शुक्रबार, वैशाख ७, २०८१

के ओली सरकार ढल्दैछ ? ‘अविश्वास प्रस्तावको तयारी’

नेपालप्लस विशेष संवाददाता / काठमाडौं२०७८ वैशाख ५ गते २०:३६

Photo Credit-Dcnepal

जेजसरी भएपनि आफूलाई सर्वशक्तिमान देखाउने र सांसदै नरहेका प्रतिनिधि पात्रलाई समेत मन्त्री बनाएर मुश्किलले सरकार चलाइरहेको ओली सरकारका बिरुद्ध यो साता अविश्वासको मत आउन सक्ने संकेत देखिएको छ ।

चितवनको माडी पुगेर माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आइतबार मात्रै ‘निरंकुश सरकारलाई ठेगान लगाउने अन्तिम तयारी भइरहेको’ संकेत गर्नासाथै ओली सरकारको दिनगन्तीसुरु भएको आँकलन गर्न थालिएको छ ।

चितवनको माडीमा वाइसिएलको नगर भेलालाई सम्बोधन गर्दै प्रचण्डले आइतबार साँझ हुने राजनीतिक दलको बैठकले नयाँ सरकार निर्माणका लागि महत्वपूर्ण निर्णय गर्ने दाबी मात्रै गरेनन्, बरु अब ओली सरकारलाई दिएको समर्थन फिर्ता लिइने उद्घोष समेत बाहिर आएको छ । माडीमा प्रचण्डले भनेका छन्— ‘तपाईहरुले छिट्टै खुसीको खबर सुन्नुहुनेछ। केही दिनमै केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा हामी नयाँ सरकार बनाउनेछौं ।’

संयोग झैं एमालेमा अहिले बिद्रोही पक्षका प्रमुख नेताझैं देखिएका माधवकुमार नेपालले बनेपामा आइतबार आयोजित एक समारोहमा पनि नेता प्रचण्डकै शैली र संकेतमा यस्तै धारणा राखेका छन् । नेता नेपालले एमालेकै सांसदहरुले ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशमा झैं अन्यत्र पनि एमाले नेता ओली पक्षधर सरकारलाई गिराउन सक्ने संकेत दिएका छन् । ओली दम्भका कारण पत्रकार महासंघको नतिजा कम्युनिष्ट पक्षधरबाट उल्टिएको र कर्णाली प्रदेशमा पनि ओली दम्भ टुक्रिएको नेता नेपालले बताएका छन् । कर्णाली प्रदेशका मुख्य मन्त्री माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा ‘फ्लोर क्रस’ गरी एमालेमा माधव नेपाल पक्षका ४ सांसदले शाहीका पक्षमा मतदान गरेपछि कर्णाली सरकार टिकेको अवस्था छ ।

प्रचण्डको भनाइ बाहिर आउनासाथै ओली पक्षधर अनेरास्वबियुकी केन्द्रिय सचिवालय सदस्य अस्मिता थापाले उस्तै अर्थपूर्ण ट्वीट गरेकी छिन् । उनले आइतबार अपरान्ह गरेको ट्वीटमा भनेकी छिन्—‘प्रधानमन्त्री ओलीबिरुद्ध भोली (सोमबार) अविश्वास प्रस्ताव ल्याउने तयारी । माधव नेपालले एमालेका २० जना सांसदले फ्लोर–क्रस गर्ने बचनबद्धता जनाएपछि यस्तो तयारी भएको हो । त्यही सहमती अनुसार प्रचण्डले आज चितवनमा सरकार ढाल्ने उद्घोष गरेका हुन् ।’

अनेरास्वबियु नेतृ थापाको यो खुलासाले पनि राजनीतिक बजारमा सनसनी ल्याएको छ । शुक्रबार मात्रै माओवादी केन्द्र नेतृत्वको सरकार ढाल्न अविश्वास प्रस्ताव ल्याइएकोमा एमाले दलकै ४ सांसदले ‘फ्लोर क्रस’ गरेर यो प्रस्तावलाई बिफल गराएपछि केन्द्रमा ओली सरकार पनि हताहत बनेको देखिन्छ । यसैगरी, १ नम्बर प्रदेश, गण्डकी प्रदेशमा समेत अविश्वासको प्रस्तावसगै कि कांग्रेस कि माओवादी केन्द्रले सरकार बनाउने स्थिती आइसकेको देखेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई असहयोग गर्ने एमाले सांसदको पद तत्कालै खोस्न सक्ने संकेत पनि देखिएको छ । जे होस्, स्थिती त्यति सहज छैन भन्ने स्पष्ट देखिएको छ ।

आफ्नै निर्वाचन क्षेत्र चितवन पुगेर प्रचण्डले भनेका छन्— ‘निरङ्कुश सरकारको पतन भएर जनपक्षीय सरकार निर्माण हुँदैछ। यसले मात्रै जनताको पक्षमा काम गर्न सक्छ,’ उनले भने, ‘कर्णालीका साथीहरुले देखाइदिइसके। अब केन्द्रमा पनि कायापलट हुँदैछ, हुनैपर्छ।’

उनले ‘प्रचण्ड नसकिँदासम्म हाम्रो भविष्य छैन भन्ने छ उनीहरुलाई । तर म अहिले सकिनेवाला छैन’ भन्दै ‘एक चोटी फेरि जनताको घर दैलोमा पुगेर नयाँ शक्तिसहित दलालहरु माथि धावा बोल्ने’ इच्छासमेत जाहेर गरे ।

जेजसरी हुन्छ, सत्तासिन भैराख्ने प्रयासअन्तर्गत राष्ट्रिय सभाको सांसद र मन्त्री पद खोसिएको केही घण्टामैं आइतबार साँझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ फेरि मन्त्री पदमैं पुर्नबहाल भएका छन् । थापाले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएर पदभार पनि ग्रहण गरिसकेका छन् । थापाको पुनएनियुक्तिसँगै प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषदमा सांसद नभएका मन्त्रीको संख्या कुल संख्याको एक तिहाइ पुगेको छ ।

मन्त्रिपरिषदमा २२ मन्त्री र ३ राज्यमन्त्री रहेका छन्, जसमध्ये ७ मन्त्री संघीय सदस्यको सदस्य छैनन् । गृहमन्त्री रामबहादुर थापा, युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङ, खानेपानीमन्त्री मणि थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र उद्योग, वाणिव्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, उर्जा,जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी र शहरी विकासमन्त्री प्रभु शाह संघीय संसदको सदस्य छैनन् ।

नेकपा एमालेमा प्रवेश गरेका गृहमन्त्री थापा, चौधरी, भट्ट र रायमाझी र शाह भने माओवादी केन्द्रबाट निष्कासित भएका कारण पदमुक्त भएका हुन् । उनीहरुले धारा ७८ (१) अनुसार मन्त्री पदको सपथ शपथ ग्रहण गरेको मितिले ६ महिनाभित्र संसदको सदस्यता प्राप्त गर्नुपर्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक