बिहीबार, वैशाख १३, २०८१

अफ्रिकामा नवनियुक्त राजदूत डा. बिश्वकर्माको स्वागत

नेपालप्लस प्रतिनिधी/ प्रिटोरिया, दक्षिण अफ़्रिका २०७८ वैशाख ६ गते ९:३८

दक्षिण अफ्रिका लगायत १९ अफ़्रिकि मुलुकका लागि नवनियुक्त नेपाली राजदूत डा. निर्मल कुमार बिश्वकर्मालाई अफ्रिकी मुलुकका नेपालीहरुले सामूहिक रुपमा स्वागत गरेका छन् । गैरआवासीय नेपाली संघका अफ्रिका स्थित राष्ट्रिय समन्वय समितिहरुले आइतवार भर्चुवल माध्यमबाट एक कार्यक्रम आयोजना गरि संयुक्त रूपमा स्वागत गरेका हुन् ।

कार्यक्रममा राजदूत बिश्वकर्माको स्वागत गर्दै युगान्डाका लागि नेपालका मानार्थ बाणिज्य दूत डा. सुधीर रुपारेलियाले अफ्रीका र नेपालबिच आर्थिक र लगानीका क्षेत्रमा सम्बन्ध सुधार्नुपर्ने र संयुक्त लगानीको क्षेत्रहरु पहिचान गर्नुपर्ने आवश्यकता औंल्याए । उनले महामहिम राजदूतसँग यसमा मिलेर काम गर्न उत्सुक रहेको बताए ।

त्यसैगरि राजदूत डा. बिश्वकर्मालाई संसार भरका गैरआवासीय नेपालीको तर्फबाट स्वागत र बधाई दिँदै संघका पूर्व अध्यक्ष जीवा लामिछानेले अफ्रिका अबको बिश्वको आर्थिक केन्द्रको रुपमा स्थापित हुँदै गइहेकोमा गैरआवासीय नेपालीहरु र नेपालले पनि अफ्रिकासँगका आर्थिक साझेदारीका अवसरहरु खोज्नुपर्नेमा जोड दिए । साथै उनले राजदूत बिश्वकर्माले आर्थिक कूटनितिलाई प्राथमिकतामा राख्नेमा बिश्वस्त रहेको बताए ।

जुममार्फत् आयोजना गरिएको उक्त कार्यक्रममा केन्याका लागि नेपालका मानार्थ बाणिज्यदूत जिम्मी अस्कार, एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी, नेपालका लागि जाम्बियाका बाणिज्यदूत देशबन्धु बस्नेत, नेपालका लागि सेसेल्सका बाणिज्यदूत नरेश दास, नेपालका लागि मरिशशका बाणिज्यदूत गणेश कार्की समेतले डा. बिश्वकर्मालाई बधाई र शुभकामना दिएका थिए ।

कार्यक्रममा एनआरएनए अफ्रिकाका तर्फबाट कुल कार्की, कृष्णदत्त भट्ट र सुरज डुम्रे (केन्या), चिरञ्जीवी रोका (नाइजेरिया), गणेश खडका (सेसेल्स), पुष्पराज भट्टराई, प्रेम गुरुङ र पासाङ गोपर्मा शेर्पा (तान्जानिया), देवी पौडेल, पाल्पाली बस्याल (मोजाम्बिक ), रमेश कँडेल, अयुब अली (युगान्डा), डा. पुष्पराज भट्टराई, डा. सरिता पान्डे भट्टराई, डा. प्रमोद गङ्गोल, डा. मुकुन्द बहादुर खत्री क्षेत्री र डा. गोपाल जनवाली (दक्षिण अफ्रिका), कृष्ण डुम्रे (आइभोरी कोस्ट), पदम भण्डारी (बोत्स्वाना) र अमित क्षेत्रीले कङ्गोबाट राजदूतलाई स्वागत गर्दै अफ्रिकाका नेपालीका समस्याहरु राखेका थिए ।

त्यसैगरि दक्षिण अफ्रिका दुतावासका उपनियोग प्रमुख घनश्याम लम्साल, नेपाली दुतावास जापानबाट प्रेम बराल, बेल्जियमबाट गङ्गाधर गौतम, अमेरिकाबाट परशु नेपाल, नेपालबाट राजेन्द्रकुमार राउतले समेत राजदूत डा. बिश्वकर्माको कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए ।

समारोहमा अफ्रिकाका नेपालीहरुले भोग्नु परिरहेका श्रम स्वीकृति, पासपोर्ट नवीकरण, कागजात प्रमाणिकरण लगायत मानव तस्करहरुले अलपत्र पार्ने समस्या, पूर्वी अफ्रिकामा नेपाली महिलाहरुलाई अबैध रुपमा डान्स बारमा काम लगाउने लगायतका समस्या राख्दै संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले राजदूतबाट समस्याहरु समाधान तर्फ पहल हुनेमा बिश्वश्त रहेको बताए ।

कार्यक्रममा आफ्नो मन्तब्य दिँदै राजदूत डा. निर्मल कुमार बिश्वकर्माले सबैमा आभार ब्यक्त गरे । गैरआवासिय नेपाली संघसँग मिलेर अफ्रिकामा यहाँका नेपालीहरुका लागि सेवा पुर्याउने प्रतिबद्दता राजदूत विश्वकर्माले जनाए । त्यसैगरि उनले अफ्रिका र नेपाल बिचको दोहरो व्यापार बृर्द्दी, लगानीका अवसर खोज्ने, पर्यटन प्रबर्द्धनका लागि साझा कार्यक्रम ल्याउने सम्बन्धमा आफ्नो प्रयास रहने बताए ।

कार्यक्रम गैर आवाशिय नेपाली संघका अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाको सभापतित्वमा भएको थियो ।

तपाइँको प्रतिक्रिया