बिहीबार, वैशाख १३, २०८१

हे एनआरएन दोहोरो नागरिकताको मुद्दा खोइ ?

सूर्य तिवारी२०७८ वैशाख ६ गते १८:३३

‘एक पटकको नेपाली सधैंको नेपाली’ । हामी बिदेशमा बस्ने समस्त नेपालीहरुलाई एकताबद्ध बनाएको संस्था एनआरएनको नारा हो । जतिपनि हामी नेपाली विदेशमा बस्छौं सबैको छाता संगठन तथा अभिभावक संस्था हो भनिन्छ एनआरएन । प्रकृतिक प्रकोप हुन् या कुनै उत्सव हरेक अवस्थामा यो संस्थाले नेपाल प्रतिको मायाँलाई ओतप्रोत गर्छ । विदेशमा बस्ने सबैलाई मायालु बनाउँछ । धेरै कुराहरु यस्ता छन् जहाँँ एनआरएन सोझै हाम्रो मनसँग जोडीएको छ- बाहिर हेर्दा ।

यो संस्थाले बिदेशमा बस्ने ८० लाख नेपालीहरुका सम्पूर्ण समस्यालाई टेबलमा राखेर नेपाल सरकारसँग सोझै समस्या समाधानको पक्षमा पहल गर्न सक्छ भन्ने आम बुझाई छ । सर्सर्ती हेर्दा यो संस्थाले आफ्ना माग सोझै सरकारसँग राख्न सक्छ ।
कताकती राखेको पनि होला । तर लामो समयदेखि बहसको रुपमा चलिरहेको दोहोरो नागरिकता आम सरोकारको विषय हो । यसका लागि एनआरएनले नेपाल सरकारलाई निरन्तर दवाव दिँदै आइरहेको हामीले बुझीरहेका थियौं । अहिलेको कार्यसमितीसँग अझ थप भरोशा पनि थियो । हामीले अनावश्यक भरोसा गरेका थियौं, गलत विश्वास थियो त्यो । किनभने अहिले एनआरएनको एजेण्डा अर्कैतिर मोडिएको छ । फाईदा कमाउने बाटोमा संघ अघि बढेजस्तो देखिन्छ । बहु प्रतिक्षित नागरिकता बिधयक संसदको टेबलमा पुग्नुपूर्व नै मरिसकेको खबर बाहिर आइरहेको छ । मुख्य मुद्धाबाट संस्था पथबिमुढ बनेको छ् ।

धेरैले आरोप लगाउने गर्थे, यो संस्था ब्यापारैको मात्र हो । तर हामी डटेर यो संस्थाको पक्ष मै रह्यौं । हरेक एजेण्डाका आफ्ना समय हुन्छन् । धैर्य गर्नु पर्छ । प्रतिक्षा गर्नुपर्छ । आत्तिनु हुन्न होला । तर यो मुद्धाले कतै स्थान पाएको देखिएन । ‘एक पटकको नेपाली सधैं को नेपाली’ को नारा लोपोन्मुख बनिसकेको छ । हामी जस्ता कयौं विदेशी नागरिकता लिनेहरु यदी यो मुद्धा सेलायो भने नेपालसँग नाता रहने छैन । हामी जस्ता धेरै नेपाली सन्तानहरु नेपालसँग जोडीने छैनन् । यदी यो अवस्था रह्यो भने देशलाई पनि ठूलो आर्थिक क्षति हुने छ ।

नागरिकता जुनसुकै होस, आर्जन गरेको सम्पत्ति नेपाल मै जाने गरेको छ । जती जाने गरेको छ त्यो अतुलनिय छ । तर दोहोरो नागरिकताको एजेण्डा सेलाउँदै गर्दा बिदेशमा हुर्किइरहेको दोस्रो पुस्ताले आर्जन गरेको सिप शिक्षा नेपाल भित्रिने कुरै भएन ।

बेलायतले केही वर्ष अघी गोर्खाहरुलाई बेलायती सरह सुबिधा दिने अदालतको निर्णय आउने बित्तिकै देशको टूलो धन बिदेश जाने डरले सबै बेलायती गोर्खाहरुलाई नागरिकता दिने निर्णय गर्‍यो । फलस्वरुप सम्पूर्ण भुतपूर्व गोर्खाहरु नेपालको सम्पत्ति बेच्बिखन गरी बेलायत छिरे । किनभने बेलायतले दोहोरो नागरिकता स्विकार गरेपनि नेपाल यो विषयमा प्रवेश नै नगरेको हुनाले र बेलायत जस्तो विकशित मुलुकमा बस्ने लोभले बेलायत ओइरिने भुतपूर्व गोर्खाहरुको लर्को नै लाग्यो ।

यो घटना सामान्य रुपमा हेर्दा मसिनो नै देखिन्थ्यो । तर यसले ब्यापक रुपमा कुनै न कुनै माध्यमबाट नेपाली सम्पत्ति बेलायत पस्यो । कसैले अनुमान नै गर्न सकेन । यदी बिदेशमा बस्ने नेपालीहरुसँग दोहोरो नागरिकताको अधिकार रहन्थ्यो भने करोडौं डलर बराबरको नेपाली सम्पत्ति स्वदेशमै रहन्थ्यो । संस्थाका बाध्यताहरु आफ्नै होलान् तथापी कुन बाध्यताका कारण यो मुद्दा सेलाउँदै गयो भन्ने कुरा सबै एनआरएनले थाहा पाउन जरुरी छ । यो मुद्धा सेलाउने बित्तिकै एउटा पुस्ता नेपाल बाट बहिर्गमन हुने पक्का छ । जब बाबु आमा नै त्यो देश सँग जोडीन सकेन भने नयाँ पुस्तालाई त्यो डाँडापाखा, पहरा, लेकबेशीको माया लाग्ला भन्ने अनुमान गर्न सकिन्न ।

किन दोहोरो नागरिकताको मुद्दा ओझेलमा पर्‍यो भन्ने कथा पनि रोचक छ । यो संस्था नितान्त ब्यापारिक बन्दै गइरहेको छ । यो संस्था सन्चालनका लागि माथिल्लो तहमा पुगेका अथवा संस्थालाई हरेक प्रकारले प्रभाव पार्नसक्ने सबैसँग नेपाली नागरिकता छ । उनिहरुलाई किन्चित मात्रमा पनि नागरिकता बिधयकले कुनै असर पार्दैन । किनभने उपेन्द्र महतो, जिवा लामिछाने, कुमार पन्त लगायतका धेरै ब्यपारिहरु हालसम्म नेपाली नागरिक नै हुन् । उनिहरु नितान्त ब्यापारी हुन् ।

जतिबेला दोहोरो नागरिकताको मुद्दा उठाइएको थियो एनआरएनका अहिलेका माथिल्ल ब्यापारी मध्ये धेरैको विदेशको ब्यापार अहिलेको उचाईमा पुगेको थिएन । उनिहरु कुनै न कुनै रुपमा नेपाल सरकारसँग वार्गेनिङ गर्न चाहन्थे । उनिहरुको त्यो अभिष्ट पुरा भयो । दोहोरो नागरिकताको मुद्दा अन्य लगानिका रुपमा ‘कन्भर्ट’ भयो । ब्यापारिक क्षेत्रमा ख्याती कमाइसकेकाहरुलाई ससाना नेपालीका मुद्धा नदेखिनु स्वभाविक नै हो । उनिहरुलाई यो खास चासोको बिषय पनि रहेन ।

दोहोरो नागरिकताको विषय सामान्य अर्थमा हेर्दा केही कमजोरी देखिएला । तर यो कमजोरिलाई माध्यम बनाएर विदेशदेखि नेपालसम्म ब्यापार विस्तार गर्ने ब्यापारिहरुको मानसिकता र उनिहरुको सोच भने अब बिस्तारै छर्लंङ्ग हुँदै छ ।

अहिले बिदेशमा बसोबास गर्ने करिव ६० लाख नेपाली मध्ये एक लाख हाराहारिका नेपालीहरुले बिदेशी नागरिकता लिएको अनुमान छ । पहल गर्ने हो भने यो एक लाखको संख्या सबैलाई नेपालसँग जोड्न यो नागरिकता बिध्येयकले अहम भूमिका खेल्छ । ७० प्रतिशत रेमिट्यान्स्ले चलेको मुलुक जब यो मुद्दा किनारा लाग्छ त्यसपछि नेपालसँग नयाँ पुस्ताको नाता चुडिने स्वभाविक छ ।

नेपालले विदेशी रेमिट्यान्स र जनशक्ती दुवैबाट हात धुनुपर्छ भने यि नयाँ सन्ततिले आफ्नो उद्गम थलोबाट विमुख हुनेछन् । अशली मुद्धा नै लोपुन्मुख बन्दै ब्यापारिकरण बनिसकेको संस्था समग्र नेपालीको पक्षबाट बाहिरीसकेको छ । मुख्य मुद्धा बाट भागेर नितान्त ब्यापारिक संस्था बनिरहेको अवस्थामा यसबाट कसले के अपेक्षा गर्ने ? धेरैले आरोप लगाउने गरेको ब्यापारिक संगठन अहिले प्रस्ट प्रमाणित भएको छ । आफ्ना जटिल मुद्धा छोडेर ब्यवसायतिर नै उजागर हुने हो भने उद्द्योग बाणिज्य संघ नाम राखिदिए पनि भयो । हे एनआरएन खोइ दोहोरो नागरिकताको मुद्दा ?

तपाइँको प्रतिक्रिया