शनिबार, वैशाख १५, २०८१

विजय फाउन्डेसनको अध्यक्षमा पुनः त्रिलोचन सापकोटा

नेपालप्लस संवाददाता/ गैँडाकोट, नवलपरासी२०७८ वैशाख ६ गते ५:५४

विजय फाउन्डेसन नेपालको अध्यक्षमा पुनः त्रिलोचन सापकोटा चयन भएका छन् । फाउन्डेसनको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले सापकोटालाई पुनः अध्यक्षमा चयन गरेको हो । त्यस्तै, फाउन्डेसनको सचिवमा सोमप्रसाद काप्री र कोषाध्यक्षमा दिनेश शर्मा चयन भएको निर्वाचन समितिका संयोजक ओमप्रसाद सापकोटाले जानकारी दिए । त्यस्तै सदस्यहरुमा खेमराज सापकोटा, वसन्तराज लम्साल, लक्ष्मी गौतम र डा। गोविन्द कँडेल चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले राज्यको उद्देश्य पूर्तिका लागि फाउन्डेसनले पनि सहयोग गरिरहेको बताइन् । नेपाली मन, नेपाली पन र नेपाली धनले यहाँको स्वास्थ्य शिक्षा र मानवअधिकारको क्षेत्रमा संस्थाले गर्न लागेको काम र राज्यको उद्देश्य मिल्दो जुल्दो रहेको बताउँदै प्रकृति फरक रहे पनि उद्देश्य एउटै रहेको भन्दै सफलताको कामना गरिन् ।

गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख विष्णुकुमारी कँडेलले नगरपालिकामा यस खालको संस्था हुनु गौरवको विषय भएको उल्लेख गरिन् । यस्ता संस्थाले समाज र यस क्षेत्रको लक्षित वर्गको उत्थान र विकासमा ठूलो योगदान पुर्‍याउने भनाई उनको थियो ।

विजय परिवारका संयोजक एवं विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतमले दातृनिकायको सहयोग विना सामाजिक विकास गर्न फाउन्डेसनको स्थापना भएको बताउँदै भनिन् “गैर सरकारी संस्थालाई अंकुश लगाउँदै गइरहेका सन्दर्भमा समाजलाई समानरूपमा गतिशील प्रदान गर्न पनि फाउन्डेसनको जन्म भएको हो ।”

विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं निर्वाचन समितिका संयोजक ओमप्रसाद सापकोटाले फाउण्डेशन विजय परिवारको एक अंशका रुपमा रहेको उल्लेख गर्दै कुनै मुनाफा विना नै सामाजिक विकासका लागि काम गर्नु महत्त्वपूर्ण रहेको बताए । उनले बिजय फाउण्देशन गरिब विपन्न परिवारको साहारा बन्न सकोस भन्दै सफलताको कामना गरे । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले व्यक्तिगत हितभन्दा पनि सामाजिक हितका लागि यसले गर्न लागेको कामको प्रशंसा गरे । सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’ले परोपकारी काममा सहकारी र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

विजय फाउन्डेसन नेपालका अध्यक्ष त्रिलोचन सापकोटाले फाउन्डेसनको प्रगति विवरण तथा प्रस्तावित कार्यक्रम प्रस्तुत गर्दै यसवर्ष १ करोडको अक्षयकोष निर्माण गर्ने बताए । विदेशीबाट आर्थिक सहयोग पनि नलिने र मूल धन पनि खर्च नहुने गरी आएको ब्याजले शिक्षा, स्वास्थ्य र मानवअधिकारका क्षेत्रमा काम गर्ने उनले सार्वजनिक गरे । त्यस्तै यस वर्ष स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम, खाद्य स्वच्छतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, गैँडाकोट हाफ म्याराथुनको सुरुवात गर्ने, जनचेतनाका साथै प्रजातन्त्र र स्वतन्त्रताका लागि वकालत गर्ने बताए ।

कार्यक्रममा संस्थाका सदस्य वसन्तराज लम्सालले विजय परिवारको सातौँ र च्यारिटि संस्थाका रूपमा रहेको फाउन्डेसनले पिछडिएको क्षेत्र र वर्गका जनताका लागि काम गर्ने उल्लेख गरे ।

फाउन्डेसनले खाद्य तथा स्वच्छता सचेतना गोष्ठी, विपन्न परिवारलाई खाद्यान्न सहयोग, कोभिडसम्बन्धी स्वास्थ्य सचेतना, अन्तरक्रिया तथा तिलकप्रसाद सापकोटाको ‘यात्रा निरन्तर’ पुस्तक विमोचन लगायतका कार्यक्रम गरेको बह्नाई संस्थाका अर्का सदस्य खेमराज सापकोटाको थियो ।

सो अवसरमा फाउन्डेसनलाई स्वयंसेवीका रुपमा सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । विजय फाउन्डेसन नेपालमा सिल्भर, गोल्ड र प्लाटिनम गरी ३२ जना सदस्य आबद्ध रहेका छन् ।

भर्खरै प्रकाशनमा आएको तिलक सापकोटाको जीवन डायरी ‘यात्रा निरन्तर’ पुस्तकको सह प्रकाशनको जिम्मा समेत बिजय फाउण्डेशनले लिएको थियो । अध्यक्ष त्रिलोचन सापकोटाका अनुसार पुस्तक बिक्रिबाट आएको मुनाफा विपन्न परिवारका केटाकेटीको शिक्षाका लागि प्रयोग गरिने छ ।

तपाइँको प्रतिक्रिया