हुँकार प्रधानमन्त्रीले गर्थे । सरकार एमालेको बन्थ्यो । त्यसो भएन । निकै तरल अवस्थामा रहेको केन्द्रीय राजनीतिमा शेर बहादुर देउवाले सत्ताको निम्ति पहल गर्ने निर्णय लिएर भित्री चलखेल शुरु गरेपछि अत्तालिएका ओली महन्थ ठाकुरका सबै माग पूरा गरेर भएपनि सत्ता जोगाइराख्ने रणनीतिमा छन् । निर्णायक विन्दूमा रहेको जसपा दुई खेमामा विभक्त छ । एकातिर बाबुराम भट्टराई र उपेन्द्र यादवहरु छन् भने अर्कातिर ओली निकट राजेन्द्र महतो र महन्थ ठाकुर । यो तानातानीमा कर्णालीको घटनाले निकै ठूलो महत्व राख्ने देखिन्छ ।

प्रकाश ज्वाला लगायत आफ्नै पार्टीका सांसदहरुले पार्टी आदेशको अवज्ञा गरेपछि कारवाहीको प्रश्न उठिरहँदा केही गम्भीर प्रतिप्रश्नहरु उठिरहेकाव्छन् । जमीनका मानिसहरुले प्रश्न गर्न थालेका छन्, पाँच वर्षसम्म चलाउने आदेश लिएर संसदीय अभ्यासका निम्ति पठाइएका केपी शर्मा ओलीले हठात् संसद विघटन गरेपछि देशमा भूर्तालो भयो । जनादेशका कुरा गरेर नथाक्ने प्रधानमन्त्री एकपछि अर्को गरी आफूले गरेको काम संवैधानिक भएको बताउँदै देश दौडाहामा कुदे । अन्ततः सर्वोच्च अदालतले संसद विघटन गर्नु गलत थियो भनेर संसद पुनर्स्थापना गरिदियो । यसरी असमयमै जननिर्वाचित संसदको हत्या गर्ने व्यक्तिले आफूले गलत गरेछु भनेर पश्चात्ताप गर्नु त कता हो कता, फेरि अनेक तिगडम गरेर बालुवाटार नछोड्ने हथकण्डा अपनाइरहेका छन् ।

अदालतले प्रधानमन्त्रीको काम गलत छ भनेर फैसला दिएपछि नैतिकताको आधारले पद किन नछोडेको ?

अर्को पार्टी पँक्तिभित्रका मानिसहरुको प्रश्न छ । कार्यकर्ताहरु सोध्छन् अध्यक्ष सबैको अध्यक्ष तर बराबरीको हैसियतमा हुन्छ । उ पनि अधिवेशनबाट निर्वाचित हुन्छ । यो कम्युनिष्ट पार्टी एमाले भित्रको चलन हो । एमालेको विधानमा लेखिए बमोजिम पार्टीको मार्गदर्शक सिद्धान्त अनुसार पार्टी चल्छ । व्यक्तिको लहड र सनकका भरमा निर्णय हुँदैनन् । अहिले त पार्टीको मार्गदर्शक सिद्धान्त केपी शर्मा ओली भएका छन् । जबजको ठाउँ ‘केपी बाकी जय’ ले लिएको छ । नेपाल कम्युनिष्ट पार्टी छँदै अथवा भनुम् प्रचण्डले १९ बूँदे पत्र पेश नगर्दै पार्टी वैठकलाई किन लत्याएका होलान् ओलीले ? अध्यक्ष जस्तो व्यक्तिले विभिन्न बहाना बनाएर पार्टीको वैठक नै छल्दै आफ्नो मनमौजी निर्णय लागू गरेर पार्टीलाई छिन्नभिन्न बनाएको अभियोगमा अध्यक्षलाई कारवाही किन नगर्ने ?

अदालतको पछिल्लो निर्णयले ओलीको हात माथि परेजस्तो देखिएपनि ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न बनाएको सत्य हो । जनताहरुसँग यो तहको विश्वास र मत आर्जन गर्न अब धेरै वर्ष कम्युनिष्टहरुले पापड पेल्नुपर्ने देखिन्छ । सूचना र प्रविधिको यतिधेरै विकास भएको परिस्थितिमा अवसरको पछि कुदेर ओलीबाको जयगान गाउने हुल भोलि अर्को हुलमा लाग्न कत्ति बेर छैन । हिजो झैं पार्टी र देशका निम्ति जीवनको आहुति नै दिन तयार हुने जमीनका कार्यकर्ताहरु अब कति तयार होलान् ? ओली पार्टी भित्र र सरकारमा पूर्णत असफल भएका छन् ।

प्रकाश ज्वालाहरुलाई कारवाही गर्नु अघि जनता र पार्टीस्तरमा उठेका यी प्रश्नहरुमा बहस किन नगर्ने ? तर केपी ओलीका विरुद्ध बोल्नेहरुलाई खोजी खोजी लखेट्न
बटालियन नै बसेको छ । लोकतन्त्रको नाममा अहिले चलिरहेको ओलीराजले कम्युनिष्ट आन्दोलनको विसर्जन बाहेक केही नगर्ने स्पष्ट नै भयो । यसअर्थमा कर्णालीले दिएको सन्देश अर्थपूर्ण छ । सत्ताको मोहमा अन्धभक्त भीड र ‘म नै राज्य हुँ’ भन्ने एकल दृष्टिबाट संचालित ओलीहरुको समूह अन्त्यसम्म पनि सबै तिगडम गरेर सत्तामा रहिरहने यत्न गर्नेछ ।

देश अस्थिरताको गोलचक्करमा फँसिसक्यो । यो सबैको आरम्भकर्ता स्वयं केपी शर्मा ओली हुन् । कर्णालीका स्वाभिमानी कार्यकर्ताहरुले अध्यक्षको धनूवाँणलाई निस्तेज पारेर जनताको सन्देश दिन खोजेका छन् । यसलाई प्रतिशोधको दृष्टिले माधव नेपालहरुलाई दनक दिन कारवाहीको श्रृंखला आरम्भ भयो भने यसको घाटा सिंगो आन्दोलनलाई हुन्छ । प्रकाश ज्वालाहरु यत्तिकै उभिएका बूख्याँचाहरु होइनन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक